हिजोआज रातारात ठेकेदार पार्टी प्रवेश गर्ने,  अर्को कित्ताको मान्छे कम्युनिस्ट पार्टीमा आएर रातारात उमेद्वार बन्न पाइहाल्ने स्थिति पार्टी आउनुभनेको या त एक्काइसौँ शताब्दीमा जनवादको विकासमा हाम्रा कमजोरी थिए या त हामीले त्यसलाई सही ढङ्गले लागू नै गरेनौैं। यो कुरामा निष्कर्षमा त पुग्नुपर्यो नि !

हिजो जबजलाई अगाडि बढाउने साथीहरुले पनि त्यसलाई शान्तिपूर्ण ढङ्गले समाजवादमा पुग्ने एक मात्र बाटो भन्नुभएको थियो । तर समाजवादतिर जाने छाँटकाँट कतै छैन । कहाँ पुग्ने भनिएको, कहाँ पो आइपुगियो । आज त सम्पूर्ण दलाल पुँजीवादले घेरेको र सबै कुरा त्यसले नै सञ्चालन गर्ने स्थितिमा आइपुगिएको छ । हामीले त्यसको समीक्षा  गर्नुपर्ने अवस्था छ या जबजमा नै केही थियो । जबजले नै डोर्याएर कर्पोरेट हाउस, कर्पोरेट पुँजीवादमा पुर्यायो या त जबज माथि छलफल भएन, त्यसलाई लागू गरिएन,  राम्रो गरी धारण गरिएन । कुनै सिद्धान्त, विचारलाई ग्रहण गर्ने भनेको आलोचनात्मक रूपले चर्चा, परिचर्चा गर्ने, त्यसका सबल, दुर्बल पक्षको समीक्षा गर्ने र व्यवहारमा लागू गर्ने कुरा हो । व्यवहारमा लागू गरिसकेपछि पनि त्यो सही भयो कि भएन भनेर हेर्ने हो । अतीतको निर्मम समीक्षा र त्यो समीक्षा गर्ने दृष्टिकोणले नै हामीलाई वर्तमानलाई बुझ्ने दृष्टिकोण प्रदान गर्छ ।

सबैभन्दा गाह्रो कुरा भनेकै समकालीन इतिहासलाई बुझ्नु हो । जे बितिराखेको छ, हाम्रो बीचमा जे भइरहेको छ, त्यो कुरामाथि बोल्नु, लेख्नु जरुरी छ । प्लेखानोले यसो गरिदिएको भए हुन्थ्यो, लेनिनले त्यसो गरिदिएको भए हुन्थ्यो, माओत्सेतुङ् वा पोलपोटले यसो गरिदिएको भए हुन्थ्यो भनेर भन्न त सजिलो छ ।

सबैभन्दा मुख्य कुरा शिक्षा हो । अहिले नेपालमा शिक्षासम्बन्धी सोच र शिक्षा प्रणाली कस्तो छ ? त्यसलाई बुझ्न मार्क्सवाद चाहियो । वर्तमानलाई कारणसहित बुझ्न, बदल्नका लागि मार्क्सवादको जरुरत छ । अरू कुनै दर्शन, सिद्धान्त वा विचारधाराले वर्तमानलाई बुझ्न सकिँदैन ।

यहाँनेर कम्युनिस्ट मेनिफेस्टोको कुरा आउँछ ।

मार्क्सवाद भनेको आफैप्रति पनि आलोचनात्मक बन्न सिकाउँछ । जबज के हो भन्ने कुरा एमाले पङ्क्तिबाट कहिल्यै सुनिएन ।

एक्काइसौं शताब्दीको जनवादको विकासमा त्रुटि के के छन् भन्ने कुरा माओवादीका नेताबाट कहिल्यै सुनिएन । यस्तो पनि मार्क्सवाद हुन्छ ? हामीले त्यसमाथि छलफल नै गरेनौँ । जबज मार्क्सवादी सिद्धान्तमाथि उभिएको छ कि छैन भन्ने विषयमा जुन छलफल चाहिन्थ्यो, त्यो हामीले गरेनौँ । एक्काइसौँ शताब्दीमा जनवादको विकास भन्नेमा हामीले केही प्रस्तावना राख्याँै । त्यो माथि छलफल नै भएन । आफैले अगाडि ल्याएको सिद्धान्तप्रति आफै इमानदार नभए स्वाभाविक रूपमा त्यसले विकृति ल्याउँछ ।

संसारमा त्यतिबेलाका समकालीन र इतिहासको ज्ञानमाथि ठूलो अन्तक्र्रिया बहस, छलफल गरेपछि मात्रै मार्क्सवाद निस्केको हो । मार्क्सले, एङ्गेल्सले बारबार भन्नुभएको छः वर्ग सङ्घर्ष हामीले पत्ता लगाएको विषय होइन । त्यसमा उहाँहरुको योगदान कति छ भन्ने कुरा पनि उहाँहरुले देखाउनुभएको छ । यसबाट के प्रष्ट हुन्छ भने यहाँ कसैले एक्लै बहादुर बनेर यो संसार मैले भनेजस्तो चल्छ भनेर हुँदैन, त्यसरी चल्दै चल्दैन ।

त्यसकारण सबै विचारलाई, ‘सयौं फूललाई फुल्न दिने’ स्कुल विभाग हुनुपर्यो । अहिले स्कुल विभागमा दाबेदार भनिएका व्यक्तिहरु पनि सबै टेस्टेड छन् । चिनिएकै व्यक्ति छन् । समाजवाद भनेको डेमोक्रेसीको पनि उच्चतम बिन्दु हो । रोजा लक्जेम्बर्ग बारम्बार भन्ने गर्थिन्– राजनीतिक स्वतन्त्रताबिना समाजवाद निस्सासिएर मर्छ । नभन्दै सोभियत सङ्घमा राजनीतिक स्वतन्त्रताको अभावमा समाजवाद अन्ततः निसासिएरै मर्यो । जहाँ पनि राजनीतिक स्वतन्त्रताबिना समाजवादी उद्देश्य हाँसिल गर्न खोजिन्छ, त्यहाँ त्यो निसासिएर मर्छ । त्यसकारण यहाँ राजनीतिक, वैचारिक र सैद्धान्तिक कुराको बहिङ्गम बहस गराउने खालको स्कुल विभाग चाहियो ।

हाम्रो पार्टीमा दस लाख कार्यकर्ता छन् । उनीहरुको पहिलो स्कुल भनेको नेताहरु हुन् । कार्यकर्ताहरु नेतालाई भेट्न जब आउँछन्, त्यहाँ नेताले बोलेको कुरा मात्रै सुनेर जाँदैनन् । उनीहरु नेताका रहनसहन, जीवनशैली र वरिपरिका परिवेशहरुबाट पनि प्रभावित बन्ने गर्छन् ।

जस्तै, नेता भेट्दा उनीहरु नेताका विचार र कुराबाट मात्र प्रभावित हुँदैनन् । उनीहरु त नेताको छोरी घरबाट निस्कन्छन् । उनीहरू केमा आउँछन्, केमा जान्छन् । सवैतिर चियाउँछन् । नेताकाेमा को भेट्न आउँछ, को जान्छ,  सबै कुराको ख्याल गरिरहेका हुन्छन् । त्यसबेलामा उनीहरुले कुनै व्यपारी एउटा पोको लिएर गएको कार्यकर्ताले देखे भने नेताले गरेका सबै भाषण बिर्सन्छन् ।

हिजो लेनिन, माओत्सेतुङलाई भेटेपछि एकदम उत्साहित भएर लड्ने क्षमता लिएर फर्कन्थ्यो । हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने अहिले नेतालाई भेट्ने अधिकांश कार्यकर्ता उत्साहित हैन, निराश भएर फर्कन्छ ।

त्यसकारण पहिलो स्कुल भनेको त्यही हो । स्कुलिङ भनेको हामीले के लेख्छाँै, के बोल्छाँै भन्ने मात्रै हैन, हामी के गर्छौं, त्यो पनि हो । जस्तो; हामीसँग विमति राख्ने मान्छेसँग कति मिल्छाँै ? युनिर्भसल कुरा जस्तो छ, तपाईं जति शासन गर्न चाहनु हुन्छ, त्यति शासन तपाईंको टिक्छ । संसारमा कडा चिज चाँडै भाँचिन्छ । विध्वंशको आवाज हुन्छ । रूख ढल्दा आवाज आउँछ तर रुख बढ्दा आवाज आउँदैन ।

खाँचो पारदर्शिताको

हाम्रा नेताले भात नखाऊन्, हाम्रा नेता भोकै बसून्, जाडोमा कामुन् भनेको हैन । शर्त यति हो, त्यो पारदर्शी होस् । बख्खु लाउन्, ज्वारी कोट लाउन्, अरू के–के लाउन्, जनताले मान्छन् । ६० वर्षसम्म फिडेल क्यास्ट्रोलाई स्वीकार गर्यो । उसको नाममा एउटा बाटो छैन, क्लब छैन । उनले पहिल्यै भनेका थिए, मेरो नाममा केही नबनाउन् । त्यसैले क्युबाका कुनै पनि सडक फिडेल क्यास्ट्रोको नामकरण गरिएका छैनन् । तर फिडेल क्यास्ट्रोेको नैतिक प्रभाव यस्तो थियो कि उनले सुसेली मार्दा मात्रै पनि दस लाख जनता सडकमा आउँथे । त्यसो हुनुको एउटै कारण उनले पारदर्शी जीवन बाँचे । उनी नाङ्गै पनि बसेनन् र जे जस्तो जीवन बाँचे, त्यो पूर्णतः पारदर्शी थियो, उनको भनाइ र गराइमा तादाम्यता थियो ।

रुसको इतिहास हेर्ने हो भने दस हजार मात्र पार्टी सदस्य भएको पार्टी थियो बोल्सेभिक । तर त्यही पार्टीले दसौँ लाख जनतालाई जागृत गर्दै अक्टोबर क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गराएर संसार हल्लाइदियो । पछि पनि पार्टी त्यही बोल्सेभिक नै हो, जसको पार्टी सदस्यको सङ्ख्या करोडौँ हुँदा चाहिँ रुसमा समाजवाद ढल्यो । करोडौँ सदस्यले देश जोगाउन सकेन, रुसी महासङ्घ टुक्रियो ।

संख्याले जोगाउँदैन, जोगाउने सही विचारले नै हो भन्ने इतिहासको यो निर्मम घटनाबाट पाठ सिक्नु जरुरी छ । आफूहरुले अंगालेको राजनीतिक कार्यदिशा र सिद्धान्तले पार्टी कस्तो बन्यो भन्ने कुरा पूर्वमाओवादी र पूर्वएमालेले पनि समीक्षा गर्नुपर्छ । अहिलेको अंह प्रश्न भनेकै अतितसँग टाँसिरहने वा अतितको पूजा गर्ने कुुरालाई परित्याग गरेर समीक्षा गर्नुपर्यो, वर्तमानलाई अध्ययन गर्नुपर्र्यो  र वर्तमानलाई परिवर्तन गरेर अग्रगामी दिशातिर अघि बढ्ने सही राजनीतिक कार्यनीति अपनाउनु पर्यो । 

रातोपाटी अनलाइनसँगको कुराकानीको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार