कहाँ गयो होला त्यो प्रिय प्रचण्ड
जो, 
निरंकुसताको बुटमुनि थिचिएको
समाजलाई मुक्त गर्न आएको थियो
कहाँ गयो होला त्यो प्रिय प्रचण्ड
जो,
असमानताको खाडलले क्षत विक्षत
बस्तीहरुलाई एकजुट पार्न आएको थियो
कहाँ गयो होला त्यो प्रिय प्रचण्ड
जो,
गरिबको रगतले मोटाएका मुखियाको
गलाको पासो बनि आएको थियो

आज सम्झिरहेछु त्यो प्रिय प्रचण्ड
जो,
म ताते ताते गर्दै आमाको न्याको काख
र बाबाको न्यानो स्नेह खोज्दा
भोली तिमी शहिदको छोरा कहलाउने छौ
तिम्रा बाबा आमाको नाम शहिदहरुको
पंतिमा स्वर्ण अक्षरले लेखिने छ
राज्यले तिम्रा हरेक इक्षा पुरा गर्ने छ
भन्दै मेरा चाहानालाई शक्तिमा बदल्ने
मेरा बाबा आमाका आदर्श थियो

आज पनि त्यो प्रिय प्रचण्डलाई
म उत्तिकै माया गर्छु
म उत्तिकै सम्मान गर्छु
उ मेरो आदर्श हो
उसलाई कसैले गाली गर्दा
प्रतिवाद गर्न मन लाग्छ
उसलाई कसैले आक्रमण गर्दा
ढाल बनि उभिन मन लाग्छ

आज पनि मेरी आमा
उ आउने बाटोमा
आखा बिछ्याई बस्छिन्
आज पनि अगेनोमा
उसको लागि आगो बल्छ
आज पनि मेरा बाबा
हर घडी उसकै कथा लेख्छन्
कहिले आउँला त्यो प्रिय प्रचण्ड
खुशीको बहार बोकेर
दशैँ अनि तिहार बोकेर
मेरो मन हर घडी पर्खिरहन्छ
मेरा आँखा जता ततै खोजिरहन्छन्
कहाँ गयो होला त्यो प्रिय प्रचण्ड
कतै भुमरीमा पर्यो कि
कतै भिरबाट झर्यो कि
कतै थाकेर बस्यो कि
कतै प्रलोभनमा फस्यो कि
कतै शहरको हावाले छोयो कि
कतै प्रभुको सामु रोयो कि
कतै आस्थाको रेखा मिच्यो कि
कतै शहिदका सपना बेच्यो कि
कतै दलालको घरमा पस्यो कि
कतै दक्षिणतिर कम्मर कस्यो कि
साच्चै कहाँ गयो होला
त्यो प्रिय प्रचण्ड ??

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार