सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रममा भाँडभैलो भएको छ ।

महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।

अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ । असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने भन्दैं असन्तुष्ट पक्षले यस्तो हर्कत गरेको हो ।

मापदण्ड निर्धारण गरेर मात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आपूmखुशी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी भटौलियाका बासिन्दा विजय कर्णले बताए ।

असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार