नेकपा मसालबाट कार्वाही भोगेका केन्द्रीय सदस्य एवं हाँक साप्ताहिकका सम्पादक गोविन्दसिंह थापाले मोहनविक्रमलाई लगाए गंभीर आरोप लगाएका छन् ।

आफ्नो दक्षिणपन्थी लाइन छोप्न आफुलाई मोहन विक्रम सिंहले कार्वाही गरेको गोविन्दसिंह थापाले आरोप लगाएका छन् ।

थापाले लामो पत्र लेखेर आफ्नो स्पष्टोक्ति दिएका छन् । हेरौं उनले लेखेका पत्रको पूरा पाठ –

ने.क.पा.(मसाल) को २०७६ भाद्र ५ गते बसेको पी.वी.को बैठकले “गोविन्दसिंह थापालाई पार्टी सदस्यताबाट समेत अनिश्चितकालका लागि निष्काशित गरेको” कुरा हिजो भाद्र १० गते जारी पार्टीको वक्तत्वबाट मलाई जानकारी हुन आएको छ । यो मेरो लागि कुनै अप्रत्यासित र अनपेक्षित विषय होइन, लामो समयदेखि पार्टीभित्र क्रान्तिकारी वामपन्थी र दक्षिणपन्थी विचारका बीचमा चलेको तीब्र संघर्षको सिलसिलामा आठौं महाधिवेशन भन्दा पहिले धेरै कमरेडहरु निलम्वन र निष्काशनमा पर्नु भएको थियो भने महाधिवेशन पछिको अवस्थामा पहिलो प्रहार ममाथि गरिएको छ । यसबाट देश विदेश रहने कुनै पनि कमरेडहरु नआत्तिन, उत्तेजित नहुन र अनुशासित ढंगले काम गर्न म हार्दिक अपिल गर्दछु । किनकि यो भित्री पार्टी संघर्ष निरन्तर चलिरहने कुरा हो ।

हाम्रो पार्टीको आठौं महाधिवेशनमा अल्पमतको र बहुमतका विचारमा व्यापक छलफल भएको थियो । त्यो बेला म अल्पमतको क्रान्तिकारी वामपन्थी विचारको पक्षमा उभिएको थिँए । म बहुमतको दक्षिणपन्थी लाइनमा उभिएको भए सायद म निष्कासित हुने अवस्था आउने थिएन । महाधिवेशनमा प्राविधिक बहुमत जुटाएर दक्षिणपन्थी विचार पारित गराउने महामन्त्रीले महाधिवेशनपछि पनि अल्पमत पक्षका कमरेडहरुलाई एक एक गरेर अनेक प्रकारले प्रताडित गरिराख्नु भएको छ र महाधिवेशनदेखि नै अल्पमतले पार्टी फुटाउछ भनेर हल्ला गरिरहनु भएको छ । तर अल्पमतले उहाँले भने जस्तो गरी पार्टीलाई फुटाउने कहिल्यै प्रयत्न गरेन । आफूले भविष्यवाणी गरेजस्तो नभएपछि महामन्त्री यतिबेला अतालिनु भएको छ । महाधिवेशनपछि त्यो संघर्षलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोंचाई महामन्त्रीमा कहिल्यै देखिएन । एकातिर सिद्धान्ततः पार्टीभित्र दुई लाइन संघर्ष एउटा जीवित पार्टीभित्र चलिरहने कुरा हो भनेर स्वीकार गर्ने अर्काेतिर, पार्टीभित्र एकमनावाद लाद्न खोज्ने, यो दार्शनिकरुपले अधिभूतवादी र व्यवहारमा सामन्तवादी पद्धति हो । यो पद्धतिललाई मैले मात्र होइन, पार्टीभित्रका हजारौं पार्टी सदस्यहरुले विरोध गर्दै आउनु भएको छ । यो अधिभूतवाद, सामन्तवाद र प्राधिकारवादको विरुद्धको भित्री पार्टी संघर्षलाई रोक्नका लागि मलाई कार्वाही गर्दैमा रोकिन्छ भन्ने सोंच्नु सूर्यलाई हत्केलाले छेक्नु सरह हुनेछ । फरक विचारलाई सम्मान नगर्ने, कार्यकर्ताहरुलाई उचित जिम्मेवारी नदिने भिन्न विचारको सवालमा छलफल नगर्ने र जनवादी केन्द्रियताको सही प्रयोग नगरेर सबैलाई कार्वाही गरेर नै तह लगाउन सकिन्छ भन्ने सोंच्नु लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत कुरो हो । यसले एकातिर पार्टीलाई विसर्जनवाद तर्फ धकेल्दै छ भने अर्कोतर्फ क्रान्तिकारी विचारलाई योजनाबद्ध किसिमले छिन्नभिन्न पारिंदैछ ।

महामन्त्री कमरेडले विज्ञप्तिमा लेख्नुभएको छ गोविन्दसिंह थापाले “पहिले कै जस्तो गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रालिमा लैजान तयार नभएको” भन्ने उल्लेख गर्नु भएको छ । मैले प्रालिमा हाँकलाई लैजानु हुन्न भनेर अस्वीकार गरेकै हो । यो पत्रिका पार्टीकै निर्देशनमा मेरो नाममा दर्ता भएको हो । यो पत्रिकाको स्थापना शहिद शोभाखर धनञ्जय (सरोज शर्मा) ले गर्नुभएको थियो । कैयौं पटक पंचायती तानाशाही व्यवस्थाको आक्रमणको शिकार बन्न पुग्यो । त्यसको बाबजुद पनि क्रान्तिकारी विचारलाई निरन्तर जनतामा प्रवाह गर्दै आएको यसको गौरवपूर्ण इतिहास छ । पार्टी केन्द्रमा दक्षिणपन्थी विचार हावी भएपछि पत्रिकालाई प्रालिलाई दिने प्रस्ताव आएको थियो । तर मैले त्यसलाई स्वीकार गरिन । यो पार्टीकै पत्रिका हो । पार्टीबाटै चलाउनुपर्छ भन्ने मेरो मान्यता हो । यहाँसम्म हाँकको यात्रालाई निरन्तरता दिन र अहिले “क” वर्गमा स्थापित गर्नमा हजारौं कार्यकर्ता र शुभचिन्तकहरुको खुन पसिना भिजेको छ र अहिले पनि पटक पटक कार्यकर्ता र शुभचिन्तकहरुको सहयोगबाट चलिरहेको छ ।

यो अवस्थामा कुनै कम्पनीको जिम्मा लगाएर हाँक प्रकाशनबाट पार्टी पन्छिनु हुँदैन भन्ने मेरो मान्यता हो । हाँकको प्रकाशक र सम्पादक म भए पनि मबाट कुनै प्रकारको निर्देशन जाने गरेको छैन । त्यसको पछिल्लो उदाहरण वर्ष ३६ अंक ४० मा मेरो विरुद्ध महामन्त्रीको वक्तव्य तथा जिम्मेवार कमरेडहरुका लेखहरु प्रकाशित हुनुले पनि त्यो कुरा स्पष्ट पार्दछ । मैले पार्टीलाई पत्रिका नदिएको कसरी भयो ? म पार्टी केन्द्रसित सोध्न चाहन्छु, शहिद शोभाखर धनञ्जय र उहाँकी पत्नीले हामीलाई हस्तान्तरण गरेको क्रान्तिकारी विचार बोकेको पत्रिकालाई पार्टीले चलाउनु पर्छ कि कम्पनीलाई जिम्मा दिएर पन्छिनुपर्छ ? एउटा क्रान्तिकारी विचार बोकेको पत्रिकालाई कम्पनीलाई संचालन गर्न दिनु अनुशासनविहीनता पनि नहुने र अनैतिक पनि नहुने । तर पार्टीको हातको पत्रिका कम्पनीलाई दिन नखोज्नु कसरी अनुशासनविहीन र अनैतिक हुन्छ ? मैले महामन्त्रीलाई अहिले पनि भन्न चाहन्छु, पत्रिका बन्द गर्ने निर्णय पुनर्विचार गर्नोस, पत्रिका पार्टीले नै चलाउनु पर्छ अझै केही बिग्रेको छैन । पार्टीबाट मलाई निष्कासित गरेपनि केही फरक पर्दैन तर पत्रिका पार्टीले उही रुपमा चलाउनु पर्छ भन्ने मेरो मान्यता छ । यो मेरो सम्पत्ति होइन, यो क्रान्तिकारी श्रमजीवी वर्गको साझा सम्पत्ति हो । म त संरक्षक मात्र हो । म ४० वर्षदेखि सुगर रोगबाट पीडित छु । अहिले म दौडधुप गर्न र सक्रिय हुन सक्दिन । यो अवस्थामा यदि पार्टी केन्द्रले बन्द गर्छ भने त्यसलाई चुप लागेर टुलुटुलु हेरेर बस्न पनि सकिन्न । म त्यसलाई निरन्तरता दिन बाध्यताले प्रयास गर्नुपर्दछ । यो पत्रिका सबै क्रान्तिकारी साथीहरुको साझा सम्पत्ति भएको हुनाले यसलाई बन्द भएको देख्न सक्नु हुनेछैन भन्ने कुरामा पनि म पूर्णत ः विश्वस्त छु ।

अन्तमा एउटा महत्वपूर्ण कुराको उल्लेख गर्न चाहान्छु । क. महामन्त्रीले शोभाखर धनञ्जयलाई शहिद भनेर लेख्नु भएको छ । त्यो देख्दा मलाई खुशी लागेको छ । शहिदलाई शहिद भन्दा खुशीलाग्नु स्वाभाविक हो । तर गणतन्त्र स्थापनापछि सरकारले सबै पार्टीसित शहिदहरुको सिफारिस माग गरेको बेला उहाँले शोभाखर धनञ्जयलाई हाम्रो पार्टीको शहिदको सूचीमा राख्नुु भएन । आज बडो दुःखको साथ यो कुरा मैले उठाउनु परेको छ । जब पत्रिका बन्द गर्नुप¥यो, यतिबेला मलाई “शहिद शोभाखर धनञ्जयमाथि विश्वासघात गरेको” भनेर आरोप लगाउनु भएको छ । “विश्वासघात” कसले गरेको छ ? स्वतः स्पष्ट छ । अर्को कुरा पनि जोड्न चाहान्छु, आज भदौ ११ गते शोभाखर धनञ्जय, नयाँ दिल्लीमा नेपाली एकता मासिक पत्रिका बेलारोडमा बिक्री गर्न जाँदा पडयन्त्रमूलक तथा रहस्यमय ढंगबाट हत्या गरिएको थियो । प्रत्येक वर्ष हाँक साप्ताहिकमा शहिद शोभाखर धनञ्यको स्मृतिमा लेख तथा समाचार छापिन्थे । आजको अंकमा शहिद धनञ्जयको स्मृतिमा एक शब्द पनि नलेख्ने र त्यही स्मृति दिवसको अवसरमा उहाँले स्थापना गरेको हाँक साप्ताहिकलाई सधैका लागि बन्द गर्ने पार्टी केन्द्रले शहिद भनेर गोहीका आँसु चुहाउनुको कुनै तुक छैन ।

हाँकका सम्पूर्ण शुभचिन्तक, पाठक, लेखक, स्तभकार, सम्वाददाता, सहयोगदाता तथा विज्ञापनदाताहरुसित म के अनुरोध गर्छु भने क. मोहन विक्रम सिंहले हाँक बन्द गरे पनि हाँक बन्द हुनेछैन । यसले निरन्तरता पाउने छ । “हाँकलाई प्रालिमा लैजान नदिएको” भन्ने विवाद बहाना मात्र हो मूल कुरो महामन्त्रीको दक्षिणपन्थी विचारलाई पार्टीमा स्थापित गर्न नसकेको आक्रोशपूर्ण अभिव्यक्ति हो । यो सिलसिला यही मात्र रोकिने छैन । अझै थुपै्र क्रान्तिकारी कमरेडहरुलाई अनुशासनको नाममा सफाया अभियान चलाइनेछ । भित्री पार्टी संघर्षको यो अवस्थामा सबै कमरेडहरुलाई अनुशासित, धैर्यता र संयमका साथ अगाडि बढ्न र पार्टीलाई एकताबद्ध तथा सुदृढ पार्नका लागि म सबै कमरेडहरुलाई पुनः अपिल गर्दछु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार