ग्रीसमा आइतवार भएको आमनिर्वाचनमा ७५ प्रतिशत मतगणना भइसक्दा मध्यमार्गी दक्षिणपन्थी न्यु डेमोक्रेसी दलले चुनाव जितेको छ । यस चुनाव परिणामले वर्षौंको उग्र लोकरञ्जनवाद (पपुलिजम) बाट मुक्ति पाइएको र मूलधारे राजनीति पुनः फर्किएको संकेत दिएको छ ।

आरम्भिक परिणाममा न्यु डेमोक्रेसीले कुल मतको ३९.६ प्रतिशत पाएको देखिन्छ । कमजोर गठबन्धन सरकार बन्ने गरेकोमा यो बलियो मतादेश हो ।

न्यु डेमोक्रेसीका कीरियाकोस मित्सोताकिसले सोमवारै प्रधानमन्त्री पदको शपथ लिने भएका छन् ।

बेलआउट लिनुभन्दा अघि ग्रीसको संस्थापन राजनीतिको मजबूत खम्भाका रूपमा रहेको दल नै सत्तामा फर्केको छ । सत्तारूढ गठबन्धन सीरिजाले कुल मतको ३१.६ प्रतिशत पाएको छ । गत मे महिनामा सीरिजाले युरोपेली

संसद्को चुनावमा लज्जास्पद हार बेहोरेपछि देशमा निर्वाचनको घोषणा गरेको थियो ।

मित्सोताकिस ग्रीसको राजनीतिक वशंका उत्तराधिकारी हुन् । उनका पिता पनि न्यु डेमोक्रेसीका नेता थिए ।

हार्वर्ड र स्ट्यानफोर्ड जस्ता प्रतिष्ठित अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेका मित्सोताकिसले राजनीतिक करीयर शुरू गर्नुअघि बैंकिङ क्षेत्रमा काम गरेका थिए । सन् २०१३ देखि २०१५ सम्म उनी प्रशासिनक सुधार मन्त्री बनेका थिए ।

उदारवादी सुधारक मित्सोताकिसले ग्रीसलाई पुनर्ताजगी दिएर युरोपको समस्याग्रस्त मुलुकका रूपमा बनेको छवि परिवर्तन गर्ने प्रतिज्ञा गरेका छन् । विश्वव्यापी आर्थिक मन्दी ग्रीसमा आठ वर्षसम्म फैलिएको थियो जसले गर्दा उसको २५ प्रतिशत अर्थतन्त्र नष्ट भयो । दोस्रो विश्वयुद्धपछि कुनै पनि विकसित अर्थतन्त्रमा आएको यो सर्वाधिक खराब ह्रास थियो ।

मित्सोताकिसले कर र नियमावलिहरूलाई हटाएर अर्थतन्त्र पुनः बढाउने र लगानी आकर्षित गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

ग्रीसको आर्थिक पुनरुत्थान भइरहेको छ तर आगामी तीन वर्षमा २ प्रतिशत मात्र वार्षिक वृद्धि हुने भविष्यवाणी गरिएको छ । मित्सोताकिसले तीव्र परिवर्तन कार्यान्वयन गर्ने योजना बनाएका छन् । उनले निजीकरण गर्ने र ग्रीसलाई थप व्यापारमैत्री देश बनाउने योजना सार्वजनिक गरेका हुन् ।

त्यसपछि उनी देशका ऋणदाताहरूसँग नयाँ सम्झौता गर्नेछन् । ‘म युरोपेलीहरूसँग थप अािर्थक स्पेसका लागि सम्झौता गर्न सक्छु जस्तो लाग्छ र हामीहरू सत्तामा आउँदा बजार उत्साहित भएको देखिएको छ,’ उनले भने । यो सम्झौतामै उनको सफलता अडिएको छ ।

पुरानो सत्ताका प्रतिनिधि
तर सुधारका जस्ता योजना बनाए पनि मित्सोताकिस ग्रीसलाई अहिलेको संकटमा पुर्‍याउनका लागि जिम्मेवार राजनीतिक संस्थापनकै प्रतिनिधि हुन् । त्यस संस्थापनलाई मतदाताहरूले सन् २०१५ मा अस्वीकार गरिदिएका थिए । तर बजारमैत्री संस्थापन पक्षलाई मतदाताहरूले मत दिनु भनेको वामपन्थी सरकारविरुद्धको मत हो । त्यो सरकारले सक्ने भन्दा बढी प्रतिज्ञा गरेको थियो र वाचाअनुरूपको कार्यान्वयन गर्न सकेन । यसले संसारभरिका लोकरञ्जनवादीहरूलाई राजनीतिमा परिवर्तन आउँछ है भन्ने सन्देश दिएको छ ।

सन् २०१५ को जनवरी महिनामा दुई बेलआउट कार्यक्रम र वर्षौंसम्मको सरकारी खर्च कटौती तथा हिंस्रक विरोधपछि ग्रीस अज्ञात यात्रामा हिँड्यो । देशले पुरानो शैलीको राजनीति अस्वीकार गर्‍यो ।

सीरिजाले अनि त्यसका नेता सिप्रासले प्रतिज्ञा गरेको व्यापक परिवर्तनका लागि मानिसहरूले मत दिएका थिए । खासै नाम नसुनिएको दलले देशका ऋणदाताको सामना गर्ने अनि सरकारी खर्च कटौतीलाई अन्त्य गर्ने प्रतिज्ञा गरेर चुनाव जित्यो तर खासै सफलता हासिल गर्न सकेन ।

ग्रीसमा वामपन्थी लोकरञ्जनवादले बैंकबाट सबै ग्राहकले पैसा झिक्ने काम र युरोपेली संघबाट ग्रीसलाई निकाल्ने काम गर्‍यो । सम्झौताहरू हुन सकेनन् । बैंकहरू धेरै दिन बन्द भए र पूँजीमाथिको नियन्त्रण थोपरियो ।

युरोपेली संघबाट ग्रीस बाहिरिने स्थितिले ल्याएको अव्यवस्थाको सामना गर्नुपरेपछि अन्तिम क्षणमा सीरिजाले तेस्रो बेलआउट सहमति गर्‍यो र समयअगावै आमनिर्वाचन गर्ने घोषणा गर्‍यो । सन् २०१५ को सेप्टेम्बरमा पहिलेको भन्दा पनि कमजोर सीरिजा सरकार सत्तामा आयो । उसले आर्थिक लक्ष्य हासिल गर्न थप सरकारी खर्च कटौती र करमा वृद्धि गरायो ।

सन् २०१५ को ग्रीष्म ऋतुमा भएका घटनाले धेरै ग्रिसेलीहरूलाई परिवर्तनको प्रतिकार गर्न सम्भव छ भन्ने भ्रम चिरिदियो । त्यतिखेर सिप्रासले फनक्क दिशा परिवर्तन गरेझैं मतदाताहरूले अहिले दिशापरिवर्तन गरेका छन् ।

ग्रिसेली त्रासदी
युरोपका सुरक्षित क्षेत्रबाट ग्रीसको पतनका साक्षी भएका अन्य मुलुकका लागि ग्रिसेली त्रासदीको बिरासत ब्रेक्जिट पक्षधरको नारा बन्न पुग्यो अनि दक्षिणपन्थी लोकरञ्जनवादीहरूका लागि सचेत बनाउने कथा बन्यो । यसले युरोपेली संघभित्रका गहिरा धाँजालाई पनि उजागर गरिदियो । उग्रदक्षिणपन्थी राष्ट्रवादीहरूले मे महिनामा युरोपेली संसद्को चुनावमा राम्रो परिणाम ल्याए ।

ग्रीसमै चाहिँ उग्रवादप्रतिको समर्थन घट्दैछ । ग्रीस उग्रदक्षिणपन्थी, आप्रवासीविरोधी दललाई संसदमा ल्याउने पहिलो युरोपेली देश बनेको थियो । गोल्डेन डन पार्टीप्रतिको समर्थन समस्याग्रस्त आर्थिक अवस्थाका कारण चुलिएको थियो । अनि सन् २०१५ र २०१६ मा ग्रीसको तट हुँदै युरोप पस्ने लगभग दश लाख शरणार्थीहरूले ल्याएको संकटका कारण पनि उग्रदक्षिणपन्थीप्रति समर्थन बढेको थियो ।

अहिलेको निर्वाचनमा गोल्डेन डन दलले निकै कम सीट ल्यायो र राष्ट्रवादले यस चुनावमा निर्णायक भूमिका खेलेको भए पनि त्यसको ध्वनि चर्को छैन । तर सिप्रासले ग्रीसमा ठूलै राष्ट्रवादी भाव उद्वेलित गरे । छिमेकी मुलुकको नाम रिपब्लिक अफ नर्थ म्यासेडोनिया राख्ने सम्झौतालाई अनुमोदन गरेपछि सिप्रासले त्यसको राजनीतिक क्षति बेहोर्नुपर्‍यो ।

त्यसमाथि नातावाद, भ्रष्टाचारका काण्ड र न्याय प्रणालीमा हस्तक्षेपको आरोपले पनि समस्या ल्याएको छ । ग्रीस सन् २०१८ को ग्रीष्ममा अन्तिम बेलआउट कार्यक्रमबाट निस्केपछि सिप्रासले प्रशंसा पाउने स्थिति बनेको थियो । तर त्यतिखेरै लागेको भयानक डढेलोले ग्रेटर एथेन्समा सयभन्दा बढी मानिस मरे । यस त्रासदीको व्यवस्थापनमा कमजोरी देखाएको भन्दै सिप्रासको कठोर आलोचना भएको थियो ।

लोकरञ्जनवादको अन्त्य ?
गएको एक दशकमा भव्य स्तरको लोकरञ्जनवादलाई मूलधारे युरोपेली परिदृश्यमा ल्याउने पहिलो देश ग्रीस थियो । अहिले त्यसलाई दह्रो गरी अस्वीकार गर्ने पहिलो देश पनि उही भएको छ । निर्वाचन परिणामले युरोपमा उग्र लोकरञ्जनवादको अन्त्य भइरहेको संकेत दिन सक्छ ।

‘ग्रीसले लोकरञ्जनवाद र उग्रदक्षिणपन्थको अनुभव गरेकाले प्रौढताका साथ युरोजोनको सबभन्दा ठूलो संकटबाट मुक्त हुन सकेको हो,’ मार्कोपोलिस पत्रिकाका राजनीतिक सम्पादक निक माल्कूत्जिस भन्छन् । ‘एउटा चक्रको अन्त्य भएको र देश अब सामान्य राजनीतिमा फर्किएको जस्तो लाग्छ ।’

ग्रिसेलीहरूले यत्तिका वर्षसम्म संकटमा रहनुपरेकाले अब स्थिरता चाहन्छन्, उनले थपे ।

ग्रीस व्यावहारिकताको नवयुगमा प्रवेश गर्दा मित्सोताकिसले देशको सक्रिय तथा व्यापक सुधार योजनाको नेतृत्व लिएका छन् । उनको योजनाले देशलाई आर्थिक संकटबाट मुक्त गर्ने लक्ष्य लिएको छ । तर झूटा वाचाहरू नपत्याउने मुलुकले उनको कार्यकालको कठोर समीक्षा भने गर्नेछ ।

सीएनएनमा प्रकाशित एलिन्डा लाब्रोपूलूको विश्लेषण

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार