(विश्व चर्चित अष्ट्रेलियाली खोज पत्रकार तथा वृत्तचित्र निर्माता जोन पिल्गर बेलायतको सर्वोच्च पत्रकारिता पुरस्कार जितेका व्यक्तित्व हुन् । उनले बनाएका वृत्तचित्रका निम्ति उनलाई बेलायत र संरा अमेरिका दुवै देशमा एकेडेमी अवार्डसमेत प्रदान गरिएको छ । विश्वका थुप्रै देशको भ्रमण गरी त्यहाँका नेताहरूसित अन्तर्वार्ता लिएका र कैयौं देशका बारेमा वृत्तचित्र बनाएका जानकार पिल्गर पश्चिमाहरुले भेनेजुयलाविरुद्ध युद्ध थालनी गरिसकेका तर त्यो झूटमा आधारित भएको लेखेका छन् । –सम्पादक)

ह्युगो चाभेजसँग भेनेजुयला घुमिरहँदा नै मैले भेनेजुयलाको खतरा बुझिसकेको थिएँ । लारा राज्यमा अवस्थित एउटा कृषि सहकारीमा स्थानीय किसानहरू गर्मीको पर्वाह नगरी हँसिलो मुहारका साथ पर्खिरहेका थिए । पानीका जगहरू र स्थानीय उत्पादित फलफूलका जुस वितरण भइरहेको थियो । हामी पुगेपछि एउटा गिटार बज्न थाल्यो । एक स्थानीय महिला काटारिना उठिन् र गिटारको धुनसँगै सुमधुर गीत गाउन थालिन् ।

‘तिनका शब्दले के भन्छन् ?’ मैले सोधेँ ।
“हामी गौरवान्वित छौँ” – जवाफ थियो ।

तिनको गीतका लागि बजेको ताली चाभेजको आगमनमा बजेको तालीसँगै मिसियो । चाभेजले ठूलो रातो सर्ट लगाएका थिए र काखीमा केही किताब च्यापेका थिए । जनताले उनलाई चाभेज नामबाट सम्बोधन गरिरहेका थिए र आफ्ना कुरा सुनाउन रोकिरहेका थिए । चाभेजको जनताको कुरा सुन्ने धैर्यता देखेर म अचम्मित भएको थिएँ ।

लगत्तै चाभेजको बोल्ने पालो आउँछ । जनतालाई सम्बोधन र शुभकामना दिएसँगै उनी आफूसँग भएका किताबका अनुच्छेदहरू पढेर सुनाउन थाल्छन् । अर्वेल, डिकेन्स, तोल्सतोय, जोला, हेमिङ्ग्वे, चोम्स्की, नेरुदालगायतका पुस्तकहरू त्यहाँ थिए । जनता उत्सुकतापूर्वक सुनिरहन्छन् र बीचबीचमा ताली पनि बजाइरन्छन् ।
त्यसपछि माइक्रोफोनमा बोल्ने पालो किसानहरूको आउँछ । तिनीहरू चाभेजलाई भन्छन्– हामीलाई थाहा छ, हामीलाई के चाहिन्छ । एक स्थानीय आदिवासी अनुहार, स्थानीय खेतबाट आएको जस्तो लाग्ने एक किसानले सिंचाइको स्थितिको बारेमा लामो र तथ्य तथ्याङ्कसहितको भाषण गर्छन्, चाभेज धैर्यतापूर्वक सुन्छन् र आफ्नो नोटबुकमा टिपिरहन्छन् ।

चाभेजको त्यो भद्रता देखेर जनतासित गरेको वाचा निभाउने मानिस सत्तामा पुगेपछि पनि कस्तो हुन्छ ? कसरी उसले आफ्ना हरेक पाइलामा जनताको इच्छाको कदर गर्छन् ? छर्लङ्ग भयो ।

त्यतिखेर आठ वर्षको अन्तरालमा चाभेजले आठवटा निर्वाचनहरू र जनमतसङ्ग्रह जिते, जुन विश्व रेकर्ड नै हो । उनी पश्चिम गोलाद्र्धमा सायद विश्वमै पनि जनमतका आधारमा सबैभन्दा लोकप्रिय राष्ट्रप्रमुख थिए ।

हरेक मुख्य चाभेजवादी सुधारहरू जनताबाट अनुमोदित थिए । त्यहाँको नयाँ संविधान पनि ७१ प्रतिशत जनताबाट समर्थित संविधान हो । त्यसको ३९६ धाराहरूलाई नै जनअनुमोदन मिलेको थियो । त्यस संविधानले जनताको सबैखाले अधिकार सुनिश्चित गर्नुका साथै धारा १२३ मा भएको व्यवस्था त विश्वमै पहिलो थियो । जसमा मिश्रित जाति र कालो वर्णका मानिसहरूको मानव अधिकारको सुनिश्चितता गरिएको छ । चाभेज स्वयम् पनि मिश्रित वर्णका थिए ।
चाभेजको नोटबुकमा एक नारीवादी लेखिकाको उद्धरण लेखिएको थियो– ‘प्रेम र ऐक्यबद्धता उही हुन् ।’ चाभेजका स्रोताहरूले उनको अभिव्यक्ति एक सुनाइमै बुझ्न सक्थे । उनी आफ्ना स्रोता (जनता) सित स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र विकासको कुरा गर्थे । सर्वसाधारण जनता, अझ विशेषगरी महिलाहरू चाभेज र उनको सरकारलाई आफ्नो पहिलो उद्धारकर्ता मान्थे, जुन सत्य पनि हो ।

भेनेजुयलाका आदिवासी मेस्टिजो र अफ्रो भेनेजुयालीहरूका सन्दर्भमा विशेष सत्य रहेको छ । चाभेज आउनु अघिसम्म ती जनता कुनै पनि खाले अधिकारबाट वञ्चित थिए । चाभेजभन्दा अगाडिका राष्ट्रपतिहरू र आज पनि आदिवासी भूमि (व्यारिअस) भन्दा टाढा पूर्वी काराकसका महलहरू र गगनचुम्बी घरहरूमा बस्नेहरूले ती आदिवासी जनतालाई भेनेजुयाली नागरिक मान्न सङ्कोच गर्छन् । बरु आफूहरू अमेरिकी सहर मियामीलाई आफ्नो बैङ्क र जमघटस्थल बनाउँछन् र आफूलाई उच्च तहको ‘गोरा’ मानिस सम्झन्छन् । तिनीहरू नै भेनेजुयलाका परम्परागत शासक वर्ग हुन्, जसलाई पश्चिमा सञ्चारमाध्यमहरूले ‘विपक्षी’ भनेर सम्बोधन गर्छन् ।

जब मैले यी शासक वर्गसित काराकसस्थित एक भोज स्थलमा भेटेँ, उनीहरूमध्ये केहीको घरमा आमन्त्रित भएँ र त्यहाँ तिनीहरूको शान– सौकत र गलत व्यवहारहरू देखेँ, मैले तिनीहरूलाई चिनेँ । तिनीहरू रङ्गभेदी दक्षिण अफ्रिकाका गोरा शासकहरूजस्तै हुन् । आफ्नो निम्न पुँजीवादी प्रवृत्ति र आकाङ्क्षालाई परम्परा र कुलीनताको पर्दाले छोपेर जातिभेदी र रङ्गभेदी क्रुरताको अभ्यास गरिरहन्छन् ।

भेनेजुयाली प्रेसका अधिकांश पत्रकार र कार्टुनिष्टहरू अल्पसङ्ख्यक शासक वर्गले किनिएकाहरू छन्, सरकारको विरोध गर्छन् र चाभेज र उसका साथीहरूलाई ‘वनमान्छे’ को रुपमा चित्रण गर्छन् । एउटा रेडियोमा म चाभेजलाई बाँदर भनेको पनि सुनेँ । निजी विश्वविद्यालयहरूमा पढाइ गर्ने कोर्शहरू र क्लासनोटहरूमा जातिवादी गालीका शब्दहरू प्रयोग भएको देखेँ । आज भेनेजुयाली सञ्चारमाध्यममा जुन अपमान र गालीको ‘प्रदूषण’ देखिएको छ, त्यो त्यसैको परिणाम हो ।
पश्चिमा समाचार–पत्रहरूमा पहिचानको राजनीतिको बहस खुबै उछालिएको पाउँछौँ तर ‘वर्ण’ र ‘वर्ग’ दुई शब्द तिनीहरूले कहिल्यै उच्चारण गर्दैनन् । तिनीहरूले विश्वको सबैभन्दा ठूलो तेल भण्डार कब्जा गर्न वासिङ्टनले चालेको पछिल्लो नाङ्गो हस्तक्षेप र ल्याटिन अमेरिकालाई पुनः आफ्नो ‘करेसाबारी’ बनाउने सोचाइबारे कहिल्यै समाचार बनाउँदैनन् । तिनीहरू भेनेजुयलाको वर्तमान स्थितिका निम्ति सबै दोष चाभेजवादीहरूमाथि थोपर्छन् । चाभेजवादीहरूले तेलको आयबाट बनेको भेनेजुयलाको अर्थतन्त्र (राज्यकोष) लाई सबैको हितको कार्यक्रम ल्याए, क्षेत्रीय ठूलठला पुँजीहरू र भ्रष्टाचारहरूलाई चुनौती दिए । तिनीहरूले सामाजिक न्याय र करोडौं जनतामा गौरवको अनुभूति ल्याए र तिनीहरूले त्यो अतुलनीय खालको प्रजातन्त्रकै माध्यमले गरे ।

पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टर, जो आफ्नै नाममा बनेको कार्टर सेन्टरका संरक्षक पनि हुन् र जुन संस्थाले विश्वभरिकै निर्वाचन पर्यवेक्षण गर्ने गर्छ भन्छन्– मैले पर्यवेक्षण गरेका ९२ वटा निर्वाचनहरूमध्ये भेनेजुयलाको निर्वाचन प्रक्रिया विश्वकै सबभन्दा राम्रो हो । भेनेजुयाली निर्वाचन प्रक्रियासित तुलना गर्दै कार्टर भन्छन्– अमेरिकी निर्वाचन प्रणालीमा पैसा सङ्कलनमा र खर्च गर्नमा जोड दिइन्छ र विश्वकै खराब प्रणालीमध्ये एक हो ।

गरिबत्तम् आदिवासी भूमिमा जनमतको अभिवृद्धि गर्दै सामुदायिक सरकारहरूको गठन गर्ने भेनेजुयलाको प्रजातन्त्रलाई चाभेजले ‘रुसोको जनतामा सार्वभौमसत्ताको विचारको हाम्रो संस्करण’ भनेका थिए ।

आदिवासी भूमि ला लिनियामा आफ्नो सानो भान्छाघरमा बसिरहेकी बिट्रिस बालाजोले तिनका केटाकेटीहरू नै त्यस क्षेत्रमा पूर्ण दिन विद्यालय जान पाएको पहिलो पुस्ता भएको बताइन् । त्यहाँका केटाकेटीहरूले विद्यालयमै तात्तातो खाना, खाजा, पढाइका अतिरिक्त सङ्गीत, कला र नृत्यसमेत सिक्न पाउँछन् । “अहिले केटाकेटीहरूको आत्म विश्वासअत्यन्त बढेको छ, तिनीहरू मल लागेका फूलझैं फक्रेका छन् ।” – तिनले भनिन् ।

आदिवासी भूमि ला भेगामा मैले ४५ वर्षकी कालो वर्णकी एक नर्स मारियला माचाडोसित भेटेँ । ती दिनमा तिनीहरू “आदिवासी भूमि मातृ कल्याण योजना’ चलाउँदै थिए । त्यो कार्यक्रमको लक्ष्य एकल महिला र एकल आमाहरुबीचको गरिबी उन्मूलन रहेको थियो । एकल महिलाहरूका लागि भेनेजुयलाको संविधानले निवृत्तिभरण सरह नै भत्ता पाउने व्यवस्था गरेको छ र विशेष महिला बैङ्कबाट एकल महिलाहरूले सहुलियत दरको कर्जा पनि लिनसक्छन् ।

फ्लोरोसेन्ट टयुवको बत्ती बलेको एक घरमा मैले ८६ वर्षीया अना लुसिया फर्नाण्डेज र ९५ वर्षीया माविस मेन्डेजलाई पनि भेटेँ । त्यस्तै दुई केटाकेटीका साथ एक ३३ वर्षीया महिला सोनिया अल्भरिजलाई पनि त्यहीँ भेटेँ । कुनै बेला तिनीहरू कसैलाई पनि लेखपढ गर्न आउँदैनथ्यो । अहिले तिनीहरू गणित सिकिरहेका छन् । इतिहास मानै पहिलोपटक भेनेजुयलाको साक्षरता दर झण्डै शत प्रतिशत पुगेको छ । यो सबै मिशन रोविनसन्को सफलता हो, जसले गरिबीका कारण पढ्न नपाएका प्रौढ, युवा, किशोर–किशोरी सबैलाई साक्षर बनाएको छ । त्यस्तै मिशन रिवासले किशोर–किशोरीहरूलाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य व्यवस्था गरेको छ ।

रोविनसन् र रिवास दुवै १९ औं शताब्दीका भेनेजुयाली स्वाधीनता सङ्ग्रामका नेताहरू थिए र तिनीहरूकै नाममा मिसन सञ्चालन भइरहेका छन् ।
– अनुवाद ः प्रकाश

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार