अमेरिकामा बढ्दो आर्थिक असमानता देखेर देशका एक प्रतिशत कुलीन वर्गका सदस्यसमेत चिन्तित छन् । ब्रिजवाटर एसोसिएट्सका संस्थापक तथा फोब्र्स म्यागेजिनको धनाढ्य सूचीमा ५७औँ स्थानमा रहेका रे डालियोले दिएको पछिल्लो अन्तर्वार्ता यसको उदाहरण हो ।

‘अमेरिकन ड्रिम’को समान अवसरलाई पुँजीवादले अस्वीकार गरिरहेको उनको दाबी छ । उनले आफू पुँजीवादकै उपज भएको बताएका छन्, कुनै समय यसले समान अवसर उपलब्ध गराउने गरेको थियो । ‘म धेरै भाग्यमानी थिएँ । जसले अमेरिकन ड्रिम बाँच्न पायो । उपयुक्त हेरचाह र सार्वजनिक स्कुलमा शिक्षा लिन पायो । अहिले धेरै कुरा परिवर्तन भइसकेका छन्,’ अन्तर्वार्तामा उनले भनेका छन् ।

बढ्दो आर्थिक असफलता तथा निराशाजनक अवस्थाका कारण यस्तो परिस्थिति सिर्जना भएको अस्वीकार गर्न सकिँदैन । पश्चिमा देशमध्ये सबैभन्दा ठूलो आय असमानता अमेरिकामै छ । यहाँ, सन् २०१६ को तथ्यांकअनुसार शीर्ष एक प्रतिशतसँग देशको ४० प्रतिशत सम्पत्ति छ । अध्ययनअनुसार १४ प्रतिशत जनसंख्या अर्थात् चार करोड पाँच लाख गरिबीमा बाँच्न बाध्य छन् । संयुक्त राष्ट्रसंघका अनुसार यसमध्ये झन्डै ८५ लाख अति गरिब छन् । त्यस्तै, ५३ लाखको गरिबीको अवस्था तेस्रो मुलकका गरिबकै जस्तो छ ।

धेरै अमेरिकी आफू र आफ्नो परिवारको खुसीका लागि संघर्ष गरिरहेका छन् । सन् २०१८ मा युएनले प्रकाशित गरेको एक रिपोर्टअनुसार ‘बच्चा र युवामा बढ्दो गरिबी दरले यसलाई प्रभावकारी रूपमा फैलाउनेछ । जसले अमेरिकन ड्रिम तीव्र गतिमा अमेरिकी भ्रम बन्ने सुनिश्चित गरेको छ । अवसरको समानता, जुन मूल्यवान् सिद्धान्त हो, चाँडै किंवदन्ती बन्दै छ । विशेषगरी अल्पसंख्यक र महिलाका हक र धेरै मध्यमवर्गीय श्वेत कामदारका हकमा पनि ।’

अमेरिकाका एक प्रतिशत अति धनाढ्य पनि देशमा सामाजिक र आर्थिक असमानता उच्चबिन्दुमा पुगिसकेको स्विकार्न तयार छन् । अहिलेको अवस्था र धरातल अस्थिर छ । गरिबमा देखिएको विद्रोहको धारणाले उनीहरूलाई दक्षिण अफ्रिकी खर्बपति जोहान रुपटजस्तै रातमा पनि जाग्राम रहनुपर्ने अवस्थामा पु-याएको छ । यसलाई ठीक अवस्थामा ल्याउन प्रस्ताव पनि आइरहेका छन् । केहीले सामाजिक अवस्था सुधार्नका लागि धनाढ्यमाथि कर थोपर्नुपर्ने सुझाब दिएका छन् ।

अहिलेसम्म सबै धनाढ्यले समाजवादी नीति अस्वीकार गरिरहेका छन् । एनबिसीसँगको पछिल्लो अन्तर्वार्तामा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनकी सहअध्यक्ष मेलिन्डा गेट्सले आम अति धनाढ्यले जस्तै धारणा राखेकी छिन्– ‘मैले बुझेअनुसार म समाजवादी समाजको सट्टा पुँजीवादी समाजमा बाँच्छु ।’ तर, गेट्स गलत छिन् । अहिले अमेरिकामा रहेको प्रणाली पुँजीवाद होइन । बरु, यो धनाढ्यका लागि समाजवाद हो । जसले एक प्रतिशतलाई लाभ दिन्छ । उनीहरूका लागि सुविधा उपलब्ध गराउँछ, कर छुट गरिदिन्छ । नियमन कम गर्छ र बोनस उपलब्ध गराउँछ । बाँकी जनसंख्या असमानता र विभाजनको खराब प्रणालीमा बाँच्छ ।

गरिबमा देखिएको विद्रोहको धारणाले अमेरिकी धनाढ्यलाई पनि दक्षिण अफ्रिकी खर्बपति जोहान रुपटजस्तै रातमा पनि जाग्राम रहनुपर्ने अवस्थामा पु-याएको छ

आर्थिक वृद्धिले अहिले धनाढ्यलाई मात्रै उठाउँछ । उनीहरू सरकारलाई प्रभावमा पारेर सम्पत्ति वितरणमा नियन्त्रण जमाउन सफल छन् । अहिलेको अमेरिकी प्रणाली वैध भ्रष्टाचार हो, धनाढ्यले खर्बौं डलर चुनावी अभियानमा दान दिने गरेका छन् । आश्चर्य मान्नुपर्दैन गेट्स, डिमोन, स्कुल्ट्ज र डालियोजस्ता धनाढ्यले गरेका प्रस्तावले काम गर्ने सम्भावना निकै कम छ किनकि यी प्रस्ताव अहिलेको प्रणालीमा मज्जाले सम्पत्ति आर्जन गर्न सकियोस् भन्ने उद्देश्यले डिजाइन गरिएका हुन् । ठूलो आर्थिक–सामाजिक विध्वंस रोक्ने एउटै समाधान अहिलेको प्रणालीलाई मर्मत गर्नु हो ।

पुँजीवादलाई पुँजीवादबाट जोगाउन पनि आर्थिक असमानता र अमेरिकी पुँजीवादको पहुँच विस्तार आवश्यक छ, अझै भनौँ, जनतालाई पुँजीवादबाट जोगाउन । अहिलेको समयमा राज्य प्रणालीमा व्यापक फेरबदल गर्नुपर्र्नेे पक्षमा अमेरिकीको लहर बढ्दो छ । समस्याग्रस्त र भ्रष्ट प्रणालीलाई निकास दिनका लागि धेरै प्रस्ताव आएका छन् । समाजवादका पक्षमा पनि जनलहर बढ्दो छ ।

(ए लभ स्वतन्त्र पत्रकार तथा विश्लेषक हुन्)अलजजिराबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार