युरोपको इतिहासमा १३५० देखि १५५० को बीचमा भएको पुनर्जागरणले दैवी सिद्धान्तमा आधारित राज्य व्यवस्थाको स्थानमा विज्ञान र तर्कबलको आधारमा नयाँ व्यवस्थाको उदय गरायो । यो पुनर्जागरणले राजाभन्दा माथिको शक्तिमा रहेका पादरीहरुलाई शक्तिहीन बनायो र राजाको शक्तिलाई माथि उठायो ।

मध्ययुगिन अन्धकार, अन्धविश्वास र दासयुगिन जर्जरता विरुद्ध उठेको पुनर्जागरणले युरोपको क्षितिजमा भएका राजनीतिक परिवर्तनहरुमा आधारभूत महत्व राखेको देखिन्छ । पुनर्जागरण कालका युवाहरुले ज्यानको आहुति दिएर नवीन चेतनाको सञ्चार गरेका थिए । मध्ययुगिन अन्धकारका विरुद्धमा उठेको पुनर्जागरण एउटा लामो क्रान्ति थियो, जुन क्रान्तिले युरोपलाई नयाँ युगमा प्रवेश गरायो । तर चर्चवाद र पादरीवादका स्थानमा पुनः राजा÷महाराजाहरुको निरङ्कुशता र सामन्ती स्वेच्छाचारिता अगाडि आयो। फ्रान्सका राजाहरुले आफूलाई नै भगवान भएको घोषणा गर्न थाले । १७८९ मा फ्रान्समा सम्पन्न भएको राज्य क्रान्तिले राजाको टाउको काट्यो । स्वतन्त्रता, समानता र भाइचाराको नारा लगाएर राजाको शक्तिको स्थानमा पुँजीपति वर्गलाई शक्तिशाली बनायो । यो क्रान्ति पनि कैयन् प्रतिक्रान्तिहरुको सामना गरेर अगाडि बढेको थियो । यो क्रान्तिको प्रचार विश्वव्यापी बन्यो । तर स्वयं फ्रान्समा राजतन्त्र पूर्णतः उन्मूलन हुन करिब ८० वर्ष लागेको थियो ।

१९१७ मा रुसमा बोल्सेभिकहरुको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्तिका पछाडि पुनर्जागरण र फ्रान्सेली राज्यक्रान्तिले अगाडि ल्याएका उपलब्धिहरुको महत्वपूर्ण योग रहेको छ । तर आजसम्म विश्वमा भएका क्रान्तिहरुमा अक्टोबर समाजवादी क्रान्ति त्यस्तो प्रथम सफल क्रान्ति हो, जुन क्रान्तिले पुँजीपति वर्गको नेतृत्वको सत्तालाई समेत त्याज्य ग¥यो र शोषित, पीडित मजदुर वर्गको नेतृत्वदायी सत्ता स्थापना ग¥यो । त्यसो त १८७१ मा पेसिरका मजदुरहरुले पनि करिब ढाई महिना सत्ता कब्जा गरेका थिए, त्यसलाई पेरिस कम्युन भनिन्छ । तर सो सत्ता छिट्टै ढलेको थियो । अक्टोबर समाजवादी क्रान्ति राजनीतिक, सामाजिक र आर्थिक क्रान्ति मात्र थिएन, त्यो एउटा दार्शनिक क्रान्ति पनि थियो । यो क्रान्तिले द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा सामाजिक चेत र मनोविज्ञान निर्माण गराउँदै अगाडि बढ्ने प्रण गरेको थियो । त्यो क्रान्ति विश्व राजनीतिक इतिहासमा भएको सबभन्दा नवीन वैचारिक क्रान्ति थियो । यो भन्दा नवीन वैचारिक क्रान्ति विश्वमा अहिलेसम्म भएको छैन । किनभने कम्युनिस्ट विचारधारा नै मानव जातिको चिन्तनको इतिहासको सबभन्दा नवीन विचारधारा हो ।

यो क्रान्ति सम्पन्न भएपछि १४ वटा पुँजीवादी देशहरुले रुसमाथि हमला गरे । प्रतिक्रान्तिकारीहरुले ती देशहरुलाई साथ दिए । प्रथम विश्वयुद्धले जर्जर भएको अर्थतन्त्र धान्न लेनिनको नेतृत्वमा रहेका बोल्सेभिकहरुले “युद्ध साम्यवाद” को नीति लिए । पुँजीवादी मुलुक र राष्ट्रिय प्रतिक्रान्तिकारीहरुले किसानरुलाई भड्काउन पुगे । त्यसपछि रुस १९२१ मा “नयाँ आर्थिक नीति” को बाटो अवलम्बन गर्न विवस भयो । सोभियत रुसका कम्युनिस्टहरु युद्ध, वार्ता र कूटनीतिको माध्यमबाट अगाडि बढ्दै जाँदा १९२४ मा रुस साम्राज्यवादी हस्तक्षेपबाट मुक्त भयो । त्यसै वर्ष लेनिनको मृत्यु पनि भएको थियो । १९२७ बाट स्टालिनको नेतृत्वमा सोभियत रुसमा प्रथम पञ्चवर्षीय योजनाको सुरुवात भयो । १९२९ मा पुँजीवादी विश्व गम्भीर आर्थिक सङ्कटमा फस्यो । तर सोभियत रुस समाजवादी निर्माण प्रक्रियामा अगाडि बढ्ने क्रममा एक दशकमै विश्व महाशक्ति राष्ट्रका रूपमा उदय भएको अमेरिकासित टक्कर गर्ने मुलुकका रूपमा समाजवादी सोभियत सङ्घ विश्व राजनीतिक रङ्गमञ्चहरुमा खडा भयो । पश्चिमा पुँजीवादले सोभियत सङ्घभन्दा नाजिवादी दिशामा अगाडि गएको जर्मनलाई नजिक देख्यो र कम्युनिस्ट विश्वलाई नष्ट पार्न हिटलर नेतृत्वको जर्मन नाजिवाद र मुसोलिनी नेतृत्वको इटलीको फासिवादलाई पश्चिमा पुँजीवादले मल हाल्न पुग्यो ।

१९३९ बाट द्वितीय विश्वयुद्ध सुरु भयो । फासिष्ट ध्रुवको जापानले पर्लहावरमाथि बम हानेपछि विश्व पुँजीवाद अत्तालियो र अमेरिका, बेलायत, फ्रान्स र सोभियत सङ्घका माझमा फासिवाद विरोधी संयुक्त मोर्चा गठन भयो । द्वितीय विश्व युद्धमा सोभियत सङ्घकै नेतृत्वदायी भूमिकामा नै फासिज्म धु्रव परास्त भएको थियो । द्वितीय विश्वयुद्धमा सोभियत सङ्घको भौतिक संरचना खरानी भयो । १९४५ मा द्वितीय विश्वयुद्ध समाप्त भएपछि सोभियत सङ्घ आफ्नो खरानी भएको भूगोलको पुनः निर्माणमा लाग्यो । द्वितीय विश्वयुद्धमा कम क्षति व्यहोरेको अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको स्थापना भयो, २४ अक्टोबर १९४५ मा । यही क्रममा मार्सल जोसी बरफ टिटोको नेतृत्वमा युगोस्लाभियामा आधुनिक संशोधनवादको उदय भयो । युगोस्लाभियाले अमेरिकाको अनुदानमा अर्थतन्त्र सञ्चालन गर्न थालेपछि विश्व कम्युनिस्ट शिविरमा दरार पैदा भयो । विघटिन तृतीय अन्तर्राष्ट्रियको पुनर्गठन हुन सकेन ।

१९४७ मा कम्युनिस्ट सूचना ब्यूरो (कमिन्फर्म) को मात्र स्थापना भयो । साम्राज्यवादी मुलुकहरुले सोभियत सङ्घले समेत विश्व शान्तिको हिफाजतका लागि भनेर हस्ताक्षर गरेको संयुक्त राष्ट्र सङ्घले अत्यन्त मिहिन ढङ्गले कम्युनिस्ट शिविरका विरुद्धमा खेल्ने रणनीति अख्तियार गरेर अगाडि बढ्यो । १९४५ मा ब्रेटनवुड्समा समाजवाद विरोधी अर्थशास्त्री किन्सको उपस्थितिमा उदार पुँजीवादी अर्थतन्त्रको नयाँ विश्व ढाँचा तय गरियो र एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकी मुलुकहरुमा वर्ग सङ्घर्षलाई धमिल्याउनका लागि जाति, भाषा, क्षेत्र, लिङ्ग लगायत मुद्दा उठाउने योजना विश्व पुँजीवादी मुलुकहरुले तय गरे । त्यसका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषहरु स्थापना गरिए । स्टालिन नेतृत्वको सोभियत सङ्घको ध्यान चिनियाँ क्रान्तिको रक्षा र आफ्नो मुलुकको पुनः निर्माणमा मात्र बढी केन्द्रित भयो ।

स्टालिन काल विशेषतः द्वितीय विश्वयुद्धको सेरोफेरोमा निकिता ख्रुस्चेभका छोरा लियोनिद निकितोभिच खु्रस्चेभ एक जना लडाकू विमान चालक थिए । उनले चालक हु“दा राष्ट्रघाती काम गरेको कुरा तत्कालीन सोभियत सङ्घको गुप्तचर संस्था केजिबीले बाहिर ल्यायो । सैन्य अदालतले उनलाई मृत्युदण्डको सजाय सुनायो । निकिता खु्रस्चेभले छोराको सजाय माफी गर्न स्टालिनसित आग्रह गरेको तर स्टालिनले तपाईको छोरा मात्र होइन, सम्पूर्ण सोभियत सङ्घका योद्धाहरु मेरा सबै छोरा हुन् । तर मैले अदालतको फैसला मिचेर यस्तो निर्णय गर्न मिल्दैन भन्ने जवाफ पाएपछि स्टालिनभक्त खु्रस्चेभ स्टालिनप्रति क्रुद्ध बनेको र मूल रूपमा यसैको बदला लिन सोभियत सङ्घको कम्युनिस्ट पार्टीभित्र उनले भूमिका खेली रहेको भन्ने कुरा इतिहासकारहरु बताउँछन् । १९८९ मा सोभियत गुप्तचर संस्था एनकेभिजी–केजिबीको सङ्ग्रहालय तथा सैन्य ऐतिहासिक जर्नलबाट प्राप्त हालै प्रकाशित दस्तावेजमा समेत यो कुरा उल्लेख छ ।

१९५३ मा स्टालिनको निधन भयो । १९५६ को फेब्रुअरी महिनामा सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशन सम्पन्न भयो । सो महाधिवेशनमा खु्रस्चेभले स्टालिनका विरुद्धमा निन्दा प्रस्ताव मात्र पारित गराएन्, युगोस्लाभियामा टिटोले अगाडि सारेको आधुनिक संशोधनवादी धारलाई परिमार्जित ढङ्गले स्थापित गराए, जसको स्वाभाविक परिणाम ८० लाख पार्टी सदस्य भएको र समाजवादको अभ्यास, अनुभव र संस्कृति बोकेको सोभियत सङ्घको कम्युनिस्ट पार्टी संशोधनवादी दिशामा गयो । अघोषित रूपमा रुसमा पुँजीवादको पुनःस्थापना भयो । चीनको कम्युनिस्ट पार्टीले संशोधनवादका विरुद्ध माक्र्सवाद–लेनिनवादको झण्डा उठायो । १९७६ मा चीनमा माओको निधन पश्चात् संशोधनवादले विश्वव्यापी रूप लियो । विश्व संशोधनवादको ज्वारभाटालाई चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बेगले समेत रोक्न सकेन । १९९० मा सोभियत सङ्घमा घोषित रूपमा पुँजीवादको पुनस्र्थापना भए पश्चात्् विश्वव्यापी रूपमा घोषित रूपमै प्रतिक्रान्ति भयो । त्यसपछि विश्वका पुँजीवादी इतिहासकारहरुले एउटा इतिहासको अन्त्य भएको, पुँजीवादी संसदीय प्रणाली नै विश्वको अकाट्य विश्व व्यवस्था भएको दावी गरे र तिनीहरुले १९१७ को अक्टोबर समाजवादी क्रान्तिको औचित्यतालाई उपहासको विषय बनाउन पुगे ।

यसरी घोषित रूपमा विश्व कम्युनिस्ट आन्दोलनमा प्रतिक्रान्तिको ज्वार उठेपछि विश्वका सच्चा माक्र्सवादी, लेनिनवादीहरुको साङ्गठनिक र भौतिक शक्ति अत्यन्त कमजोर बन्न पुग्यो । यस्तो परिवेशमा विश्व साम्राज्यवादी पुँजीवादले शोषणका नयाँ प्रविधिहरु अगाडि सा¥यो । ती प्रविधिहरु निजीकरण, उदारीकरण र समग्रमा भूमण्डलीकरणका चेहरामा प्रकट भए । यो बाटोले विश्व राजनीतिको लगाम कर्पोरेट घरानाको हातमा पर्न गयो । मजदुर किसानमारा कार्यक्रमहरु कर्पोरेट पुँजीवादले अगाडि सारेपछि तेस्रो संसारका हजारौँ किसान मजदुरहरु आज आत्महत्या गर्ने तहसम्म पुगेका छन् । पुँजीवादको विकासको दौडमा स्वतन्त्र व्यापारको सिद्धान्त केही क्षेत्रमा सीमित थियो ।

आज भूमण्डलीकरण मार्फत् विश्वव्यापी बन्न गएको छ । निगम पुँजीवादले तेस्रो विश्वलाई शोषणको क्रिडास्थल बनाएको छ । एक तथ्याङ्क अनुसार विश्वका विकसित मुलुकका २० प्रतिशत जनताको हातमा ८० प्रतिशत सम्पत्ति छ । ८० प्रतिशतको हातमा विश्वको २० प्रतिशत मात्र सम्पत्ति छ । विश्वका ३६० जना अरबपतिहरुको पुँजी अविकसित देशका दुई अरब जनताको भन्दा बढी छ । विश्वका ८० प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ता विकसित देशमा छन् । विश्वका ८० प्रतिशत वैज्ञानिक पनि विकसित देशमा नै रहन्छन् । अन्तर्राष्ट्रिय राजनीतिमा बहुराष्ट्रिय निगम, कर्पोरेट पुँजीवाद र निजीकरण हावी भएपछि मजदुर किसानको अवस्था निकै नै दयनीय बन्दै गएको छ । १८८६ को सङ्घर्षबाट मजदुरहरुले प्राप्त गरेका ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन, फन्ड र पेन्सनका सुविधा र अधिकार आजको कर्पोरेट पुँजीवादले खोसेको छ । मजदुरलाई ठेकेदारी प्रथा मार्फत् सस्तोमा काममा जोताउने मेसिनका पार्टपुर्जा जस्तो रूपमा प्रयोग गर्ने हालतमा गिराएको छ । सङ्क्षिप्तमा भन्नु पर्दा विश्वका मजदुरहरुको अवस्था आजको भूमण्डलीय पुँजीवादले १८८६ पूर्वको भन्दा पनि खराब अवस्थामा धकेलेको छ । आज संसदीय पुँजीवादी व्यवस्थाका सरकार प्रमुख कर्पोरेट घरानाको म्यानेजर र मन्त्री मण्डल त्यही घरानाको खरिदारका रूपमा व्यावहारिक रूपमा रूपान्तरण भएका छन् ।

आज शक्तिशाली महादेशबाट कमजोर महादेश, शक्तिशाली साम्राज्यवादी देशबाट अविकसित र कमजोर देश तथा बलियोबाट निर्धो, धनिबाट गरिब, ठुलोबाट सानो शोषित हुँदै गएको छ । राजनीतिमा चिन्तनको संस्कृति होइन, डनको संस्कृति हावी हुँदै गएको छ । उत्तर आधुनिक नश्लवादको विष फ्याकेर विश्व पुँजीवादले जनता लडाएर तेस्रो संसारमा रजाइँ गरेको छ । प्राकृतिक सम्पदामाथि लुट मच्चाउने काम गरेको छ । मध्य पूर्व र अफ्रिकी मुलुकमा सम्प्रदायवाद र नश्लवाद राजनीतिको खेती गैर सरकारी संस्था मार्फत् गराई रहेको छ । अनि, हतियारको व्यापार र तेल दोहनमा अमेरिकन नेतृत्वको विश्व पुँजीवाद सक्रिय छ । शिक्षामा निजीकरण, स्वास्थ्य क्षेत्रमा निजीकरण, यातायात र सञ्चार क्षेत्रमा भएका निजीकरणले राज्यलाई जनताप्रतिको उत्तरदायित्वबाट पन्छाएको छ । शिक्षा, स्वास्थ्य, यातायात सञ्चार लगायतका विषयमा समेत राज्य जनताप्रति उत्तरदायी छैन ।

व्यापारिक ठग, कर्पोरेट घराना, भूमाफिया, असामाजिक तत्व र दलालहरुको पोल्टामा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार जस्ता निकासहरु पर्न गएपछि गरिबीको चपेटामा परेका जनता गुण स्तरीय शिक्षा, स्वास्थ्य सुविधा आदिबाट बञ्चित हुँदै गएका छन् र वर्षेनी करोडौँ जनता अकालमा मृत्युको मुखमा परेका छन् भने भोलि विद्वान, डाक्टर, वकिल, इन्जिनियर र राजनेता बन्ने दिमाग भएका गरिबका छोराछोरी बहुराष्ट्रिय निगमका कुल्ली, दरवान र भरिया बन्न विश्व चाहर्न विवश छन् । आधुनिक पुँजीवादले महिलालाई भोग–विलासको साधन बनाएको छ र अर्धनग्न बनाएर सडकमा दौडाएको छ । विश्व साम्राज्यवादी पुँजीवादले हिप्पी, डन, छाडा र उपभोक्तावादी संस्कृतिको बाढी ल्याएको छ, जसको प्रभाव कमजोर चिन्तनको स्तर भएका जनताको दिमागमा पर्न गएको छ, जसको परिणाम विनिमयको साधनको रूपमा आविष्कार भएको पैसालाई साम्राज्यवादले सबभन्दा ठुलो ठान्ने अवस्था र मनोविज्ञान खडा गराई दिएको छ । पुँजीवादले इमान, जमान, मानवीय नैतिक मूल्य, आचरण, सामाजिक सद्भाव र मानवता समेतलाई पैसासित साटी रहेको छ । त्यसको सीधा प्रभाव आजको कम्युनिस्ट आन्दोलनमा पनि परी रहेको छ । त्यसैले उनीहरुले अक्टोबर समाजवादी क्रान्तिका महान् आदर्श, नैतिकता र बलिदानलाई उपहास गर्दछन् । आधुनिक पुँजीवाद आज मानव मस्तिष्कमा अश्लीलतापूर्वक खेली रहेको छ । एउटा डाक्टरको सपना बिरामी जनताको सेवा गर्नेभन्दा ठुला–ठुला नर्सिङ होम खोल्ने, औषधि कम्पनीहरुसित मिलेर कमिसन खाने र धनी हुने भन्ने हुन्छ । इन्जिनियरको सपना कमिसनको भरमा ठेकेदारको नक्कली काम पास गर्ने र सम्पत्ति कमाउने हुन्छ । शिक्षा क्षेत्रमा लागेका पठितहरुको सपना गरिबका छोराछोरीले पढ्ने सामुदायिक विद्यालयको स्तर उन्नति गर्नेभन्दा निजी विद्यालय खोलेर धनी बन्ने नै हुन्छ । केही अपवाद बाहेक हामीले यस्ता प्रवृत्तिहरुको बाढी नै देखी रहेका छौँ । एउटा सानो अवधारणा प्रस्तुत गर्ने अवस्थामा आधुनिक पुँजीवादका सम्पूर्ण चरित्रलाई प्रष्ट पार्न सम्भव पनि भएन ।

पुँजीवादको नग्न शोषण चरित्र, भूमण्डलीकरणका विरुद्धका विश्वमा सशक्त जनमतको निर्माण भई रहेको छ । अमेरिकामा नै एकका विरुद्ध उनान्सयका नामले वाल स्ट्रिट कब्जा आन्दोलन चल्यो, विश्व पुँजीवाद १९२९ को भन्दा चर्को आर्थिक सङ्कटमा फसेको छ । समाजवादी शक्तिको उभार र एक ढिक्का भएको अवस्था भई दिएको भए यो मक्की सकेको पुँजीवाद एक धक्कामै ढल्ने परिस्थिति छ । तर दुःखको कुरा, आज कर्पोरेट पुँजीवाद बहुराष्ट्रिय निगम र सेयर प्रणाली मार्फत् एक ढिक्का छ । विकसित मुलुककै राज्यशक्ति समेतलाई जनता चाह्यो, त्यतै घुमाउँछ । भर्खरै अमेरिकामा सम्पन्न निर्वाचनमा डेनियल ट्रम्पको राष्ट्रपति पदमा विजय त्यसैको ताजा उदाहरण हो । आजको विश्वमा भूमण्डलीय पुँजीवादका विरुद्धमा व्यापक जन उभार छ । तर त्यो जन उभारलाई नेतृत्व प्रदान गर्ने एकीकृत र व्यवस्थित सच्चा माक्र्सवादी, लेनिनवादी सिद्धान्तमा आधारित नेतृत्वदायी तागत धेरै नै कमजोर छ । माक्र्सवाद, लेनिनवाद र समाजवादको झण्डा बोक्ने बचेखुचेको जुन मूल धार छ, त्यो धार संशोधनवादी छ । पुँजीवादको नाफाको अंश खाएर राजनीतिको रोटी सेक्छ । सिद्धान्त एउटा व्यवहार अर्को गर्दछ । त्यसो त विश्व कम्युनिस्ट आन्दोलनका अगाडि दक्षिणपन्थी संशोधनवाद नै प्रधान समस्याका रूपमा उभिएको देखिन्छ । व्यवहारतः संशोधनवाद र पुँजीवाद उस्तै उस्तै हुन् ।

रुसका इतिहासकार तथा संस्कृतिविद् भासिलिकिलिउ चेस्कीले “इतिहासले केही पनि सिकाउँदैन, तर इतिहासबाट पाठ नसिक्नेलाई खालि सजाय मात्र दिन्छ” भनेका छन् । १९१७ को अक्टोबर समाजवादी क्रान्ति पुँजीवाद विरुद्धको सम्झौताहीन सङ्घर्ष, सुधारवाद, जडसूत्रवाद, संशोधनवाद र अवसरवादसितको सम्बन्ध विच्छेदको इतिहास हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले त्यसको स्प्रिटलाई पक्रेर त्यो क्रान्तिबाट पाठ नसिक्दा आज सजाय भोगी रहेको छ । यस दौरानमा अवसरवादीहरुबाट मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनका प्राधिकारका रूपमा रहेका महापुरुषहरुबाट समेत केही कमीहरु अवश्य भए । आजको परिवर्तित परिस्थितिमा हामीले अक्टोबर समाजवादी क्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई आलोचनात्मक विवेकको प्रयोगका आधारमा विवेचना गरेर विश्व समाजवादी क्रान्तिको नयाँ संस्करणको तयारी गर्न आवश्यक छ । त्यसका लागि अक्टोबर समाजवादी क्रान्तिको स्मृतिका गाथाहरु गाएर मात्र पुग्दैन, भावी समाजवादी क्रान्तिका आयामहरु तयार पार्दै अगाडि बढ्न जरुरी छ । त्यसका लागि माक्र्सवादी, लेनिनवादी सिद्धान्तको ठीक सैद्धान्तिक राजनीतिक र दार्शनिक समझदारीलाई पक्रन जरुरी छ । यही समझदारीमा मात्र समाजवादी क्रान्तिको भविष्य निर्भर छ । ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा क्रान्ति यात्रा तय गर्नु नै विश्व र दुनियाँभरिका सच्चा माक्र्सवादी लेनिनवादीहरको ऐतिहासिक कत्र्तव्य बन्न गएको छ । यही कत्र्तव्यको रोसनीमा नै अक्टोबर समाजवादी क्रान्तिको सार्थकता लुकेको छ । देश र विश्वको परिवर्तित भौतिक परिस्थिति अनुरूप क्रान्तिका चरित्रहरु फरक फरक हुन्छन् । अक्टोबर समाजवादी क्रान्तिको इतिहास उस्तै रूपमा दोहोरिँदैन । तर समाजवादी उद्देश्य बोकेको क्रान्तिको पुनरावृत्ति अवश्यै हुन्छ ।

पुँजीवाद पनि क्रान्ति प्रतिक्रान्ति र क्रान्तिका नयाँ संस्करण पुरा गरेर विकास भएको हो । लेनिनका अनुसार साम्राज्यवाद पुँजीवादको मरणासन्न अवस्था हो । आधुनिक साम्राज्यवादी पुँजीवाद मरणासन्न अवस्थामा नै छ । तर बलियो समाजवादी विकल्प नहुँदा मात्र पुँजीवादको आयु बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार