शिव सेनाका नेता सञ्जय राउतले ‘सामना’ पत्रिकामा कन्हैया कुमारलाई कुनै पनि मूल्यमा चुनाव हराउनुपर्ने कुरा लेखे ।

कन्हैयाले चुनाव जिते भारतको संविधानलाई कमजोर बनाउने समेत भन्न भ्याए । ‘सामना’को सम्पादकीयमा उनले कन्हैयालाई पराजित गर्न आवश्यक परे विद्युतीय मतदान मेसिन (ईभीएम) मा समेत मिलाउन भारतीय जनता पार्टी (भाजपा) पछि हट्न नहुने लेखे । राउतको सो भनाइले युवा नेता कन्हैयाले सत्ताको मुटुमा डरको कति गहिरो जरा गाडेका रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ । तर उनको भनाइले भारतीय राजनीतिमा नैतिकको स्खलनलाई पनि उजागर गरेको छ ।

केही समय पहिले मैले एक जना नामी न्युरोसर्जनलाई भेट्ने अवसर पाएको थिएँ । उनले लामो समय अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा सेवा गरेका थिए । एक जना ज्येष्ठ नागरिकको उपचारको शिलशिलामा उनलाई भेट्न पुगेको थिएँ । बिरामीको पुर्जीमा औषधि उपचारको सल्लाह लेखिसकेपछि म राजनीतिशास्त्रको प्राध्यापक भएको थाहा पाएर उनले समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी गर्न थाले । वैचारिक रूपमा त्यति स्पष्टतासहित राजनीतिको विषयमा कुराकानी गर्ने चिकित्सक मैले यसअघि भेटेको थिइनँ । कन्हैयाप्रति उनको विचार सुन्दा म चकित परेँ । कन्हैयालाई उनले बहादुर युवा भने । एम्स जस्तो सार्वजनिक संस्थामा जीवनका अतिशय अमूल्य समय व्यतीत गरेका चिकित्सकले गरिब जनताको हितमा सोच्ने बानीको विकास गरिसकेका हुनुपर्छ । भारत लोक कल्याणकारी राज्य नीतिबाट अलग हुन नसक्ने धारणा राख्दै कन्हैयाले त्यस्ता गम्भीर विषयमा राख्ने विचार उनलाई मन परेको बताए । उनको विचारमा कन्हैयाका विचार ‘भारतको ठूलो सपना’ हो जसको रक्षा गर्न जरुरी छ ।

सहरी क्षेत्रका एक जना वरिष्ठ चिकित्सकदेखि आफ्ना छोराछोरीलाई शिक्षा दिन सङ्घर्ष गरिरहेका महिलासम्म, सबैले आज त्यही महसुस गरिरहेका छन् । अनुसन्धानकर्ताहरूले दिएको जानकारीअनुसार कन्हैयालाई सबै समुदायका गरिब जनताले अँगालोमा आत्मीयतापूर्वक बेरिरहेका छन् । कर्पोरेट र राजनीतिबीच पूर्ण सहकार्यको आजको युगमा कन्हैया अपवादको रूपमा देखापरेका छन् । कन्हैयाले हामीले बेगुसारियाका कम्युनिस्ट नेताहरूको सम्झना दिलाएका छन्, जसले धेरै मानिसलाई सङ्घर्षको मैदानमा उतारेका छन् । त्यही भएर त्यो सहरलाई ‘लेनिनग्राड’ पनि भनिएको हो ।

कन्हैयाले यदि गरिब उत्पीडित जनताबीच विगतको सम्झना जगाउन सके आफ्नो क्षेत्रबाट चुनाव जित्न उनलाई गाह्रो हुनेछैन ।

बेगुसारियामा विगतमा एक जना चिकित्सक थिए–कामरेड पी गुप्ता । उनलाई विदेशमा पढ्न जाने छात्रवृत्ति दिइयो । तर उनी विदेश गएनन् । बरु जनताकै बीचमा बसेर जनताको सेवामा तल्लीन रहे । जनताबीच उनी निकै प्रिय भएको मैले सुनेको छु । बोलावट नभए पनि उनी जनताको घरदैलोमा पुगिरहेका हुन्थे । जनतासँग सम्पर्कमा रहिरहने र उनीहरूको स्वास्थ्य सेवा गरिरहने भावनाका साथ उनी घरघरै पुगिरहन्थे । अन्ततः उनकै अगुवाइ कम्युनिस्ट पार्टीले चलाउने एउटा अस्पताल स्थापना गरे र त्यहीँ उनी पनि काम गर्न थाले । उनी थिए जनताका चिकित्सक र सबै कमरेडहरूका आदर्श व्यक्तित्व ।

अर्को कथा विप्लवी पुस्तालय नामको संस्था बारेको हो । सहिद भगत सिंहका अनुयायीहरूले त्यो पुस्तकालय स्थापना गरेका थिए । स्वतन्त्र भारतको सरकारबाट प्राप्त सहयोग रकम यो पुस्तकालयलाई गाउँलेले चन्दा दिएपछि स्वाधीनतापश्चात पुस्तकालय अझ बिस्तार भयो । सन् १९४२ को आन्दोलनको क्रममा हुलदङ्गा गरेबापत क्षमायाचनासहित सबै गाउँलेले पुस्तकालयलाई चन्दा दिएका थिए । तर गाउँलेहरूले पुस्तकालय चलाउन चन्दा दिन छोडेनन्, पुस्तकालय क्रमशः सुध्रिँदै गयो । अहिले पुस्तकालयसँग अखिल भारत लेखक सङ्घका बैठक, नाटक प्रदर्शन र चलचित्र महोत्सव गर्न पुग्ने मनग्य पूर्वाधार जुटिसकेको छ । एउटा अवसरमा मलाई राष्ट्रवादबारे गान्धीको विचार बारे बोल्न त्यहाँ बोलाइएको थियो । त्यो पुस्तकालयमा सात समय निकै जुझारु मानिसको उपस्थिति देख्दा म चकित परेको थिएँ ।

त्यो निर्वाचन क्षेत्रमा अरू पनि त्यस्ता संस्था भएको मलाई बताइयो र सबै संस्था उत्तिकै सक्रिय र चालु छन् । यतिबेला भारतकै ‘सबभन्दा शक्तिशाली मानिस’को हमलाबीच टिक्न क्रान्तिकारी राजनीतिको यही विरासतले कन्हैयालाई खँदिलो नैतिक ऊर्जा दिएको हुन सक्छ ।

भारतीय जनता जातको राजनीतिले वाक्क दिक्क भइसकेका छन् । सामाजिक न्यायको मात्र कुराकानी भइसकेको छ । राजनीतिका अधिकांश प्रगतिशील चरण समाप्त भइसकेका छन् । लोकतन्त्र साम्प्रदायिकता र जातको राजनीतिको बन्दी बनेको छ । यी दुवैथरी राजनीतिको भाषा एउटै हुने गरेको छ । दुवैले पीडित हुनुको भावनाको दुरूपयोग गर्छन् र सार्वजनिक असन्तोषलाई निजी स्वार्थसँग जोड्छन् । भारतमा सामाजिक वाास्तविकतामा रूपान्तरण ल्याउन जनतालाई परिचालन गर्न सक्ने राजनीतिक शक्तिको अत्यन्त जरुरी भइसकेको छ । जातलाई समाजको यथार्थ होइन भन्न खोजिएको होइन । तर जब त्यो पहिचानमा बदलिन्छ त्यसले आन्तरिक शोषणमूलक संरचनालाई दिगो बनाउँछ ।

भारत स्वतन्त्र बनेको समयमा राम्रो अवस्थामा रहेको बिहार आज भारतकै सबभन्दा कम विकसित प्रान्तमा परेको छ । बिहारीहरू शैक्षिक योग्यता वा कामका लागि घर छोडेर जान बाध्य छन् । जनतालाई नयाँ सपना दिन सक्ने नेता वा नेताहरूको खाँचो परेको छ ।

कन्हैयाले लोकसभामा प्रतिनिधित्व गरेर सत्ता चलाउने होइन । तथापि उनी जनताको आशा हुन् । जात वा समुदायको नाराबिना पनि र कर्पोरेटको पैसा नहुँदा पनि कसैले चुनाव जित्न सक्छ भन्ने कुराको विश्वास कन्हैयाको विजयले जगाउन सक्छ । भारतको संविधानको प्रस्तावनामा हाम्रा पुर्खाहरू सिंचेको सपनाका लागि कन्हैया एक आशा हुन् । कर्पोरेट–हिन्दुत्वले भारतलाई फोहोरी साम्प्रदायिक पुँजीवाद रूपान्तरण गर्ने चाहनाका  कन्हैया प्रतिवादी हुन् ।

राउतको भनाइको तात्पर्य बुझ्न सकिन्छ । भाजपाका उम्मेदवार गिरिराज सिंह बेगुसराय जान नचाहनुको डर नै राउतको भनाइको तात्पर्य हो । विद्युतीय मतदान मेसिनबारे उनको भनाइले के हामीलाई ती मेसिनमाथि शङ्का उब्जाउँछ ? मेरो विचारमा हामीले शङ्का गर्नुपर्छ । तर हामी बेगुसरायका जनतामाथि विश्वास गर्छौं । हामीले उनीहरूको लोकतान्त्रिक अधिकारको रक्षा गर्छौं र जनताका आवश्यकता सुनिश्चित गर्ने भारतको ठूलो सपनाको हामी रक्षा गर्छौं ।

(मनिन्द्र ठाकुर जवाहरलाल नेहरु विश्व विद्यालयअन्तर्गत राजनीतिशास्त्र अध्ययन केन्द्रमा अध्यापन गर्छन् ।)

स्रोत : द वायर

नेपाली अनुवाद : नीरज लवजू

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार