क्युवेली जनताका आँखामा न्यायका प्रतिक हुन् नेता फिडेल क्यास्ट्रो । सन् १९२६ को अगस्ट १३ का दिन जन्मिएका स्वर्गिय क्यास्ट्रोको पूरा नाम फिडेल क्यास्ट्रो (रुज) हो । क्रिश्चियन धर्म अध्यापन गरिने विद्यालय – जेसुइट स्कूलबाट प्रारम्भिक शिक्षा आर्जन शुरु गरेका स्वर्गिय क्यास्ट्रो हवाना विश्वविद्यालयबाट कानून र समाज विज्ञान विषयमा स्नातकोत्तर उपाधिले बिभूषित थिए ।

क्युवेली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको हो । उनले झन्डै ५० वर्षसम्म क्युवाको नेतृत्व गरेका थिए । त्यसैले आलोचकहरु उनलाई तानाशाह भन्‍न समेत पछि पर्दैनन्। तर, अमेरिकासँग जोडिएको सानो समुन्द्री टापू क्युवा अमेरिकाको सहयोग बिना पनि सबल र समृद्ध रहन सक्छ भन्‍ने फिडेलले प्रमाणित गरेका छन्। सोभियत संघको पतनपछि पुरै विश्‍वमा अमेरिका र उसको पुँजिवादी दर्शनले एकछत्र प्रभाव राखेपनि छिमेकी क्युवामा क्यास्ट्रोकै कारण समाजवाद टिक्यो।

उनलाई एक अत्यन्त कडा परिश्रमी, एक निडर योद्धा, एक प्रखर राजनीतिक चिन्तक, एक कुशल तर कडा शासक, एक सैनिक तानाशाह, वाक्–सिद्धि भएको एक भविष्यवक्ता, अमेरिकाको एक कट्टर विरोधी इत्यादिका रुपमा चित्रण गरिएको गरिएको थियो उनी एक शक्तिशाली सेनापति मात्र नभई अदम्य साहसयुक्त, अनौठो वाक्पटुताले सम्पन्न र प्रभावशाली नेतृत्व दिनसक्ने राजनेता भएकाले विश्व भरी नै परिचित छन् ।
जसलाई अमेरिकाले ६३४ पटकसम्म मार्न खोज्यो

क्यास्ट्रोको जीवनकालमा उनलाई ६३४ पटकसम्म मार्ने कोशिस भएको थियो, तर उनी झन्डै एक शताब्दी बाँचेर कालगतिले विदा भए ।

“मैले क्युबाली क्रान्ति ८२ जना मानिससँग थालेको थिएँ । यदि मैले फेरि यस्तो गर्न पाएँ भने यसका लागि केबल १०-१५ जना मानिस र उनीहरुको भरोसा भए पुग्छ”, उनले कुनै बेला भनेका थिए, ”यदि तपाईँसँग योजना र विश्वास छ भने जित मिल्छ, क्रान्तिमा तपाईँ कति सानो हुनुहुन्छ भन्ने कुराको अर्थ हुन्न ।” यी क्युबाका चर्चित कम्युनिस्ट नेता क्यास्ट्रोले लगात ६ घन्टासम्म दिने भाषण पनि मानिसहरु मन्त्रमुग्ध भएर सुन्थे ।

सन् १९५९ मा जब उनले क्युबाको सत्तामा कब्जा जमाए, त्यो बेला उनी केबल ३२ वर्षका मात्रै थिए । उनी ल्याटिन अमेरिकामा सबैभन्दा युवा नेता थिए । दशकौँसम्म उनी ल्याटिन अमेरिका र अफ्रिकासम्म क्रान्तिका प्रतिक र प्र‍ेरणाका स्रोत बनिरहे ।

क्यास्ट्रोको जीवन अमेरिकी प्रशासनका लागि सधै तगारो बन्यो। अमेरिकी धेरै राष्ट्रपति उनलाई पदबाट हटाउन कसरत त गरे तर कास्ट्रोले दश अमेरिकी राष्ट्रपतिलाई सामना गरे तर क्युवालाई अमेरिकी प्रशासनसँग कहिल्यै झुकेको देख्न चाहेनन्।

उनले गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युवामा गएर दिएको सुझावप्रति व्यङ्ग्य गर्दै लामो पत्र लेखी अमेरिकी राष्ट्रपति ओबामालाई पठाएका थिए। पत्रमा अमेरिकाले क्युवाको खुशी हेर्न चाहन्छ भने कुनै दबाब होइन क्युबाको स्वतन्त्रताका लागि काम गर्न बिना अवरोध दिए पुग्छ। क्युवाली जनतालाई फरक सोच र विचारका साथ अघि बढ्न गरेको आग्रहप्रति आक्रोस व्यक्त गर्दै १५ पेज लामो उक्त पत्रमा अमेरिकाले क्युवालाई कुनै पाठ सिकाउनु नपर्ने जनाएका थिए।

यसैवीच पूर्व राष्ट्रपति कास्ट्रोको निधनमा क्यूवाले दश दिनसम्म शोक मनाउने निर्णय गरेको छ। कास्ट्रोको अन्त्येष्टी डिसेम्बर ४ गतेका दिन गरिने पनि क्युवाले जनाएको छ।

हत्या गर्न खोजिएको तथ्य : क्यास्ट्रोले आफ्नो जीवनकालमा ६३४ पटकसम्म हत्याको कोशिस भएको तथ्य पनि बाहिर ल्याएका थिए । यो षड्यन्त्र योजनाकार अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी सीआईए थियो । साथै क्यास्ट्रोको हत्याको षड्यन्त्रमा अमेरिकाको सहयोग प्राप्त निर्वासित संगठनको पनि हात थियो ।

क्यास्ट्रोले आफूलाई मार्नका लागि विष मिसिएको औषधि, विषाक्त सिगार, विस्फोटक पदार्थ र रसायनयुक्त डाइभिङ सुटको पनि प्रयोग गरिएको खुलासा गरेका थिए । क्युबाको राजधानी हवाना सिगारका लागि विश्वभरमै प्रख्यात छ । क्यास्ट्रो पनि सिगारका अम्मली थिए ।

क्यास्ट्रोले सन् २००७ को जनवरीमा भनेका थिए-  “यदि हत्या प्रयासबाट जोगिने प्रतियोगिता ओलम्पिक खेलमा समावेश हुन्थ्यो भने निश्चय नै त्यस खेलको स्वर्ण पदक बिजेता म हुने थिएँ ।” 

सन् २००६ मा बेलायती टेलिभिजन च्यानल-४ बाट प्रशारण भएको वृत्तचित्रको नाम नै ‘६३८ वेज टु किल क्यास्ट्रो’ राखिएको थियो।  अमेरिकाले क्यास्ट्रोको हत्याका लागि कति पटक प्रयास गर्‍यो भन्‍ने आधिकारीक रेकर्ड छैन। क्युवेली जासुसी संस्थाका पूर्वप्रमुख फाबियन एस्कालान्टेले अमेरिकाका ९ जना राष्ट्रपतिले आफ्नो कार्यकालमा क्यास्ट्रोको हत्या गर्ने प्रयास गरेको बताएका छन्।
अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावर, जोन एफ केनेडी, लिन्डन बि जोन्सनको शासनकालमा, रिचार्ड निक्सन,जिम्मी कार्टर, रोनाल्ड रेगन, जर्ज बुस र विल क्लिन्टनले क्यास्ट्रो हत्या प्रयास गरेको एस्कालान्टेको दाबी छ। क्यास्ट्रोको हत्याका लागि उनका सहयोगीदेखि पूर्वप्रेमिकासम्मलाई प्रयोग गरिएको थियो।  सिआइएले जर्मन मुलकी अमेरिकी महिला इलोना मारिटा लोरेन्जलाई सन् १९६० मा फिडेलको हत्या गर्ने योजनामा संलग्‍न गराएको थियो। उनी कुनै समय फिडेलकी प्रेमिका थिइन्। यी महिलाले फिडेल आफ्ना छोराका बाबु रहेको दाबी गर्दै आएकी छिन्।

अमेरिकी जासुसी संस्था सीआईएले ६०० भन्दा बढी पटक उनको हत्याको प्रयास गरेको तथ्य बाहिर आइसकेको थियो । उनको हत्या गर्न सीआईएले अनेकौं तरिका अपनाएको थियो । विषालु सिगारको प्रयोग, उनले पिउने पेयपदार्थमा साइनाइडको मिसावट, क्यास्ट्रोसँग अन्तरङ्ग मित्रता भएकी महिला मार्फत विषालु पिल्स खुवाएर मार्ने षडयन्त्र, क्षय रोगका ब्याक्टेरियाले भरिएका पौडी खेल्दा लगाउने कपडामार्फत मार्ने सुरसार, लुकेर गोली प्रयास, क्यामेरा जस्तो देखिने पिस्तोल मार्फत अगाडिबाटै गोलीले उडाउने कोशिस, बेसबलभित्र विष्फोटक पदार्थ हालेर उनको हातमा थमाई विष्फोटन गराउने जुक्ति आदि उनको भौतिक सफायाका लागि सीआईएले रचेका उपायमध्येका केही नमुना हुन् । यो कुरा को खुलासा २००७मा सीआईएका गोप्य तारहरुको ‘फ्रिडम अफ इन्फर्मेसन एक्ट’ अन्तर्गत रिलिज हुँदा बाहिर ल्याइएको तथ्य सीएनएनका प्याट्रिक ओप्म्यानले २६ नोभेम्बर २०१६मा उल्लेख गरेका छन् ।

अमेरिका सधैँ असफल

क्यास्ट्रोको जीवन कालमा आइजनहोवरदेखि लिएर बाराक ओबामासम्म ११ जना राष्ट्रपति अमेरिकामा फेरिए । तर अमेरिका कहिलै पनि उनीमाथि हावी हुन सकेन ।

अनौठो के छ भने ८८ वर्षमै पहिलो पटक ओबामाले अमेरिकी राष्ट्रपतिकारुपमा क्युबाको भ्रमण गरे । तर, पनि क्युबामा ओबामाले क्यास्ट्रोलाई भेट्न पाएनन् ।

सन् १९६० को दशकमा दुवै देशबीचको सम्बन्ध टुटेको थियो । सन् १९५९ मा कम्युनिस्ट क्रान्ति भएपछि अमेरिकाले क्युबामा प्रतिबन्ध लगाएका थिए ।

यो प्रतिबन्धले अमेरिकालाई वर्षेनी १.२ बिलियन डलर नोक्सानी भएको थियो । सन् २०१४ मा ओबामाले दुबै देशबीच आर्थिक र कुटनीतिक सम्बन्ध सुधार्ने कुरा भएको छ ।

अमेरिका-क्युबाको सम्बन्धमा सुधार

करिब एक वर्षसम्म क्यानाडा र भ्याटिकनमा दुबै देशबीच गोप्य वार्ता भएको थियो । यो वार्तामा पोप फ्रान्सिस स्वयम् सामेल थिए । वार्ताको उद्धेश्य क्युबाबाट आतंकलाई बढावा दिने देशका रुपमा अमेरिकाले लगाएको चिन्ह हटाउनु थियो । क्युबामा अमेरिकी नागरिक आउन लगाइएको रोक र आर्थिक नाकाबन्दी हटाउनु पनि अर्को उद्धेश्य थियो ।

अगस्ट २०१५ मा अमेरिकाले क्युबामा आफ्नो राजदूतावास फेरि खोल्यो । सेप्टेम्बर २०१५ मा क्युबाले पनि अमेरिकामा आफ्नो राजदूतावास फेरि खोल्यो ।

क्युवेली क्रान्ति
बाटिस्टा शक्तिमा आएपछि क्यास्ट्रोले क्रान्ति थाले। यस क्रान्तिलाई अमेरिकाको साथ थियो। सन् १९५३ मा  क्यास्ट्रोको नेतृत्वमा रहेका १ सय २० जनाले सान्टानियो डि क्युवास्थित सैनिक ब्यारेकमा हमाला गरे। यो हमाला केवल सरकारलाई धम्क्याउनका लागि मात्रै थियो।  क्यास्ट्रोले विद्रोहीहरुलाई सैनिकले जवाफी हमाला नगरेसम्म रक्तपात नमच्चाउन निर्देशन दिएका थिए।

उनको निर्देशनका कारण चुपचाप बसेका अधिकांश विद्रोही सेनाको हातबाट मारिए। पक्राउ परेका विद्रोहीहरुलाई चरम यातना दिएर हत्या गरियो। बाटिस्टाले ‘मार्सल ल’ लगाउँदै सञ्‍चारमाध्यममा सेन्सरसिप गरे। विद्रोहीहरु सफल हुन सकेनन्। क्यास्ट्रो समातिए। यस विद्रोहमा सहभागी अधिकांशको हत्या गरियो। क्यास्ट्रोमाथि १५ वर्षको जेल सजाय सुनाइयो। तर, बाटिस्टाले आफूमाथि लागेको निरङकुश व्यक्तिको छाप हटाउन एमनेस्टीको रोहवरमा क्यास्ट्रोलाई छोटो समयमै रिहा गरे।

क्युवेली जनताका आँखामा उनी न्यायका प्रतिक हुन् नेता फिडेल क्यास्ट्रो । उनले सुन्दर क्यारेबियन टापू क्युवामा झन्डै ५ दशक शासन गरे। आलोचकहरु उनलाई तानाशाह भन्‍न रुचाउँछन् । सन् १९२६, अगस्ट १३ मा जन्मिएका क्युवेली नेता फिडेल क्यास्ट्रो धेरैका आदर्श मानिन्छन् । उनले जनतालाई निरङकुश शासनबाट मुक्त गरे।
नाकाबन्दी सहेर महाशक्ति अमेरिकालाई लामो समय च्यालेन्ज गरे। अनेकौ हत्या प्रयास विफल पारे। शक्तिमा उनको आगमन सहज थिएन। पूर्वी क्युवाको होल्गुइन प्रान्तस्थित सानो शहर बिरानमा जन्मिएका क्यास्ट्रो हाभाना विश्‍वविद्यालयमा पढ्न थालेपछि राजनीतिमा आबद्ध भए।

सुरुआतमा भ्रष्ट्राचार विरोधी अर्थोडक्स पार्टीको सदस्यता लिए। डोमिनिकन गणतन्त्रका तानाशाह राफेल ट्रुजिल्लोलाई फाल्नका लागि भएको ‘कू’ मा यस पार्टीको संलग्‍नता थियो। यस अभियानले क्यास्ट्रोको राजनीतिक ढोका खोल्यो। कालान्तरमा क्यास्ट्रो आधुनिक विश्‍वकै एक आदर्श क्रान्तिकारी नेता बने।

पुँजीवादी अमेरिकासँग जोडिएको फुच्चे मुलुक क्युवामा समाजवादको जालो फैलाउनु सहज थिएन। धेरैले सोचेका थिए, सोभियत संघको आडमा अमेरिकालाई चुनौती दिने क्युवा एकदिन झुक्नेछ। विश्‍वको महाशक्ति सोभियत संघ टुक्रा-टुक्रा भयो। विश्‍वमा पुँजीवादीहरुको प्रभाव बढ्यो। तर, विरोधीहरुको अनुमान विपरीत सानो क्युवा अहिलेसम्म पनि समाजवादी चरित्र बोकेर बाँचेको छ।

सैनिक : विश्‍वविद्यालयको पढाई सकेपछि फिडेलले गरिब क्युवेली जनताका लागि ल फर्म चलाए। तर, केही समयमै फुल्गेन्सियो बाटिस्टाले सैनिक ‘कू’ मार्फत सत्ता हातमा लिए। आफूलाई राष्ट्रपति घोषणा गरे। उनले निर्वाचन स्थगित गरे। निर्वाचनमा क्यास्ट्रो पनि उमेदवार थिए।

क्रान्ति बाटिस्टा शक्तिमा आएपछि क्यास्ट्रोले क्रान्ति थाले। यस क्रान्तिलाई अमेरिकाको साथ थियो। सन् १९५३ मा  क्यास्ट्रोको नेतृत्वमा रहेका १ सय २० जनाले सान्टानियो डि क्युवास्थित सैनिक ब्यारेकमा हमाला गरे। यो हमाला केवल सरकारलाई धम्क्याउनका लागि मात्रै थियो।  क्यास्ट्रोले विद्रोहीहरुलाई सैनिकले जवाफी हमाला नगरेसम्म रक्तपात नमच्चाउन निर्देशन दिएका थिए। उनको निर्देशनका कारण चुपचाप बसेका अधिकांश विद्रोही सेनाको हातबाट मारिए। पक्राउ परेका विद्रोहीहरुलाई चरम यातना दिएर हत्या गरियो। बाटिस्टाले ‘मार्सल ल’ लगाउँदै सञ्‍चारमाध्यममा सेन्सरसिप गरे। विद्रोहीहरु सफल हुन सकेनन्। क्यास्ट्रो समातिए। यस विद्रोहमा सहभागी अधिकांशको हत्या गरियो। क्यास्ट्रोमाथि १५ वर्षको जेल सजाय सुनाइयो। तर, बाटिस्टाले आफूमाथि लागेको निरङकुश व्यक्तिको छाप हटाउन एमनेस्टीको रोहवरमा क्यास्ट्रोलाई छोटो समयमै रिहा गरे।

पुँजीवादी विश्‍वमा समाजवादी देश क्युवा – 

क्युवा १४९२ देखि १८९८ सम्म स्पेनको उपनिवेश थियो। क्युवा टर्कस् आइल्यान्ड, बाघामास, मेक्सिको, साइमन्ड आइल्यान्ड, जमैका र हाइटीको बीचमा पर्ने क्यारेबियन टापू क्युवा अमेरिकाको छिमेकी हो। त्यसपछि अमेरिकाले यस टापूमा आफ्नो दाबी पेश गर्‍यो। सन् १९०२ मा  मात्रै गणतन्त्र क्युवाले अमेरिकाबाट स्वतन्त्रता पायो। सन् १९५२ पछि राष्ट्रपति फुल्जेन्सियो बाटिस्टाको निरकुंश शासन अन्त्य गर्न अमेरिकाले ठूलो सहयोग गरेको थियो। फिडेल क्यास्ट्रो सत्तामा आएपछि उनले क्युवालाई समाजवादी ढंगबाट अघि बढाउन चाहे।

चे ग्वेभारालाई महत्वपूर्ण जिम्मेवारी दिएको अमेरिकालाई मन परेन। अमेरिकासँग क्यास्ट्रोको सम्बन्ध चिसियो। कुनै समय क्यास्ट्रोका सहयोगी रहेका एयरफोर्स प्रमुख पेड्रो लुइज अमेरिका गए। उनले क्यास्ट्रोले कसरी क्युवालाई कम्युनिस्ट बनाउँदैछन् भन्‍ने बारेमा अमेरिकालाई सुराकी गरे। यसपछि अमेरिकाले क्युवा विरुद्ध अपरेशन चलायो। क्युवामाथि नाकाबन्दी थोपर्‍यो। अब क्युवा विश्‍वको अर्को ध्रुव सोभियत संघसँग नजिकियो।

शितयुद्धको समयमा क्युवा सोभियत संघको निकट सहयोगी थियो। क्युवाको विकासमा सोभियत संघको प्रत्यक्ष सहयोग रह्यो। ठूला- ठूला उद्योग चलाएर क्यास्ट्रोले जनताको जीवनस्तर उकासे। १९९१ मा सोभियत संघ विघटन भएपछि फिडेल क्यास्ट्रो सरकारमाथि ठूलो चुनौति थपियो। क्युवाको ८५ प्रतिशत अर्थतन्त्र सोभियत संघमा निर्भर थियो। खाद्यान्‍न र इन्धन समेत सोभियत संघबाटै आउँथ्यो। सोभियत संघ विघटनपछि क्युवाका जनता भोकभोकै रहने स्थिति आयो। एकातर्फ सोभियत संघबाट आउने सहयोग रोकिएको थियो।  

अर्कातर्फ अमेरिकी नाकाबन्दी कायमै थियो। यस्तो अवस्थामा पनि फिडेल नेतृत्वमा क्युवाले समाजवादी क्रान्ति सफल पारेरै छाड्यो।  छिमेकी अमेरिकासँग झुक्नुको सट्टा क्युवाले आफ्नै स्रोत साधनको प्रयोगबाट राष्ट्र निर्माण थाल्यो। परम्परागत कृषिको आधुनिकीकरणमा सरकारले जोड दियो। खाद्यान्‍नमा अन्य देशको निर्भरता हटाउन युवाहरुलाई कृषी पेशामा लगाइयो। इन्धनमा विदेशी राष्ट्रसँगको निर्भरता हटाउन सरकारले वैकल्पिक उर्जाको प्रयोगमा ध्यान दियो। साना वैकल्पिक उर्जा- विकासमा लगानी गर्‍यो।  ‘नागरिक स्वस्थ रहेमात्रै देश विकास हुनसक्छ’ भन्‍ने क्यास्ट्रोको मान्यता थियो। उनले क्युवामा निःशुल्क स्वास्थ तथा शिक्षाको व्यवस्था गरे। अार्थिक संकटको समयमा पनि राम्रा कामहरुलाई क्यास्ट्रो सरकारले निरन्तरता दिइरह्‍यो। क्युवेली जनताको औसत आयू ७८ वर्ष छ। जुन अमेरिका र क्यानेडाका जनताभन्दा बढी हो।

अहिले क्युवाको साक्षरता दर ९७ प्रतिशत छ। देशमा उत्पादन भएका दक्ष जनशक्तिलाई देशभित्रै परिचालन गर्न फिडेल क्यास्ट्रोले चे ग्वेभारासँग मिलेर बनाएका योजनाहरुलाई लामो समय आफै कार्यान्वयन गरे। सन् २००८ पछि सत्ता सम्हालिरहेका उनका भाई राहुल क्यास्ट्रोले यी कामलाई निरन्तरता दिइरहेका छन्। क्युवाका स्वास्थ्यकर्मीहरुले विषम परिस्थितिमा अन्य देश गएर निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएका छन्। ‘सबै बाँचौ र सबैलाई बचाउँ’ भन्‍ने भावनाबाट फिडेल सधैं प्रभावित रहे। उनले देशवासीमा यो भावना विकास गर्दै समाजवादको विकास गरे।

चे ग्वेभारासँगको मित्रता
फिडेल जेलबाट छुटेपछि मेक्सिको गएका थ्रिए । उनको त्यहाँ चे ग्वेभारासँग भेट भएको बताईन्छ । दुबैले मिलेर क्युवामा क्रान्ति गर्ने योजना बनाए। योजना तयार भएपछि क्युवा फर्किए। सन् १९५६ देखि १९५९ सम्म क्युवामा आन्दोलन भयो। सशस्त्र युद्ध बढ्दै गयो। विद्रोहीहरुको प्रभाव बढ्दै गएपछि १९५९ मा तानाशाह बाटिस्टाले घुँडा टेके। यतिबेलासम्म फिडेलको अमेरिकासँगको सम्बन्ध राम्रो थियो। तर, अमेरिका चे ग्वेभारालाई सिद्ध्याउन चाहन्थ्यो। क्युवा सरकारको प्रमुख पदमा मार्क्सवादीहरु बसेको अमेरिकालाई मन परेको थिएन। तर फिडेलले चे ग्वेभारासहितका मार्क्सवादीहरुलाई प्रमुख पद दिए। उनले आफ्नो सरकारलाई कम्युनिस्ट नभएर समाजवादी सरकार भने। फिडेल सरकार र अमेरिकाबीचको सम्बन्ध चिसियो।  फिडेल प्रधानमन्‍‍त्री छँदा चे ग्वेभारा उद्योगमन्‍‍त्री तथा केन्द्रीय बैंकको गभर्नर थिए। उनी भूमिसुधार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सक्रिय थिए। क्युबामा निशुल्क स्वास्थ्य र निशुल्क शिक्षा चे ग्वेभाराकै सपना थियो। जसलाई फिडेल क्यास्ट्रोले पुरा गरे।

युद्धताका चे ग्वेभारा फिडेलपछिका दोस्रा विद्रोही कमान्डर थिए। क्युवामा क्रान्ति सफल पार्न दुबैले महत्वपूर्ण भूमिका खेले। क्युवामा समाज सुधारका लागि महत्वपूर्ण काम गरेपछि चे ग्वेभारा सन् १९६५ मा आफ्ना सबै जिम्मेवारी छाडेर बोलिभिया लागे। क्यास्ट्रोकै निर्देशनमा उनी  क्रान्ति सफल पार्न बोलिभिया गएका थिए। बोलिभियाबाट ग्वेभाराले क्यास्ट्रोलाई  लेखेको पत्रमा उल्लेख छ- ‘तपाईँले सिकाउनुभएको आस्थाकै आधारमा म नयाँ युद्धमा छु। मेरा जनताको क्रान्तिकारी भावना र त्यागका कारण म जहाँ गएपनि सम्भ्रान्तवाद विरुद्ध लडिरहनेछु।’

किन्सासा र त्यसपछि बोलिभियामा चेले गरेको क्रान्ति असफल भयो। अमेरिकी गुप्तचर संस्था सिआइएको आडमा बोलभियाका अधिकारीहरुले चे ग्वेभारालाई पक्राउ गरे। उनको हत्या भयो। उमेर बढ्दै गएपनि क्यास्ट्रो सधैँ चे ग्वेभारालाई सम्झिरहन्थे। चे ग्वेभाराका जेठा छोराले भनेका छन्- ‘कहिलेकाँही जब म मेरा बाबुको विषयमा उनीसँग कुरा गर्छु। त्यतिबेला मेरो अनुहारमा चमक आउँछ।’ एकपटक मैले बाबुको प्रश्न गर्दा उनले भनेका थिए, तर तिम्रो बाबु त यहाँ छ। अहिले?’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम -एजेन्सीहरुको सहयोगमा

क्यास्ट्रोको जीवन यात्रा

१९२६- क्युबाको बिरानमा अगस्ट १३ मा जन्म

१९४५-५०: हवाना विश्वविद्यालयमा कानुनको अध्ययन

१९५२: तानाशाह बाटिस्टाले सैनिक कुपछि शासन हत्याए

१९५३: सैनिक ब्यारेकमा असफल आक्रमण गरेपछि कैद

१९५५: देशनिकालामा परी मेक्सिको गए र त्यहीँ चेसँग भेट भयो

१९५६: क्यास्ट्रोको नेतृत्वमा ८२ सशस्त्र व्यक्ति क्युबा प्रवेश गरी युद्ध आरम्भ

१९५९: क्रान्ति सफल र प्रधानमन्त्रीको पदभार ग्रहण

१९६१: ‘बे अफ पिग्स’ को लडाईंमा षड्यन्त्रकारीहरुको हार
१९६२: सोभियत संघ र अमेरिकाबीच क्षेप्यास्त्र संकट

१९७६: राष्ट्रपतिको पदभार ग्रहण

१९९०: सोभियत संघको विघटनपछि क्युबामा ‘विशेष अवधि’ सुरु भएको घोषणा

१९९८: पोप जोन पाउल द्वितीयद्वारा क्युबा भ्रमण

२००६: कमजोर स्वास्थ्यका कारण भाइ राहुललाई शक्ति हस्तान्तरण

२००८: राष्ट्रपतिको पदत्याग

२०१५: सेप्टेम्बरमा पोप फ्रान्सिसको क्युबा भ्रमणपछि उनकै पहलमा अमेरिका र क्युबाबीचको सम्बन्धमा सुधारको संकेत

२०१६: मार्चमा १९२८ पछि पहिलोपटक अमेरिकी राष्ट्रपतिका रुपमा ओबामाद्वारा क्युबा भ्रमण दुई देशबीच शीतयुद्धकालीन तनावको अन्त्य।

२०१६: नोभेम्बर २५ मा ९० वर्षको उमेरमा क्यास्ट्रोको देहान्त

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार