नेत्र विक्रम चन्द विप्लव रोल्पाको केवरीमा मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा जन्मिएका हुन् ।

बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् । विप्लवका बाजेका सात भाइमध्ये छ भाइ लाहुरे थिए ।  उनका बाबु चन्द ठकुरी हुन् भने आमा मगर हुन् । रोल्पाको राजनीतिक वातावरणले विप्लवलाई कम्युनिष्ट बनायो । कलेज जीवनमै पूर्णकालीन सदस्यका रुपमा सक्रिय भए  ।

उनले लिवाङको बालकल्याण माध्यामिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । उनले २०३९ सालमा अखिल छैठौंबाट राजनीति सुरू गरेका थिए । त्यसको ४ वर्षमै विप्लव विद्यार्थीको रोल्पा अध्यक्ष भए । त्यसपछि  उनी पढ्न काठमाडौं आए । नेपाल ल क्याम्पसमा कानुन पढ्न भर्ना भए । विप्लवले २०४८ सालमा स्नातक तेस्रो वर्षमा भर्ना हुन पाएनन् । त्यतिबेला एकता केन्द्र मसालको सदस्य बनिसकेका विप्लव सक्रिय राजनीतिमा अघि बढे ।

२०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सर्न पुग्यो । विप्लवले सुभद्रा मल्लसँग बिहे गरे भने उनीहरूका दुई छोरा र एक छोरी छन् ।

विप्लवले त्यसपछि आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगे । २०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बने । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए ।

कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला विप्लवले प्रहरीहरूबाट हतियार लुटेका थिए । त्यसपछि पार्टीभित्र उनको कामको प्रशंसा भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए ।

कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव चर्चित बनेका थिए । नेतृत्वको कमजोरी खरो ढंगबाट नडराइ बोल्ने भएपछि विप्लवलाई दाहालले अँगाल्न छाडे उनको साटो वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई च्यापे ।

माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र विप्लवको सम्बन्ध बिग्रियो । पार्टीभित्र एक पटक पनि छलफल नगरी जनयुद्ध रोक्ने र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै दाहालसँग विप्लव रुष्ट बनेका थिए । दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध थियो ।

विप्लवले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए । त्यसको चार वर्षमा २०६९ मा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहितलाई लिएर विप्लव पनि नयाँ पार्टी गठनमा लागे ।

वैद्यसँग पनि कुरो नमिलेपछि २०७१ मा आफ्नै नेतृत्वमा विप्लवले नयाँ पार्टी बनाए । अहिले उनी नेपाल कम्युनिष्ट पार्टीका महासचिव छन् । २०४५ र २०५० सालमा पटकपटक जेल परेका विप्लव शान्ति प्रक्रिया पछि पनि कुनै लाभको पदमा छैनन् ।

विप्लव पछिल्लो समय एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि लागिपरेका छन् । विप्लव २०७४ देखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

सँगै जनयुद्ध लडेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला पूर्वसहयोद्धा विप्लव फेरि भूमिगत छन् । हिजो एउटै थालीमा खाएका विप्लव र बादल अहिले एकअर्कालाई ‘शत्रु’मा रुपमा परिभाषित गरिहेका छन् ।

अहिले विप्लवको दल सरकारको मुख्य चुनौती बनेको छ । सरकारले उनलाई देशभित्र सबैभन्दा ठूलो थ्रेटका रुपमा लिएको छ । विप्लव यति बेलाका सहकर्मीहरुविरुद्ध उभिएका छन् ।

उनको विद्रोही स्वभावले अझै निरन्तरता पाइरहेको छ । यसको के अर्थ छ जनताले बिस्तारै बुझ्दै जाने छन ।

दृष्टिनेपालले तयार पारेको रिपोर्टको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार