भौतिकशास्त्र र ब्रह्माण्ड विज्ञानमा रुची राख्नेहरुका लागि खुसीको खबर छ। खगोलशास्त्रीहरुले अहिलेसम्म गर्न नसकिएको काम गर्न सफल भएका छन्। उनीहरुले ब्ल्याक होलको फोटो खिचेका छन्।

त्यो ब्ल्याक होल भने हाम्रो आकाशगंगा (ग्यालेक्सी)को होइन। खगोलशास्त्रीहरुले ‘मेसियर ८७’ नामक आकाशगंगामा रहेको ब्ल्याक होलको फोटो खिचेका हुन्। हाम्रो आकाशगंगाको नाम मिल्किवे हो।

खगोलशास्त्रीहरुले जनाए अनुसार उक्त ब्ल्याक होल पृथ्वीबाट करिब ५ करोड ५० लाख प्रकाश वर्ष पर रहेको छ। अर्थात् त्यहाँसम्म पुग्न प्रकाशलाई पनि ५ करोड  ५० लाख वर्ष लाग्छ।

खगोलशास्त्रीहरुले यो ब्ल्याक होल ४० अर्ब फराकिलो र पृथ्वी भन्दा ३० लाख गुणा ठूलो भएको बताएका छन्। उनीहरुले यसलाई राक्षस (मनस्टर) भनेका छन्।

पृथ्वीका विभिन्न ठाउँमा राखिएका आठवटा शक्तिशाली टेलिस्कोपको माध्यमबाट ब्ल्याक होलको फोटो खिचिएको हो।

नेदरल्याण्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फाल्केले यो ब्ल्याक होल हाम्रो सिंगो सौर्य मण्डलभन्दा पनि ठूलो भएको जनाएका छन्।

‘यसको पिण्ड सुर्यको भन्दा ६ अर्ब ५० करोड गुणा ठूलो छ। यो हामीले सोचेभन्दा निकै ठूलो ब्ल्याक होला हो’, प्रा. फाल्केले बिबिसीसँग भनेका छन्।

‘फोटोमा चम्किलो ‘आगोको गोलो’ देखिएको छ’, प्रा. फाल्केले भनेअनुसार यसले गोलाकार ब्ल्याक होललाई घेरेको हुनुपर्छ। यसको प्रकाश करोडौं ताराहरु जोड्दा देखिने भन्दा पनि बढी छ त्यसैले यो पृथ्वीबाट देखिन सम्भव भएको वैज्ञानिकहरुको ठहर छ।

के हो ब्ल्याक होल ?

ब्ल्याक होलहरु ब्रह्माण्डमा रहेका यस्ता स्थानहरु हुन् जहाँबाट केही चिज पनि फर्किन सक्दैन। अत्यन्त धेरै गुरुत्वाकर्षण शक्ति हुने भएकाले यिनको नजिक पुगेका हरेक चिज यहाँबाट फर्किन नसक्ने वैज्ञानिकहरुको शुरुवाती ठहर थियो।

सन् १७८० को दशकमा नै ब्ल्याक होलको अस्तित्वबारे चर्चा हुन थालेको थियो। पछि बिसौं शताब्दीको शुरुमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो चर्चित सिद्धान्त ‘सापेक्षतावादको सामान्य सिद्धान्त’मा यसको अस्तित्व रहेको सैद्दान्तिक रुपमा पुष्टि गरे। यद्यपि सन् १९६० को दशकसम्म भने यसको नाम ब्ल्याक होल भइसकेको थिएन। यसमा वैज्ञानिकहरुले एक पछि अर्को गरी अनुसन्धान गर्दै गए।

ब्ल्याक होलबारे अनुसन्धान गर्ने वैज्ञानिकको अग्रपंक्तिमा रोजर पेनरोज र स्टेफन हकिङ आउँछन्। पेनरोज र हकिङले ब्ल्याक होलबाट केही मात्रामा प्रकाशका किरणहरु फर्किने पत्ता लगाएका थिए।

कसरी खिचियो फोटो? 

ब्ल्याक होलको फोटो खिच्न प्रयोग गरिएको टेलिस्कोप ।

ब्ल्याक होलको फोटो खिच्ने प्रस्ताव पहिलोपटक प्राध्यापक फाल्केले आफू विद्यावारिधीको विद्यार्थी छँदै सन् १९९३ मा राखेका थिए। त्यतिबेला धेरैले यो कार्यलाई असम्भव ठान्थे। तर उनले ब्ल्याक होलबाट केही रेडियो तरंगहरु फर्किने भएकाले शक्तिशाली टेलिस्कोपको सहायताले पृथ्वीबाटै त्यसबारे थाहा पाउन सकिने बताए।

प्राध्यापक फाल्केले त्यो प्रस्ताव राखेको २० वर्ष पछि युरोयिन रिसर्च काउन्सिलले यो अनुसन्धानका लागि बजेट छुट्याउन तयार भयो। त्यसपछि ‘नेसनल साइन्स फाउन्डेसन’ र पूर्वी एसियाका एजेन्सीहरु पनि यो परियोजनामा जोडिए। कूल ४० करोड पाउन्ड स्टर्लिङको बजेट जम्मा भयो।

‘यो निकै लामो यात्रा थियो जसलाई म आफ्नै आँखाले देख्न चाहन्थे’, प्रा. फाल्केले बिबिसीसँग भनेका छन्, ‘म यो यथार्थ भएको जान्न चाहन्थेँ।’

एउटा मात्र टेलिस्कोपले ब्ल्याक होलको फोटो खिच्नु सम्भव थिएन। त्यसैले हावर्ड–स्मीथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्रा. सेफर्ड डोलेमनको नेतृत्वमा यो अनुसन्धान थालियो। यसका लागि आठवटा टेलिस्कोपको नेटवर्क तयार पारियो। संयुक्त रुपमा यिनीहरुलाई ‘इभेन्ट होराइजन टेलिस्कोप’ भनियो।

यिनीहरुलाई निम्न स्थानमा राखियो – हवाइको र मेक्सिकोको ज्वालामुखी, एरिजोना र स्पेनिस सियरा नेभेडाको हिमाल, चिलेको अटकामा मरुभुमी र अन्र्टाकटिका।

२०० जना वैज्ञानिक १० दिनसम्म अनवरत रुपमा खटे।

यी टेलिस्कोपले जम्मा गरेका सूचना यति धेरै थिए जसलाई इन्टरनेटबाट पठाउन सम्भव नै थिएन। त्यसैले सयौैं हार्ड ड्राईभमा जम्मा भएका सूचनालाई अमेरिकाको बोस्टन र जर्मनीको बोनमा रहेका सेन्ट्रल प्रोसेसिङ सेन्टरमा पठाइयो। त्यहाँ यी सूचनालाई एकै ठाउँमा जोडियो।

प्रा. डोलेमन यो उपलब्धीलाई असाधारण वैज्ञानिक उपलब्धी भन्छन्। ‘एक पुस्ता अगाडिसम्म पनि असम्भव मानिने काम हामीले पूरा गरेका छौं’, प्रा. डोलेमोनले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार