काठमाडौँ । विश्वशक्ति चीनका राष्ट्रपछि सी चिनफिङको भ्रमणको चाँजोपाँजो मिलाउने समेत एजेन्डा बोकेर चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौँमा छन् । उनी राजनीतिक भेटघाट गर्दै छन् ।

यस क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न मन्त्री र प्रभावशाली राजनीतिज्ञलाई भेट्नेछन् । तर, सी चिनफिङको भ्रमणप्रति चिनियाँ पक्ष धेरै आशावादी देखिँदैन । कारण, स्वयं चीन वा राष्ट्रपति सी नभएर, नेपाली पक्ष नै हो ।

आज चिनियाँ राष्ट्रपति आउलान् त भन्ने प्रश्नको उत्तर खोज्न चार वर्षअघिको अवस्थातिर पुग्नुपर्छ ।

त्यतिखेर पनि नेपालमा प्रधानमन्त्री केपी ओली नै थिए । चिनियाँ राष्ट्रपति सी पहिलो कार्यकालमा थिए । उनी नेपाल आउने करिब निश्चित भइसकेको थियो । उनलाई नेपाल आउनबाट रोक्ने अनेक खेल खेलिए ।

सबैभन्दा सजिलो खेल थियो, सत्ता राजनीतिका पासा उल्टाउने । उल्टियो । त्यो खेलका सबैभन्दा सजिला गोटी बने, पुष्पकमल दाहाल प्रचण्ड ।

दाहालकै बलमा प्रधानमन्त्री बनेका थिए ओली । दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासित सत्ताको लगनगाँठो कसेपछि पासा उल्टियो । दाहाल बालुवाटार छिरे । ओली बालकोट फर्किए । सीको भ्रमण रोकियो ।

आज पनि परिदृश्य करिब उस्तै छ । प्रधानमन्त्री ओली कति दिन बालुवाटारमा रहने भन्ने कुराको निर्धारण प्रचण्डको राजनीतिक कदमले गर्न सक्छ । उनले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरुसँग मिलेर यसअघि नै पनि करिब पासा पल्टाइसकेका हुन् । तर, अहिले जोखिम के छ भने उनको स्वतन्त्र दल छैन । हुने सम्भावना पनि छैन । पूर्वएमालेको व्यापक संगठन र संसदीय शक्तिलाई बिच्क्याएर नेता बन्न गाह्रो छ । त्यसैले ओलीले बाँडेका उधारा आश्वासनमा चित्त बुझाएर बस्नुपरेको छ ।

सी आउने नै भए भने यहाँको राजनीतिक समीकरणमा तत्काल उथलपुथल आउन गाह्रो छ । फेरि आगामी दुई महिनाकै बीचमा यो सब भइहाल्नुपर्नेछ । त्यसकारण दुई तिहाई बहुमतको सरकार ढाल्न हिजोजस्तो सजिलो छैन ।

तर, सीलाई नेपालमा स्वागत गर्ने जुन तहको इच्छाशक्ति राज्यस्तरमा हुनुपर्ने हो, त्यो देखिँदैन । ओलीहरुले आफ्ना निर्वाचन क्षेत्रका फुटकर योजनालाई बीआरआई जस्तो संसार समेट्ने परियोजनामा अघि सारेको चिनियाँलाई पटक्कै मन परेको छैन । नेपालीको यो हदसम्मको व्यवहार चिनियाँले सायदै अपेक्षा गरेका थिए । चिनियाँ रेल र तेलका एजेन्डामा चुनाव जित्ने, अहिले आएर भ्यु टावर बनाउन अनुदान माग्ने ओलीको राजनीतिक इमानदारीमै चिनियाँले शंका गरिरहेका छन् ।

यातायात पारवहनको समझदारी भयो, बल्लतल्ल प्रोटोकल पनि बन्यो । त्यसपछि त्यसको कार्यान्वयनमा पूरै बेवास्ता गरिएको छ, नेपाल पक्षबाट । त्यसैगरी रेल र तेलका कुरा करिब बासी भइसकेका छन् । यस्तो अवस्थामा चिनियाँ राष्ट्रपति नेपाल आएर के गर्ने ? यो तहसम्मका कुरा कूटनीतिक वृत्तमा उठेका छन् ।

यति हुँदाहुँदै पनि सी कूटनीतिको मूल मर्म छिमेक प्रथम हो । वरिपरिका सारा छिमेकी मुलुक भ्रमण गरिसकेका उनले नेपाललाई बेवास्ता गरेजस्तो सन्देश गइरहेको छ । तिब्बतजस्तो संवेदनशील भूगोल जोडिएको देशलाई बेवास्ता गर्दा यहाँ अरु नै शक्तिराष्ट्रको क्रीडास्थल हुने जोखिम चिनियाँ रणनीतिकारले देखिरहेका छन् ।

इन्डोप्यासिफिक रणनीतिमार्फत अमेरिकाले खेलिरहेको खेलका निम्ति मैदान पूरै खाली छाडिदिएको सन्देश जान पनि भएन । सी आए भने उनी आउनुपर्ने मूलभूत कारण यही हो ।

चीनले नेपालबाट सुदीर्घ छाप छाड्ने विशाल योजना र दृढ प्रतिबद्धता खोजेको छ । ताकि, राष्ट्रपतिस्तरको भ्रमण नेपालमा सदा स्मरणीय रहोस् । जसरी भृकुटी र अरनिकोलाई लिएर चीनले नेपाललाई सम्झन्छ, आउँदा शताब्दीहरुमा नेपालले चीनलाई त्यसैगरी सम्झिने गरी केही विशेष चिनो छाड्ने चाहना सीको रहेको चिनियाँ मामिलाका जानकारहरुको भनाइ छ । तर, नेपाली नेता र कर्मचारीतन्त्रको उदासीनताका कारण चीनसँगको सम्बन्धमै खेलाँची गरिएको छ ।

सी आए भने छोटो समयका लागि आउनेछन् । त्यसको अर्थ हुनेछ, नेपाल चीनको प्राथमिकतामा छैन । उपेक्षा गर्न नसकेर मात्र सी केही घन्टाका लागि काठमाडौँ आएका हुन् ।

उनी आएनन् भने नेपालले सुरक्षा र अन्य व्यवस्थापन गर्न सकेन भन्ने सन्देश जानेछ । आगामी कयौँ वर्षसम्म नेपालमा उच्चस्तरीय भ्रमण हुने छैन । चीनबाट मात्र होइन, अन्य मुलुकका उच्चस्तरका भ्रमण हुन मुस्किल पर्नेछ । यसका लागि सम्पूर्ण दोषभागी अहिलेको राजनीतिक र प्रशासनिक नेतृत्व हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार