सन् २००७ मा केन्यास्थित नाकालीमा करीब १ करोड वर्ष पुरानो पुच्छर नभएको बाँदर जस्तो जीवाश्म फेला पर्‍यो ।

नाक्लिपिथेकस नाकायामै नाम दिएको उक्त जीवाश्मलाई नै अहिलेसम्म मानवको सबैभन्दा प्राचीन पूर्वज मानिन्छ । वैज्ञानिक मत अनुसार, त्यही पूर्वजबाटै गोरिल्ला र चिम्पान्जी क्रमशः ७० र ५० लाख वर्ष पहिले छुट्टिएका हुन् ।

त्यसपछिका विभिन्न कालखण्डमा ओष्ट्रालोपिथेकस अनामिसेस, ओष्ट्रालोपिथेकस अफरेन्सिस, ओष्ट्रालोपिथेकस डेयिरेमेडा, ओष्ट्रालोपिथेकस सेडिबा, ओष्ट्रालोपिथेकस गर्ही, होमो अन्टेसेसोर, होमो हैडल्बेर्जेन्सिस्, होमो ह्याबलस, होमो अर्गाष्टर, होमो इरेक्टस जस्ता मानवका पूर्वजको विकास र लोपको प्रक्रिया चल्यो ।

वैज्ञानिक मत अनुसार, होमो इरेक्टसबाटै होमो सेपियन्सको उद्विकास भएको हो । तर, त्यसैबेला होमो सेपियन्ससँग मिल्दोजुल्दो होमो नियन्डरथल पनि युरोप र एशियामा अस्तित्वमा देखिएको थियो । सन् १९८२ मा भारतस्थित नर्मदा नदी किनारमा होमो इरेक्टस्को लाखौं वर्ष पुरानो तालुको हाड फेला परेको थियो, जसलाई नर्मदा म्यान उपमा दिइएको छ । यसको आकार होमो सेपियन्सकै जत्रो छ ।

होमो सेपियन्स उत्पत्ति र फैलावटबारे केही वर्षयता फेला परेका जीवाश्महरूले पुराना मान्यताहरूलाई चुनौती दिइरहेका छन् । सन् २०१७ मा प्रख्यात जर्नल साइन्स मा विश्वकै प्राचीन होमो सेपियन्सका जीवाश्म मोरक्कोमा भेटिएको समाचार छापियो । अनुसन्धानले यो जीवाश्म तीन लाख १५ हजार वर्ष पुरानो रहेको बतायो, जबकि त्यसअघिसम्म होमो सेपियन्स दुई लाख वर्ष पुरानो मात्र भएको तथ्य स्थापित थियो ।

सन् २०१८ मा इजरायलमा पाइएको मानव अवशेष ।

होमो सेपियन्स करीब ७० वर्षअघि मात्र अफ्रिकाबाट एशिया बसाइँ सरेको बताइन्थ्यो । तर, सन् २०१८ मा न्याशनल जियोग्राफिक म्यागेजिनमा अफ्रिका बाहिर अहिलेसम्मकै पुरानो मानव जीवाश्म पाइएको लेख छापियो । १७७ देखि १९४ हजार वर्ष पुरानो यो जीवाश्म इजरायलको मिस्लिया ओडारमा पाइएको थियो ।

यूरोपमा लामो समय हिमयुग रहेकाले धेरैपछि मात्र अफ्रिका र मध्यपश्चिम एशियाबाट मानव त्यता बसाइँ सरेको बुझाइ थियो । यूरोपमा ४० हजार वर्षभन्दा पुरानो जीवाश्म फेला परेकै थिएन । तर १० जुलाई २०१९ को नेचर जर्नलको अंकमा युरोपमा मानव बसाइँसराइ सम्बन्धी आश्चर्य लाग्दो तथ्य प्रकाशित भएको छ । लेखमा ग्रीसमा दुई लाख वर्ष पुरानो होमो सेपियन्सको जीवाश्म पाइएको बताइएको छ ।

हिउँमा हिंड्दै अमेरिका

सन् २०१७ मा मोरक्कोमा पाइएको मानव मानव जीवाश्म ।

इटालीका क्रिष्टोफर कोलम्बस स्पेनको पानीजहाजमा सन् १४९२ मा मध्य अमेरिका पुगेका थिए । हुन त ११औं शताब्दीमा पनि आइसल्याण्डका मानिस अमेरिका पुगेको जानकारी पाइन्छ ।

कोलम्बस अमेरिका पुग्दा त्यहाँ आदिवासीहरू देखिए । अफ्रिका, युरोप र एशियाबाट स्थल मार्ग भएर अमेरिका पुग्न असम्भव थियो । त्यसो भए कसरी मान्छे त्यहाँ पुगे त ? लामो समयसम्म ‘टाउको दुखाइ’ बनिरह्यो ।

तर, धेरैपछि अनेकन् अनुसन्धानले मानव हिंडेरै अमेरिका पुगेको तथ्य फेला पर्‍यो ।  दुई अमेरिकी महादेश र एशियाबीच करीब ८५ किलोमिटर समुद्र क्षेत्र छ, जसलाई बेरिन्जिया भनिन्छ । करीब १५ देखि २० हजार वर्षअघि समुद्र सतह घटेर पृथ्वीको उत्तरी गोलाद्र्धमा हिउँका ठूला–ठूला चट्टान जस्ता पर्वत बनेका र त्यहीबेला सुदूर उत्तरपूर्वी एशियाबाट मानिस पैदल अलास्का पुगेको भन्नेमा वैज्ञानिक एकमत देखिए ।

सन् २०१९ मा पुष्टि भएको मानव अवशेष ।

अर्जेन्टिनामा १४ हजार वर्ष पुरानो होमो सेपियन्सको जीवाश्म भेटिनुले पनि यसलाई पुष्टि गर्छ । माइटोकोन्ड्रियल डीएनए अध्ययन अनुसार, पूर्वी एशियाका यी मानिस वर्षौं वर्ष हिमाली जनावरको शिकार गर्दै आजको अमेरिका पुगेको बताइन्छ । त्यसो त अहिले पनि अलास्का क्षेत्रमा थुप्रै आदिवासी समुदायको बसोबास छ ।

अनुसन्धानले होमो सेपियन्स मध्य एशियाबाट पाकिस्तान, भारत, म्यान्मार, मलेशिया, न्युगिनीहुँदै ५० हजार वर्ष पहिले अष्ट्रेलिया पुगेको देखाएको छ। करीब आठ हजार वर्षअघिसम्म अष्ट्रेलिया र पपुवा न्युगिनी जोडिएका थिए । समुद्र सतह बढेपछि भने ती अलग भए ।

हिमयुग सकिएपछि समुद्री सतह बढेको र यसमा जलवायु परिवर्तनलाई नै कारक मानिएको छ । त्यसअघि अष्ट्रेलियासँग तास्मानिया पनि जोडिएको बताइन्छ ।

नेपाल प्रवेश
होमो सेपियन्स खाडी मुलुक नजिकका समुद्री किनारै किनार हुँदै करीब ६०–७० हजार वर्ष पहिले अहिलेको पाकिस्तानबाट भारत आइपुगेको बताइन्छ । मानवशास्त्रीका अनुसार, भारत आइपुगेको त्यही मानव झुण्ड त्यसको हजारौं वर्षपछि सुदूरपश्चिम नेपालको हिमाली क्षेत्र आइपुगेको हुनुपर्छ ।

भनिन्छ, खाडी मुलुकबाट उत्तरदिशा पसेको झुण्ड चीनको सिन्च्याङ प्रान्तस्थित काश्गर (खासी) पुगे । त्यहाँबाट करीब ३५ हजार वर्षपछि जम्मु कश्मिर आइपुगे । त्यसपछि विभिन्न कालखण्डमा तिब्बततर्फबाट हिमालय पार गर्दै नेपालतर्फ आए । उनीहरू पशुपालन युग शुरू भइसकेपछि नेपाल प्रवेश भएको अनुमान गरिन्छ ।

चीनमै कम उँचाइ भूभागमा बस्नेहरू भने पूर्वी पहाडमा बस्न थाले । पूर्वी पहाडी इलाका बस्ने सुँगुर पाल्ने अन्य समुदाय भने पूर्वोत्तर भारतबाट नेपाल प्रवेश गरेको पनि अनुमान गरिन्छ । आर्यहरू भने विभिन्न कालखण्डमा भारतबाट तराई, पश्चिम तराई हुँदै कर्णाली क्षेत्र प्रवेश गरे ।

त्यसो त दक्षिण पूर्वी एशियामा लाखौं वर्ष पुराना मानव जीवाश्म फेला परेका छन् । तर, ती टुक्राटाक्री मात्रै भएकाले होमो सेपिन्यस हुन् या अन्य प्रजाति यकिन हुनसकेको छैन । चीनमा एक लाख २५ हजार वर्ष पुरानो मानव जीवाश्म गैंडाको अवशेषसँगै फेला परेको थियो । तर, त्यसको प्रजाति स्पष्ट हुनसकेको छैन ।

अहिलेसम्मको अध्ययनमा अफ्रिकाकै उद्भव होमो सेपियन्स समयक्रममा विभिन्न ठाउँमा पुग्दा नश्ल ग्रहण गरेको देखिन्छ । अफ्रिकी नश्ल, युरोपेली नश्ल, आर्य र मंगोलियन नश्ल।

अष्ट्रेलियामा एशियाली र युरोपेली नश्लका समुदाय छन् । अमेरिकामा पनि दक्षिण पूर्वी एशियाली र युरोपेली नश्लका छन् । यी नश्लहरूले एक–दुई लाख वर्षको अन्तरालमा ठाउँविशेषको हावापानी अनुसार पृथक् रूप, रंग, आकृति ग्रहण गरेका हुन् भनिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार