हङकङका लागि मङ्गलबारको बिहान सदाझैं थिएन । हङकङकी चिफ एक्जेक्युटिभ अर्थात् सबैभन्दा ठूलो नेता क्यारी लेम नागरिकहरुसँग आमनेसामने थिइन् । संयम् र विनम्र देखिएकी लेमले भनिन्, ‘‘मैले निजी रुपमा जिम्मेवारी आफ्नो काँधमा लिनुपर्नेछ । यो (प्रत्यर्पण) बिलका कारण समाजमा विवाद, टकराव र बेचैनी उत्पन्न भएको छ । यसका लागि म हङकङका वासिन्दासँग मनैदेखि माफी माग्दछु ।’’

१५ जुनमा लेमले हङकङका वासिन्दाको आक्रोश शान्त पार्नका लागि विवादास्पद प्रत्यर्पण बिल निलम्बन गर्ने घोषणा गरिसकेकी थिइन् । आजका मितिसम्म यसरी हङकङ प्रशासनले अघि बढाइसकेको कुनै पनि कदममा पछि हटाएको थिएन ।

किन भयो बिलको विरोध ?

चीन समर्थित सीईओले झुक्ने सङ्केत दिइन्, तर पनि हङकङवासी सम्झौताको मुडमा थिएनन् । आइतवार (१६ जुन) मा हङकङको लेजिस्लेटिभ काउन्सिलतर्फ जाने सडकमा मानिसहरुको जुलुस थियो । स्टेसन पूर्ण रुपमा जाम थियो, कतै पनि खुट्टा राख्ने ठाउँ थिएन ।

प्रदर्शनकारी उक्त बिललाई पूर्ण रुपमा विदा दिन चाहन्थे, किनकि, हङकङका वासिन्दामाथि मुद्दा चलाउनका लागि चीनलाई प्रत्यर्पण गर्न सकिने कुरा बिलमा उल्लेख थियो । सरकारचाहिँ भनिरहेको थियो– गम्भीर तथा आपराधिक मामिलाका अभियुक्तलाई मात्र चीन पठाउने हो । र, हङकङका एक न्यायाधीशको मञ्जुरीपश्चातमात्रै प्रत्यर्पण गरिनेछ । तर हङकङवासीले यो बिललाई आफ्नो ‘स्वायत्ततामाथिको हमला’ का रुपमा देखे । यसलाई राजनीतिक विरोधीलाई ठेगान लगाउन ल्याउन लागिएको मानिएको छ ।

प्रदर्शनकारीहरु यो बिल निलम्बन भएरमात्र नपुग्ने यसको पूर्ण खारेजी हुनुपर्ने माग राखिरहेका छन् । आइतबारको प्रदर्शनमा २० लाख मानिस उपस्थित रहेको उनीहरुको दाबी छ । प्रदर्शनका क्रममा विरोधी र प्रहरीबीच झडप हुँदै आएको छ ।

किन पछि हट्यो चीन ?

बुधबारको प्रदर्शनका क्रममा प्रहरीसँग मुठभेड गर्ने मानसिकतासहित आन्दोलनकारी सडकमा उत्रिएका थिए । प्रहरीले अश्रुग्यास हान्दा आन्दोलनकारीले पनि जवाफ दिएका थिए । उनीहरु मास्क तथा हेलमेट लगाएर सडकमा उत्रिएका थिए । प्रदर्शका क्रममा घाइते भएका मानिसको उपचार भइरहेको थियो । प्रदर्शनकारी निकै सङ्गठित देखिएका थिए ।

यही कारण पनि चीन र हङकङ पछि हट्न बाध्य भएको विश्लेषकहरु बताउँछन् । हङकङका नागरिकलाई मुद्दाको बहानामा कुनै पनि हालतमा चीनलाई सुम्पन नहुने र यसो गर्नु भनेको ‘राजनीतिक स्वायत्ततामाथिको सीधा हमला’ का रुपमा आन्दोलनकारीले अथ्र्याएका छन् । यसकारण पनि आन्दोलन बलियो हुँदै गएको र लाखौं नागरिकको समर्थन रहेका कारण पछि हट्नुको विकल्प नरहेको कतिपय विश्लेषकको भनाइ छ ।
(बीबीसीमा आधारित)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार