नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको संगठन सुदृढ तथा बिस्तार अभियान चिसो र हिउँलाई छिचोल्दै जारी छ । केहीदेखि वर्षा र हिउँ परिरहँदा पनि अभियान निरन्तर अगाडि बढिरहेको छ ।

मेचीदेखि महाकालीसम्मका मध्यपहाडी जिल्लाहरुमा संचालन भइरहेको अभियान पानी र हिउँको बीचमा ठाउँठाउँमा जनसभा तथा साँस्कृतिक कार्यक्रम गर्दै जारी रहेको स्थानीय संवाददाताहरुले जानकारी दिएका छन् ।

पूर्वीको मेचीका इमाल र पाँचथरमा चिसोलाई छिलोल्दै अभियान जारी रहेको टोली प्रमुख तथा नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले जानकारी दिएका छन् । उनले वर्षासँग बढेको चिसोले केही प्रभावित पारेपनि अभियान जारी रहेको बताए ।

चिसोका बाबजुद पनि शुक्रबार पाँचथरको दोसाध चिसापानी पञ्चमी बजारमा साँस्कृति कार्यक्रमसहितका जनसभा सम्पन्न भएको छ । सामना साँस्कृतिक परिवारले विभिन्न प्रस्तृती हेर्न स्थानीयको बोक्लो उपस्थिति रहेको थियो ।

जनसभालाई सम्बोधन गर्दै अभियान टोली प्रमुख पुनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई अनाहकमा गिरफ्तार गरेर राज्यले आफुहरुलाई उत्तेजित पार्न खोजेको बताए । “हाम्रा दुई जना कलाकार कुमार धामी र लक्ष्मण तामाङलाई अपहरण शैलीमा गिरफ्तार गरिएको छ । दलाल सरकारले हामीलाई उत्तेजित पार्ने काम गरिरहेको छ । गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई नगरे संघर्षमा जान बाध्य हुनेछौं” पुनले भने । उनले तत्कालिन काङ्ग्रेसको फासिवाद जनयुद्धलाई प्रत्यक्ष फाइदा पुगेको भन्दै ओली नेतृत्वले आफ्नो पार्टीमाथि गरेको दमनले एकीकृत जनक्रान्तिलाई थप शक्ति प्रदान गर्ने दाबी गरे ।

नेता पुनले आफ्नो लडाइँ प्रशासनसँग नभएर दलालहरुसँग भएको तर फुली बढाउन सिडिओ र डिएसपीले शान्तिपूर्ण कार्यक्रममा जनतालाई कला संस्कृतिद्वारा सुसूचित गर्दै हिडेका कलाकारलाई गिरफ्तार गरेको भन्दै विरोध जनाए । उनले तत्काल रिहा गर्न समेत आग्रह गरे । उनले आफ्ना शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्नेहरुलाई जनअदालतको कठघरामा उभ्याउने चेतावनी समेत दिए ।

अर्को प्रसंगमा पुनले केपी र प्रचण्ड आपसि सत्तालिप्साको झगडामा फसेकाले आफै असफल साबित भएको बताए । असफल पात्रको निर्देशनमा चलेर पुलिस र प्रशासन पनि असफल र पंगु बन्न नहुने बताए । उनले क्रान्तिकारी आन्दोलनसँग जिस्किन आए जवाफ दिन आफ्नो पार्टी तयार रहेको चेतावनी दिए । उनले आफूहरुले युद्ध नभएर क्रान्ति गर्न चाहेको बताउँदै युद्धमा जानु परे जनयुद्धझैं कम्ब्याट ड्रेस लगाएरै युद्धको घोषणा गर्ने बताए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले अभियानका क्रममा २४ गते पाँचथर जिल्लाको रविबजारबाट गिरफ्तार गरिएका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई तत्काल रिहा गर्न माग गरेको छ ।

मेची ब्यूरो इन्चार्ज सुमन लिम्बूले विज्ञप्ति जारी गरेर नेकपाको विचार र राजनीतिको लोकप्रियताबाट आतङ्कित दलाल सरकार आफ्नो सत्ता रक्षाका लागि क्रान्तिकारीहरूमाथि पञ्चायती मण्डले शैलीमा धरपकड र गिरफ्तार गर्न लागि परेको बताए । लिम्बुले पाँचथरका जिल्ला प्रशासन प्रमुख प्रकाशचन्द्र अधिकारी र डीएसपी नरेन्द्र कुँवरले अभियान भाँड्नका निम्ति सुनियोजित योजना बनाएर लागेको दाबी समेत गरेका छन् । उनले बिना सर्त तत्काल रिहाइ गर्न माग समेत गर्दै यस्तो रबैया दोहो¥याए जनताको तहबाट प्रतिरोध गर्न आह्वान समेत गरेका छन् ।

अभियानकै क्रममा रुकुम र सल्यानमा भारी हिमपात भएको छ  । तर, अभियान टोली पनि हिउँलाई छिचोल्दै जनसभा, घरदैलो, जनश्रमजस्ता कार्यमा सहभागी भइरहेको छ । नेकपाका केन्द्रीय सदस्य चिरण पुनले नेतृत्व गरेको अभियान टोली गाउँगाउँमा संगठन गठन पुर्नगठन गरिरहेको छ ।

वर्षासँगै सुदूरपश्चिमको अछामको अग्ला भागहरुमा पनि हिउँ परेको छ भने चिसो बढेको छ । चिसो र हिउँको प्रभाव नगरी अभियान टोली गाउँगाउँमा संगठन गठन तथा पुर्नगठनसँगै जनसभा–प्रशिक्षण संचालन गरिरहेको अभियान टोली सदस्य तथा चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीले जानकारी दिए ।

जिल्ला सदरमुकाम मंगलसेनबाट सुरु भएको अभियान पूर्व अछामका गाउँगाउँमा पुगेको छ । पार्टी केन्द्रीय सदस्य बन्धु चन्दले नेतृत्व गरेको अभियान फागुन १ गते जनयुद्धको आधार क्षेत्र रामारोशनमा आयोजना गरिएको विशाल जनसभामा सहभागी हुँदैछ । बिसीका अनुसार अभियान टोलीले अहिलेसम्म करिब ४० स्थानीय तहमा नयाँ कमिटी गठन गरेको छ । अभियानकै क्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेशको पनि लहर चलेको छ ।

त्यसैगरी डडेल्धुरा, कैलाली, बैतडी, दार्चुला, रोल्पा, प्यूठान, दाङ, अर्घाखाँची-गुल्मी, पाल्पा, कालिकोट, दैलेख, कपिलबस्तु, जाजरकोटलगायतका जिल्लामा पनि अभियान निरन्तर अगाडि बढिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार