चे ग्वेभाराको तस्वीर संसारभरिका सामाजिक र सांस्कृतिक घेरा तोड्न सफल छ । यो वैश्विक छवि सडक प्रदर्शनहरूदेखि लिएर पोस्टर, लोगो, टीशर्ट र नाराहरूमा समेत देख्न सकिन्छ ।

चे ग्वेभारा बाँचिरहेका भए जेठ ३१ गते ९१ वर्षका हुन्थे । धेरैजनाको मनमा प्रश्न उठ्छ ः मानिसहरू अझै पनि किन उनको यो छविको उपयोग गर्छन् ? यसको व्यापारीकरणले उनीहरूलाई किन निराश बनाउँदैन ? यो तस्वीरले उनीहरूका लागि कस्तो सम्भाव्यता राख्छ ?

दृश्यको संसारमा एउटा तस्वीरले भाषा र संस्कृतिको घेरा तोड्ने सामर्थ्य राख्छ र यसैले गर्दा यो अर्थ सिर्जना गर्ने महत्त्वपूर्ण थलो हो ।

मैले वर्षौंदेखि ग्वेभाराको छवि विभिन्न स्थानहरूमा देखेको छु । मैले भारतको चेन्नईमा भएको एक प्रदर्शनमा, टर्कीको इस्तानबुलमा भएको नाटोविरोधी प्रदर्शनमा, आम्स्टर्ड्यामको एउटा मखमा, माइक टाइसनको कम्मरमा बनेको ट्याटूमा ग्वेभाराको छवि देखेको छु । मैले हजारौं ठाउँमा ग्वेभाराको तस्वीरको फोटो खिचेको छु ।

ग्वेभाराको बिरासत आजका दिनसम्म पनि विवादास्पद छ । अर्जेन्टिनाका यी चिकित्सक, क्युबामा गएर क्रान्ति गर्ने क्रान्तिकारी र दक्षिण अमेरिकी छापामार नेतालाई कसैले प्रशंसा गर्छन् भने कसैले घृणा गर्छन् । उनको तस्वीरले हामीलाई स्मरण गर्न लगाउँछ तर हामीले ठ्याक्कै के चाहिँ स्मरण गर्नुपर्ने हो ?

ग्वेभाराको यो लोकप्रिय तस्वीर सन् १९६० मा अल्बर्टो कोर्दाले खिचेका हुन् । यो संसारमा सबभन्दा बढी पुनरुत्पादन हुने तस्वीरमध्ये एक हो । यो तस्वीर प्रकाशित हुँदा फोटोग्राफीको संसारमा तहल्का मच्चिएको कोर्दा बताउँछन् । कोर्दाको यो तस्वीर टीशर्ट, ग्राफिटी, ब्यानर र अन्य धेरै ठाउँमा देख्न सकिन्छ ।

फेशन उद्योगले यो तस्वीरको प्रतीकात्मक शक्तिलाई कमजोर बनाएर यसलाई गैरराजनीतिक बनाएको भए पनि अन्यले यसमा मुक्तिदायी तथा राजनीतिक अर्थ निकालेका छन् ।

यस तस्वीरलाई वस्तुका रूपमा पूँजीवादी बजारले बेचेको भए पनि सडकमा हिँड्ने सर्वसाधारणलाई यस तस्वीरले अझै पनि प्रभावित पार्छ ।

ग्वेभाराको यस तस्वीरलाई सन् १९६८ मा संसारभरि भएका विद्यार्थी आन्दोलनमा प्रयोग गरियो । ती आन्दोलनमा ग्वेभारा प्रतीकात्मक नेता बने । अस्ट्रेलियामा सिड्नी विश्वविद्यालयका क्रान्तिकारी विद्यार्थीहरूले ग्वेभारालाई आफ्नो नायक घोषित गरे । भियतनाम युद्धको विरोध गर्ने अमेरिकी विद्यार्थीहरूले प्लेकार्डमा ग्वेभाराको मुहार राखे । आयरल्यान्डमा आईरिश रिपब्लिकन आर्मीका नेता एन्थोनी मकइन्टायरले जेलभित्र ग्वेभाराको तस्वीरका बारेमा लेखे ।

सन् २००४ को डिसेम्बर महिनामा मैले बुएनोस आयर्सका सडकमा प्रदर्शनकारी र प्रहरीको बीचबाट निस्कने क्रममा अनेकौं ब्यानरमा ग्वेभाराको तस्वीर देखें । मानिसहरूले ग्वेभाराका ब्यानर उचाल्दा यसले अर्जेन्टिनाको मात्र नभई संसारभरिको संघर्षको स्मरण गरायो । त्यसैले ग्वेभाराको मुहार इस्तानबुलमा नाटोको विरोध, बर्लिनमा बुशको विरोध, कोलम्बियामा शिक्षालाई निजीकरण गरिँदा भएको विरोध, मेक्सिकोमा भूमि अधिकार र भेनेजुएलामा चाभेज र अहिले मडुरोसँग जोडिएको छ ।

आजकल इन्टरनेटमा भाइरल भन्ने विशेषण खुबै चर्चित भइरहेको छ । यसले कुनै एक तस्वीरलाई विभिन्न आकार दिएर अधिकतम मानिसले शेयर गर्ने कामलाई जनाउँछ । ती तस्वीरहरूलाई असीमित तरिकाले परिवर्तन गर्ने, टुक्र्याउने र सन्दर्भ फरक पार्ने गरेर शेयर गरिरहन्छन् ।

तर इन्टरनेटको आविष्कार हुनुअघि नै चे ग्वेभाराको तस्वीर र त्यसका विभिन्न संस्करणहरू संसारभरि भाइरल भइसकेका थिए । यस तस्वीरमा प्रतिबन्ध लगाइएको भए पनि यसलाई भाइरल हुनबाट कसैले पनि रोक्न सकेन । कुनै व्यक्तिलाई यो तस्वीरप्रति किन यति धेरै आकर्षण छ ? यसको सरल उत्तर छैन ।

सन् १९६७ को अक्टोबर १८ मा ग्वेभाराको मृत्युपछि मानिसहरू स्तब्ध भएका बेलामा फिडेल क्यास्ट्रोले ग्वेभारालाई श्रद्धाञ्जली दिने क्रममा उनको अन्तिम पत्र पढेका थिए । त्यो पत्र उनले ग्वेभाराको त्यही लोकप्रिय तस्वीरलाई पृष्ठभूमिमा राखेर पढेका थिए । ग्वेभारालाई सम्झिने तस्वीर यही हुनुपर्छ भनी क्यास्ट्रोले जोड दिएका थिए ।

चे ग्वेभाराको तस्वीरले अनुहार मात्र प्रतिनिधित्व गर्दैन । यो तस्वीर एक प्रतीक बन्न पुगेको छ र यसले विभिन्न सामाजिक, सांस्कृतिक र राजनीतिक भूमिका निर्वाह गरेको छ । यसप्रति भक्तिभाव देखाइने, घृणा गरिने अनि जुलुसहरूमा बोकिने सबै काम भएका छन् । उदाहरणका लागि, भेनेजुएलाको राजधानी काराकासको एक स्थानमा प्रायः फोहर फाल्ने गरिन्थ्यो । त्यहाँ ग्वेभाराको तस्वीर राखिएपछि फोहर फाल्नै छोडियो । पछि तस्वीर हटाइएपछि फेरि फोहर फाल्न थालियो । ग्वेभाराको तस्वीरले केही कामको अधिकार दिन्छन् भने केहीलाई निषेध गर्छन् ।

कट पेस्ट गरेर निरन्तर रूपमा विभिन्न संकेतहरू शेयर गर्ने आधुनिक संस्कृतिमा ग्वेभाराको अनुहार हामी सबैको अभिव्यक्तिको माध्यम बनेको भन्न सकिन्छ ।

ग्वेभाराको यो तस्वीरको विभिन्न संस्करण अझै पनि आइरहनुले यसलाई वर्गीकृत गर्ने, व्याख्या गर्ने, आलोचना गर्ने, वर्णन गर्ने वा यसमाथि प्रतिक्रिया जनाउने सबै प्रयासलाई चुनौती दिएको छ ।

शायद यो तस्वीरलाई बुझ्न खोज्नु नै व्यर्थ छ ।

द कन्भर्सेसनमा प्रकाशित मारिया–क्यारोलिना क्याम्ब्रेको आलेख

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार