८ असार, २०५८
पश्चिम दाङमा रहेको पञ्चकुले प्रहरीचौकी आक्रमण गर्ने योजना बनेको रहेछ र हाम्रा कमान्डरहरू अगाडि जानुभएको थियो । हामी दाङ जिल्लाको पूर्वी भागमा थियौँ । बिस्तारै हाम्रो स्क्वायड फर्मेसन पनि अगाडि बढ्यो । दाङका पहाडी भूभागहरूमा दुस्मनका आँखाहरू छल्दै स्युजा, सैघा हुँदै पश्चिम काटियो तर हामी कहाँ र किन जाँदैछौँ केही कुरा थाहा थिएन । किनकि गोप्य योजनाका कुराहरू सुरुमै भनिँदैनथ्यो । कुनै कार्यक्रमका लागि जाँदैछौँ भन्ने जानकारी पाएका थियौँ । के र कस्तो कार्यक्रम होला भन्ने मनमनै सोचिरह्यौँ । कतै ठूला नेताहरू पो आएका छन् कि यस्तै–यस्तै कल्पना गर्दै हामी गयौँ ।

हामीसँग सबैभन्दा ठूलो हतियार भनेको ३०३ राइफल थियो । त्यो कमान्डरले बोक्ने जिम्मा हुन्थ्यो र सहायक कमान्डरले टुबोल्बर बोक्थ्यो । कमान्डर अगाडि गएको हुनाले मैले टुबोल्बर बोकेको थिए । म हाम्रो स्क्वायडको FGL थिए । मलाई भरुवा बन्दुकबाट टुबोल्बर बोक्दा सारै खुसी लागेको थियो । बुलेट पर्समा १० वटा गोली थिए । पर्स भिरेर हतियार बोक्दा निकै गौरवको अनुभूति हुन्थ्यो र चिनियाँ उपन्यासहरूमा महिला योद्धाहरूका कथा पढेको स्मरण हुन्थ्यो । बेलाबेलामा तालिमहरू गर्दा हाम्रा कमान्डरहरूले भन्ने गरेका अभिव्यक्तिहरूले निकै उत्साहित बनाइरहेका थिए । यतिबेला हाम्रो सेनाको फर्मेसन कम्पनी स्तरसम्म विकास भैसकेको थियो । हामीलाई प्रेरित गर्नका लागि कम्पनीका महिलाहरू २५ केजीका झोला र पाँच केजीको राइफल बोकेर हिँड्नुहुन्छ । त्यसैले तपाईंहरू पनि कुशल महिला सेना बन्नुपर्छ भनेको सम्झिरहेकी थिएँ ।

मलाई हतियार पाएको खुसीमा बाटोका उकालीओरालीहरू सामान्य लागिरहेका थिए । ३/४ दिनको यात्रापछि हामी सल्यान र दाङको सिमानामा पर्ने फालाबाङमा पुग्यौँ । नयाँनयाँ ठाउँ र भूगोलमा पुग्दा हामीलाई फरकफरक अनुभूति भइरहेको थियो । त्यहाँ पुगेपछि त्यही राती कम्पनी फर्मेसन आइपुग्ने खबर पायौँ र सुन्ने गरेका महिला सेनाहरू देख्न पाउने भएकोमा सारै कौतुहल बढ्यो । राती टिम आएको हामीले बिहान मात्र जानकारी पायौँ । कति बेला ती ५ के.जी. का गन र २५ के.जी.का झोला बोक्ने महिलाहरू देखाैँला भन्ने कौतुहल जागिरह्यो । कमान्डरले भेटघाटमा जाने, परिचय गर्ने भनेर हामीलाई भन्नुभयो ।

महिला सेना र अलि चर्चित सपना भन्ने नाम सुनेका थियौँ र त्यही सपनाकहाँ हामी गयौँ । उहाँले हार्दिकतापूर्वक सैन्य फर्मेसनमा महिलाहरूले सङ्घर्ष गर्नुपर्ने, समस्याहरू र लडाइँका अनुभव अनि ठूलो फर्मेसनमा १÷२ जना महिलाहरूले भोगेका व्यावहारिक कठिनाइबारे बताउनुभयो । हामी साह्रै उत्साहित भयौँ । उहाँले सैन्य सङ्गठनमा निरन्तरता दिनुपर्छ भन्नुभयो । हामी निरन्तर अगाडि बढ्ने प्रतिबद्धतासहित आफ्ना विचारहरू पनि राखेका थियौँ । उहाँबाट प्रेरणा पाएका थियौँ । त्यहाँ केन्द्रित हुनु चौकी आक्रमणका लागिरहेछ । त्यहाँ हामीले एसएलआर र एसएमजीजस्ता हतियार पहिलोचोटि देखेका थियौँ । ती हतियार छुन पाए कस्तो हुन्थ्यो होलाजस्तो लाग्थ्यो । त्यति ठूलो सङ्ख्यामा सेना देखेको पनि पहिलोचोटि । कताकता माओवादी पार्टी विजयको सङ्घारमा पुगिसकेको हो कि जस्तो अनुभूति पनि भइरहेको थियो । त्यो दिन त्यत्तिकै बसियो ।

म्यापको कोचिङसहित टिम विभाजन भयो । हामीमध्ये पनि १/२ जनालाई विभाजन गरेर उपल्लो फर्मेसनमा गाभियो । हाम्रो स्क्वायडबाट नवीना र म स्वास्थ्य टिमको सुरक्षामा प¥यौँ । स्वास्थ्यकर्मी सेवा सिंह हुनुहुन्थ्यो । हाम्रो भूमिकाको पनि हामीलाई जानकारी गराइयो । अर्को दिन दिउँसो दाङको सालघारीबाट हिँडियो । दिनभरि जङ्गलमा हिँडेर तराई प्रवेश गरियो । हामीसँग एउटा बन्दुक थियो । झोलाभरि स्लाइनपानी र औषधीहरू थिए । स्वयम्सेवक साथीहरू काटेका आधा डोका र बाँसका स्टेचरहरू बोकेर लामबद्ध हिँड्दै थिए । आफ्नै मृत्यु अँगालेका सिपाहीहरू हर्षित देखिन्थे । बलिदानलाई स्वीकार गरेर हामी जादै थियौँ ।

अबला र असहाय भनिने महिलाहरू आफैँ बन्दुक बोकेर लडाइँमा जाँदै थिए । जीवनको पहिलो अनुभव थियो तर पनि काँचोपनका कारण हामीमा गम्भीरता थिएन । ड्रेसबद्ध र लामबद्ध हिँडे पनि नवीना र म खुसी हुँदै मुखमा हेर्दै र हाँस्दै गथ्र्यौं । त्यसो गर्दै हामी टार्गेट ठाउँको नजिकनजिक पुगेका रहेछौँ । लगत्तै टिम यसरी दगुर्यो– सास नै बन्द हुने गरी हामी पनि दगुर्यौँ । केही पारि ठूलै बस्तीजस्तो बिजुली झिलिमिली बलेको थियो । दुगुरेको केही क्षणपछि त फायरिङ सुरु भइहाल्यो । मैले मशाल जुलुसमा त बन्दुक पट्काएकी थिएँ तर लडाइँ त पहिलो थियो । सबै पोजिसनमा गयौँ । जिउ फुलेको जस्तो भयो ।

साथीहरू अगाडि बढिरहेका छन् । हामी पनि घस्रिन त घस्रिएकै छौँ तर चारैतिरबाट आफैँलाई ताकेर गोली हानेजस्तो अनुभूति भइराखेको छ । गोली टाउकामा आएजस्तो लाग्छ । टाउको लुकाउँदा पछिबाट आएजस्तो लाग्छ । बेलाबेलामा म नवीना भन्छु । उहाँ सम्झना भन्नुहुन्छ । एकअर्कालाई राम्ररी हेर्न पनि सकिरहेका छैनौँ । बन्दुक खोकिलामा च्यापेका च्यापै छौँ । एकछिनको भीषण फायरपछि अलि सुनसान भयो । एकजना साथी खुर्सानी– खुर्सानी भन्दै आउनुभयो । घाइते भयो भनेको खुर्सानी भन्ने कोड शब्द थियो । त्यो सुनेपछि डाक्टर यतायता भन्दै दौडनुभयो । हामीलाई पनि अब त डर हटिसकेको थियो । डाक्टरको पछिपछि दगुर्दै गयौँ । बिरामी अर्को पोस्टतिर लगिएछ । फायर रोकिँदै र चल्दै गर्ने क्रम जारी थियो । अब लडाइँ फाइनल हुँदैछ भन्ने आयो र हामीतिर बिरामी पनि आएनन् । डाक्टरले अगाडि जानुपर्छ भन्नुभयो र अगाडी बढियो । जाँदै गर्दा त हामी चौकीभन्दा २०/२५ मिटर पो टाढा रहेछौँ । एकजना बिरामी भेटियो । उपचारपछि स्वयम्सेवकले लग्नुभयो । हामी अगाडि बढिरह्यौँ । हामी पुग्ने बेला चौकीभित्र र बाहिर सर्च हुँदै थियो । पुलिसहरूलाई हात बाँधेर राखिएको थियो ।

यी सबै दृश्यले मलाई हर्षित र आनन्दित बनाइराखेको थियो किनकि हार–जित नै सेनाहरूको मनोबलको कुरा रहेछ । त्यसै क्रममा एकजना साथी आएर क. सागरको सहादत भयो भन्नुभयो । उपलब्धिसँगै क्षति हुने कुरा स्वाभाविक थियो तर जो कमरेड प्युठानको एक होनहार योद्धा, उदाउँदो नक्षत्र हुनुहुन्थ्यो । अग्लो, सारै फरासिलो, बहुप्रतिभाशाली, मिलनसार कमरेड सागर सैन्य पोसाकमा सजिएपछि निकै आकर्षक देखिने । उहाँलाई देखेपछि धेरै युवकयुवतीहरू पनि आन्दोलनमा जोडिएका थिए । नचिनेको भए सायद त्यति छुँदैनथ्यो होला । सँगै काम गरेको साथी भएकाले नवीना र मैले मुखामुख हेर्न मात्र भ्यायौँ ।

आँखाबाट आँसु झर्यो तर बोल्न सकेनौँ । वास्तविकता हो कि हैन जस्तो पनि लागिरह्यो तर सत्य तीतो हुन्छ । यथार्थ नै रहेछ । सहभागी भएको पहिलो लडाइँमै हाम्रो अभिभावक गुमाएर फर्किंदा मलाई समालिन निकै अप्ठ्यारो भयो तर बाध्य भएर समालिनै पर्यो । अन्तिम सेल्टरतिर ब्याक भयौँ । बाटोमा विकल्पहरू भेटिनुभयो । विकल्प र सागर सारै घनिष्ट साथी हुनुहुन्थ्यो । उहाँले हामीलाई देख्नेबित्तिकै लामो सास फेरेर उतै सहिद भएको भए हुन्थ्यो, सागरको बलिदान उच्च भए पनि मलाई सहन सारै गाह्रो भयो भनेर आँखाबाट आँसु झार्नुभयो ।

हामी पनि गम्भीर भयौँ तर केही बोल्न सकेनौँ । मन पोलिरह्यो । मुटु गाँठो पर्यो । एकछिनको मौनतापछि सबै समालियौँ र उहाँको बदला लिने बाचा गर्दै अगाडि बढ्यौँ । फेरि फालाबाङमा आएर कब्जा भएका हतियार र सामान वितरण गरी समीक्षा गर्यौँ । केही समस्या रहे पनि शानदार विजय भएको निष्कर्षसहित मुख्य फोर्सलाई बिदाबारी गरी हामी कार्यक्षेत्रतिर लाग्यौँ ।

जनसेनाकी पूर्व कमाण्डर सीता विक ‘सम्झना’ को प्रकाशोन्मुख ‘युद्धभित्रका संस्मरण’ संस्मरण सङ्ग्रहको दोस्रो संस्करणको एक अंश– सम्पादक ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार