व्यवस्थामाथि कोबाट खतरा छ भन्ने कुरा जहाँसम्म छ, राजावादीबाट यो व्यवस्थालाई तत्काल खतरा छैन ।

विप्लवका पछिल्ला गतिविधिलाई हामीले एउटा प्रतिकका रुपमा लिएका छैनौं । विप्लववादी भनेको विप्लव भन्ने व्यक्ति होइन । यहाँ कसैको व्यक्तिगत योग्यताको प्रश्न होइन । विप्लव कति चतुर छन् भन्ने पनि कुरा आउला, बाबुराम र प्रचण्डमा भएको चतुर्याइ उनमा छ कि छैन, मलाई थाहा छैन । तर उनमा नेतृत्वको गुण छ भने उनले पनि गर्न सक्दैनन् भन्ने छैन । विगतमा यो १२– १५ वर्षको अवधिमा भएको परिवर्तनहरुलाई हेरौं, मुख्य कुरा त्यसको प्रवेग  परिवर्तन हो । संसारका अरु देशमा वीसौं वर्षमा भएका परिवर्तन, सामानिक न्यायमा भएका परिवर्तन हामीकहाँ १२ वर्षमा भए । सामाजिक न्यायका नाराहरु आए, भौतिक उपलब्धिका सपना आए तर ती पूरा भएनन्, पूरा हुने दिशातिर अघि बढेनन्, बरु ज्यूँका त्यूँ छन् । सामाजिक न्यायका नाराहरु पनि पूरा भएनन् । वास्तवमा, हामीले के पायौँ भन्ने चेतना आयो तर स्थिति चाहिँ हामी पछाडितिर फर्केका छ ।

अधिनायकवाद र तानाशाही पक्षधरहरुले खेल्ने यस्तै स्थितिमा हो ।

राजा महेन्द्रले समेत यो  देशमा तानाशाही ल्याउन ‘अरु देशले सय वर्षमा नगरेको प्रगति हामीले १० वर्षमा गर्ने छौँ’ भनेर भाषण गरेका थिए । यो महेन्द्रको महाबाणी हो । त्यो परिवर्तनको प्रवेगले विकास खुम्चिएको, निसासिएको, कुल्छिएको स्थितिमा उनले गरेको चलखेल थियो । परिवर्तन त आयो, तर त्यो महेन्द्र राष्ट्रवादमा अड्कियो । हाम्रो मानसिकता पनि त्यो महेन्द्रवादी राष्ट्रवादमा फँसेको छ । नेपाली भनेको हामी हो भन्छौँ  तर दुईतिहाइ जनता त्यसबाट बन्चित छन् ।

हामीले परिवर्तनको ठूलो सपना देखाइदिएका छौँ तर परिवर्तनको उपलब्धिबाट ठूलो जमात असन्तुष्ट छ । ती श्रमिक भएर विदेश गएका छन् । ती ४–५ वर्षपछि फर्केर यहीँ आउँछन् । यहाँ एउटा सपना छ, परिवर्तनको, उथलपुथलको । त्यो सपनाको कुरा गर्दा यहाँ अहिले विप्लवको कुरा जोडिन्छ । यो स्थितिमा उनले प्रस्तावित गरेको वा  समातेको बाटो असम्भव छ भनेर म भन्दिनँ । तर त्यो बाटो अत्यन्तै अप्ठेरो छ । त्यो बाटो भरखरै प्रयोग भइसकेको बाटो हो । तर साथसाथै प्रचण्डप्रति पैदा भएको अनास्थाले असन्तुष्टहरुको आकर्षण विप्लवमा सर्ने सम्भावना छ ।

साँच्चै नै एउटा परिवर्तनमुखी आन्दोलन आउने हो र त्यसको सही तरिकाले नेतत्व गर्ने हो भने कति सजिलै मान्छे त्यसको पछाडि लाग्छन् भन्ने कुरा पटक पटक देखिएको छ । उदाहरणका लागि काठमाडौंबाट चुनाव लडेर सानो पार्टीका नेता रवीन्द्र मिश्रले वंशका आधारले पनि यहाँको स्थापित वरिष्ठ नेता गणेशमान सिंहको छोरा प्रकाशमानलाई आछुआछु पारेको,  युवा पिडी उनीहरुको पछाडि लागेको घटना नै पर्याप्त छ ।  मेयरको चुनावमा पनि त्यस्तै भयो । परिवर्तनको आशा र लहर कस्तो हुन्छ भने, उपहास र व्यंग्य गर्दा कहिले नानी मैयाले चुनाव लडे जस्तो हुन्छ, जनताले विजयी बनाइदिन्छ । रातोरात सत्तामा ल्याइदिन्छ । दिल्लीमा आप दललाई जिताइदिन्छ ।

दुर्भाग्य चाहिँ के छ भने परिवर्तनको वितृष्णामा देखापरेको त्यो प्रवृत्तिविरुद्ध लड्ने वैचारिक दर्शन, नीति, कार्यक्रम र योजना हामीसँग छैन वा कमजोर अवस्थामा छ । त्यो सोच र दृष्टिकोण युवापिढीसँग छैन, राजनीति दलहरुसँग पनि छैन । विचरा प्रधानमन्त्रीसँग त हुने कुरै भएन ।

ओली प्रचण्ड नयाँ कुरा हुनै सक्दैन 

नयाँ पिढीसँग परिवर्तनको वैकल्पिक बाटाहरु रहन्छन्, हुँदैन भन्ने हैन । तर आफूलाई क्रान्तिप्रति प्रतिबद्ध ठान्ने प्रधानमन्त्रीले अरुको विचारलाई स्थान नै दिनु भएको छैन । अर्को महापात्र प्रचण्डले केही नयाँ गर्छ कि भन्ने थियो, त्यो पनि बाँकी रहेन  । ओलीसँग केही छैन भन्ने कुरा पहिले नै थाहा थियो ।  अरु नयाँ त के ल्याउँथे र ? प्रहरी, सेना, कर्मचारी र रोजगारीको सञ्चालनमा गतिलो काम गरेको भए पनि राम्रै हुन्थ्यो । बिचरा प्रचण्डले त जानेको भनेको पशुपतिको भट्ट हटाउन, सेनापति र राष्ट्रपति बिच्क्याउन मात्र रहेछ । उहाँ त एउटा परिर्वनपछि सत्तामा पुग्नु भएको थियो । तर ती झिनामसिना कुराहरुमा अल्झिनुभयो । जसकारण समाजवादी दर्शन, परिवर्तनको फल गुणात्मक रुपमा फट्को मारेर आम जनतामाझ पुगेको छैन ।

प्रधानमन्त्री बन्न पाएर ओलीको व्यक्तिगत अभिष्ट पूरा भएको छ । अब ओलीले आफूलाई प्रश्न गर्नु पर्यो : यत्तिकै लागि प्रधानमन्त्री भएको हुँ त ? त्यस्तै अध्यक्ष प्रचण्डले प्रश्न गर्नु पर्यो ::यत्तिकै निम्ति थियो त परिवर्तन ? उत्तर त उहाँहरुबाट आउनुपर्यो नि ! विप्लवबाट त उत्तर आयो, यत्तिकै लागि थिएन भनेर ।  विप्लवले भने ‘नुवाकोटकी केटीलाई फकाएर बम्बई लगेर बेचे जस्तो’ भयो ।  प्रचण्डले भने ‘बम्बईमा बेचेको होइन, काठमाडौँ ल्याएको हो’ ।   तर के त्यो परिवर्तन काठमाडौंको सिंहदरबार छिर्नका लागि, एक थान घर बनाउन, गाडी चडाउनका लागि मात्रै ल्याएको हो ?

जनतामा सन्देहवाद पैदा हुने खतरा

माओवादी क्रान्ति जंगल बस्नेहरुले मात्र गरेका थिएनन् माओवादी क्रान्तिमा थुप्रै मानिसहरु सहर बसेर पनि काम गरेरै पनि जेल गएका थिए । त्यो केका लागि ? जनवादको लागि ।  यस्तै काँग्रेसमा मान्छे समाजवादका लागि आए । त्यति बेला जनतामा आकाशिएको आकांक्षाको अझै सम्बोधन भएको छैन, झन् प्रखर रुपमा त्यो यथावत छ ।

विडम्बनाको कुरा चाहिँ के छ भने शासन शैली परिवर्तनका पक्षमा रहेका जनआकांक्षालाई सम्बोधन गर्ने खालका हैन, पुरानै ढर्राको छ । परिवर्तनपछि शासनसत्तामा स्थापित शासक वर्गको तामझाम र शैली राजामहाराजा जस्तै छ । समग्र राज्यका अवयवहरु पनि यथास्थितिवादी ढाँचाढर्रामा छ । परिवर्तनको यत्रो चरणबाट मुलुक अघिबढिसक्दा पनि सिडिओको र प्रहरीको उस्तै दबाब छ,  न्यायालयमा न्याय पाउनै गाह्रो छ । आधारभूत रुपमा केही पनि बदलिएको छैन भन्ने अनुभूति जनताका ठूलो हिस्साले गरिरहेका छन् । त्यही भएर युवा पिढीमा यो व्यवस्थाप्रति मोह भंग बढेको स्थिति छ ।

मोहभंग भएको पिढी कता जान्छ ? सिके राउत पट्टी जान्छ वा विप्लवपट्टी जान्छ ? अहिल्यै भन्न सकिँदैन । त्यस्ता मोहभंग भएका पिढी कहिले काहीँ साम्प्रदायिकतातिर जान्छ, मैले अधिकार पाएन भनेर कतिपय चाहिँ जातीयतातिर जान्छ । तीमध्ये कतिपयको आकर्षण प्रतिगमनकारी विचारधारा बोक्ने र चलखेल गर्नेहरुतिर मोडिने सम्भावना पनि रहन्छ । हेक्का राख्नैपर्ने कुरा के हो भने,  समाजवादी क्रान्ति विफल भयो भने अनिवार्यतः प्रतिक्रियावादको उदय हुन्छ ।

यो स्थितिबीच युवा पिढीले गैरजिम्मेवारीपूर्ण क्रियाकलाप गर्लान्,  माथिल्लो प्रौढ पिढी वा ४० वर्ष उम्मेर कटेकाहरु उत्ताउलो काम गर्नु नजालान्, विप्लव पट्टी नजालान्,  आतंकवाद पट्टी नजालान् र जातियता पट्टी पनि नजालान् तर तिनमा अच्चम खालको सन्देहवाद, अविश्वास पैदा हुने खतरा रहन्छ । उनीहरु ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने अवस्थामा पुग्ने सम्भावना पैदा हुन्छ । त्यो स्थितिमा मोहभंग भएका जमातले कसैलाई पनि नपत्याउने र भोलि सैनिक कु हुँदा पनि उनीहरुमा ठीकै भयो भन्ने हदसम्मको उदासिनता देखिने खतरा छ ।

राजनीतिज्ञ र राजनीतिप्रति पैदा भइरहेको वितृष्णा र उदासिनताका बीच भोलि ‘चिलले चल्ला टिपे जस्तै’ एउटा तानाशाह वा देशी विदेशीले कसैलाई उचालेर कु गर्दा  पनि जनता सडकमा नआइदिने खतरा रहन्छ । त्यसैले राष्ट्रपतिले, प्रधानमन्त्रीले र प्रतिपक्षका नेताले के बुझ्नु पर्छ भने जनतामा लोकप्रियता क्षिण हुँदै गयो भने पूर्व, पश्चिम, उत्तर, दक्षिण वा आकाशबाट ब्रज्रपात भए जस्तै उल्कापात हुने सम्भावना र खतराले जन्म लिन सक्छ । अहिले योभन्दा बढी आशंकाका आधारमा बोल्ने अवस्था छैन । प्रधानमन्त्रीले बुझेर बोल्नु भएको हो भने गणतन्त्रको सुरक्षा र स्थिरताका लागि सच्चिने दिशातर्फ उन्मुख हुनु जरुरी छ ।

रातोपाटीका लागि लोकेन्द्र भट्टसँग गरिएको कुराकानीमा आधारित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार