देश नयाँ राजनीतिक सङ्कट, अस्थिरता र अन्तर्विरोधहरूबाट गुज्रिरहेको बेला राष्ट्रियता, जनअधिकार र जनजीविकाका पक्षमा नेकपाले जनजागरण अभियान सञ्चालन गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत क्षितिज सांस्कृतिक परिवार लुम्बिनी ब्युरो यही अभियान लिएर यतिखेर जनताका माझ पुगेको छ ।

दलाल राज्यसत्ताले घोषणा गरेको कथित निर्वाचन र त्यसको खारेजी अभियानपछि निरन्तर क्रान्तिको पक्षमा नयाँ जागरण पैदा गर्ने राजनीतिक उद्देश्य सहित एकीकृत जनजागरण अभियान सुरु भएको छ । लुम्बिनीका सवै जिल्लाहरुमा यो अभियान एकैसाथ सञ्चालन भइरहेको छ । पार्टीले सञ्चालन गरेको यो राजनीतिक अभियान सहित क्षितिज सांस्कृतिक परिवार लुम्बिनी व्युरोका कलाकारहरु जनताका जीवनदायी गीतहरु गाउँदै गाउँ–गाउँमा पुगिरहेका छन् । २०७४ माघ १५ गते नवलपुरबाट सुरु भएको कलाकारहरु सहितको अभियान फागुन महिनाभरी पाल्पाली जनतासंगै गाउँ–गाउँमा पुगेर सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो । पाल्पाली न्यायप्रेमी जनताको अपार माया, सद्भाव र सानिध्यतामा सांस्कृतिक कार्यक्रम अत्यन्तै उत्साहपूर्ण रह्यो । भोका नाङ्गा, गरिब, दीनदुःखी जनताका गीतहरु गाउँदै, नाँच्दै र तिनै जनताका दुःख सुखहरुसंग दैनिक हातेमालो गर्दै पाल्पाली गाउँका भीरपाखा, पखेराहरु सवै छिचाल्यो । दुश्मनका हरेक अप्ठ्याराहरुलाई छिचोल्दै हजारौं पाल्पाली जनताका ढुकढुकीमा मन जित्न सफल भयो ।

२०७४ चैत ५ गते क्षितिज परिवार रुपन्देही पुग्यो । झण्डै दुई हप्ता बुटवलमा कलाकारहरुको विधागत प्रशिक्षण चल्यो । यसैवीच चैत १० गते महासंघले रुपन्देही जिल्ला भेला र सिर्जना–गोष्ठी सम्पन्न गर्यो । त्यस लगत्तै क्षितिज परिवार रुपन्देही जिल्लामा पार्टीले सञ्चालन गरिरहेको अभियानमा जोडियो । रुपन्देहीका दर्जनौं स्थानका गाउँ–गाउँमा जनताका वीचमा पुगेर सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो । अभियानप्रति जनताको अपार सहभागिता, न्यानो माया, साथ र सद्भाव पाएको देखेर दलाल राज्यसत्ता अत्तालियो र हाम्रो अभियानलाई विभिन्न स्थानहरुमा हस्तक्षेप गर्न पुग्यो । सैनामैनाको भड्छा, रुद्रपुरको गरगरे र पश्चिम थारु समुदायको घनावस्ती रहेको भैसाही गाउँमा प्रहरीले हस्तक्षेप गर्यो । हजारौं जनताको उपस्थितिमा सांस्कृतिक कार्यक्रम चलिरहेको बेला गरिएको प्रहरी हस्तक्षेपले राज्यसत्ता विरुद्ध जनताको आक्रोशले धुरी नाघ्यो । हामीले संयमता नअपनाएको भए त्यहाँको परिस्थिति भयानक अवस्थामा बदलिने सम्भावना थियो । मध्यरातमा कार्यक्रम स्थलमा आई गाउँभित्र पसेर प्रहरीले छापा मार्यो र हाम्रा नेतृत्वलाई गिरफ्तार गर्ने दुष्प्रयास गर्यो । प्रहरी हस्तक्षेपको स्थानीय जनताले प्रतिकार मात्रै गरेनन्, राज्यसत्ताको फासीवादी शैली विरुद्ध मन बचनले दुत्कारे, दुत्कारिरहे ।

अहिले अभियान टोली कपिलवस्तु पुगेको छ । कपिलवस्तुका जनताका वीच क्षिजित परिवारले आफ्नो सांगितिक प्रस्तुति देखाइरहेको छ । मधेशको उखर्माउलो गर्मीसंगै राज्यसत्ताको लुटतन्त्र र फासीवादी शैलीलाई छिचोल्दै क्रान्तिकारी गीत संगीतको माध्यमद्धारा एकीकृत जनक्रान्तिको पक्षमा जनजागरण फैलाइरहेको छ । इतिहासका हरेक कालखण्डहरुमा कपिलवस्तुका न्यायप्रेमी जनताले क्रान्तिकारी आन्दोलनलाई साथ र सहयोग गर्दै आइरहेका मात्रै छैनन्, क्रान्तिकारी नेता, कार्यकर्ता र जनकलाकारहरु उत्पादन समेत गरिरहेको छ । कपिलवस्तुको जनसांस्कृतिक आन्दोलनको लामो इतिहासमा अखिल नेपाल जनसांस्कृतिक महासंघ र त्यहाँ रहेको रक्तरञ्जित सांस्कृतिक परिवारको योगदान महत्वपूर्ण रहँदै आएको छ । गत बर्ष चैत ५ गते क्षितिज परिवार सहित महासंघ लुम्बिनी व्युरोले कपिलवस्तुको दक्षिणी गाउँमा सांस्कृतिक प्रतिरोध दिवसको स्मरण गर्ने अवसर जुटेको थियो ।

कपिलवस्तु जिल्ला बलिदानीपूर्ण इतिहासको जगमा उभिएर निरन्तर क्रान्तिको पक्षमा उभिदै आएको छ । यही सन्दर्भमा २०७५ बैशाख ५ गते कपिलवस्तुको एक गाउँमा अखिल नेपाल जनसांस्कृतिक महासंघको प्रथम जिल्ला भेला भब्य रुपमा सम्पन्न भएको छ । झण्डै तीन दर्जन कलाकार, लेखक, साहित्यकार एवं संस्कृतिकर्मीहरुको सहभागिता रहेको भेलालाई नेकपाका केन्द्रीय सदस्य भेषराज भुसालले सम्बोधन गर्नुभयो । भेलामा कपिलवस्तु पार्टी इन्चार्ज संगम, सेक्रेटरी सुनिल, सल्लाहकार, सहिद परिवार लगायतको उपस्थिति रहेको थियो । त्यस लगत्तै हल्लानगरस्थित बाल शिक्षा माविको प्राङ्गणमा भएको विशाल जनसांस्कृतिक कार्यक्रमले जनतामा नयाँ आशा, उत्साह र विश्वास जगाएको छ । महान जनयुद्धको क्रममा हल्लानगरवासी जनताको योगदान अविस्मरणीय रह्यो र त्यो विरासत अहिले पनि कायम रहेको छ । हजारौं जनताको उपस्थिति रहेको कार्यक्रमले पार्टीपंक्ति, कलाकर्मी र संस्कृतिकर्मीमा पनि नयाँ थप उत्साह पैदा गरेको छ ।

हामीले अभियानको क्रममा जनताको प्रतिरोधी चेतना र क्षमतामा उल्लेख्य विकास भएको पायौं । एकीकृत जनजागरण अभियानबाट दलाल सत्ता र तिनका मतियारहरू नराम्ररी अत्तालिएका छन् । परिणामतः सत्ताले सयौं नेता–कार्यकर्ता, समर्थकलाई अन्धाधुन्ध पक्रने, यातना दिने, वेपत्ता पार्ने, झुठा मुद्दा लगाउने काम तीब्र रुपमा गरिरहेको छ ।

हामीलाई विश्वास छ, राज्यसत्ताले जस्तोसुकै दमनका हवनकुण्डहरु मच्चाए पनि हामी जनताका महान सपनाहरु पुरा गरेरै छाड्नेछौं र शोषण, उत्पीडन, असमानता बिनाको वर्गविहिन स्वर्णीम संसार स्थापित भएरै छाड्नेछ । हामीले गीत संगीतका माध्यमद्धारा शोषण, ठग र लुटको पर्खालमा टिकेको प्रतिक्रियावादी संसदीय सत्ताका विरुद्ध फेरि एकसाथ मुठ्ठि उचालेर समवेत स्वरमा विद्रोह, वीरता र क्रान्तिका पक्षमा उभिन आब्हान गरेका छौं ।

हामी देशको मुक्ति र स्वतन्त्रताको स्वर्णीम सपनाहरु पुरा गर्ने अभियानमा लामबद्ध छौं । प्रतिक्रान्तिको भग्नावेशमा उभिएर क्रान्तिको नयाँ शिखरमा पुग्न जस्तोसुकै आँधी र तुफानसंग पनि लड्न तयार भएर संघर्षको नयाँ मोर्चामा सामेल भएका छौं । वर्गवैरीका अनेक अवरोध, हस्तक्षेप र धरपकडहरुलाई चिर्दै अभियानमा हजारौं जनता सहभागी भएका छन् ।

देशमा केही मुट्ठिभर शासकहरुका लागी मात्र गणतन्त्र आएको छ । लाखौं गरिब, मजदुर, किसान, ज्यामीहरुले कहरको जीन्दगी बाँच्न बाध्य छन् । रोग, भोक, गरिबी र अशान्तिको पीडा खेप्न बाध्य छन् । तैपनि यतिखेर जनतामा क्रान्ति र मुक्तिको तृष्णा अझै मरेको छैन । क्रान्ति, परिवर्तन, न्याय र समानताका पक्षमा जनताका इच्छा ज्यूँदै छन् ।

राज्यसत्ताले मच्चाएको फासीवाद विरुद्ध प्रतिरोधी आन्दोलनलाई अझ शसक्त बढाउदै देशको मुक्ति र स्वतन्त्रताका गीत हामीले निर्भयपूर्वक मुक्तकण्ठले गाउनुपर्दछ र जनताको हृदयमा उठेको पीडा र ब्यथालाई क्रान्तिको पक्षमा बदल्नुपर्दछ । यही उद्देश्यका साथ देशैभर प्रतिरोधी अभियान चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार