पार्टी भनेको विचार हो । एक विचार एक पार्टी हुन्छ । केही समय विचार मिल्ने समूहहरू अस्तित्वमा रहे पनि छलफल र बहसपछि ती एकै ठाउँमा पुग्छन् । त्यसैले नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी एकताको लागि ६ बुँदामा संश्लेषित गरेर पार्टी एकतालाई उद्देश्यमा राखेर, संयुक्त मोर्चा, कार्यगत एकता गर्दै आपसमा सहकार्य, संयुक्त आन्दोलन गर्दै अगाडि बढ्यो । पार्टी एकता रणनैतिक विन्दु हो भने त्यहाँसम्म पुग्ने र लक्ष्य मिल्ने समूहहरूसँग आपसी मनोविज्ञान मिलाउन अन्तरघुलन गर्दै अगाडि बढ्न जरुरी हुन्छ । त्यस हिसाबले केही समय नेकपा (ऋषि कट्टेल), नेकपा (विप्लव), नेकपा (मसाल)सँग नेकपा (क्रान्तिकारी माओवादी)ले रणनीतिक प्राप्तिको उद्देश्यसहित कार्यनीतिक सहकार्य गर्दै अगाडि बढ्यो ।

नेकपा (मसाल)को स्पष्ट दृष्टिकोण नहुनु, वाम खोल ओढेका वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका संचालक केपी, पिकेसँग उठबस, सहकार्य र चुनावी गठबन्धन भएकाले उक्त संयुक्त मोर्चामा मन नलागि नलागि बसेकाहरूको र आफ्ना विरोधीसँग बसेर सरकारलाई अप्ठ्यारो पारेको भनेर सत्ताधारीबाट दवाव आलोचना आइरहेको सन्दर्भमा विप्लव समूहले शत्रु र मित्र छुट्याउने काममा देखाएको अधिभूतवादी चिन्तनले तमाम प्रतिक्रियावादी शक्ति हुँदाहुँदै कार्यगत एकता र पार्टी एकताको अभ्यास चलिरहेको मित्रशक्तिकै कार्यकर्तामाथि प्युठानमा शत्रुवत व्यवहार गर्न पुग्दा संयुक्त मोर्चासम्बन्धी नीति विपरीत एकतर्फी सम्बन्ध–विच्छेद गर्दै (मसाल) समूह उक्त एकीकृत सहकार्यबाट अलग भएर ‘हिउँ आएको निहुँ पाएको’ नेपाली उखानलाई चरितार्थ गर्दै सत्ताधारीलाई खुशी पार्न मोर्चा तोड्न पुग्यो ।

नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारीहरूसँग एकताबद्ध भएर अगाडि बढ्ने कार्यनीतिबाट सुरु गरेर रणनीतिमा पुग्ने पहिलो प्रयास विफल भयो । त्यसपछि पनि दुई पक्षीय, वार्ता छलफल चलाएर अगाडि बढ्ने कोसिस हुँदै आइरहेको छ । गहन वार्ता, छलफल र ६ बुँदामा एक÷एक गरेर छलफल गर्दा विचारमा समरूपता तत्कालको लागि संभव नभएपछि पार्टी एकताको विषय सबै समूहसँग तत्कालको लागि स्थगित हुन पुग्यो र २०७६ असारमा बसेको (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठकले तत्कालका लागि क्रान्तिकारी ध्रुवीकरणमा जोड दिने नीति लियो । रणनीति र कार्यनीति एकआपसमा अविभाज्य सम्बन्ध हुन्छ । रणनीतिमा धुमिल अस्पष्टता भइसकेपछि कार्यनीतिमा पनि डोरीलाई एकैतिर तान्ने प्रयत्न पनि विफल भएर झट्काहरू विभिन्नतिर तानिन पुग्छन् । बल मिल्दैन र अल्झिन पुगिन्छ ।

अहिले महँगी, भ्रष्टाचार, राष्ट्रघात, सरकारको अकर्मण्यता, सामाजिक फासीवाद, गैरन्यायिक हत्या, झुटा मुठभेड, संविधान विपरीत पार्टीमाथि प्रतिबन्ध लगाइरहेको अवस्थामा आन्दोलन अगाडि बढाउन जरुरी भएको बेलामा समेत कार्यगत एकताको वातावरण नबन्नु यसैको परिणाम हो । कार्यगत एकता सबैलाई आवश्यक भएर साझा मिलन विन्दू खोज्ने क्रममा काममा एकरूपता हुने कुरा हो । शत्रुले एक–एक गर्दै सिध्याउने रणनीति लिइरहेको बेला बलियाको विरुद्ध कमजोरहरू एकजुट हुने विज्ञानको नाम हो– कार्यगत एकता । रणनीतिसँग नजोडी विश्रृंखलित कार्यगत एकता फलदायी हुँदैन ।

नयाँ जनवादी रणनीतिक उद्देश्यलाई तिलाञ्जली दिएर लोकतान्त्रिक गणतन्त्रको लागि कार्यगत एकता गर्दा संसदीय व्यवस्थाको विरोधी तत्कालीन नेकपा (माओवादी)को नेतृत्व प्रचण्ड बाबुराम संसदीय व्यवस्थामै गिर्न पुगे । महान् कार्लमाक्र्सको ‘कम्युनिस्टहरू आफ्नो उद्देश्य लुकाउनुलाई अपराध ठान्छन्’ भन्ने कम्युनिस्ट घोषणा पत्रको मर्म पनि यही हो । नेकपा (क्रान्तिकारी माओवादी) ले कार्यगत एकताको ढोका खुला राखे पनि यत्रो अन्याय, अत्याचारको विरुद्ध आन्दोलन उठिरहेको छैन र कार्यगत एकताको महसुस पनि सम्बन्धित पक्षले जति जोड दिनुपर्ने हो, त्यति दिइरहेका छैनन् । यो कसैको चाहनाले भन्दा पनि तत्कालको आवश्यकताले हुने विषय हो । यसमा नेकपा (क्रान्तिकारी माओवादी)ले कार्यगत एकतालाई महत्व दिइरहेको छ । महँगी, भ्रष्टाचार, विषादी तरकारी विरोधी आन्दोलन एकल र संयुक्त रूपमा पनि गर्दै आइरहेको छ ।

सरकारले संविधान विपरीत विप्लव नेकपालाई प्रतिबन्ध लगाएको छ । गत फागुनमा प्रतिबन्ध लगाएपछि ‘राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउने गरी कुनै कानुन बनाउन पाइने छैन भन्ने संविधान विपरीत कार्यको चौतर्फी विरोध भयो । सरकार सिडियो कार्यालय र निर्वाचन आयोग कतै पनि दर्ता नभएको विप्लव समूहलाई ‘के को प्रतिबन्ध’ भन्दै हल्का र हास्यव्यग्य शैलीमा प्रतिरक्षामा उभिन पुग्यो । गतिविधिमा मात्र प्रतिबन्ध लगाएको भनेर छेउ न टुप्पोको कुरा गर्न पुग्यो । के मा कसरी कुन कानुन टेकेर प्रतिबन्ध लगाएको हो, सरकार आफैलाई थाहा छैन । विप्लव समूहलाई सहयोग र समर्थन गर्नेलाई समेत कारबाही गर्न सरकारको धम्कीलाई समेत चुनौती दिंदै प्रतिबन्ध लगाउन पाइदैन भन्दै विरोध प्रदर्शन, कोणसभा, सभा र आमसभासमेत राजनैतिक पार्टीहरूले गरे ।

नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने भन्दै स्पष्ट लक्ष्य लिएर विद्रोह गरेको नेकपा –माओवादी हुँदै दुई पार्टी बीच एकता भएर बनेको नेकपा (क्रान्तिकारी माओवादी)लाई त फुटको औचित्य के हो भनेर प्रश्न तेस्र्याउनेले क्रान्तिको चरण, राजनैतिक तथा सामरिक कार्यदिशाको अस्पष्टतासहित रहस्यमय ढंगले बुढाहरूले क्रान्ति गर्न सकेनन् र सक्तैनन् भनेर विद्रोह गरेको ३० महिनामा सम्बन्ध विच्छेद गरेर हिंडेको नेकपा (विप्लव) समूहको गन्तव्य प्रष्ट छैन तर पनि एउटा राजनैतिक पार्टीले एउटा विचारसहित जनतामा अभ्यास गर्न पाउनु पर्छ भनेर खतरा मोलेरै आवाज उठाएको छ नेकपा (क्रान्तिकारी माओवादी) सहित अन्य वामपन्थी पार्टीहरूले । आफू युवा उमेर पार गरेर ४० कटेपछि पनि विचार, दर्शन, सिद्धान्त र राजनीतिलाई भन्दा युवालाई केन्द्रमा राखेर मुखैमा युवा शब्द झुण्डाउँदै फुटेको यी ५ वर्षमा क्रान्तिको काम के कति भए सबैले समीक्षा गर्न थालेका छन् । वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको विरोधी भएकोले सकेसम्म विप्लव समूहबारे क्रान्तिकारीहरूले बोल्न नपरोस्, वैचारिक रूपमा एकै ठाउँमा आएर पार्टी एकताको वातावरण बनोस् भनेर ‘शत्रुको शत्रु’ मित्रको रूपमा क्रान्तिकारी माओवादीले मित्रतापूर्ण व्यवहार ग¥यो । पार्टी एकतालाई पनि दाउपेचको रूपमा लिने, वार्ताको रिपोर्ट पनि पार्टीमा सही तरिकाले सम्प्रेषण नगर्ने, वार्ताटोलीमार्फत् मात्र वार्ता गर्ने भनेपछि वार्तामै नबस्ने काम विप्लव समूहबाट हुँदै आएको छ ।

विप्लव समूहमा गतिशील ऊर्जा भएका थुप्रै युवा क्रान्तिकारीहरू छन्, यसमा विमति राख्न जरुरी छैन । स्पष्ट लक्ष्य र उद्देश्य नभएको, मृत्यु र मुक्तिको उद्देश्य प्रष्ट नभएको, राज्यसत्तासम्बन्धी प्रष्ट धारणा नबनेका युवाहरूको ऊर्जा त्यसै खेर गइरहेको महसुस गरेको छ नेपाली वामपन्थी आन्दोलनले । क्रान्तिप्रति चासो राख्ने तर वैचारिक रूपमा प्रष्टता नभएको वामपन्थी जनमतले विप्लव समूहलाई क्रान्तिकारी मान्दछ । तर क.विप्लव र सो समूह र नेताहरूले समीक्षा गर्नुपर्छ । विप्लव समूहका वरिष्ठ नेता तिलक परियारसहित पीबीएम पदम राई लगायत २० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू विप्लव समूहबाट किन सोही समूहले सबैभन्दा गाली गरेका पूर्व माओवादी केन्द्र र हालको डबल नेकपामा पलायन भइरहका छन् ? राजनीतिक गालीगलौज्को केही अर्थ छैन, हालको डबल नेकपाको राजनीति र विप्लव समूहको राजनीति एउटै छ । वैज्ञानिक समाजवादी क्रान्ति, जब विचार एउटै छ भने अरुको महत्व गौण हुन पुग्छ ।

पर्यवेक्षकहरूले विप्लवबाट हटेका नेता कार्यकर्ताहरू त नेकपा (क्रान्तिकारी माओवादी) मा आउनुपर्ने हो किन डबल नेकपामा गए भनेर छक्क पर्छन् । यसको कारण राजनीति नै हो । यसबाट विप्लव समूहले पार्टीभित्र कस्तो स्कुलिङ चलाएका रहेछन् भन्ने कुरा पनि प्रष्ट हुन्छ । क्रान्तिकारी माओवादीभन्दा डबल नेकपा कसरी नजिक भयो भन्ने कुरा पनि कार्यकर्ता पलायन र जाने व्यावहारिक गन्तव्यले प्रष्ट पार्छ । हो, ग्रासरुटका कतिपय क्रान्तिकारीहरू (क्रान्तिकारी माओवादी) मा धु्रवीकृत हुनु भएको छ । कतिपय केन्द्रीय स्तरका कमरेडहरू पनि पार्टी एकताको कुरा गर्नुहुन्छ । तर सबै कुराको छिनोफानो राजनीतिले गर्दछ । जबसम्म राजनीतिक कार्यदिशा स्पष्ट हुँदैन, सही र गलतबारे प्रष्ट बुझाइदैन, द्वन्द्वात्मक भौतिकवादबारे प्रष्ट पारिदैन, जस्तो रापेको छ त्यस्तै स्याहार्नु पर्छ, अहिले भइरहेको त्यही हो । हाम्रो उद्देश्य एउटा क्रान्तिकारी पार्टी सच्चियोस्, रूपान्तरण होस् क्रान्तिकारी पार्टी बीचमा एकता होस् भन्ने चाहना हो । हालैका दिनमा मिडियामा आएका समाचारले विप्लव समूह समस्यामा भएको देखाउँछ । विचारलाई केन्द्रमा नराखे र बुढालाई फाल्ने डोको लिएर हिंड्दा आफूलाई छोरोले पनि हेरिरहेको छ भनेर थाहा पाउनु पर्छ । अग्रगामी यथास्थितिवादी र पश्चगामीमध्ये पश्चगामीहरूले विप्लव समूहलाई प्रशंसा गरिरहेको सन्र्दभ पनि ध्यान दिनुपर्छ । महान् माओले भनेझैं ‘सत्रुले प्रशंसा गर्छन् भने तिमी गलत छौं ।’ भन्ने कुरालाई विप्लव समूहका नेता कार्यकर्ताहरूले ख्याल गर्नुपर्छ । नयाँ जनवाद, समाजवाद र साम्यवादको महान् यात्रामा सँगै हिडेका लडेका कमरेडहरू, सँगसँगै यात्रामा अगाडि बढ्न पाइयोस् भन्ने कामना हो ।

पार्टीसँग सम्बन्धबिच्छेद् गर्दा रूपमा ‘वाम’ सारमा दक्षिण भनेर गरिएको विश्लेषण व्यवहारमै देखिएको छ । यसबाट क्रान्तिकारीहरूलाई चिन्ता लाग्नु स्वाभाविक हो । चिन्ता गरेर मात्र हँुदैन चिन्तन गर्नुपर्छ, त्यो पनि अरुले गरेर हुँदैन सम्बन्धित पार्टीले गर्नुपर्छ । ढिला भएको छ । बेला गइसकेको छैन अझै पनि रहस्यलाई उजागर गरेर गलत र हानिकारक विचारलाई सच्चाएर सही राजनैतिक दिशा लिन विप्लव समूहमा रहेका क्रान्तिकारीहरूलाई अनुरोधका साथ आग्रह गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार