आज विश्वमा कम्युनिष्ट आन्दोलनमा गतिरोध आएको छ, पुराना समाजवादी सत्ताहरु ढलेका छन् र विद्यमान कम्युष्टि पार्टीहरु र धाराहरु किम्कर्तव्यविमूढ भएका छन् । सन् १८४८ बाट आरम्भ भएको विश्व कम्युनिष्ट आन्दोलनको एउटा चरण पूरा भएको छ । तर वैज्ञानिक समाजवाद–साम्यवाद स्थापना गर्ने कम्युनिष्ट आन्दोलनको लक्ष्य भने पूरा भएको छैन । त्यसकारण यो लक्ष्य पूरा गर्नको लागि अब कम्युनिष्ट आन्दोलनको नयाँ चरण आरम्भ गर्नु आवश्यक भएको छ ।

औपचारिक रुपले कम्युनिष्ट आन्दोलन सन् १८४८ बाट शुरु भएको थियो र त्यसको सैद्धान्तिक आधार माक्र्सवाद थियो । माक्र्सवादले नै कम्युनिष्ट आन्दोलनको लक्ष्य, विधि, क्रान्तिकारी शक्ति र वर्ग– सवै कुराहरुलाई वैज्ञानिक ढंगबाट सुनिश्चित गरेको थियो । यसले कम्युनिष्ट आन्दोलनको लक्ष्यको रुपमा वैज्ञानिक समाजवाद–साम्यवाद, यो लक्ष्य प्राप्त गर्ने विधिको रुपमा वर्ग–संघर्ष र समाजवादी क्रान्ति गर्ने क्रान्तिकारी शक्तिको रुपमा सर्वहारा वर्गलाई मानेको थियो । यसरी माक्र्सवादले स्वतस्फूर्त रुपमा चलेको कम्युनिष्ट आन्दोलनलाई वैज्ञानिक ढंगबाट मार्गदर्शन गरेको थियो ।

माक्र्सवादको सुस्पष्ट मार्गदर्शनमा पहिलो समाजवादी क्रान्ति सन् १९१७ मा रुसमा सम्पन्न भयो । त्यसले कम्युनिष्ट आन्दोलनलाई व्यावहारिक रुपमा सही छ भन्ने सिद्ध गरिदियो । अब कम्युनिष्ट आन्दोलन सिद्धान्त र व्यवहार दुवैमा सही सिद्ध भयो । परिणामस्वरुप यो विश्वभरि फैलियो ।

तर १९५० पछि विश्व कम्युनिष्ट आन्दोलनमा समस्या देखिनथाल्यो र विस्तारै यो कमजोर हुनथाल्यो । अन्ततः सन् १९९१ म पहिलो समाजवादी सत्ताको रुपमा स्थापित सोभियत संघ विघटन भयो । त्यसको प्रभाव विश्वभरि पर्यो र त्यो अद्यावधि कायमै रहेको छ ।

यसरी सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा सही सिद्ध भएको कम्युनिष्ट आन्दोलनमा गतिरोध आउनुमा यसको एउटा वस्तुगत कारण छ । यो कारणको सम्बन्धमा गम्भीरतापूर्वक विचार गरीयो भने मात्रै विश्व कम्युनिष्ट आन्दोलनमा आएको वर्तमान गतिरोधलाई चिरेर अगाडि बढ्न सम्भव हुन्छ ।

माक्र्सवादको मूल कुरा इतिहासको भौतिकवादी धारणा हो । यो धारणाअनुसार समाजको आधार भौतिक तत्व हो, नकि मानसिक तत्व । यसले माक्र्सवादलाई अन्य सम्पूर्ण दर्शनहरुबाट अलग गर्दछ । माक्र्सवादको उत्कृष्टता र वैज्ञानिकता पनि यसमै अन्तर्निहित छ ।

समाजको आधार मानिएको भौतिक तत्वको अर्थ उत्पादक शक्ति हो । उत्पादक शक्ति भनेको त्यो तत्व वा स्रोत हो, जसबाट मानिसको आवश्यकता पूरा हुने वस्तु प्राप्त हुन्छ । उदाहरणको लागि जमिन एउटा उत्पादक शक्ति हो, जहाँबाट मानिसको लागि आवश्यक खाद्यान्न प्राप्त हुन्छ अथवा उत्पादन हुन्छ । त्यसैगरी कपडा बुन्ने यन्त्र एउटा उत्पादक शक्ति हो, जसबाट मानिसको लागि आवश्यक कपडा प्राप्त हुन्छ ।

उत्पादक शक्तिको आधारमा उत्पादन सम्बन्ध बन्दछ र त्यसको आधारमा सम्पूर्ण सामाजिक व्यवस्था बन्दछ । उत्पादक शक्तिको स्वरुपले समाजको स्वरुपलाई निर्धारण गर्दछ । उत्पादक शक्ति अनुरुप सामाजिक व्यवस्था बन्दछ । त्यसैगरी उत्पादक शक्ति बदलिएपछि सामाजिक व्यवस्था पनि बदलिन्छ । वास्तवमा उत्पादक शक्तिको विकासक्रम नै मानव समाजको विकासक्रम हो ।

मानव समाजको इतिहासक्रम विभिन्न उत्पादक शक्तिहरुको आधारमा विभिन्न सामाजिक व्यवस्थाहरु बनेका छन् । माक्र्सवादले अहिलेसम्म छवटा सामाजिक व्यवस्थाहरुको निर्धारण वा पहिचान गरेको छ । तिनीहरु हुन्– आदिम साम्यवाद, दासव्यवस्था, सामन्तवाद, पूँजीवाद, वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवाद । तिनीहरुमध्ये चारवटा (आदिम साम्यवाद, दासव्यवस्था, सामन्तवाद र पूँजीवाद) आइसकेका छन् र बाँकी दुईवटा (वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवाद) निकट भविष्यमा आउँदै छन् ।

यी सामाजिक व्यवस्थाहरुमध्ये प्रत्येकको आफ्नो अलग उत्पादक शक्ति छ । आदिम साम्यवादको उत्पादक शक्ति प्रकृति थियो । दासव्यवस्थाको उत्पादक शक्ति मानव श्रम थियो । पूँजीवादको उत्पादक शक्ति पूँजी छ । र, वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादको उत्पादक शक्ति विगतमा माक्र्सवादले सामूहिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष निकालेका थिए ।

उत्पादक शक्तिको स्वरुपअनुसार सामाजिक व्यवस्थाको स्वरुप बन्दछ । आदिम साम्यवादको उत्पादक शक्ति प्रकृति थियो, त्यसकारण त्यसको स्वरुप पनि प्रकृतिको अनुरुप थियो । प्रकृतिको अगाडि सवै मानिसहरु समान थिए र उनीहरु प्रकृतिमाथि निर्भर थिए । समाज निर्वर्गीय थियो । त्यसवेला शोषण–उत्पीडन थिएन । समाजमा स्वतन्त्रता, समनता र भातृत्वको राज थियो ।

त्यसपछि दासव्यवस्था आयो । त्यसको उत्पादक शक्ति मानव श्रम थियो, जुन आदिम साम्यवादको उत्पादक शक्ति प्रकृतिलाई विस्थापन गरेर आएको थियो । जब मानव श्रम उत्पादक शक्ति बन्यो, अथवा जब मानव श्रमबाट मानिसको आवश्यकता पूरा गर्ने वस्तु प्राप्त हुनथाल्यो, तब मानिसले आफ्नो आवश्यकता पूरा गर्नको लागि श्रम गर्नुपर्ने भयो । तर एउटै मानिसले सवै प्रकारका श्रमहरु गर्न सम्भव थिएन । त्यसकारण मानिसहरुको बीचमा श्रम–विभाजन हुनथाल्यो । त्यही श्रम–विभाजनबाट वर्गहरुको उदय भयो र समाज विभिन्न वर्गहरुमा विभाजित भयो । यसरी निर्वर्गीय समाज वर्गीय समाजमा बदलियो । दासव्यवस्था पहिलो वर्गीय समाज थियो ।

तेस्रो सामाजिक व्यवस्थाको रुपमा आएको सामन्तवादको उत्पादक शक्ति जमिन थियो । जमिनले सामन्तवादको स्वरुपलाई निर्धारण गरेको थियो । सामन्तवादमा समाज जातिहरुमा विभाजित भयो, वर्गहरु जातिमा रुपान्तरित भए, राजकीय पदहरु वंशानुगत अधिकार बने र व्यवसायहरु वा पेशाहरु जातीय पहिचान वा विशेषता बने । त्यसको कारण थियो– उत्पादक शक्तिको रुपमा रहेको जमिनको प्राकृतिक, स्थायी र अपरिवर्तनशील स्वरुप ।

सामन्तवादपछि चौथो व्यवस्थाको रुपमा आएको पूँजीवादको उत्पादक शक्ति पूँजीको प्रमुख विशेषता गतिशीलता, सार्विकता र अमूर्तता हो । पूँजीकै अनुरुप पूँजीवादी व्यवस्था बनेको छ । त्यसकारण यो गतिशील छ । यसमा हरेक कुरा अस्थायी हुन्छ । पूँजी सार्विक (यूनिभर्सल) भएको हुँदा यसले हरेक वस्तुको मूल्यको प्रतिनिधित्व गर्दछ । फलस्वरुप पूँजीको अगाडि सवै वस्तुहरु समान हुन्छन् । समाजको विभाजन अन्तिम सीमामा पुग्दछ, अर्थात् समाजको विभाजन व्यक्तिहरुमा हुन्छ । जाति, वंश र लिङ्गजस्ता प्राकृतिक तत्वहरुको सट्टा व्यक्ति प्रमुख बन्दछ, किनभने व्यक्ति पूँजीको समरुप हुन्छ । वैयक्तिक स्वतन्त्रता, एकनिष्ठ विवाह, प्रतिनिधिमूलक राजनीतिक प्रणाली र निजी स्वामित्व– यी सवै पूँजीको अनुरुप बनेका संरचनाहरु हुन् ।

पूँजीवादमा उत्पादन उपभोगको लागि नभएर विनिमयको लागि हुन्छ । त्यसकारण यसमा बृहत सामाजिक श्रम–विभाजन हुन्छ । पूँजीवादी उत्पादनको लक्ष्य पूँजीको प्राप्ति र संचय हो । पूँजीको स्वरुप सार्विक भएको हुँदा यसद्वारा सवै वस्तुहरु प्राप्त गर्नसकिन्छ । त्यसैकारण उत्पादनको कुनै एउटा क्षेत्रमा मात्र लाग्न सम्भव हुन्छ र श्रम–विभाजनको प्रवृत्ति तीव्र गतिले अगाडि बढ्दछ ।

पूँजीवादपछि आउने सामाजिक व्यवस्थाहरु वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादको उत्पादक शक्ति सामूहिक वा सामाजिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष माक्र्सवादको थियो । वैज्ञानिक समाजवादमा सामाजिक मानव श्रम निम्नस्तरको हुन्छ र वैज्ञानिक साम्यवादमा त्यो उच्चस्तरको हुन्छ । पहिलोमा श्रमनीति ‘योग्यताअनुसार काम र कामअनुसार दाम’ हुन्छ र दोस्रोमा त्यो ‘योग्यताअनुसार काम र आवश्यकताअनुसार दाम’ हुन्छ । निम्नस्तरको सामाजिक श्रममा शारीरिक श्रम र मानसिक श्रमको भेद तथा गाउँ र शहरको भेद अथवा विभिन्न प्रकारका श्रमहरुको भेद मेटिएको हुँदैन, त्यसकारण वैज्ञानिक समाजवादमा श्रम–विभाजन हुन्छ । उच्चस्तरको सामाजिक श्रममा श्रमका सवै भेदहरु मेटिएका हुन्छन्, त्यसकारण वैज्ञानिक साम्यवादमा श्रम–विभाजन हुँदैन । एउटै व्यक्तिले बिहान एउटा काम, दिउँसो अर्को काम र साँझ अर्को काम गर्नसक्छ ।

श्रम सामूहिक अथवा सामाजिक हुनेहुँदा वैज्ञानिक समाजवाद र साम्यवादमा समाज वर्गहरुमा विभाजन हुँदैन । फलस्वरुप वर्गविहीन समाजको स्थापना हुन्छ ।

माक्र्सवादले वैज्ञानिक समाजवाद र साम्यवादमा उत्पादक शक्ति सामूहिक वा सामाजिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष उन्नाइसौं शताब्दीको मध्येमा (सन् १८४८ मा) निकालेको थियो । त्यसको आधारमा विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्यो । सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिहरु भए र समाजवादी सामाजिक व्यवस्थाहरु स्थापित भए । यसरी उन्नाइसौं शताब्दीको मध्यपछि करिब एकसय वर्ष समाजवादी क्रान्तिको अवधि बन्यो ।

तर सन् १९४५ पछि एउटा महान घटना घट्यो । त्यो घटना थियो– वैज्ञानिक–प्राविधिक क्रान्ति । त्यो क्रान्तिले विज्ञान–प्रविधिलाई प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरण गर्यो । त्यसले यो कार्य अलग–अलग रहेका विज्ञान र प्रविधिलाई संयोजन गरेर सम्पन्न गरेको थियो । पहिले विज्ञान र प्रविधि अलग–अलग थिए । त्यसकारण तिनीहरु उत्पादक शक्तिको रुपमा रहेको मानव–श्रमको सहायक मात्र थिए । वैज्ञानिक–प्राविधिक क्रान्तिको परिणामस्वरुप जब तिनीहरुको संयोजन भयो, तब तिनीहरु प्रत्यक्ष उत्पादक शक्ति बने र मानव–श्रम उत्पादक क्षेत्रबाट विस्थापित भयो । कारण विज्ञान–प्रविधिको क्षमता मानव–श्रमको भन्दा धेरै गुना बढी थियो ।

विज्ञान–प्रविधि उत्पादक शक्ति बनेपछि त्यसबाट सम्पूर्ण सामाजिक संरचनामा आमूल परिवर्तन भयो । त्यसको प्रभाव पुँजीवाद र समाजवाद दुवैमा प¥यो । पुँजीवादले आफूलाई परिमार्जन गरेर बचायो, तर समाजवादले त्यसो गर्न सकेन । फलस्वरुप समाजवाद पछि पर्यो र संकटग्रस्त भयो  ।

यसरी परिवर्तित वर्तमान विश्व परिवेशलाई निम्नानुसार तीन शीर्षकहरुमा उल्लेख गर्न सकिन्छ– १) उत्पादन शक्तिमा परिवर्तन, २) वर्ग–संघर्षको नयाँ विधिको आवश्यकता र ३) समाजवादको नयाँ प्रारुपको आवश्यकता ।

१. उत्पादक शक्तिमा परिवर्तन

विगतमा माक्र्सवादले समाजवाद र साम्यवादको उत्पादक शक्तिको रुपमा सामूहिक वा सामाजिक मानव श्रमलाई मानेको थियो । सामाजिक मानव श्रमले पूँजीवादको उत्पादक शक्तिको रुपमा रहेको पूँजीलाई विस्थापित गर्नसक्दथ्यो र त्यससँगै पुँजीवादी व्यवस्थाको अन्त्य हुन्थ्यो । तर अहिले सामाजिक मानव श्रमको स्थान विज्ञान–प्रविधिले लिएको छ । त्यसकारण अब सामाजिक मानव श्रमले पूँजीलाई विस्थापित गर्नसक्दैन । यसलाई विस्थापित गर्ने काम नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिले मात्र गर्नसक्दछ । पूँजीवादलाई अन्त्य गरेर त्यसको स्थानमा सामाजवादलाई स्थापित गर्नको लागि विज्ञान–प्रविधि निर्णायक शक्ति भएको छ ।

सामाजिक मानव श्रम उत्पादक शक्ति भएको समाजमा श्रमिक वर्गलाई क्रान्तिकारी शक्ति मानिएको थियो । तर विज्ञान–प्रविधि उत्पादक शक्ति भएको वर्तमान समयमा विज्ञान–प्रविधिलाई प्रयोग गर्ने वर्ग नै क्रान्तिकारी शक्ति हुन्छ । विगतमा माक्र्सवादले श्रमिक वर्गलाई क्रान्तिकारी शक्ति मानेको थियो । त्यसवेला सामाजिक श्रम उत्पादक शक्ति थियो ।

२. वर्ग–संघर्षको नयाँ विधिको आवश्यकता

माक्र्सवादले अतिरिक्त मूल्यको सिद्धान्तको रहस्य उद्घाटन गरेको थियो । अतिरक्त मूल्यको सिद्धान्तअनुसार पूँजीवादी उत्पादनको लक्ष्य अतिरिक्त मूल्यको प्राप्ति हो र अतिरिक्त मूल्यको स्रोत अशोधित श्रमको (मूल्य नतिरिएको श्रमको) अधिकरण हो । पूँजीपति वर्गले अतिरिक्त मूल्यको रुपमा श्रमिक वर्गलाई शोषण गर्दछ र आफ्नो सम्पत्ति संचय गर्दछ । यसरी अब पूँजीपति वर्गको सम्पन्नता र श्रमिक वर्गको विपन्नता दुवैको रहस्य स्पष्ट भयो ।

पुँजीपति वर्ग र श्रमिक वर्गको बीचमा संघर्ष अतिरिक्त मूल्यलाई लिएर हुन्थ्यो । पूँजीपति वर्गले अतिरिक्त मूल्यलाई यथासम्भव बढाउन चाहन्थ्यो भने श्रमिक वर्गले त्यसलाई यथासम्भव घटाउन चाहन्थ्यो । पूँजीपति वर्गको विरुद्ध सर्वहारा वर्गको संघर्षको अर्थ पूँजीपति वर्गलाई अतिरिक्त मूल्य शोषण गर्नबाट रोक्नु थियो । अतिरिक्त मूल्यको शोषण नै पूँजीपति वर्ग र पूँजीवादको आधार थियो । त्यसकारण यसको शोषणको अन्त्यसँगै पूँजीवादको पनि अन्त्य हुन्थ्यो ।

तर उत्पादक शक्ति नै बदलिएपछि वर्ग संघर्षको स्वरुप पनि परिवर्तन हुनु अनिवार्य भएको छ । अब उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधि आएको छ र मानव श्रमशक्ति विस्थापित भएको छ । त्यसकारण अतिरिक्त मूल्यको स्रोत मानव श्रमको सट्टा विज्ञान–प्रविधि भएको छ । परिणामस्वरुप अब वर्ग–संघर्ष अतिरिक्त मूल्यलाई लिएर हुँदैन, विज्ञान–प्रविधिको उपयोगलाई लिएर हुन्छ । वर्ग–संघर्षको लक्ष्य पूँजीवादी वर्गको एकाधिकारबाट विज्ञान–प्रविधिलाई मुक्त गरेर अधिकारविहीन वर्गको स्वामित्वमा ल्याउनु हो ।

सामन्तवादमा जमिनले पूँजीलाई आफ्नो अधीनस्थ बनाएको थियो । अहिले पूँजीले विज्ञान–प्रविधिलाई आफ्नो अधीनस्थ बनाएको छ । त्यसकारण अब वर्ग–संघर्षको उद्देश्य पूँजीको अधीनबाट विज्ञान–प्रविधिलाई मुक्त गर्नु हो ।

३.समाजवादको नयाँ प्रारुपको आवश्यकता

इतिहासको भौतिकवादी धारणाअनुसार उत्पादक शक्तिको स्वरुपले सामाजिक व्यवस्थाको स्वरुपलाई निर्धारण गर्दछ । उत्पादक शक्तिको अनुरुप उत्पादन सम्बन्ध हुन्छ र उत्पादन सम्बन्धको अनुरुप सामाजिक व्यवस्था हुन्छ । त्यसकारण जब नयाँ उत्पादक शक्ति आउँछ, तब पुरानो उत्पादन सम्बन्धसँग त्यसको अन्तर्विरोध शुरु हुन्छ । फलस्वरुप नयाँ उत्पादन सम्बन्धको आवश्यकता पर्दछ ।

अहिले नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधि आएको छ । यससँग पुराना उत्पादन सम्बन्धहरु मेल खाँदैनन्, जसमा पूँजीवादी र समाजवादी दुवै उत्पादन सम्बन्धहरु पर्दछन् । त्यसकारण अब विज्ञान–प्रविधिको अनुरुप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्था आवश्यक भएको छ । यसको लागि समाजवादको नयाँ प्रारुप निर्माण गर्नु आवश्यक छ । नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिको अनुरुप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्थाको रुपमा समाजवादको नयाँ प्रारुप आउँदछ ।

यिनै तीन विषयहरुमा विचार गरिसकेपछि कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा निर्धारण गर्नसकिन्छ ।

अब कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा निर्माण गर्दा मूलतः तीनवटा विषयहरुमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । तिनीहरु हुन्– १) नयाँ उत्पादक शक्तिको उपयोग, २) वर्ग–संघर्षको नयाँ विधिको प्रयोग र ३) समाजवादको नयाँ प्रारुपको निर्माण ।

१. नयाँ उत्पादक शक्तिको उपयोग

वर्तमान युगको नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण पुरानो सामाजिक व्यवस्थालाई अन्त्य गरेर नयाँ सामाजिक व्यवस्थाको स्थापना गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्नु आवश्यक छ । यसले पूँजीवादको उत्पादक शक्तिको रुपमा रहेको पूँजीलाई विस्थापित गर्दछ । परिणामस्वरुप पूँजीमा आधारित सामाजिक व्यवस्था पूँजीवादको अन्त्य हुन्छ र त्यसको स्थानमा विज्ञान–प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवाद र साम्यवादको स्थापना हुन्छ ।

अब विज्ञान–प्रविधिको उपयोग गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु आवश्यक छ । जुन साधनद्वारा पूँजीवाद शक्तिशाली भएको छ, त्यही साधनद्वारा मात्र त्यसलाई कमजोर बनाउन र पराजित गर्नसकिन्छ । पूँजीवाद अहिले विज्ञान–प्रविधिको उपयोगबाट शक्तिशाली बनेको छ । त्यसकारण विज्ञान–प्रविधिको प्रयोगद्वारा नै यसलाई कमजोर बनाउन र अन्ततः परास्त गर्न सम्भव हुन्छ ।

त्यसैगरी समाजवाद र साम्यवादको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । पूँजीवादीहरुले विज्ञान–प्रविधिको उपयोग पूँजीवादको विकास र सुदृढीकरण गर्नको लागि गरिरहेका छन् । समाजवादीहरुले यसको उपयोग समाजवादको विकास र सुदृढीकरण गर्नको लागि गर्नुपर्दछ ।

पूँजी प्रमुख उत्पादक शक्ति भएको समयमा पूँजीपति वर्ग क्रान्तिकारी शक्ति हुन्थ्यो । त्यसैगरी सामाजिक श्रम उत्पादक शक्ति भएको समयमा श्रमिक वर्ग क्रान्तिकारी शक्ति हुन्थ्यो । अब विज्ञान–प्रविधि उत्पादक शक्ति भएको समयमा यसलाई उपयोग गर्ने वर्ग नै क्रान्तिकारी शक्ति हुन्छ । यही क्रान्तिकारी वर्गले पूँजीवादलाई ध्वस्त पारेर समाजवादको निर्माण गर्दछ ।

त्यसकारण अब उत्पादन क्षेत्रबाट विस्थापित श्रमिक वर्ग र विज्ञान–प्रविधिको संयोजनबाट निर्णायक क्रान्तिकारी शक्तिको निर्माण हुन्छ ।

२.वर्ग–संघर्षको नयाँ विधिको प्रयोग

विगतमा जुन वेला मानव श्रम उत्पादक शक्ति थियो, सर्वहारा वर्ग (श्रमिक वर्ग) उत्पादन क्षेत्रमा हुन्थ्यो । त्यसवेला सर्वहारा वर्गले पूँजीवादी व्यवस्थाभित्रै रहेर त्यसको विरुद्ध संघर्ष गर्नसक्दथ्यो । तर अहिले मानव श्रम उत्पादक शक्ति नरहेपछि त्यो उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । त्यसकारण सर्वहारा वर्गले पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन । विगतमा सर्वहारा वर्गको काम हुन्थ्यो तर दाम हुँदैनथ्यो । त्यसकारण कामअनुसार दामको लागि संघर्ष गरिन्थ्यो । अहिले त्यसको काम पनि छैन र दाम पनि छैन । काम नभएको सर्वहारा वर्गले दामको लागि संघर्ष गर्न सम्भव भएन । अर्को शब्दमा, अहिले सर्वहारा वर्ग उत्पादन क्षेत्रबाट विस्थापित भएको हुँदा त्यसले पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन ।

त्यसकारण अब पूँजीवादी व्यवस्थाभन्दा बाहिर समानान्तरमा समाजवादी व्यवस्थाको निर्माण गरेर मात्र त्यसको विरुद्ध संघर्ष गर्नसकिन्छ । अब वर्ग–संघर्षको विधि पूँजीवादको विरुद्ध समानान्तरमा समाजवादको निर्माण हो । यही विधिको प्रयोग गरेर निर्णायक वर्ग–संघर्ष गर्नसकिन्छ ।

३.समाजवादको नयाँ प्रारुपको निर्माण

यसअन्तर्गत तीनवटा विषयहरु पर्दछन् । तिनीहरु हुन्– (क) आर्थिक प्रणाली, (ख) राजनीतिक प्रणाली र (ग) सांस्कृतिक प्रणाली ।

क) आर्थिक प्रणाली

आर्थिक प्रणालीका दुई पक्षहरु हुन्छन्– उत्पादक शक्ति र उत्पादन सम्बन्ध । उत्पादक शक्तिको अर्थ मानवीय आवश्यकता पूरा गर्नको लागि आवश्यक पर्ने वस्तु प्राप्त हुने स्रोत वा वस्तु हो । उत्पादन सम्बन्धको अर्थ उत्पादक शक्तिलाई उपयोग गरेर मानवीय आवश्यकता पूरा गर्ने वस्तु उत्पादन गर्नको लागि निर्माण हुने मानिसहरुको सम्बन्ध वा संगठन हो ।

नयाँ समाजवादको आर्थिक प्रणालीको उत्पादक शक्ति विज्ञान–प्रविधि र उत्पादन सम्बन्ध समुदाय वा सामाजिक समूह हुन्छ । यसमा सामुदायिक वा सामूहिक उत्पादन सम्बन्ध हुन्छ । विभिन्न समुदायहरु वा समूहहरु आर्थिक एकाई हुन्छन् र अर्थतन्त्रको संचालक हुन्छन् । सम्पत्तिको सम्पूर्ण अधिकार समुदायमा हुन्छ ।

ख) राजनीतिक प्रणाली

नयाँ प्रारुपको समाजवादमा राजनीतिक प्रणाली प्रत्यक्ष जनसहभागितामूलक जनवाद हुन्छ । जनवादका तीन स्वरुपहरु छन् । तिनीहरु हुन्– प्रत्यक्ष जनवाद, प्रतिनिधिमूलक जनवाद र प्रत्यक्ष जनसहभागितामूलक जनवाद ।

‘जनवाद’ शब्दको उत्पत्ति प्राचीन ग्रीसबाट भएको हो । ग्रिक भाषामा यसलाई ‘डेमोक्रेसी’ भनिन्थ्यो, जसमा ‘डेमो’को अर्थ ‘जनता’ र ‘क्रेसी’को अर्थ ‘शासन’ भन्ने हुन्छ ।

प्राचीन ग्रीसमा स्वतन्त्र नागरिकहरुले सर्वप्रथम जनवादको अभ्यास गरेका थिए । त्यो जनवाद प्रत्यक्ष जनवाद थियो । तर त्यो सीमित प्रकारको जनवाद थियो । किनभने त्यसमा दासमालिकहरु मात्र सहभागी हुन्थे, जसलाई स्वतन्त्र नागरिक मानिन्थ्यो । तर ठूलो संख्यामा रहेका दासहरुले त्यसमा भाग लिन पाउँदैनथे, जसको संख्या ८०–८५ प्रतिशत हुन्थ्यो ।

प्राचीन ग्रीसको जनवाद सीमित प्रकारको भएको हुँदा त्यो प्रत्यक्ष जनवाद हुन सम्भव भएको थियो । त्यसमा सवै मानिसहरु एक ठाउँमा भेला हुन्थे र सवै निर्णयहरु प्रत्यक्ष सहभागी भएर गर्दथे । त्यहाँ कोही कसैको प्रतिनिधि हुँदैनथ्यो । प्राचीन ग्रीसको प्रत्यक्ष जनवाद प्राचीन ग्रिक सभ्यताको अन्त्यसँगै समाप्त भयो र मध्यकालको अन्धकारमा बिलायो । त्यसपछि करिब एकहजार वर्षसम्म सामन्तवादी शासन चल्यो ।

एकहजार वर्षको अन्धकार युगपछि युरोपमा पुनर्जागरण आयो । प्राचीन ग्रिक तथा रोमन सभ्यताको आलोकमा, जुन विस्मृतिको ओझेलमा परेका थिए, नयाँ युगको आरम्भ भयो । तर त्यो प्राचीन सभ्यताको उही रुपमा पुनरावृत्ति वा पुनरुत्थान थिएन । प्राचीन कालका ज्ञान–विज्ञानहरुले नयाँ युगका मानिसहरुलाई यथार्थको बोध त गराएका थिए, तर तिनीहरु नयाँ सभ्यताको आरम्भ गर्न भने पर्याप्त थिएनन् । त्यसकारण तिनीहरुको पुनःसंरचना गरियो ।

त्यही कुरा राजनीतिक क्षेत्रमा पनि भयो । परम्परागत सामन्ती सत्ताको स्थानमा जनवादलाई स्थापित गरियो । तर त्यो जनवाद प्राचीन ग्रीसको जस्तो प्रत्यक्ष जनवाद थिएन, प्रतिनिधिमूलक जनवाद थियो । त्यसलाई सामाजिक संझौताको परिकल्पाद्वारा वैधता दिइयो । सामाजिक संझौताको सिद्धान्तअनुसार शासन गर्ने अधिकार जनतासँग हुन्छ, तर उनीहरुले त्यसलाई एउटा संझौताद्वारा आफ्ना प्रतिनिधिहरुको हातमा सुम्पिन्छन् । त्यसकारण राजनीतिक सत्ता जनताद्वारा निर्मित हुन्छ । यो कुनै अलौकिक दैवी शक्तिद्वारा सृजित, शाश्वत तथा अपरिवर्तनीय कुरा होइन । यो सिद्धान्तका प्रवर्तकहरु थिए– आधुनिक युगका प्रसिद्ध दार्शनिकहरु टमस हब्स, जोन लक र जीन ज्याक्स रुसो ।

दार्शनिकहरुद्वारा परिकल्पित सामाजिक संझौताको सिद्धान्त यथार्थ घटना थिएन । किनभने कुनै पनि सामाजिक व्यवस्था मानिसहरुको इच्छाले स्थापित हुँदैन । तर त्यसले एउटा सत्यलाई चाहिँ अभिव्यक्त गर्दथ्यो । त्यो के थियो भने राज्यसत्ता मानवीय कृति हो, कुनै ईश्वरीय वरदान होइन ।

यसरी प्राचीन कालको प्रत्यक्ष जनवादको स्थानमा प्रतिनिधिमूलक जनवाद आउनुका दुई कारणहरु थिए । पहिलो, जनसंख्याको वृद्धि तथा मानिसहरुको स्वतन्त्र गतिविधिको परिणामस्वरुप समाज विविधतापूर्ण, जटिल र वृहत बनेको थियो । त्यसकारण अब सबै मानिसहरु एक ठाउँमा भेला भएर प्रत्यक्ष रुपमा निर्णय गर्न सम्भव थिएन । त्यसको लागि केही निश्चित प्रतिनिधिहरु छनौट गर्नु आवश्यक भयो । त्यसै गरियो र त्यसबाट प्रतिनिधिमूलक जनवादको आरम्भ भयो । दोस्रो, आधुनिक कालको आगमनसँगै पूँजीवादको आरम्भ भएको थियो र प्रतिनिधिमूलक जनवाद पूँजीवादको लागि उपयुक्त थियो । पूँजीवादमा जसरी पूँजी सम्पूर्ण बस्तुहरुको प्रतिनिधि हुन्छ, त्यसैगरी नेताहरु सम्पूर्ण जनताका प्रतिनिधि हुन्छन् । त्यसकारण यो पूर्ण जनवाद होइन । यो त पूँजीपति वर्गको शासन हो, जसले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने दावी गर्दछ ।

पूँजीवादी व्यवस्थाका तीन प्रमुख विशेषताहरु छन्; श्रम–विभाजन, प्रतिस्पर्धा र योग्यतमको शासन ।

पूँजीवादमा पूर्णस्तरमा श्रम–विभाजन हुन्छ । किनभने यसमा सवै काम एउटैले गर्न सम्भव हुँदैन । उत्पादकत्व तथा क्षमताको वृद्धिको लागि श्रम तथा त्यसको विषयको विशिष्टीकरण गर्नुपर्दछ । परिणामस्वरुप राजनीतिमा पनि विशिष्टीकरण हुन्छ । यो केही पेशेवार तथा प्रशिक्षित राजनीतिज्ञहरुको विषय बन्दछ ।

त्यसैगरी पूँजीवादमा विभिन्न पक्षहरुको बीचमा प्रतिस्पर्धा हुन्छ । परिणामस्वरुप योग्यतमको छनौट गर्नुपर्ने अवस्था आउँदछ । यसरी योग्यतमको शासन स्थापित हुन्छ ।

यिनै कारणहरुबाट पूँजीवादमा प्रतिनिधिमूलक जनवाद स्थापित भएको थियो । तर पनि यो अन्तिम र निर्विकल्प व्यवस्था होइन । जसरी विनिमय प्रक्रिया विविधतापूर्ण, जटिल र वृहत भएपछि बस्तु–विनिमयको स्थानमा मुद्रा–विनिमय आएको थियो, त्यसैगरी मानव समाज विविधतापूर्ण, जटिल र वृहत भएपछि प्रत्यक्ष जनवादको स्थानमा प्रतिनिधिमूलक जनवाद आएको थियो । त्यसकारण यसको अन्त्य र विकल्प अपरिहार्य छ ।

जब पूँजीवादको विकास चरम अवस्थामा पुग्दछ, तब यो एउटा अन्तर्विरोधमा फस्दछ । त्यसपछि प्रतिनिधिमूलक जनवादमा पनि विसंगति उत्पन्न हुन्छ, जुन पूँजीवादको जनवाद हो । अहिले यही भएको छ । प्रतिनिधिमूलक जनवाद औपचारिक र नाममात्रको जनवाद बनेको छ । जनप्रतिनिधिहरु व्यापारीजस्ता भएका छन् । उनीहरुले जनताको प्रतिनिधित्व गर्दैनन्, नाफा कमाउँछन् । त्यसकारण अब प्रतिनिधिमूलक जनवादको अन्त्यको घन्टी बज्नथालेको छ ।

यो प्रतिनिधिमूलक जनवादको स्थान अब प्रत्यक्ष जनसहभागितामूलक जनवादले लिन्छ । प्रत्यक्ष जनसहभागितामूलक जनवाद समाजवादको जनवाद हो । समाजवादमा श्रम–विभाजन, प्रतिस्पर्धा र योग्यतमले शासन गर्ने कुराको अन्त्य भइसकेको हुन्छ । त्यसकारण अब प्रतिनिधिमूलक व्यवस्थाको आवश्यकता पर्दैन । त्यसको स्थानमा प्रत्यक्ष जनसहभागितामूलक जनवाद स्थापित हुन्छ ।

समाजवादमा पुनः प्रत्यक्ष जनवाद स्थापित हुन्छ । तर यो प्राचीन दासव्यवस्थाको जनवादको पुनरावृत्ति होइन । किनभने त्यो सीमित प्रकारको जनवाद थियो । त्यसले बहुसंख्यक दासहरुलाई समेट्दैनथ्यो । अब समाजवादको प्रत्यक्ष जनवादले बहुसंख्यक जनतालाई समेट्दछ । यसमा समताले मात्र होइन, विविधताले पनि स्थान पाउँदछ । यसमा पूँजीवादको सम्पूर्ण विकास समाहित हुन्छ । त्यसकरण यो प्रत्यक्ष जनवादको उच्च विकास हो । साथसाथै यो प्रतिनिधिमूलक जनवादको निषेध पनि हो ।

प्रत्यक्ष जनसहभागितामूलक जनवादमा दुई प्रकारका निकायहरु हुन्छन्– (१) स्वतः निर्मित निकाय र (२) निर्वाचित निकाय ।

१) स्वतः निर्मित निकाय:– यो सामाजिक समूह हो, जुन समाजको एकाई अथवा संघटक हुन्छ । यो समूहमा आबद्ध सम्पूर्ण मानिसहरु यसका अनिवार्य सदस्य हुन्छन् । यस्ता धेरै समूहहरु मिलेर एउटा समाजको निर्माण हुन्छ । यो कार्यकारी निकाय हो । यसले विधायिका र कार्यपालिका दुवैको काम गर्दछ । सम्पूर्ण राजकीय शक्ति र अधिकार यसमा रहन्छ र त्यसको प्रयोग पनि यो स्वयंले गर्दछ । त्यसकारण समाजको हरेक व्यक्ति राजकीय कार्यमा सहभागी हुन्छ । जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग आफैले गर्दछन् ।

विगतमा यस्ता स्वतः निर्मित सामाजिक समूहहरुलाई फ्रान्समा कम्युन र रुसमा सोभियत भनिन्थ्यो । सोभियतहरु तीन प्रकारका थिए– मजदूर सोभियत, किसान सोभियत र सैनिक सोभियत । सोभियतहरु नै नयाँ सत्ताका (समाजवादका) भ्रूणहरु हुन्, त्यसकारण तिनीहरुको हातमा सम्पूर्ण अधिकार सुम्पिनु पर्दछ भन्ने लेनिनको मान्यता थियो । सोभियतहरु नै वास्तविक सत्ताका हकदार हुन् भन्ने आधारमा लेनिनले संविधान सभालाई पनि विघटन गरेका थिए ।

२) निर्वाचित निकाय:– यो प्रतिधिमूलक निकाय हो । यसको निर्माण स्वतः निर्मित सामाजिक समूहहरुका प्रतिनिधिहरुबाट हुन्छ । यस्तो निकायको कार्य सामाजिक समूहहरुको संयोजन तथा समन्वय गर्नु हो । त्यसकारण यो कार्यकारी निकाय होइन । प्रत्यक्ष जनसहभागितामूलक जनवादमा यो निकाय अधिकारविहीन हुन्छ । यसको कार्य अलग–अलग रहेका विभिन्न सामाजिक समूहहरुलाई संयोजन समन्वय गरेर एकताबद्ध बनाउनु हो । यसबाहेक बाँकी सम्पूर्ण कार्यकारी अधिकार स्वायत्त तथा स्वतन्त्र जनसमूहहरुमा निहित हुन्छ ।

समाजवादको लक्ष्य वर्गहरुको अन्त्य र सँगसँगै वर्गीय समाजको आवश्यकताले उत्पन्न राज्यसत्ताको पनि अन्त्य हो । तर यसलाई एकैपटक उन्मूलन गर्न सकिँदैन । यो स्वयं ओइलाएर लोप हुन्छ । अर्थात् यसको भूमिका क्रमशः घट्दै जान्छ र अन्त्यमा यो औचित्यहीन बन्दछ ।

यसको लागि सर्वप्रथम प्रत्यक्ष जनसहभागितामूलक जनवाद लागू गर्नुपर्दछ । यो जनवादले राज्यसत्ताको अन्त्य गर्दछ । यसका दुई विधिहरु छन्– (अ) शक्ति विकेन्द्रीकरण र (आ)  राजकीय कार्यको सरलीकरण ।

यसको राम्रो उदाहरण पेरिस कम्युनले प्रस्तुत गरेको थियो । पेरिस कम्युनले निर्वाचित प्रतिनिधिमूलक निकायलाई नियन्त्रण गर्नको लागि दुई विधिहरु अपनाएको थियो । तिनीहरुमध्ये एउटा शक्ति विकेन्द्रीकरण अथवा अधिकारको कटौती थियो र अर्को राजकीय कार्यको सरलीकरण थियो । त्यहाँको नगर परिषदको सदस्यको तलब एउटा मजदूरको तलबसँग बराबर थियो । त्यसैगरी राजकीय कार्य अब कुनै रहस्यमय, कुनै विशेष प्रशिक्षित व्यक्तिले मात्र गर्नसक्ने विषय थिएन । त्यसकारण उच्च पदको लागि कसैले पनि खिचातानी गर्दैनथ्यो र राज्यको कार्य हरेक व्यक्तिले गर्नसक्दथ्यो । फलस्वरुप राज्य ओइलाएर जाने अवस्थामा पुगेको थियो ।

यसरी प्रत्यक्ष जनसहभागितामूलक जनवादको माध्यमबाट समाजनियन्त्रित समाजवाद स्थापित हुन्छ । यस्तो समाजवादमा सम्पूर्ण अधिकार जनताको हातमा आउँदछ ।

मानव समाजको आरम्भमा जनताको सार्वभौमसत्ता जनतासँगै थियो । तर समाज विकासको क्रममा वर्गहरुको उदय भएपछि जनताको सार्वभौमसत्ता जनताबाट अलग्गियो । त्यो एउटा निश्चित शासक वर्गको हातमा गयो । त्यसो हुनु वर्गीय समाजमा अनिवार्य छ । अब समाजवादमा जनताको सार्वभौमसत्ता पुनः जनताको हातमा आउँदछ ।

समाजमा वर्गहरुको अस्तित्वको कारण उत्पादक शक्तिको विकासको निम्नस्तर हो । समाजमा वर्गहरु रहेसम्म राजनीतिक कार्य एउटा वर्गको जिम्मामा आउँदछ । जब उत्पादक शक्तिको विकास उच्चस्तरमा पुग्दछ, तब राज्यसत्ता र त्यससँग सम्बन्धित वर्गको पनि अन्त्य हुन्छ, अथवा शासक वर्गको पनि अन्त्य हुन्छ ।

ग) सांस्कृतिक प्रणाली

सांस्कृतिक प्रणालीमा प्रमुख स्थान विचारधाराको हुन्छ । नयाँ समाजवादको विचारधारा द्वन्द्वात्मक भौतिकवाद हो । तर यसको स्वरुप विज्ञानको वर्तमान विकासस्तरद्वारा निर्धारित भएको छ । त्यसकारण नयाँ समाजवादको विचारधारा विज्ञानको वर्तमान विकासस्तरमा आधारित द्वन्द्वात्मक भौतिकवाद हो ।

विगतमा दर्शन दुई विपरित धाराहरुमा विभाजित थियो– (अ) अध्यात्मवाद र (आ) भौतिकवाद । अध्यात्मवादले आत्मा अथवा चेतनालाई प्रधान (मूल) मान्दथ्यो र भौतिकवादले पदार्थ अथवा जडलाई प्रधान (मूल) मान्दथ्यो । तर वर्तमान दर्शनले यी विपरित धाराहरुलाई संश्लेषण गरेर एउटै धारामा एकीकृत गरेको छ । अब आत्मा र पदार्थ अथवा चेतना र जड अलग सत्ता होइनन्, बरु एउटा सत्ताका दुई प्रमुख रुपहरु मात्र हुन् ।

वर्तमान युगमा जसरी विज्ञानको दृष्टिकोणबाट पदार्थका दुई प्रमुख रुपहरु छन्– शक्ति र द्रव्य; त्यसैगरी दर्शनको दृष्टिकोणबाट सत्ताका दुई प्रमुख रुपहरु छन्– चेतना र जड । वर्तमान दर्शनको सत्ता जड र चेतनाको संयुक्त रुप हो । विगतमा सत्ता मानिएको चेतना र जड अब सत्ताका दुई रुपमा बदलिएका छन् ।

विज्ञान जगतमा पदार्थ भनेको शक्ति र द्रव्यको संयुक्त रुप हो । अथवा मूल वस्तु पदार्थ हो र शक्ति तथा द्रव्य त्यसका प्रमुख दुई रुपहरु हुन् । त्यसैगरी दर्शनको क्षेत्रमा मूल सत्ता पदार्थ हो र चेतना तथा जड त्यसका दुई प्रमुख रुपहरु हुन् ।

वर्तमान युगको दर्शनमा चेतना र जडको भेद मेटिएको छ । पहिलो कुरा, चेतना र जड पदार्थका दुई रुपहरुमा परिणत भएका छन् । दोस्रो कुरा, जड पनि स्वतन्त्र तथा स्वचालित छ र चेतना पनि नियमानुशासित छ । पहिले स्वतन्त्र र स्वचालित हुनु चेतनाको गुण मानिन्थ्यो र नियमानुशासित हुनु जडको गुण मानिन्थ्यो । अब जड र चेतनामध्ये एउटा प्रधान र अर्को गौण, एउटा गुण र अर्को गुणी होइन, बरु दुवै समान स्तरका वस्तुहरु हुन् । यिनीहरु एक–अर्कोमा रुपान्तरित हुनसक्दछन् ।

त्यसैगरी वर्तमान दर्शनको अर्को विशेषता बहुलवाद हो । विगतमा बहुलवादका दुई रुपहरु थिए– भौतिकवादी बहुलवाद र अध्यात्मवादी बहुलवाद । तिनीहरुमध्ये भौतिकवादी बहुलवाद प्राचीन कालमा आएको थियो, जसका प्रवर्तक ग्रिक दार्शनिक डेमोक्रिटस थिए । त्यसलाई परमाणुवाद भनिन्थ्यो । अध्यात्मवादी बहुलवाद आधुनिक कालमा आएको थियो र त्यसका प्रवर्तक जर्मन दार्शनिक गट्फ्रिड लीब्निज थिए । त्यसलाई चिदणुवाद भनिन्थ्यो । ती दुवै बहुलवादहरुमा एउटा समान विशषता थियो । त्यो के थियो भने अलग–अलग सत्ताहरुको बीचमा कुनै सम्बन्ध हुँदैनथ्यो, सबैको अस्तित्व समकालिक र समानान्तर हुन्थ्यो ।

वर्तमान युगको बहुलवाद अन्तर्सम्बन्धित बहुलवाद हो । भूत (जड) र आत्मा (चेतना) मूल सत्ताका दुई प्रमुख रुपहरु मात्र हुन् । मूल सत्ता पदार्थ हो, जसका अनेक रुपहरु हुन्छन् । यी रुपहरुमध्ये कुनै पनि रुपलाई प्रमुख र अन्तिम, पूर्ण र निरपेक्ष मान्न सकिँदैन । अथवा मूल सत्ता पदार्थको कुनै एउटा निश्चित रुप छैन, जसलाई आधारभूत, प्राथमिक, निरपेक्ष र प्रमुख मान्न सकियोस् । त्यसको विपरित, यसका अनेक रुपहरु छन्, जसमध्ये प्रत्येक रुप आफ्नो क्षेत्रमा प्रमुख र आधारभूत अथवा निरपेक्ष हुन्छ र अर्को क्षेत्रमा गौण र सापेक्ष बन्दछ । त्यसैगरी यी रुपहरु अन्तर्सम्बन्धित छन्, किनभने यिनीहरु एक–अर्कोमा रुपान्तरण हुन्छन् ।

वर्तमान युगमा कुनै पनि वस्तु अन्तिम, आधारभूत छैन । न जडलाई अन्तिम, आधारभूत मान्न सकिन्छ र न चेतनालाइ अन्तिम, आधारभूत मान्न सकिन्छ । न द्रव्यलाई अन्तिम, आधारभूत मान्न सकिन्छ न त शक्तिलाई अन्तिम, आधारभूत मान्न सकिन्छ । त्यसैगरी न परमाणुलाई अन्तिम, आधारभूत मान्न सकिन्छ वा न आधारभूत कणहरुलाई नै अन्तिम मान्न सकिन्छ । यिनीहरु आ–आफ्नो क्षेत्रमा अन्तिम, आधारभूत हुन्छन्, तर त्यतिसम्म मात्र । अन्य क्षेत्रमा अरु नै अन्तिम, आधारभूत हुन्छन् ।

त्यसकारण वर्तमान युगको दर्शन अधिभूतवादबाट पूर्णतया मुक्त भएको छ । त्यसैगरी यो दर्शन प्राचीन कालको अद्वैतवाद र आधुनिक कालको द्वैतवादको सीमाबाट पनि मुक्त भएको छ ।

द्वन्द्वात्मक भौतिकवादी दर्शन पहिले अमूर्त थियो । यसलाई विज्ञानको विकासले मूर्त बनाइदिएको छ । विज्ञानको विकासको वर्तमान स्तरबाट द्वन्द्वात्मक भौतिकवाद समृद्ध बनेको छ । वर्तमान विज्ञानद्वारा यसको नयाँ स्वरुप निर्धारण भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार