भियतनामको राजधानी हनोईमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो चरणको शिखर वार्ताबिना कुनै निष्कर्ष टुङ्गिए पनि मार्च महिनाको पहिलो साता प्रजग कोरियाका नेता किम जङ उन त्यहाँ थप दुई दिन बसे । भियतनामका राष्ट्रपति न्युयेन फु त्रोङसँगको भेटवार्तामा किमले राष्ट्र निर्माण र सामाजिक–आर्थिक विकासमा आपसी बुझाइ र अनुभव आदानप्रदानलाई जोड दिए ।

भियतनामको विकासको अनुभवबाट सिक्न केही प्रजग कोरियाली अधिकारीहरूसहित किम स्थलगत निरीक्षणमा पनि गए । यस्ता सबै गतिविधिलाई नियालिरहेका केही मानिसहरूले प्रजग कोरिया ‘भियतनामी मोडेल’ अनुसरणतिर अघि बढिरहेको भनी अथ्र्याए ।

यसअघि प्योङयाङले वाशिङ्टनद्वारा प्रस्तावित ‘लिविया मोडेल’ को दृढतापूर्वक विरोध गरेको थियो । सन् २०१८ को जुलाइमा भियतनाम भ्रमणको क्रममा संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले प्रजग कोरियाले चाहे भियतनामको जस्तो आर्थिक चमत्कार आफ्नो देशमा गर्नसक्ने बताएका थिए । हनोई शिखर सम्मेलनको क्रममा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘भियनाम मोडेल’ को चर्चा गरेका थिए ।

किम–ट्रम्प दोस्रो शिखर सम्मेलन हनोईमा राख्नु पछाडि भियतनामको ठूलो साङ्केतिक स्वार्थ रहेको विश्लेषकहरू बताउँछन् । प्योङयाङलाई भियतनामको चमात्कारिक विकासको ढाँचा अँगाल्न लगाउन वाशिङ्टनलाई सहज होस् भनेर सम्मेलन हनोइमा आयोजना गरिएको उनीहरूको बुझाइ हो । तर, यो चाहना वाशिङ्टनको मनको लड्डुमात्र हुनसक्छ ।

के प्रजग कोरियाले ‘भियतनाम मोडेल’ पछ्याउला ? यो प्रश्नको उत्तर हुन्छ–पछ्याउँदैन ।

निःसन्देह भियतनाम र प्रजग कोरियाबीच केही समानताहरू छन् । दुवै समाजवादी देश हुन् । दुवैले योजनाबद्ध अर्थतन्त्र लागू गरेका छन् । दुवैसँग संरा अमेरिकासँग युद्ध लडेको अनुभव छ । साथै दुवै देश वाशिङ्टनसँगै बैमनस्यतापूर्ण सम्बन्ध अन्त्य गरी सामान्य सम्बन्ध विकास गर्न चाहन्छन् ।

भियतनाम युद्धको क्रममा मारिएका संरा अमेरिकी सिपाहींहरूका अवशेष फिर्ता गर्ने विषय संरा अमेरिका र भियतनामबीचको तनावको प्रमुख मुद्दा थियो । भियतनामले कम्बोडियाबाट आफ्ना सेना फिर्ता गरेपछि संरा अमेरिकाले सन् १९९१ को नोभेम्बरबाट भियतनामसँग सम्बन्ध सुधारको लागि संवाद थालनी ग¥यो । तर, प्रजग कोरिया र संरा अमेरिकाबीच सम्बन्ध सुधारको प्रमुख किलो आणविक निःशस्त्रीकरणमा अड्केको छ ।

प्रजग कोरियाको कोणबाट हेर्दा ‘भियतनाम मोडेल’ न त उदाहरणीय हो न सफल ढाँचा नै हो ।

प्रथमतः प्योङयाङको तीव्रगतिको विकासको लागि ‘भियतनाम मोडेल’ उपयुक्त बाटो होइन । प्रजग कोरियासँग तीव्रगतिमा विकासका आधारहरू छन् । जस्तै, ऊसँग मनग्य भूमिगत स्रोत छन् । ती भूमिगत स्रोत उसले चीन र दक्षिण कोरियामध्ये जहाँ उपयुक्त हुन्छ, त्यही निर्यात गर्नसक्छ । प्रजग कोरियासँग विज्ञान र प्रविधिका प्रशस्त प्रतिभाशाली जनशक्ति छ । ऊसँग भएको शक्तिशाली राष्ट्रिय प्रतिरक्षा प्रविधिलाई उसले नागरिक कल्याणमा प्रयोग गर्नसक्छ ।

दोस्रो, प्रजग कोरियाको भूराजनीतिक महत्व भियतनामको भन्दा उँचो छ । एकपटक आर्थिक विकासको बाटोमा अघि बढेपछि प्योङयाङले चीन र दक्षिण कोरियाजस्ता छिमेकी देशहरूबाट ठूलो मात्रामा सहयोग र साथ पाउनसक्छ । चीन र दक्षिण कोरिया प्रजग कोरियामा लगानी गर्न लालायित छन् । प्योङयाङले यदि जापानसँग सम्बन्ध सुधार गरे उसले जापानी सरकारबाट २० अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति पाउन सक्छ ।

तेस्रो, प्रजग कोरिया र भियतनाम दुवै देश कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका देश हुन् । तर, उनीहरूबीच प्रस्ट भिन्नताहरू छन् । भियतनाममा राष्ट्रपति, प्रधानमन्त्री र संसदका अध्यक्षलाई सर्वोच्च मानिएको नियन्त्रण र सन्तुलनमा आधारित शासन व्यवस्था छ । तर, प्रजग कोरियामा केन्द्रिकृत शासन व्यवस्था छ । उसले आजभोलि अर्थतन्त्र पुनःस्थापना र विकासमा जोड दिइरहेको छ । तर, संरा अमेरिकासँग उसले शान्ति सन्धि गरिसकेको छैन । संरा अमेरिका– दक्षिण कोरिया अझै पनि प्रजग कोरियाको लागि वस्तुगत खतरा हो । त्यसकारण प्रजग कोरियाले लामो समयसम्म आजकै केन्द्रिकृत शासन व्यवस्था कायम राख्नेछ ।

चौथो, भियतनामको विकास पछाडिको मूल आधार भनेको ठूलो मात्राको विदेशी प्रत्यक्ष लगानी हो । भियतनामका सबै क्षेत्र र भूगोल विदेशी लगानीका लागि खुला गरियो । तर, प्रजग कोरियाको सन्दर्भमा सम्भवतःउसले विशेष आर्थिक क्षेत्र वा विकास क्षेत्रको रूपमा सीमावर्ती वा समुद्र छेउछाउका क्षेत्रलाई सुरूमा खुला गर्नेछ । यो भनेको चीनको विकासको बाटो हो ।

चीनमा सुधार र खुलापनको कार्यक्रम सन् १९७८ को नोभेम्बर महिनामा भएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकदेखि थालनी गरिएको थियो । यो निर्णय पेचिङ र वाशिङ्टनबीचको सम्बन्ध सुधारसँग जोडिएको छ । सुधार र खुलापन नीति सुरू हुनुअघि सन् १९७२ मा संरा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरेका थिए । सुरक्षाको उचित बन्दोबस्तबिना प्रजग कोरियाले सुधार र खुलापनको बाटोमा अघि बढ्नु हुन्न वा अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा एकाकार भइहाल्न हुन्न ।

सरकारले आफ्नो लक्ष्य तय गर्नु, अरू देशसँग सम्बन्ध सुधार गर्नु र अन्तर्राष्ट्रिय सङ्गठनमा आबद्ध हुनुलाई बन्द रहेको कुनै पनि देश खुला भई सुधारको बाटोमा जाने तीन चरण मान्न सकिन्छ ।

किम प्रजग कोरियाका सर्वोच्च नेता बनेयता उनले विशेष आर्थिक क्षेत्र र आर्थिक विकासको लहर ल्याएका छन् । प्रजग कोरियाको खुलापनको आन्तर्य यिनै हुन् । तर, अन्तर्राष्ट्रिय रूपमा थोपरिएका नाकाबन्दीले खुलापनका नीति कार्यान्वयनमा अवरोध गरिरहेका छन् ।

सन् २०१८ को अप्रिल २० देखि प्योङयाङले आफ्नो अर्थतन्त्रमा जोड दिन थालेको हो । संरा अमेरिकासँगको सम्बन्ध कसरी सामान्य बनाउने भन्ने प्रश्न प्रजग कोरिया सरकारको प्रमुख चासोको विषय हो । यो विषय आणविक निःशस्त्रीकरणसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।

प्योङयाङले आणविक निःशस्त्रीकरणमा वार्ता गर्न तयार हुनुको कारण भनेको विकासको लागि राम्रो सुरक्षित वातावरण बनाउन खोज्नु नै हो । यदि प्रजग कोरिया आर्थिक विकास हासिल गर्न चाहन्छ भने उसले संरा अमेरिकासँगको संवादलाई चालू राख्नुपर्छ ।

लेखक चाओ एन–लाई सरकारी तालिम प्रतिष्ठानका उपप्राध्यापक र नानकिङ विश्वविद्यालयअन्तर्गतको एसियाली अनुसन्धान केन्द्रका उपनिर्देशक हुन् ।
स्रोतः एसिया रिभ्युनेपाली अनुवादः सुशिला

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार