“विज्ञानद्वारा जुन भवनहरु सुदृढ रुपमा निर्माण भइसकेकाछन्, तीनिहरुलाई उत्तरकालित प्रगतिद्वारा उठाएर फ्याँकिदैन, बरु तिनीहरुलाई अझ विशाल भवनहरुमा समाविष्ट गरिन्छ ।” —लुइ डि ब्रोग्ली

नेपाली राजनीतिमा समाजवादका वारेको बहसले एक नयाँ मोड लिदैछ । एकातिर नेपालको वर्तमान संविधान नै ‘समाजवाद उन्मुख’ बताईएको छ भने अर्कोतिर आफुलाई खाँटी पुँजीवादी पार्टी बताउने नेपाली कांग्रेसले लामो समयदेखि आफुलाई ‘समाजवादी’भन्दै आईरहेको छ । खासगरेर पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर बनेको पार्टी नेकपा(नेकपा)ले आफ्नो पूर्व कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ र ‘नौलो जनवाद’ पुरा भईसकेको निश्कर्ष निकाल्दै अब पार्टीको कार्यदिशा (न्युनतम कार्यक्रम)‘समाजवाद’ भएको घोषणा गरिरहदा वर्तमान राज्य प्रणालीकै विरुद्धमा रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टीले समेत आफ्नो कार्यक्रम समाजवाद नै हुने घोषणा गरेपछि समाजवाद सम्बन्धी बहसले नयाँ मोड लिएको हो । उता, अझै पनि नेपालका केही वामपन्थी पार्टीहरुले नौलो जनवादी कार्यभार पुरा नभएको तर्क गरिहेक ाछन् । उनीहरुका अनुसार समाजवादका लागि अझैं पूर्वाधार बनिसकेको छैन । अतः अहिले नै समाजवादलाई न्युनतम कार्यक्रम बनाउनु हुँदैन । यो स्थितिमा समाजवादको वास्तविक तत्वकावारे बहस हुनु आवश्यक छ ।

सामान्यतः समाजवादलाई माक्र्सवादको अर्थसामाजिक प्रणालीका रुपमा बुझ्ने गरिन्छ । तर, माक्र्सवादका प्रस्तोता माक्र्स– एङ्गेल्सले कम्युनिष्ट घोषणापत्र(सन् १९४८) सार्वजनिक गर्नु पूर्व पनि विभिन्न खाले समाजवादी अवधारणाहरु रहेका थिए । अझ भन्ने हो भने तिनै विभिन्न खाले समाजवादबाट एउटा सहि र वैज्ञानिक निश्कर्ष निकालेर माक्र्स र एङ्गेल्सले साम्यवाद(कम्युनिष्ट)को कार्यक्रम पेश गरेका थिए । उनीहरुले साम्यवादको त्यो कार्यक्रमलाई अधिकतम र न्यूनतम चरणकारुपमा समेत परिभाषित गरेका थिए । त्यसमध्येकै साम्यवादको न्यूनतम कार्यक्रमलाई समाजवाद अर्थात ‘वैज्ञानिक समाजवाद’ नामाकरण गरियो ।

समाजवादको यो कार्यक्रमलाई व्याबहारिक कार्यान्वयन गर्ने काम लेनिनले(सन् १९१७) गरे । मजदुर वर्गीय सत्ता र अधिनायकत्वकारुपमा परिभाषित यसखाले सत्ताको मुल विशेषता भनेको उत्पादनका साधनहरुमाथि राज्य अर्थात् मजदुर वर्गको स्वमित्व हुनुपर्छ भन्ने थियो । यहि आधारभूत नीतिमा रहेर लेनिन र उनको नेतृत्वमा रहेको रुसी कम्युनिष्ट पार्टी (वोल्सेभिक) ले रुसमा समाजवादी सत्ताको सञ्चालन गरे । पहिलो पटक स्थापित उक्तसमाजवादी सत्ताले दुनियाँका सामु श्रमिक वर्गको अपार ताकत उजागर गरिदियो । त्यो नै वैज्ञानिक समाजवादको पहिलो प्रयोग र परिचय थियो ।

समाजवाद ःकाल्पनिक र वास्तविक

समाजवादको जन्मसँगै आएको साल–नाललाई माक्र्स–एङ्गेल्सले राम्रोसँग सफा गरेर त्यसलाई सुन्दर र वैज्ञानिक बनाए । त्यसो नगर्दासम्म त्यो वास्तवमा विकारयुक्त थियो । माक्र्स–एङ्गेल्स भन्दा पूर्वको समाजवाद वैराग्यपूर्ण थियो ।त्यो अधिक काल्पनिक थियो र हावामा उडिरहेको थियो । त्यसले जमिनमा खुट्टा टेक्न सकिरहेको थिएन । माक्र्सले त्यसलाई ‘काल्पनिक समाजवाद’को नामाकरण गरे । जसरी प्रत्येक बच्चाको जन्म सालनालसँगै हुन्छ, समाजवादले पनि त्यसैगरी जन्म लिएको थियो । यदि त्यसो नहुदो हो त समाजवादको जन्म नै असम्भव थियो ।

माक्र्सवादले समाजवादलाई कल्पनाको उडानबाट यथार्थको धरातलमा अवतरण गरिदियो । माक्र्सवादका अनुसार समाजवादको तत्व भन्नाले उत्पादनका साधनहरुमाथि श्रमिक वर्ग(मजदुर) को स्वामित्व कायम गर्नु हो । श्रमिक वर्ग(मजदुर) स्वयम्ले आफ्नो हातमा राज्यसत्ताको नेतृत्व लिनु हो । जबकि काल्पनिक समाजवादीहरुले राजा–महाराजाहरुलाई सद्विवेक र सदाचारको पाठ पढाउथे र समाजवाद(सुशासन) लागु गर्न भन्थे । श्रमिक वर्गले राज्यसत्ताको नेतृत्व लिने त त्यहाँ कुरै थिएन । उनीहरु मजदुर वर्गका ‘क्रान्तिकारी कारबाहीहरुको अस्विकार’समेत गर्दथे । काल्पनिक समाजवादीहरुले त्यसो गर्नु स्वभाविक थियो । किनकि “वर्ग–वैरभावको विकास उद्योगको विकाससँगै हुने हुनाले त्यस वेलाको आर्थिक परिस्थितिमा उनिहरुले सर्वहारा वर्गको मुक्तिको लागि चाहिने भौतिक अवस्थाहरु पाउदैनथे ।”

“जमिन्दारी सम्पतिको उन्मुलन गर्नु, आम्दानीको आधारमा प्रगतिशिल कर लगाउनु, राजकीय पूँजीबाट राष्ट्रिय बैंक खोलेर राज्यको एकाधिकार कायम गर्नु, संचार र यातायातलाई राष्ट्रियकरण गर्नु, कृषि सेनाको निर्माण गर्नु, उद्योगसित कृषिलाई जोड्नु, योजनावद्ध वस्ती प्रणाली लागु गर्नु(गाऊँ र शहरको भेद खतम पार्नु), शिक्षालाई सार्बजनिक गर्नुका साथै औद्योगिक उत्पादनशिल शिक्षा लागु गर्नु” कम्युनिष्ट घोषणापत्रमा उल्लेखित समाजवादका आधारभूत कार्यक्रमहरु हुन् ।

उपर्युक्त कार्यक्रमहरु सार्वजनिक गरेर माक्र्सवादले समाजवादको वास्तविक तत्वलाई जनसमक्ष उजागर गर्यो । समाजवादलाई वैज्ञानिकिकरण गर्यो । समाजवाद कुनै उपदेश नभएरश्रमिक(मजदुर र किसान) वर्गिय अस्तित्वको अनिवार्य कार्यक्रम हो भन्ने सत्यलाई स्थापित गर्यो । मजदुर र किसानहरुलाई आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्न अपिल गर्यो । त्यो संघर्ष शान्तिपूर्ण नहुने, बरु प्रतिहिंसात्मक हुने समेत बतायो । किनकि, सत्तासिन वर्ग आधुनिक वन्दुक र सेना सहित छ । उसले मजदुरको आन्दोलनलाई गोलीले दबाउने कुचेष्टा गर्छ । त्यसका बिरुद्ध मजदुर किसानले पनि सशस्त्र प्रतिवाद गर्नु पर्ने माक्र्सवादको ठम्याई रह्यो । यो लडाईमा सर्वहारा वर्गको पार्टी कम्युनिष्ट पार्टीले समग्र नेतृत्व गर्नु पर्ने पनि माक्र्सवादको निचोड रह्यो ।

नेपाली काँग्रेसको समाजवाद

शोषणयूक्त पुँजीवादी समाजलाई कायमै राखेर केहि सुधारको चिन्तनबोकेको‘अनुदारवादी वा पुँजीवादी समाजवाद’ को नेपाली संश्करण नेपाली काँग्रेसको कथित ‘प्रजातान्त्रिक समाजवाद’ हो । जसले माक्र्सकै भाषामा मजदुर वर्गको फाईदाका लागि भन्दै ‘मुक्त व्यापार(खुल्ला बजार)’, ‘सुरक्षात्मक कर’ र ‘जेल सुधार’को वकालत गर्दछ र पुँजीवादी समाज र सत्तालाई बलियो पार्ने कार्य गर्दछ । नेपालमा त्यसको साक्षात् प्रमाण २०४८ सालको निर्वाचन पछि नेपाली काँग्रेस नेतृत्वको सरकारले निजिकरण र खुल्ला बजारको अर्थप्रणालीको नीति लागु गरेर देशका ठुला र राष्ट्रिय उद्योगहरुलाई धमाधम निजिकरण गरी धरासायि गर्नु हो ।

जसको परिणाम नै देशको अर्थ प्रणाली पराधिन बन्न पुग्यो । महंगी र वेरोजगारी तिब्र बढेर गयो । राष्ट्रघात र भ्रष्टाचार संस्थागतरुपमै मौलायो । काँग्रेस नेतृत्वको सरकारले जमिन्दारी प्रथा खतम गरेन । बरु सामन्त र जमिन्दारहरुलाई रातारात पार्टीमा प्रवेश गराएर उनिहरुलाई जोगाउने काम गर्यो । काँग्रेस सरकारले शिक्षा र स्वाथ्यलाई राष्ट्रियकरण गर्नुको साटो झन् ठुलो निजिकरणको खाल्डोमा धकेलिदियो । राजकीय पुँजीबाट बैंक संचालन गरेर राज्यले एकाधिकार कायम गर्नुको साटो निजि बैंकहरु संचालनको नीति लागु गरेर विदेशि एकाधिकारी पूजी देश भित्र हुलेर देशलाई टाट पल्टाउने कार्य गर्यो । देशलाई औद्योगिकरण गर्नुको साटो तिब्र दलालीकरणतिर घचेडिदियो ।

नेकपा(नेकपा)को समाजवाद

पुरानो सम्पति सम्बन्धलाई बिगार्न पनि नचाहने र पूँजीपति वर्गसँग बदला पनि लिन चाहने ‘सर्वहारा र पुजीपति वर्गबीच घडिको लंगुर’ झैं हल्लिईरहने निम्न पूँजिपति वर्गको स्वार्थसँग गाँसिएको ‘निम्न पुँजीवादी समाजवाद’को नेपाली प्रतिनिधि नेकपा(नेकपा) को समाजवाद हो । पूर्व एमालेको जनताको बाहुदलिय जनवाद र पूर्व माओवादी केन्द्रको नौलो जनवादको खिचडी समाजवाद नेकपा(नेकपा) को ‘समाजवाद’ हो । नेपाली काँग्रेसको पुच्छर भएर विदेशि एकाधिकारी पूँजीपती वर्गसँग लम्पसार पर्नु नेकपा(नेकपा)समाजवादको मुख्य विशेषता हो ।
यो समाजवादको अर्को पनि के विशेषता रहेको छ भने यसले सर्वहारा वर्गको हितलाई देखाएर आफ्नो स्वार्थको परिपूर्ति गर्दछ । नेपाली काँग्रेसले झैं यसले व्यक्ति सर्वोच्चता अर्थात् ‘सक्नेले खाऊ नसक्ने मर’ भन्ने पूजीवादी सिद्धान्तको खुलेर समर्थन गर्न सक्दैन ।

एमाले र माओवादी केन्द्ररुपि नेकपा(नेकपा) समाजवादका दुबै खुट्टाकिसान र मजदुरको छातिमा टेकेर उभिएका हुनाले कहिलेकाहिँ उनिहरुको हाऊभाऊमा किसान–मजदुरको पसिनाकोसुगन्ध रङ्मङिएको आभाष हुन्छ । त्यो त केवल उनीहरुको ‘क्या नाम’ मात्र हो । बरु, त्यहि क्या नाम नै उनिहरुका लागि बेलाबखत घाँडो पनि हुने गरेको छ । विदेशि एकाधिर पूँजीपति वर्ग त्यसबाट झस्किने गर्छ । त्यतिबेला नकपा(नेकपा) समाजवाद लज्जावती झार झैं हिनता वोधले लल्याक लुलुक हुन्छ र थप वर्ग घात तथा राष्ट्रघातको लागितयार हुन बाध्य हुन्छ ।

एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद

कथित लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नेपाली जनताले इतिहासमै पहिलो पटक चरम वेरोजगारीको संकट बेहोर्नु परिरहेको छ । ६०–७० लाख श्रमिक जनशक्ति(विशेषतः यवा) विदेशमा छन् । उनिहरुले पठाएको पैशाले नै देशको एक तिहाई अर्थतन्त्र चलेको छ । तर, त्यही पैसामाथि व्यापक भ्रष्टाचार भईरहेको छ । महङ्गी अत्यन्तै बढेर गएको छ । उता विश्व पुँजीवाद भूमण्डलिकरण र एकाधिकारको चरम शिखरमाउक्लिएको छ । जसको परिणाम विश्व अर्थतन्त्रको करीव आधा हिस्सामाथि १ प्रतिशत धनिहरुको स्वामित्व केन्द्रित हुन आएको तथ्यांकहरु सार्बजनि भईरहेकाछन् । त्यसकै प्रतिविम्बस्वरुप नेपाली अर्थतन्त्रमा पनि केही सय मानिसहरुको वर्चस्व रहेको स्पष्ट छ । राष्ट्रको प्राकृतिक श्रोत साधनलाई कमिशनको लोभमा राज्य संचालनको जिम्मेवारीमा रहेका केहि मुट्ठिीभर व्यक्तिहरु वेलगाम विदेशिहरुलाई लुट्न प्रेरीत गरीरहेकाछन् ।

साना र कम्जोर राष्ट्रहरुको समृद्धि र सार्भभौमिकता ठूला र बलिया राष्ट्रहरुको निगाहामा बाँचिरहेको छ । यो स्थितिमा नेपाली सार्भभौमिकताकोरक्षा र नेपाली जनताको समृद्धि भन्ने कुरा के कागजी प्रतिवेदन र भाषणमा मात्रै समित हुने हो ?यो प्रश्नले आम नेपाली जनताको मन र मष्तिश्कलाई चर्कोसँग घोचिरहेको छ ?के नेपाल स्वतन्त्र र सार्भभौम छ ? के नेपाली जनताको जिवन सँधै दुःखकै चक्रव्यूहमा गुज्रने हो ? यसकै जवाफस्वरुप नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नीति तथा कार्यक्रमलाई एकिकृत जनक्रान्तिको कार्यदिशा भनेर संश्लेषण गरेको छ । यो कार्यदिशालाई एकीकृत जनक्रान्तिको समाजवाद(वैज्ञानिक समाजवाद)कारुपमा यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ ।

कम्युनिष्ट घोषणापत्रमा उल्लेखित कार्यक्रम नै आज पनि समाजवाद सम्बन्धी आधारभूत कार्यक्रम हो । यद्यपि समय सापेक्ष त्यसमा केहि हेरफेर हुनु स्वभाविक छ । शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क गर्नुको साथै यातायात, सञ्चार, विद्युत, खानेपानी, इन्धन आदि आधारभूत आवश्यकताका क्षेत्रहरुलाई राष्ट्रियकरण गरी योजनाबद्ध सञ्चालन गर्नु नेपालमा समाजवादको आधारभूतआवश्यकता हो । विशेषतः नेपालमा कृषिको सामुहिकिकरण हुदै सार्वजनिकिकरण गर्नु समाजवाद सम्बन्धि प्राथमिक आवश्यकता हो । यो विषय कृषि र उद्योगलाई जोड्ने कडि पनि भएकोले जमिनको राष्ट्रियकरण गरेर किसानहरुलाई कृषि व्यवसायको लागि निःशुल्क जमिन उपलब्ध गराउनु नेपालमा समाजवादीकरणको महत्वपूर्ण शर्त हो । कृषिलाई वैज्ञानिकिकरण गर्नु र औद्योगिकरण गर्न राज्यले कृषिजन्य उद्योगहरुको सञ्चालन, बजारको सुनिश्चितता, औजार, मल, विऊको उपलब्धतालाई राज्य स्वयम्ले नै जिम्मा लिनु अनिवार्य हुन्छ । पुँजीलाई उत्पादक श्रमसँग जोड्नु समाजवादको अर्को विशेषता हो । त्यसका लागि ठुला राष्ट्रिय उद्योगहरु राज्यको स्वामित्व र केन्द्रिय योजनामा सञ्चालन गरिनु पर्दछ । औद्योगिकरणका लागि राजकिय पँुजीको निर्माण र पुँजीमाथि राज्यको एकाधिकार स्थापना गर्नु नेपालमा समाजवादको अर्को जरुरी आवश्यकता हो । जसका लागि निजि बैंक सञ्चालनको नीति खारेज गर्नजरुरी हुन्छ ।

उत्पादनको योजनाबद्धता, कृषि र उद्योगको एकिकृत परिचालन, राज्य नियन्त्रित अर्थप्रणाली, उत्पादनका साधनहरुमा आधारभूतरुपले राज्यको स्वामित्व समाजवादका नीतिगत विशेषताहरु हुन् ।त्यो नै एकिकृत जनक्रान्तिको अन्तरवस्तु हो । तर, नेपालको संविधान या काँग्रेस–नेकपा(नेकपा) को विधानमा यी नीतिहरु समाविष्ट छैनन् । त्यसकारण उनीहरुले भन्ने गरेको समाजवाद किसान र मजदुरको हित सम्बोधन गर्ने समाजवाद होईन । त्यो त विदेशि एकाधिकार पूजिको ‘थून’ चुसेर बाँचेको‘दलाल पुँजीवादी समाजवाद’ हो ।

नौलो जनवाद र समाजवादको अन्तरसम्बन्ध

समाजवादको स्थापनाका लागि एउटा महत्वपूर्ण बहस नौलो जनवाद र समाजवाद बीचको अन्तरसम्बन्ध हो । सामान्यतः विकासोन्मुख राष्ट्रहरुमा नौलो जनवादी क्रान्तिको विजय पश्चात् मात्र समाजवाद सम्भव हुन्छ भन्ने हालसम्म सर्वहारा वर्गको आम मान्यता हो । त्यसैले नेपालमा समाजवादको बहस हुदै गर्दा एउटा प्रश्न जोडदार उठ्ने गरेको छ– के यहाँ नौलो जनवादी क्रान्ति सफल भईसक्यो ? या नेपाल औद्योगिक पुजिवादको चरणमा पुगिसक्यो ? वास्तवमा यि दुईटै प्रश्नको जवाफ हो– न त यहाँ नौलो जनवादी क्रान्ति पुरा भएको हो न औद्योगिक पुजिवादको नै स्थापना भएको हो । त्यसो भए कुन आधारमा समाजवाद स्थापना आवश्यक हुन गयो ? हो, यहि प्रश्नको जवाफ नै एकिकृत जनक्रान्तिको प्रस्थान विन्दु हो ।

आफुलाई समाजवादी क्रान्तिको पक्षधर ठान्ने पूर्व एमाले वृत्तको तर्क रहेको छ– नेपाली समाजको उत्पादन सम्बन्ध अब सामन्तवादी रहेन । त्यसैले अब पनि जनवादी क्रान्ति(उनिहरुको भाषामा जनताको बहुदलिय जनवाद) भनिरहनु पछौटे तर्क हुन्छ । त्यसैगरी पूर्व माओवादी केन्द्रका सिद्धान्तकारहरुको तर्क रहेको छ– आधारभूतरुपले नेपालमा जनवादी क्रान्तिको कार्यभार पुरा भैसक्यो । त्यसकारण अबको कार्यक्रम समाजवाद हुन जरुरी छ ।

‘आधारभूतरुपले जनवादी क्रान्ति पुरा भैसकेको’ भन्ने तर्क हास्यास्पद मात्र हुन जान्छ । जहाँसम्म ‘सामन्तवादी उत्पादन सम्बन्धको अन्त’ भनिएको छ, त्यो पनि युक्ति संगत छैन ।नेपालमा सामन्ती उत्पादन सम्बन्धको अन्त भएको छैन । बरु सामन्ती उत्पादन सम्बन्धमा दलाल उत्पादन सम्बन्धको टाउको जोडिन गएकोले उत्पादन सम्बन्धकै मुख्य नेतृत्व भने दलाल रहन गएको भने साँचो हो । दुनियाँका विकसित मुलुकहरुमा सामन्तवादको अन्त भएर पुजीवाद स्थापना भयो । तर, पुजीवाद साम्राज्यवादमा विकसित भएपश्चात्का अर्ध–औपनिवेशिक मुलुकहरुमा पँुजीवाद र सामन्तवाद मिलेर दलाल तथा नोकरशाही पुजीवादको ठिमाहा सन्तान जन्मन पुग्यो । आजको नवऔपनिवेशिक स्थितिमा साम्राज्यवादी पुजीको चरम एकाधिकारले त्यहि ठिमाहा दलाल पुजीवाद पनि असाध्यै भद्दा र विकृत भएरदेखा परेको छ । जसको परिणाम विकासोन्मुख देशहरुमा साम्राज्यवादी एकाधिकारी पूजिको चरम हस्तक्षेपले निम्त्याएको नयाँ कुरा भनेको ति देशहरुमा राष्ट्रिय पुजीपति वर्गको स्वतन्त्र अस्तित्व अब करीव समाप्त हुदैछ ।

नौलो जनवादी सिद्धान्तका प्रस्तोता माओत्सेतुङ् हुन् । चीनमा(१९४९) माओले नौलो जनवादी क्रान्तिको सफल प्रयोग गरेपश्चात् त्यही कार्यदिशालाई सर्वहारा वर्गको दोस्रो मोडेल अर्थात् जनवादी क्रान्तिको कार्यदिशाका रुपमा विश्वभर स्थापित गरीयो । त्यसक्रममा माओले जनवादी क्रान्तिलाई समाजवादको समेत पुर्व चरण बताएका थिए । अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा गरीने क्रान्तिको तरीकाको रुपमा जतिबेला चीनीयाँ कम्युनिष्ट पार्टीले माओको नेतृत्वमा नौलो जनवादको संश्लेषण अघि बढाएको थिए त्यो बेला संसार दोस्रो विश्व युद्धमा हेलिईरहेको थियो । विश्व युद्धको समाप्ति सँगै चीनमा क्रान्ति सम्पन्न भयो । अर्धसामन्ती र अर्धऔपनिवेशिकताको वारेमा विश्लेष गर्दा त्यहाँ माओले दलाल पुजीको पनि उल्लेख गरेको पाईन्छ । तर, त्यो मुलतः नोकरशाही पुजिको रुपमा रहेको चीनीयाँ कम्युनिष्ट पार्टीको विश्लेषण रहेको छ ।

माओले नौलो जनवादी क्रान्तिलाई कम्युनिष्ट पार्टीको नेतृत्वमा लडिने पुँजीवादी क्रान्ति नै भनेका छन् । त्यो क्रान्तिको मुख्य कार्यभार राष्ट्रिय पुजीको निर्माण(पुजीको राष्ट्रियकरण) गर्नु र नोकरशाही(दलाल) पुजीको अन्त गर्नु हो । त्यो लडाईमा राष्ट्रिय पुजीपति वर्गलाई साथमा लिनु जनवादी क्रान्तिको अहम् कार्यभार भनिएको छ । तर, आजको विश्वमा माओले भनेको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामानिकै हेरफेर भएको छ । आजको विश्व नवऔपनिवेशिक युगमा प्रवेश गरीसकेको छ । नवऔपनिवेशिकताको मुख्य विशेषता भनेको आर्थिकरुपले विकासोन्मुख देशहरुको दोहन गर्नु हो ।जसको परिणाम ति देशहरुमा सामन्त, दलाल र नोकरशाही पुजीपति वर्ग‘थ्रि इन वन’का रुपमा विकसित भएको छ । त्यसो हुँदा तेस्रो विश्वका देशहरुमा राष्ट्रिय पुजीपति वर्गको महत्वपूर्ण सहभागितामानौलो जनवाद हुदै समाजवादमापुग्ने बाटो छोटो भएर एकै पटक समाजवादी हुनु पर्ने देखिन्छ ।

साम्राज्यवादको तिब्र भूमण्डलीकरण(खुल्ला बजार, उदारीकरण र निजिकरण) र चरम एकाधिकारले नयाँ जनवाद र समाजवादको पर्खाल ऊ आफैले ढाल्दै गईरहेको छ । विश्वका सम्पन्न, साम्राज्यवादी देशका धनिहरु मात्र होईन, अर्धसामन्ती मुलुकको कुनै एक धनाढ्य पनि अब विश्व एकाधिकारी पुजीको हिस्सेदार बन्न गएको छ । यो स्थितिलाई सच्चा कम्युनिष्टहरुले क्रान्ति सञ्चालनको परम्परागत विधि अपनाउनु बुद्धिमानी हुदैन । यसर्थ, आजको विश्वमा नव औपनिवेशिक मुलकुहरुमा समेत समाजवादी क्रान्तिको बहस आवश्यक छ । जनवाद र समाजवादकाबीच कम्युनिष्टहरु आफैले चीनीयाँ पर्खाल खडा गरेर साम्यवादको अभियानलाई टाढा धकेल्नु आवश्यक देखिदैन । अतः विकासोन्मुख देशहरुमा गरीने सर्वहारा क्रान्तिको नेतृत्वदायि चरीत्र अब समाजवादी नै हुन आवश्यक छ । तर,उक्त समाजवादी सत्तामाउत्पादनका मुख्य साधनहरुमाथि राज्यको स्वामित्व भएतापनि आम जनतामा निजि प्रतिश्पर्धाको एउटा चरण कायमै रहने देखिन्छ ।

विकसित मुलुकहरुमा स्थापना गरिने समाजवादी अभ्यासकाबारे पनि केही बहस हुन जरुरी छ । विज्ञान र प्रविधिको समेत चमत्कारीक विकास भईरहेको आजको दुनियाँमा पुजीको व्यापक भूमण्डलीकरण र एकाधिकारीकरणले स्वामित्वलाई अति केन्द्रित गरिदिएको छ भने उत्पादनलाई अति विशाल, सहज र व्यापक बनाईदिएको छ । विश्वका केवल एक प्रतिशत धनिहरुको स्वामित्वमा रहेको सम्पत्ति मात्र राष्ट्रियकरण गर्दा विश्वका बाँकि ९९ प्रतिशतको संख्यामा रहेका जनताको बराबर सम्पत्तिको राष्ट्रियकरण एकै झड्कामा हुन जान्छ । अतः समाजवादीकरणलाई १ का बिरुद्ध ९९ को अभियान बनाउन जरुरी छ । विकसित मुलुकहरुमा स्थापना गरीने समाजवादी सत्ताहरुमा समेत निजि स्वमित्व र सार्वजनिक स्वामित्वको अन्तरसम्बन्धलाई नयाँ ढंगले विश्लेषण गर्न जरुरी छ । यो कुरा निश्चित हो कि ति देशहरुमा समेत एउटा निश्चित अवधिसम्म निजि पुजीको प्रतिस्पर्धालाई राज्यले योजनाबद्ध सञ्चालन गर्नु पर्ने देखिन्छ । यसको ऐतिहासिक दृष्टान्त लेनिनको नेतृत्वमा लागु गरीएको नयाँ आर्थिक नीति अर्थात् नेप(NEP) को कार्यक्रम हो । जुन कार्यक्रम अन्तर्गत रुसमा लामो समयसम्म जनताको स्तरमा निजि स्वामित्वको छुट गरीएको थियो ।

समाजवाद भनेको निजि पुजीको अन्त गर्ने एउटा योजनाबद्ध प्रणाली हो । वितरण प्रणालीलाई क्रमशः सामुहिकिकरण गर्दै सार्वजनिकिकरण गर्नु समाजवादी सत्ताको प्रमुख दायित्व हो । आजको विश्वका सबै मुलुकहरुमा सम्पति सम्बन्ध एकै प्रकारको छैन । विशेषतः साम्राज्यवादी देशहरु, विकसित पुजीवादी देशहरु र विकासोन्मुख देशमा फरक प्रकारका सम्पति सम्बन्धहरु रहेकाछन् ।अतः सबै देशहरुमा स्थापना गरीने समाजवाद हुबहु एकै प्रकारको भन्ने पनि हुनु हुदैन ।

अतः आजको विश्व कम्युनिष्ट आन्दोलनको साझा रणनीतिक नारा हुनुपर्छ– साम्यवादका लागि समाजवाद । विश्वका कम्युनिष्ट पार्टीहरुको साझा फोरम(चौथो कम्युनिष्ट अन्तर्राष्ट्रिय) स्थापना गरी संसारका प्रत्येक न्यायपूर्ण आन्दोलनहरुको पक्षमा समर्थन र सहयोग जुटाउनु समाजवादी आन्दोलनको प्रमुख दायित्व हुनुपर्छ । विश्व समाजवादी आन्दोलनकासाझा लक्ष्यहरु हुनुपर्छ– प्रत्येक न्यायपूर्ण आन्दोलनलाई वर्गिय आन्दोलनको नेतृत्वमा सञ्चालन गर्नु,पुजी र प्रविधिको सामाजिकिकरण गर्नु, विश्व पर्यावरको रक्षा गर्नु ।

२०७५ माघ २५

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार