भेनेजुएलाको वर्तमान संकटबारे विश्वमा र हाम्रै देश नेपालमा पनि तीन धारणाहरु रहेका देखिन्छन् ।

पहिलो, भेनेजुएला सरकारका राष्ट्रपति निकोलस मदुरोको समर्थन दोस्रो मदुरोको विरोध र तेस्रो तटस्थ । भेनेजुएलाका राष्ट्रपति मदुरोले जनवरी १०, २०१९ मा त्यहाँको सर्वोच्च न्यालयका सभापति माइकेल मोरेनोद्वारा ९० राष्ट्रहरुका प्रतिनिधिसामु छ वर्षका लागि दोस्रो कार्यकालको शपथ लिए । मदुरो मे २०, २०१८ मा भएको निर्वाचनमा विजयी भएका थिए ।

भेनेजुएलाका १६ वटा पार्टीहरूले निर्वाचनमा भाग लिएका थिए भने तीन पार्टीहरुले निर्वाचन बहिष्कार गरेका थिए । निर्वाचनमा ९३,८९,०५६ मत खसेको थियो । निर्वाचनमा ६ जनाको राष्ट्रतिका लागि उमेदवारी परेको थियो जसमा दुई जनाले उमेदवारी फिर्ता लिएका थिए । निकोलस मदुरोले ६२,४८,८६४ (६७.८४ प्रतिशत) मत पाएका थिए, दोस्रा हुने हेनरी फाल्कनले १९,२७,९५८ (२०.९३ प्रतिशत) मत, तेस्रो हुने जाभिएर बर्टुकीले १०,१५,८९५ (१०.८२ प्रतिशत) मत र चौथो हुने रेनाल्डो कोइजादाले ३६,२४६ (०.३९ प्रतिशत) मत पाएका थिए । फ्रान्सिसको भिस्कोन्टी ओसोरियो र एलेकजाण्ड्रो राटीले उमेदवारी फिर्ता लिएका थिए ।

विश्वभरिका १५० निर्वाचन पर्यवेक्षकहरू , १४ देशका निर्वाचन आयोगका सदस्यहरूले पर्यवेक्षण गरेको यो निर्वाचनबारे अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर भन्छन् ”भेनेजुएलाको निर्वाचन हामी १९९२ देखि हेरिरहेका छौं त्यहाँको निर्वाचन विश्वकै सर्वोत्तम निर्वाचनमध्येको एक हुने गरेको छ ।”

भेनेजुएला विश्वको सबैभन्दा ठूलो तेलभण्डार भएको देश हो । त्यहाँ विश्वको दोस्रो देश बराबर सुनको खानी छ, हिराको ठूलो परिमाण मौजूद छ भने विद्युतीय उपकरणहरूमा प्रयोग हुने कोल्टानको खानी पनि छ ।

भेनेजुएलाले उत्पादन गरेको ४१ प्रतिशत तेल अमेरिका निर्यात गर्छ । उसले प्रतिदिन तीन मिलियन ब्यारेल तेल उत्पादन गरिरहेको छ । चीनको तेल उत्पादन ३.५ मिलियन ब्यारेल प्रतिदिन उत्पादनले उसलाई पुग्दैन र २० बिलियन अमेरिकी डलरको तेल आयात गर्ने संझौता भेनेजुएलासँग गरेको छ । चीन र भेनेजुएलाले सेम्टेम्बर १४,२०१८ मा दुईपक्षीय रणनीतिक सम्झौता गरेका थिए । यसमा तेल, खानी, सुरक्षा, प्रविधि, वित्त र स्वास्थ्य विषयहरु समावेश छन् । भेनेजुएलाले सुन टर्की पठाएर त्यहाँ प्रशोधन गरी रूस आदि देशहरूमा पठाउने गरेको छ र सुन निर्यात गरेका देशहरूबाट भेनेजुएलाले सन २०१९ मा ६ लाख टन गहुँ आयात गर्ने निर्णय गरेको छ ।

आर्थिक रूपले भेनेजुएलामा कृषि र उद्योगमा समृद्धि नहुँदा डच डिजिज प्रभाव पनि देखिने गरेको छ । दक्षिण अमेरिकालाई आफ्नो करेसाबारी ठान्ने अमेरिकाको बक्रदृष्टि लिबिया पछि भेनेजुएलामा परेको छ ।

जनवरी ५,२०१९ मा प्रतिपक्षी ३५ वर्षीय वर्षिय जुआन गुआइदो राष्ट्रिय सभाको सभापति चयन भएपछि मदुरोलाई अवैधानिक राष्ट्रपति भन्दै आफूलाई स्वयं घोषित राष्ट्रपति भनी आन्दोलन चलाएका छन् । स्वतन्त्रता र प्रजातन्त्रका बहानामा अमेरिकाको सहयोगीको रूपमा क्यानाडा, ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, चिली, पेरू , कोष्टारिका, इक्वेडोर, ग्वाटेमाला, प्याराग्वे, बेलायत, फ्रान्स, जर्मनी, स्पेन देखिएका छन् भने मदुरोको पक्षमा रुस, चीन, टर्की, मेक्सिको, क्युबा, बोलिभिया, सिरिया, दक्षिण अफ्रिका, उरुग्वे छन् ।

हिजो आइतबारसम्म मदुरोलाई राष्ट्रपति पद छाड्न आठ दिने अल्टिमेटम दिइएको थियो, तर जनताको समर्थनमा मदुरोले सो प्रस्ताव ठाडै अस्वीकार गरिदिएका छन् । भेनेजुएलाको राजधानी क्याराकस लगायत देशका विभिन्न सहरहरूमा मदुरोको समर्थनमा सभाहरू  आयोजना भइरहेका छन् । त्यसो त अगस्त ६,२०१८ मा एउटा सभा सम्बोधन गर्ने क्रममा मदुरोमाथि ड्रोनबाट सांघातिक हमला पनि भएको थियो । अमेरिकाले यस्ता दुष्ट्याँइ पहिले पनि गरिआएको छ ।

सन १९६४ मा ब्राजिल र बोलिभिया, १९६८ मा पेरू, १९७३ मा चिली र पेरू, १९७६ मा अर्जेन्टिना, १९८९ मा प्याराग्वे र पनामा, २००४ मा हाइटी आदि देशहरूमा अमेरिकाले गरेको हस्तक्षेप विश्वले बिर्सेको छैन ।

वर्तमान भेनेजुएला संकट अमेरिकी साम्राज्यवादले आफ्नो स्वार्थका लागि सिर्जना गर्न खोजेको अर्को एउटा कडी हो ।

(लेखकको फेसबुकबाट)
०००

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार