पछिल्लो समय केहि लामो बिदामा परिवार तथा साथीभाइसँग घुम्न जानेहरु नेपालीहरु बढ्न थालेका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् ।नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन् । यदि तपाई एक हप्ते विदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी केही गन्तव्यका बारेमा जानकारी गराउँछौं ।

पोखरा

पर्यटक भन्ने बित्तिकै जो कोहीले सम्झीने नाम हो पोखरा । पोखरा आन्तरिक एवम बाह्य पर्यटकहरुका लागी पहिलो आकर्षक गन्तव्य बन्ने गरेको छ । विदाको समयमा पोखरा भ्रमणमा जाने स्वदेशी पर्यटकहरु प्रशस्त हुने गर्छन् । नयाँ वर्ष, दसैं तथा विदाको समयमा यहाँका होटलहरु भरिभराउ हुने गरेको व्यवसायीहरु बताउँछन् । पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुङ्गामा शयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ ।

माछापुछ्रे हिमाल पनि यहीँबाट देखिन्छ । पोखराको जुनसुकै ठाउँबाट उत्तरतर्फ सेता हिमालहरु देख्न सकिन्छ । पोखरामा घुमफिरका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, बेगनाश ताललगायतका मनमोहक ठाउँहरु रहेका छन् । सराङकोट यहाँको अर्को आकर्षण हो । सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायतको दृश्यावलोकन गर्न पाइन्छ ।

पछिल्लो समय पोखरा साहसिक खेलको गन्तव्यका रुपमा विकास भएको छ । सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नुको मज्जा बेग्लै रहेको छ । त्यस्तै, अल्ट्रालाइट उडान पनि पोखरामा गर्न पाइन्छ । पछिल्लो समय पोखरामा बञ्जी समेत सञ्चालनमा आएको छ ।

सौराहा, चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटनमा विश्वमै चर्चित रहेको छ । यहा वर्षेनी लाखौं स्वदेशी विदेशी पर्यटकहरु पुग्ने गर्छन् । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा, घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडा लगायतका जनावर देखिन्छन् । यसको अलवा यहाँ थारु कल्चर समेत अवलोकन गर्न सकिन्छ ।

नारायणगढबाट नजिकै रहेको सौराहामा दसैं तिहारलाई लक्षित गरेर होटल व्यवसायीहरुले आकर्षक प्याकेज समेत ल्याएका छन् । करिव ५ हजार रुपैयाँमा २ रात तीन दिन सौराहा घुम्न पाइने छ । त्याहां सामान्य होटलदेखि स्तरीय होटलसम्म सञ्चालनमा रहेका छन् ।

लुम्बिनी

गौतम बुद्धको जन्मथलो लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । भैरहवाबाट नजिकै रहेको लुम्बिनी विश्वभर चर्चित रहेको छ । पछिल्लो समय विदेशीमात्र होइन नेपालीहरुको पनि लुम्बिनीमा बाक्लो उपस्थिती देखिन थालेको छ । यहाँको प्रमुख आकर्षण भनेको मायाँदेवी मन्दिर हो । अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका छन् । सबैभन्दा राम्रो गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ ।

दामन

पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भएको मकवानपुरको दामन पनि एक हो । राजधानीबाट नजिक रहेको दामनमा राम्रा होटल तथा रिसोर्ट समेत खुलेका छन् । कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृश्यावलोकनका लागि परिचित रहेको छ । अग्लो स्थानमा रहेको दामनबाट सुन्दर हिमाल, बनजंगल, स्थानिय संस्कृतिको अवलोकन गर्न पाइन्छ ।

नगरकोट

काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट काठमाडौं उपत्यकाको शुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरुको दृष्य देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात मासिनन्छ ।

बन्दीपुर

पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको तनहुंको बन्दीपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकमा पर्न सफल भएको छ । डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा स्वदेशी विदेशीको बाक्लो भिड लाग्ने गर्छ । यहाँको आकर्षण भनेको नेवारी वस्ती र सुन्दर दृश्यावलोकन हो । यहाँबाट तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ । वातावरणका हिसावले पनि यो ठाउँ उत्तम रहेको छ ।

घलेगाउँ

होमस्टे मार्फत सेवा दिने लमजुङको घलेगाउँमा आतिथ्य सत्कार लोभलाग्दो छ । घलेगाउँ ग्रामिण पर्यटनका लागि प्रशिद्ध ठाउँ मानिन्छ । यातायातको सुविधा पुगिसकेको घलेगाउँमा खान बस्नका लागि सुविधा रहेको छ । एकपटक घलेगाउँ पुगेको मानिस त्यहाँको प्राकृतिक सुन्दरता, त्यहाँको बस्ती, त्यहाँका मानिसको आतिथ्य सत्कारका कारण जिन्दगीभर भुल्न सक्दैन ।

जोमसोम र मुक्तिनाथ

हिमाल पारीको देश भनेर चिनिने हिमाली जिल्ला मुस्ताङको राजधानी जोमसोम र त्यहाँ रहेको मुक्तिनाथ मन्दिर विश्वभर चर्चित रहेको छ । वर्षेनी लाखौं हिन्दू र बौद्ध धर्मालम्बीहरु यहाँ पुग्ने गर्छन । यहाँको प्राकृतिक दृश्यावलोकनका लागि लाखौं पर्यटकहरु जोमसोम पुग्ने गरेका छन् । तेस्रो विश्वका रुपमा हेरिने सुन्दर भ्याली लोमान्थाङ पनि मुस्ताङमै पर्छ ।

धनगढी

पछिल्लो समय पर्यटकहरुको रोजाईमा सुदूरपश्चिमको धनगढी पनि पर्ने गरेको छ । यहाँ पनि स्तरीय तारे होटलहरु खुल्न थालिसकेका छन् । यहाँ जहाज तथा सडक दुबैबाट पुग्न सकिन्छ । धनगढी पुगेपछि कर्णाली नदीमा रहेको एशियाकै सबैभन्दा लामो झोलंगे पुल, ५५ किलोमिटरको दुरीमा रहेको शुक्लाफाँटा बन्यजन्तु आरक्ष लगायतका ठाउँहरु घुम्न पाइन्छ ।

जनकपुरधाम

हिन्दूहरूको महाकाव्य रामायणकी पात्र तथा रामअवतार विष्णुकी शक्ति सीताको जन्मस्थलका रूपमा जनकपुर धाम प्रख्यात छ । धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ । जनकपुरमा धेरै पहिलेदेखि विभिन्न मठमन्दिरहरू अस्तित्वमा थिए । तर वर्तमानको जानकी मन्दिरको स्वरूप भने वि.सं. १९६७ साल (सन् १९११) को हो, जुन भारतको टिकमगढकी महारानी वृषभानु कुमारीले सन्तानप्राप्तिको मनसायले बनाउन लगाएकी थिइन् ।

टीकापुर पार्क

कैलाली जिल्लाको टीकापुर नगरपालिका को दक्षिण पुर्वमा अवस्थित यो पार्क पर्यटकहरूको गन्तव्यका रूपमा विकसित छ । टीकापुर पार्क नेपालकै सबैभन्दा ठुलो मानव निर्मित पार्क हो । टीकापुर पार्क लाई टीकापुर बृहत उद्यान नामले पनि चिनिन्छ । यो पार्कको वास्तबिक नाम बङ्गला हो । यो यो पार्कमा राजामहाराजा आउने बस्ने गर्दथे । राजा बीरेन्द्र पनि रानी ऐश्वर्य र अन्य राज परिवारका निकटहरूसंग यो पार्क मा आउने गरेका थिए ।

वर्षेनी लाखौको संख्यामा पर्यटकहरू यो पार्क घुम्न आउछन । प्रयटकको संख्या कार्तिक मंसिरमा बढी हुने गर्दछ । टीकापुर वाटीका बाहिर उत्तर पूर्वतिर  बनभोज स्थल छुट्याईएको छ । त्याहाँ मानिसहरू बनभोज आयोजना गर्दछन।यसका लागि पानिको समेथ व्यावस्था गरिएको छ । मानिसहरू बनभोज संगै नाचगान गरेर रमाईलो गर्छन । बनभोज स्थलबाट पूर्वतर्फ कर्णाली नदीबाट छूट्टिएर आएको नदी छ जहाँ र्या्िफ्टङ खेलेर रमाईलो गर्न सकिन्छ।साथै मानिसहरू पौडी खेलेर समेत रमाईलो गर्ने गर्दछन ।

खप्तड राष्ट्रिय निकुञ्ज

पर्या–पर्यटनको प्रचुर सम्भावना भएको खप्तड राष्ट्रिय निकुञ्ज बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित छ । यस राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गदर्छ । यस निकुन्जमा सल्ला, खसुर र निगालाके जगंलहरूका साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान रहेका छन् । यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुङ्गीहरूको प्रधानता रहेको छ ।

यो राष्ट्रिय निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ । त्रिवेणी, खप्तड दह, सहस्रलिङ्ग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन् । यी स्थानहरूमा यहाँ गंगा दशहरा, जनैपूर्णिमा जस्ता धार्मिक पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला भई मेला भर्ने गर्दछन् । खप्तड दह–त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ । यो क्षेत्र प्रचार प्रसार र अन्य भौतिक सेवा सुविधाको अभावमा पछाडि परेको छ । निकुञ्जको आम्दानी न्यून भएको कारण मध्यवर्ती क्षेत्रका कार्यक्रमहरू संचालनमा कठिनाइ भइरहेको छ ।

रामारोशन क्षेत्र

बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो । यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन । प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ । बाह्रवटा तालहरुमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो । जसको आकार अंग्रेजी अक्षर “सि“जस्तो छ ।

तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई र नागरिक उड्डयन तथा पर्यटन मन्त्री हिसिला यमी द्वारा औपचारीक रुपमा यसको उद्घाटन गरियो । तत्पश्चात् यस क्षेत्रको स्थानीय एवं जिल्लाबाट संरक्षण एवं प्रर्वद्वन गर्ने कार्य हुदै आइरहेको छ।विभिन्न समयमा यहाँ महोत्सवको आयोजना हुदै आइरहेका छन । जून विशेषगरी चैत र बैशाखतिर आयोजना हुने गर्दछन् । यसको प्रचारप्रसार एवं संरक्षणमा स्थानीय एफ.एम. रेडियो तथा आम जनताहरुले धेरैनै टेवा पुर्‍याएका छन् ।

रारा ताल

मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । सबै नेपाली पुग्न चाहने स्थलमध्येको एक हो रारा ताल । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उँचाइमा अवस्थित रहेको छ । जंगलको बीचमा रहेको तालले घामको किरण अनुसार आफ्नो रङ बदल्नु यो तालको विशेषता रहेको छ ।

रारा तालमा विश्वमै कहीँ पनि नभेटिने स्नोट्राउट प्रजातिको माछा पाइन्छ । रारा तालको पूरा आकृति हेर्न समुद्री सतहबाट करिब ४ हजार मिटर उँचाइमा अवस्थित मुर्मा टप उपयुक्त ठाउँ हो । तर, आकर्षक गन्तव्य रारा तालमा जति मात्रामा बाह्य पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । आन्तरिक पर्यटक भने उल्लेखनीय रुपमा पुग्ने गर्छन् । नेपालगञ्ज र सुर्खेतसम्म काठमाडौंबाट बस र हवाई दुवै यात्राको सुविधा छ ।

पाथिभरा मन्दिर

ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा मन्दिर नेपालका साथै भारतका धार्मिक पर्यटकमाझ पनि चर्चित छ । यो मन्दिरमा बर्से्नि लाखौं भक्तजन दर्शन गर्न आउने गर्छन् । पाथिभरा मन्दिर समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उाचाइमा छ । कुम्भकर्ण हिमाल हेर्न पनि पाथिभरा उपयुक्त गन्तव्य हो ।

काठमाडौंबाट यात्रा गर्नेहरु इलामको चिया बगान हुँदै पाथिभरा जाने भएकाले निकै रमाइलो अनुभव हुन्छ । यसैगरी काठमाडौंदेखि सुकेटारसम्म हवाई यात्रा र त्यसपछि ६ घण्टा पैदल यात्रापछि पुग्न सकिन्छ पाथिभरा । काठमाडौंबाट दुई दिनको बसयात्राबाट फेदी पुगेपछि पाँच घण्टाको पैदल यात्रापछि पनि पाथिभरा पुग्न सकिन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज 

नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बर्दिया तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो । नेपालको सबैभन्दा लामो नदी कर्णाली र बबई नदीको बिचमा निकुञ्जका केही भागहरु पर्ने भएकाले पनि जनावरका लागि उपयुक्त बनेको छ । निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका वनस्पतिले वन ढाकिएको छ ।

बाँकी ३० प्रतिशत घाँसे मैदान छ । निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन् । पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि सहजै पुग्न सकिने यस निकुञ्ज पूर्व-पश्चिम राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा छ ।

स्वर्गद्वारी

धार्मिक ग्रन्थहरुमा पाँच पाण्डवले स्वर्ग जाँदा यही बाटो भएर गएको उल्लेख छ । प्यूठानको स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्वको छ,त्यति नै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण,धौलागिरी, मनास्लु लगायत दर्जनौं हिमाल अवलोकन गर्न पाइन्छ । विशेष गरी स्वर्गद्वारीबाट धौलागिरी हिमाललाई नजिकबाट नियाल्न पाइन्छ ।

स्वर्गद्वारी दर्शनका लागि भारतबाट बर्से्नि एक लाखभन्दा बढी भक्तजन आउने गर्छन् । काठमाडौंबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसछि बस यात्रा गरेर प्युठानको स्वर्गद्वारी जान सकिन्छ । काठमाडौंबाट दाङको भालुबाङ हुँदै रोल्पा चल्ने बसमा भृङ्ग्रीसम्म सार्वजनिक यातायात चल्छ । त्यसपछि निजी सवारी साधन वा पाँच घण्टाको पैदल यात्राबाट पनि स्वर्गद्वारी मन्दिर पुग्न सकिन्छ ।

सुर्खेत र दैलेख

सुर्खेत दोस्रो लुम्बिनीको रुपमा परिचित काँक्रेबिहार छ । यसैगरी देउती बज्यै, बुलबुले ताल जस्ता आकर्षक पर्यटकीय स्थल पनि छन् । काँक्रेबिहार निर्माणको क्रममा छ । देउती बज्यै मन्दिर मध्यपश्चिमको शक्तिपीठमध्येहरुको एक हो । त्यस्तै, वैश्वानरपुराण अनुसार, दैलेखमा अवस्थित शिरस्थान, नाभीस्थान, धुलेश्वर, पादुका र तल्लो डुगेश्वरलाई पञ्चकोशी तीर्थस्थलका रुपमा पुजिन्छ ।

चलनचल्तीमा भने कोटीकालालाई पनि त्यही श्रेणीमा राखिएको छ । जसमध्ये शिरस्थान र नाभिस्थानमा अविरल बल्ने ज्वाला धार्मिक आस्थाका केन्द्र हुन् । श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा शिर पतन भएको ठाउँलाई शिरस्थान र नाभि पतन भएको ठाउँलाई नाभिस्थान भनेर पुज्न थालिएको हो । नेपालगन्जबाट तीन घण्टाको बसयात्रापछि सुर्खेत पुगिन्छ । सुर्खेतबाट दैलेख पुग्न थप तीन घण्टा लाग्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार