राजनीतिक अर्थशास्त्रको खोज

कार्ल माक्र्स र एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवादको अनुसन्धान गर्ने क्रममा खोज गर्नुभएको दोस्रो मुख्य विषय राजनीतिक अर्थशास्त्र हो ।

राजनीतिक अर्थशास्त्र भनेको मानवजातिले जीवनयापनका क्रममा सञ्चालन र विकास गरेका आर्थिक उत्पादन, उत्पादन सम्बन्ध र उत्पादन पद्धतिको नियमहरूको अध्ययन गर्ने विज्ञान हो । यसले मान्छे आर्थिक उत्पादनमा कसरी सहभागी भयो, उत्पादन सम्बन्धले मान्छेलार्ई कसरी आर्थिक क्रियाकलापमा विभाजित ग¥यो, कसरी वर्गहरू र राज्यसत्ताको उत्पत्ति भयो भन्ने विषयमा अध्ययन गर्दछ । वैज्ञानिक आर्थिक सिद्धान्त अनुसन्धान नहुँदासम्म अर्थशास्त्रको विषय आर्थिक सम्बन्ध र विनिमयको व्याख्या गर्ने, आर्थिक उत्पादन कसरी वृद्धि गर्न सकिन्छ र धन कसरी कमाउन सकिन्छ भन्ने प्रश्नसँग मात्र सम्बन्धित थियो तर जब माक्र्स–एङ्गेल्सले ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट आर्थिक उत्पादन सम्बन्ध र त्यसबाट निर्धारित वर्ग, वर्गसम्बन्ध, राज्यसत्ता, राजनीतिक विचार र क्रान्तिबारेमा सविस्तार नयाँ दृष्टिकोण प्रस्तुत गर्नुभयो, त्यसले राजनीतिक अर्थशास्त्रसम्बन्धी सोचाइमै नयाँ अध्याय थपिदियो । उहाँहरूले आर्थिक आधार र सम्बन्धहरूले कसरी समाजको स्वरूप र सामाजिक परिवर्तनहरूलाई निर्धारण गर्छ भन्ने स्पष्ट गर्नुभयो ।

माक्र्स–एङ्गेल्सले यो विचार सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रमार्फत वैज्ञानिक समाजवादी–साम्यवादी अर्थ–दृष्टिकोणका रूपमा प्रस्तुत गरेपछि संस्थागत ढङ्गले स्थापित हुन पुग्यो । उहाँहरूले साम्यवादी आर्थिक दृष्टिकोण प्रस्तुत गर्दै लेख्नुभयो, ‘साम्यवादी व्यवस्थाको विशेष चरित्र के हो भने त्यसले आमरूपले नै स्वामित्वको उन्मूलन गर्दैन, त्यसले त खालि बुर्जुवा स्वामित्वको मात्र उन्मूलन गर्छ । तर आधुनिक बुर्जुवा व्यक्तिगत स्वामित्व नै उत्पादन तथा शोषण–प्रणालीको यस्तो अन्तिम तथा सबैभन्दा पूर्ण रूप हो, जुनवर्गीय अन्तर्विरोध र एकद्वारा अर्कोको शोषणमा आधारित छ । यस अर्थमा कम्युुनिस्टहरूले आफ्ना सिद्धान्तलाई केवल एक वाक्यमा यसरी व्यक्त गर्न सक्छन्, व्यक्तिगत स्वामित्वको उन्मूलन हुनुपर्छ’, (माक्र्स–एङ्गेल्स, रचना १, कम्युनिस्ट घोषणापत्र, पृ. ६३) । माक्र्सले यही आर्थिक दृष्टिकोणको निर्देशनअनुरूप सन् १८६७ देखि साम्यवादी अर्थशास्त्रसम्बन्धी अद्वितीय कृति ‘पुँजी’ को रचना गर्नुभयो । माक्र्सले वैज्ञानिक समाजवादी–साम्यवादी आर्थिक सिद्धान्तको खोज गर्दा प्रस्तुत गरेका केही महत्वपूर्ण विशेषतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

१. पुँजी उत्पादनमा श्रमको भूमिका
२. अतिरिक्त मूल्यको सिद्धान्त
३. निजी सम्पत्तिको अन्त्य
४. सामूहिक साम्यवादी अर्थ–प्रणालीको निर्माण

 पुँजीे उत्पादनमा श्रमको भूमिका

माक्र्सले समाजवादी–साम्यवादी अर्थशास्त्रको अनुसन्धान गर्ने क्रममा प्रथमतः पुँजी उत्पादनमा श्रमको भूमिका मुख्य हुन्छ भन्ने पत्ता लगाउनुभयो । त्यसअगाडिसम्म वस्तु विनिमयसम्मको मात्र अध्ययन थियो ।

उहाँँले अर्थ–सम्बन्धबारे तथ्यहरू पेस गर्दै उत्पादनका वस्तु (प्रकृतिमा उपलब्ध वस्तु जमिन, जङ्गल, पानी आदि) मा मानवीय श्रम मिसिएपछि माल उत्पादन हुन्छ; माल विनिमयको बजारमा प्रवेश गरेपछि विनिमय मूल्य पैदा गर्छ र मूल्य विभिन्न रूप हुँदै केन्द्रीकृत विनिमयको आवश्यकतालाई पूरा गर्ने साधनका रूपमा मुद्रा तयार हुन्छ । मुद्रा नै पुँजीमा परिणत हुन्छ । पुँजीले पुनः श्रम र माल उत्पादनमा प्रवेश गरेर आफ्नो विस्तारलाई व्यापक पार्छ । ‘वस्तु जोड श्रम जोड मालबराबर मूल्य’ हुन्छ भन्ने साबित गर्नुभयो । उदाहरणार्थ, बनमा रूख हुन्छ, रूखमा काठ हुन्छ, काठबाट धेरै मानवीय आवश्यकता पूरा गरिन्छ । काठबाट ढोका, दराज, टेबुल, कुर्ची आदि बन्छन् तर रूखबाट ती वस्तुहरू स्वतः प्राप्त हुँदैनन् । रूखलार्ई काठमा र काठलार्ई आवश्यक वस्तुमा बदल्न मानवीय श्रम मिसिनुपर्छ । जब मानवीय श्रम रूख र काठमा मिसिन्छ, त्यसपछि अनेकौँ उपभोग्य वस्तु निर्माण हुन्छन् । ती वस्तुहरू विनिमयका लागि बजारमा प्रवेश गरेपछि मूल्यको उत्पादन हुन जान्छ । माक्र्सले पुँजीमा उल्लेख गर्नुभएको छ, ‘वस्तु ती आफैँमा केही होइनन्, ती त्यसपछि मात्र सामग्री हुन्छन्, जब ती विनिमयका वस्तु बन्छन्, वस्तु त्यतिबेला मात्र उपयोगी हुन्छ, जब त्यसमा मानवश्रमले उत्पादन गर्छ’, (पुँजी भाग १) ।

यसलाई माक्र्सको ‘मूल्यको श्रम सिद्धान्त’ भनियो । माक्र्सको यो सिद्धान्तबारे जोड दिँदै लेनिनले भन्नुभयो, ‘माक्र्सले सिद्ध गरिदिनुभयो– हरमालका मूल्य यस कुराबाट निर्धारित हुन्छ, उसको उत्पादनमा सामाजिक दृष्टिले कति आवश्यक श्रमकाल लगाइएको छ’, लेनिन, हिन्दी खण्ड ४, पृ. १९६) । माक्र्स र लेनिनका यी विचारले यो साबित गर्छन्, कुनै पनि प्राकृतिक वस्तुमा मानवीय श्रम मिसिँदैन भने कुनै पनि माल उत्पादन हुँदैन । मानवीय आवश्यकता पूर्ति नगर्ने वस्तु उत्पादन नभएमा त्यहाँ कुनै मुद्रा र पुँजीको पनि उत्पादन हँुदैन । यसैलाई पुँजी उत्पादनमा श्रमको भूमिका भनिएको हो । पुँजीको चरित्र र भूमिकालाई बुझ्न यो अनुसन्धानले ठूलो महत्व राखेको छ ।

अतिरिक्त मूल्यको सिद्धान्त

माक्र्सले अर्थशास्त्रको अध्ययन गर्ने क्रममा पुँजीको विकास र विस्तार कसरी हुन्छ ? पुँजीको स्वामित्वमा असमानता कसरी पैदा हुन्छ ? भन्ने सन्दर्भमा अतिरिक्त मूल्यको सिद्धान्त अनुसन्धान गर्नुभयो । माक्र्सवादी अर्थशास्त्रको क्षेत्रमा उहाँले गर्नुभएका सबैभन्दा महत्वपूर्ण खोज नै अतिरिक्त मूल्यको सिद्धान्तलाई मानिन्छ । यो उहाँँको मौलिक र नयाँ खोज हो । अतिरिक्त मूल्यलाई पहिले ‘जोडिएको मूल्य’ भन्ने गरिन्थ्यो र त्यसलाई आवश्यक मानिन्थ्यो तर माक्र्सले यो सिद्धान्तमार्फत पहिलोपटक पुँजीको वृद्धि र विस्तार कसरी हुन्छ । साथै, मालिकको हातमा पुँजी कसरी सङ्केन्द्रित हुन्छ भन्ने तथ्यहरू प्रस्तुत गर्नुभयो । अतिरिक्त मूल्यबारे उहाँँले स्पष्ट गर्दै भन्नुभयो, ‘अतिरिक्त मूल्यको उत्पादन पुँजीवादी उत्पादन सम्बन्धको अनिवार्य नियम हो । यो नियमले केवल पुँजीपति र मजदुरको आर्थिक सम्बन्धलाई मात्र अभिव्यक्त गर्दैन, बरु त्यस्ता आर्थिक समूहहरू बुर्जुवा र उद्योगी, व्यापारी र बैङ्कर, नीतिहरू र जमिनदारबीचको आर्थिक सम्बन्धहरूलाई पनि व्यक्त गर्छ’, (माक्र्स, भाग २३, पृ. ६३२) ।

माक्र्सले यस सन्दर्भमा अगाडि बढेर थप व्याख्या गर्दै भन्नुभयो, ‘अतिरिक्त मूल्य भनेको मजदुरले वस्तुकृत बनाएको श्रम हो जो उसले श्रम गरेबापत श्रमशक्तिको मूल्यका रूपमा प्राप्त गरेको हुन्छ– लाई मालिकका लागि सित्तैँमा छोडिदिने भन्दा अरू केही होइन’, (भाग ४७, पृ. १९०) । लेनिनले माक्र्सको यो सिद्धान्तलाई माक्र्सको आर्थिक सिद्धान्त आधार भन्नुभएको छ । लेनिन लेख्नुहुन्छ, ‘बेसी मूल्यको शिक्षा माक्र्सको आर्थिक सिद्धान्तको आधारशिला हो’, (लेनिन, हिन्दी खण्ड ४, पृ. १९७) । लेनिन अझ जोड दिँदै भन्नुहुन्छ, ‘मजदुर कार्यदिनको एक भाग स्वयम् आफ्नो र परिवारको भरणपोषणको खर्चको पूर्तिका लागि प्रयोग गर्छ, अरू दिनको शेषभागमा उसले बिनापारिश्रमिक श्रम गर्छ, यसरी पुँजीपतिका लागि बेसी मूल्य सिर्जना गर्छ, जो पुँजीपतिवर्गका लागि मुनाफाको स्रोत, सम्पत्तिको स्रोत हो’, ( लेनिन, हिन्दी खण्ड ४, पृ. १९६) । अतिरिक्त मूल्यको सिद्धान्तसम्बन्धी माक्र्सको यो अनुसन्धानले पुँजीवाद, पुँजीपतिवर्ग, उसको उत्पीडनलाई बुझ्न मात्र होइन, वर्गसङ्घर्षको विकासलाई बुझ्न पनि ठूलो मद्दत ग¥यो ।

अतिरिक्त मूल्यको सिद्धान्तअनुसार कुनै पनि मालको मूल्य दुईखालको हुन्छ । पहिलो, मालको वास्तविक मूल्य र दोस्रो, मालको अतिरिक्त मूल्य । अतिरिक्त मूल्य मालको त्यो मूल्य हो जुन मूल्यको स्वामित्व श्रमिकले पाउँदैन, मालिकले प्राप्त गर्छ । उदाहरणार्थ एकजोर जुत्ता बनाउन एकजना मजदुरलार्ई एक घन्टा लाग्छ; जुत्ताका लागि मालिकले २०० रुपैयाँको कच्चा पदार्थ प्रयोग गर्छ । उसले मजदुरलार्ई एक जोर जुत्ता बनाएबापत २०० रुपैयाँ दिन्छ, मालिकले प्रयोग गर्ने मेसिनको खर्च १०० हुन्छ । यति गर्दा जुत्ताको लागत मूल्य ५०० भयो तर मालिकले जुत्ता तयार भएपछि बजारमा पठाउँदा १००० लिन्छ । मालिकले व्यवस्थापन मात्र गरेर रु ५०० प्राप्त ग¥यो । लागत कुल मूल्य र बजारमा प्राप्त हुने मूल्यमा ५ सय फरक प¥यो । यो बढी पैसा नै अतिरिक्त मूल्य हो । यहाँ श्रम गर्ने मजदुरले जति पैसा पाउनुपर्ने हो, त्यति पाउँदैन तर व्यवस्थापन गरेबापत मात्र मालिकले ५०० रुपैयाँ पाउँछ, जो सही मूल्य होइन । यसरी श्रमिकले मालिकका लागि सित्तैँमा गरिदिने श्रम अतिरिक्त श्रम हो भने त्यस श्रमबाट मालिकले पाउने मूल्य अतिरिक्त मूल्य हो । माक्र्सको यस अतिरिक्त मूल्यको सिद्धान्तले श्रमिकवर्गमाथि कसरी शोषण हुन्छ र मालिक कसरी दिन–प्रतिदिन झन् धेरै धनी हुँदै जान्छ भन्ने बुझ्न सजिलो भयो ।

निजी सम्पत्ति र स्वामित्वको अन्त्य

वैज्ञानिक समाजवादी–साम्यवादी आर्थशास्त्रको अनुसन्धानका क्रममा माक्र्स–एङ्गेल्सले गर्नुभएको अर्को महत्वपूर्ण खोज निजी सम्पत्तिको अन्त्य गर्ने सिद्धान्त रहेको छ । माक्र्सले पुँजी उत्पादनको नियम, पुँजीमा निजी स्वामित्वको नियम र निजी पुँजीको चरित्रको अध्ययन गरिसकेपछि मानव–दुनियाँँमा सम्पत्तिमा निजी स्वामित्वको अस्तित्व रहेसम्म वर्गहरू अनिवार्य कायम हुन्छन्, वर्गहरू रहेसम्म समाजमा शान्ति, समानता, स्वतन्त्रता, समग्र समृद्धि भन्ने चीज प्राप्त गर्न सम्भव हँुदैन भन्ने विचार विकास गर्नुभयो । साथै, उहाँहरूले आर्थिक उत्पादनकार्य निजी विषय नभई सामाजिक मामिला भएकाले सम्पत्तिमाथिको निजी स्वामित्वलाई अन्त्य गर्न सकिने र निजी स्वामित्वको अन्त्यसँगै वर्गविभाजन र वर्गसङ्घर्षलाई पनि बदल्न सकिने विचार र विधि निर्माण गर्नुभयो ।

समाजमा निजी सम्पत्ति र स्वामित्वको अन्त्यको आवश्यकता र सम्भावनाबारे उहाँँले कम्युनिस्ट घोषणापत्रमा उल्लेख गर्दै भन्नुभयो, ‘तर आधुनिक बुर्जुवा व्यक्तिगत स्वामित्व नै उत्पादन तथा शोषणप्रणालीको यस्तो अन्तिम तथा सबैभन्दा पूर्ण रूप हो, जुन वर्गीय अन्तर्विरोध र एकद्वारा अर्कोको शोषणमा आधारित छ । यस अर्थमा कम्युनिस्टहरूले आफ्नो सिद्धान्तलाई एकै वाक्यमा यसरी राख्न सकिन्छ ः निजी सम्पत्तिको उत्मूलन’, (कम्युनिस्ट घोषणापत्र, पृ. ४०) । उहाँको यो विचारले विश्वलाई निकै ठूलो आकर्षण र तरङ्ग दियो । साम्यवादी सिद्धान्तमा यो विचारलाई निकै महत्वका साथ लिइन्छ ।

निजी सम्पत्ति र निजी स्वामित्वको अन्त्य गर्ने विचारले श्रमिकवर्गलाई ‘जादुमय’ तरिकाले आकर्षित ग¥यो । वास्तवमा श्रम गरेर पनि श्रमको मालिक हुन नसकेका, माल उत्पादन गरेर पनि उपभोगबाट वञ्चित भएर अभावग्रस्त जीवन भोगिरहेका, पुँजी उत्पादन गरेर पनि गरिबीबाट उठ्न नसकेका श्रमिकवर्गलाई निजी स्वामित्वको अन्त्य गर्ने विचारले ठूलो तागत पैदा ग¥यो । वास्तवमा जतिबेलासम्म मानवजाति निजी स्वार्थ र स्वामित्वको बोझबाट मुक्त हुँदैन, त्यसबेलासम्म समानतामूलक र समृद्ध समाज र जीवनको कल्पना पनि गर्न सकिँदैन । जब लुटपूर्ण निजी सम्पत्तिको अन्त्य हुनेछ, तब श्रमिक वास्तवमै आफ्नो श्रम र उत्पादनको मालिक हुनेछ, उत्पीडन र विभेदबाट मुक्त समाज निर्माण हुनेछ । यो विचारले श्रम गरेर पनि आफ्नो श्रमको मालिक हुन नपाएका श्रमिकवर्गलाई मात्र होइन, मानव–दुनियाँँलाई शोषण, उत्पीडन र विभेदजस्तो अमानवीय चरित्रबाट एक सभ्य समाजमा पु¥याउन चाहने सबै सचेत एवम् सभ्य नागरिकहरूलाई पनि प्रभावित पा¥यो तर एकथरी मान्छेहरू जो श्रमिकवर्गको अतिरिक्त श्रम र पुँजी हडपेर वैभवको जीवन बिताएका छन् वा अरूको चाकरी र दलाली गरेर परजीवी जीवन बिताइरहेका छन्, तिनले भने निजी सम्पत्तिको अन्त्यप्रति तिखो विरोध गर्दै भन्ने गरेका छन्, यो त ‘निजी स्वतन्त्रता र आफ्नै मेहनतले कमाएको सम्पत्तिको अपहरण भयो ! यो असम्भव कुरा हो !’ जब कि उनीहरूले भनेको कुरा सही होइन ।

कम्युनिस्टले निजी स्वतन्त्रता अपहरण गर्छन् भन्नेलाई जबाफ दिँदै माक्र्स–एङ्गेल्सले घोषणापत्रमा लेख्नुभयो, ‘तर ज्यालादारी श्रमले, सर्वहाराको श्रमले उसका लागि कुनै सम्पत्ति पैदा गर्दछ र ? कदापि गर्दैन । यसले त पुँजी उत्पन्न गर्दछ अर्थात् यस्तो सम्पत्ति पैदा गर्दछ, जसले ज्यालादारी श्रमको शोषण गर्दछ । अनि त्यस सम्पत्तिको वृद्धिको सर्त नै के छ भने त्यसले फेरि नयाँ शोषणका लागि ज्यालादारी श्रम पैदा गर्दै जानुपर्छ ! आफ्नो वर्तमान रूपमा स्वामित्वको अस्तित्वचाहिँ पुँजी र ज्यालादारी श्रमको पारस्परिक अन्तर्विरोधमा निहित छ’, ( माक्र्स–एङ्गेल्स रचना १, कम्युनिस्ट घोषणापत्र, पृ. ६३) । उहाहरूले अगाडि थप्दै भन्नुहुन्छ, ‘… मजदुरको श्रमको यस निजी कमाइलाई नष्ट गर्ने हाम्रो मनसाय कदापि छैन । यो कमाइ मानवजीवन कायम र जारी राख्नका निम्ति मात्र प्रयोग गरिन्छ र त्यसमा अर्कोको श्रममाथि हुकुम चलाउनका लागि कुनै बचत रहँदैन । हामी त्यस्तो शोषणको दयनीय रूपलाई मात्र नष्ट गर्न चाहन्छौँ जसमा मजदुर खालि पुँजी बढाउनका लागि मात्र बाँचेको हुन्छ र उसलाई यति हदसम्म बाँच्न दिइन्छ, जबसम्म शासकवर्गको स्वार्थका लागि उसको जरुरत पर्दछ’, (ऐ. पृ. ६४) । माक्र्सको यो भनाइले स्पष्ट गर्छ, पुँजीवादीहरूले भन्ने गरेको निजी सम्पत्ति वा स्वामित्व वास्तविक अर्थको निजी सम्पत्ति र स्वामित्व (श्रमिकको हकमा) होइन । यो त लुटबाट थुपारिएको र शोषणलाई मलजल गर्ने निजी सम्पत्ति हो ।

जसले मानव समुदायलाई मालिक र दासमा विभाजित गर्छ, साम्यवादले नष्ट गर्न चाहेको निजी सम्पत्ति वा स्वामित्व यही हो । यसको अन्त्यले कदापि पनि निजी स्वतन्त्रता र अधिकारलाई छिन्दैन । बरु श्रमिकवर्गलाई वास्तविक श्रमको मालिक बनाएर छिनिएको निजी अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गरिदिन्छ । यो काम निश्चय नै सरल छैन, कठिन छ तर समाजवादी राज्यले नै लुटयुक्त निजी सम्पत्तिको अन्त्य गर्ने नीतिलाई विधिवत् प्रकारले नेतृत्व गरिरहने हो भने मानवबीचमा हाबी रहेको निजी सम्पत्तिको अन्त्य गर्दै जान सकिन्छ । अर्थात् जे कारणले समाजमा निजी सम्पत्ति खडा भयो र त्यसले मानव–समाजलाई अमानवीय उत्पीडनभित्र पु¥यायो, त्यसलाई वैज्ञानिक विधिसहित हल गर्ने हो भने निजी सम्पत्ति समाप्त गर्न सकिन्छ । माक्र्स–एङ्गेल्सको यो अनुसन्धानले दुनियाँलाई वैज्ञानिक समाजवाद–साम्यवादमा पुग्न सकिन्छ भन्ने ज्ञान दिलाउँछ ।

सामाजिक (सामूहिक) स्वामित्व र सम्पत्तिको विकास

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवादको अर्थशास्त्रको अनुसन्धान गर्ने क्रममा पत्ता लगाएको चौथो विषय मानवजातिबीच विकास हुने सम्पत्तिमाथिको सामूहिक स्वामित्व हो । राजनीतिक भाषामा वैज्ञानिक साम्यवाद ! जब उहाँहरूले पुँजीको उत्पादन, वितरण र स्वामित्वको क्षेत्रमा अध्ययनलाई केन्द्रित गर्नुभयो तब के पत्ता लगाउनुभयो भने एउटा समय यस्तो पैदा हुने छ वा पैदा गर्न सकिन्छ जहाँ सम्पत्तिको चरित्र सामूहिक हुनेछ र सम्पत्तिमाथि समाजको सामूहिक स्वामित्व कायम हुन पुग्नेछ । जहाँ सम्पत्तिमाथि निजी स्वामित्व हुनुको कारणले पैदा भएको शोसक र शासित, उत्पीडक र उत्पीडक, एकदमै धनी र एकदमै गरिब हुनेछैनन् । त्यहाँ मान्छेलाई आजको जस्तो निजी सम्पत्तिको आवश्यकता र महत्व हुनेछैन । पक्का हो मान्छेहरूका निजी आवश्यकता हुनेछन् तर ती सामूहिक स्वामित्व र सामूहिक अर्थ–सम्बन्धले दिने सुविधाभन्दा सामान्य बन्नेछन् । मानवजातिबीचमा आधुनिक, वैज्ञानिक, उच्च उत्पादन सम्बन्ध हुनेछ । समाजमा श्रम, विज्ञान र विवेक नै मुख्य हुनेछ । सबैले आफ्नो र समाजका लागि श्रम गर्नेछन् । त्यहाँँ माक्र्स–एङ्गेल्सले भन्नुभएजस्तै ‘क्षमताअनुसारको काम आवश्यकताअनुसारको दाम’ हुनेछ अनि लेनिनले उल्लेख गर्नुभएजस्तै ‘उत्पादनका साधनहरू अब पृथक–पृथक व्यक्तिहरूको व्यक्तिगत स्वरूपतामा रहँदैनन्, उत्पादनका साधनहरूमा सम्पूर्ण समाजको अधिकार रहन्छ ।

समाजको प्रत्येक सदस्यले सामाजिक रूपले आवश्यक श्रमको एक निश्चित हिस्सा पूरा गरेर उसले समाजबाट यति परिणामको काम गरेको छ भने प्रमाणपत्र पाउँछ । यसै प्रमाणका आधारमा उपभोक्ता वस्तुहरूको सार्वजनिक भण्डारबाट उसले त्यसैअनुरूप परिमाणमा वस्तुहरू प्राप्त गर्छ । यसरी सार्वजनिक निधिमा जाने श्रमको त्यति हिस्सा कट्टा गरिएपछि प्रत्येक मजदुरले समाजबाट त्यत्तिकै पाउँछ जति उसले समाजलाई दिन्छ’, (लेनिन, राज्य र क्रान्ति, पृ. ८४) हुनेछ । त्यसपछि मानवजाति एक समृद्ध र सभ्य दुनियाँमा प्रवेश गर्नेछ । त्यो नै विश्व साम्यवाद हुनेछ ।

क्रमश –

महासचिव विप्लवकाे प्रकाशाेन्मुख किताव- ‘वैज्ञानिक समाजवाद’काे सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार