धेरैले अन्यथा मान्न सक्लान् तर २०५४ सालको स्थानीय चुनावमा तत्कालिन गृहमन्त्री वामदेव गौतमले कार्यकर्ता, संगठन र परिचालनमा त्रिब्रह्मजाल साम, दाम दण्ड, भेद प्रयोग नगरेको भए नेकपा एमाले त्यो अवश्थामा हुने थिएन जहाँ आज त्यो पार्टी छ ।

त्यतिबेलाको संगठनको जालोले पार्टी अहिलेसम्म डम्म ठडिएको छ । बामदेव गौतमको पढाई कति हो यो लेखकलाई थाहा छैन तर आजपनि बामदेवका लेखहरु अन्य कर्मकाण्डि कामरेडहरुको भन्दा फरक छ । यसमा सैद्धान्तिक चिन्तक घनश्याम भूसालका सवैकुरा मैले नबुझेकोले र युवराज ज्ञवालीका माक्र्सवादी गुनासा बाहेक  उनले माक्र्सवाद र समाजवादलाई आज पनि फरक तरिकाले बुझेका छन् र लेख्न सक्छन् । जुनकुरा केहीदिन अगाडी नागरिक दैनिकमा प्रकाशित उनको लेखले पनि बताउन सक्छ ।

अहिलेसम्म हेरिएको सवैभन्दा चाख लाग्दो हिन्दी फिल्म बाहुबलीमा एक जना कटप्पा नामक पात्र छन् उनले राजमाता शिवगामी देवीको आदेश अनुसार माहिस्मति राजसिंहासनको सधै भलो गर्दछन् । सर्सती हेर्दा नेकपा एमाले नामक साविक नाम भै हाल नेकपा नामाकरण गरिएको पार्टीका कटप्पा बामदेव गौतम हुन् ।

उनी जत्तिको बाम रक्षक अरु कोही होला जस्तो लाग्दैन । हुनतः केही राजनैतिक पुण्डितहरुले पार्टी फुटाएको भनेर उनको आलोचना गर्छन तर वास्तवमा कटप्पाले पनि परिस्थतीवश अमरेन्द्र बाहुवलीको हत्या गरेका थिए । वास्तवमा त्यस्तै भएको हो, अन्यथा नेकपा एमालेका वास्तविक कटप्पा बामदेव गौतम हुन् । जननेता मदन भणडरीले एक पटक भनेका थिए, “बामदेव नभए पार्टी लुलो हुन्छ र बामदेव अध्यक्ष भए पार्टी धुलो हुन्छ” । पार्टी धूलो त नहोला । तर बामदेव नभएको भए नेकपा अहिलेको जस्तो मजबुत अवस्थामा कुनै हालतमा आउने थिएन । किनकी २०७४ साल असोज कार्तिकमा शेरवहादुरको काखमा सुतेका प्रचण्डलाई ओलीको काखमा ल्याएर सुताउन सक्ने महान् पात्र बामदेव नै थिए ।

उनको शिघ्र सोच्न सक्ने क्षमताका लागि मान्नु नै पर्छ । यति हुँदा हुँदै पनि उनले बर्दीयाबाट चुनावमा हारे । उनलाई हराउने स्थानीय स्तरका नेता थिए तापनि त्यसको दोष कतै न कतैबाट ओलीसंग ठोकिन पुग्यो । तर वास्तवमा ओलीले जसलाई चाह्यो उसलाई हराउन सक्ने भए प्रचण्डलाई हराइदिन्थे टन्टै साफ। किन बामदेवलाई हराउन दिमाग खर्च गर्थे होला र ? जे सुकै भएपनि वितेका केही समय गौतम र प्रधानमन्त्रीको सम्वन्ध चीसिएको थियो । ति बामदेव गौतमसंग जसको सहयोगमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको चुनाव जितेका थिए । कहिले हुम्लाका बुढामगर र कहिले वालाजुका रामविरको ठाउँमा चुनाव लड्ने बामदेव इच्छामा ओलीले नै रोकेका थिए वा बचाएका थिए ।

तर पछिल्लो दिनमा ओली र गौतम वीच पक्कै सम्वन्ध सुधारिएको छ । नेकपाको संगठन बिभाग जस्तो महत्वपुर्ण विभाग ओलीआशय बिना बामदेवले पाउलान् भन्ने कसैले सोच्नु फगत पटमुर्खता हो । त्यसैगरी रविन्द्र अधिकारीको खाली भएको कास्कीको नीर्वाचन क्षेत्रमा उठ्न पनि अध्यक्षले भनेको बुझिएको छ । यहाँ त बामदेवले मानेन् किनकी जित्ने संभावना निकै कम छ । किनकी रविन्द्रको मृत्यु एक अपगालको समयमा भएको छ । एक प्रकारले उनको वाइडबडी र यस्तै केही फाइल लुकाएर राखिएको अवस्थामा चुनाव जित्ने संभावना पातलो भएकोले पनि बामदेव गौतम यो पदमा संलग्न नहुन चाहेको हुन सक्छ ।

यसबाहेक २०७६ श्रावण २७ गते औषधी उपचारपछि १० दिनमा नेपाल फकिएका प्रधानमन्त्री र बामदेव एयरपोर्टमा जुन किसिमको गर्मजोशी देखएको छ । यो हेर्दा लाग्छ ओलीले पनि अब कटप्पाको सहयोगमा केही गर्न सकिन्छ की भन्ने सोचेको हुन सक्छ ।

वर्ण मिडियाले गरेको टिप्पणीको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार