एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दा अर्जेन्टिना समूह ‘बी’ उपविजेता बन्दै दोस्रो चरण प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई सहज जित दिलाउनको लागि लौटारो मार्टिनेज र सर्जियो अगुएरो समान एक/एक गोल गरे ।

खेल शुरु भएको चौथो मिनेटमा नै अर्जेन्टिना अग्रता लिएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए ।

पहिलो हाफमा कप्तान मेस्सी र अगुएरोले गोल गर्ने केहि अवसर पाए पनि कतारी गोलरक्षकले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको आक्रमण निस्तेज पारिदिएका थिए ।

पहिलो हाफमा एक गोल गरेको अर्जेटिनाले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे । दोस्रो हाफमा पनि मेस्सीले केही राम्रा प्रहार गरे पनि बलले जाली चुम्न भने सकेन ।

समूहको ‘बी’ को अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १-० ले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रहयो ।

अर्जेन्टिना समूह ‘बी’को उपविजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको छ । उसले तीन खेलमा एकमा हार, एकमा बराबरी र एकमा जित निकाल्दै ४ अंक बनाएर अर्को चरण पुग्यो । कोलम्बिया ३ वटै खेल जितेर शतप्रतिशत ९ अंक जोड्दै समूह विजेता बनेर अर्को चरण पुग्यो ।

यस समूहबाट २ खेलमा हार र एक खेल बराबरी गरेको कतार प्रतियोगिताबाट आउट भएको छ भने पराग्वेको उत्कृष्ट दुईमा रहेर अर्को चरण जाने अंकगणितीय सम्भावना जीवितै छ । तर, उसले अन्य समूहको अन्तिम नतिजासम्म पखिर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार