विश्व फुटबल महासङ्घ (फिफा) ले बिहिबार सार्वजनिक गरेको फेब्रुअरी महिनाको वरियतामा नेपाल १६१ औं स्थानमा यथावत रहेको छ। नेपाल अघिल्लो महीनामा पनि यही स्थानमै थियो ।

नेपाल यथावत भए पनि वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ।

यो महिनाको वरियतामा उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु कुनै पनि परेका छैनन्। वरियतामा भारत ६ स्थान तल झर्दै १०३ औं स्थानमा पुगेको छ। यसअघि भारत ९७ औं स्थानमा थियो।

त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औं, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा यथावत छन्।

केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एशिया कपको उपाधि जितेको कतार वरियतामा सबैभन्दा बढी ३८ स्थान माथि उक्लिएको छ। यसअघि ९३ औं स्थानमा रहेको कतार ५५ औं स्थानमा उक्लिएको छ।  यस्तै एसिया कपको फाइनलिस्ट जापानले पनि २३ स्थान सुधार गर्दै २७ औं स्थानमा आइपुगेको छ। यस्तै एसिया कपको आयोजक राष्ट्र युएई १२ स्थान माथि उक्लिँदै ६७ औं स्थानमा आइपुगेको छ।

एसियाली राष्ट्रहरूमा सबैभन्दा माथि ७ स्थान माथि उक्लिएर इरान २२ औं स्थानमा पुगेको छ।

यस्तै विश्व वरियतामा शीर्ष स्थानदेखि २० औं स्थानसम्म रहेका सबै देशहरू यथावत रहेका छन्।

बेल्जियम शीर्ष स्थानमा रहँदा विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इग्ल्यान्ड पाँचौ, पोर्चुगल छैठौं, उरूग्वे सातौं, स्वीट्जरल्यान्ड आठौं, स्पेन नवौं र १० औं स्थानमा डेनमार्क छन्। अर्जेन्टिना भने ११ औँ स्थानमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार