११ फेब्रुअरी २०१७ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा द योङ कार्ल माक्र्स चलचित्र प्रदर्शन गरिएको थियो । त्यसपछि २२ वटा देशको दर्जनौं सहरहरूमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो तर जब ५ मे २०१८ मा चीनमा प्रदर्शन गरियो अनि यसले विश्वव्यापी चर्चा पायो । यसरी चर्चा पाउनका दुईवटा कारणहरू थिए ।

पहिलो, चिनियाँ राष्ट्रपति सी जिङ पिङ आफैँले यो चलचित्र हेरेका थिए । अर्को उनीहले सबै नेता–कार्यकर्तालाई हेर्न भनेका थिए । माक्र्सको दोस्रो शतवार्षिकीका अवसरमा उक्त चलचित्र चीनमा प्रदर्शन गरिएको थियो । त्यसैले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बडो जोड्तोडका साथ प्रचार पनि गरेका थिए ।

कथावस्तु यस्तो छ

चलचित्र पहिलो औद्योगिक क्रान्तिले माक्र्सवादी विचारमा एउटा श्रमिकवर्ग औद्योगिक दास ‘सर्वहारावर्ग’ जन्माएको दृश्यबाट सुरु हुन्छ । सन् १८४३ मा जर्मनका जंगलमा ‘अवाञ्छित वस्तु’ गरिबहरूले दाउरा संकलन गरेको भनी उनीमाथि नरसंहार मचाएको दृष्टान्त दृश्य देखाइएको छ । २५ वर्षका माक्र्सले राइनल्यान्ड समाचारपत्रमा एउटा उत्तेजक लेख लेख्छन्, “भ्यान स्क्वेजरमा सामन्ती सरकारका बारेमा ।” त्यही लेखका बारेमा माक्र्ससहितका केही मान्छेहरू छलफल भइराखेका हुन्छन् । त्यही स्थानबाट जासुसहरूको सुराकीका आधारमा स्टिनर र माक्र्सलाई पुलिसले गिरफ्तार गरेर लैजान्छ ।

दृश्य परिवर्तन हुन्छ । म्यानचेस्टरको एउटा कपडा मील देखाइन्छ । त्यो एक जना धनी व्यापारी एंगेल्सको हुन्छ । कपडाका लुमहरूमा त्यहाँका महिला मजदुरहरूले काम गरिराखेका हुन्छन् । त्यसै समयमा उद्योगका मालिक फ्रेडरिक एसआर र उनका कान्छा छोरा फ्रेडरिक एंगेल्सको प्रवेश हुन्छ । त्यहाँ मजदुरहरूसँग विवाद हुन्छ । मजदुरहरूले काम गर्ने क्रममा मसिनको एउटा पार्ट बिग्रिएको हुन्छ । बाबु फ्रेडरिकले त्यहाँ मजदुरहरूलाई जम्मा गरेर मजदुरको जीवनभन्दा मसिनको पार्टको मूल्य बढी भएको भन्छन् । त्यही क्रममा उनीसँग प्रतिवाद गरेकी मेरी बन्र्सलाई कामबाट निकालिन्छिन् । उनको साथ दिएर एक जना अर्की महिलाले पनि थुइक्क भन्दै काम छाडिदिन्छिन् । त्यो दृश्यले एंगेल्सलाई निकै छुन्छ र उनी तिनै कामदारको खोजीमा पुग्छन् । उनी एउटा अँध्यारो कोठमा पुग्छन् जहाँ थुप्रै मजदुरहरू कोचिएर बसी कुरा गरिराखेका हुन्छन् । तिनीहरूले फ्रेडरिकलाई देखेपछि मजदुरहरू मालिकको छोरा भनी आक्रोशित भएर उनलाई पिट्दछन् ।

माक्र्स, जेनी माक्र्स, उनीहरूकी छोरी र सहयोगी लिन्चनलाई देखाउँछ । कार्ल माक्र्स र जेनी प्रुँधोको भाषण सुन्न जान्छन् । भाषण सकिएपछि माक्र्स, जेनी र प्रुँधोका बीचमा कुराकानी हुन्छ । त्यहाँ उनीहरूको मिखाइल अलेक्जान्ड्रेविच बाकुनिनसँग परिचय हुन्छ । प्रुँधोले एउटा पार्टी आयोजना गरेका हुन्छन् । त्यहाँ धनी, गरिब, पुँजी, लुट, शोषणका बारेमा बहस हुन्छ । त्यहाँ नै पहिलो पटक फ्रेडरिकसँग माक्र्सको भेट हुन्छ । त्यो पार्टीबाट माक्र्स र एंगेल्स निस्कँदै गर्दा पुलिससँग जम्काभेट हुन्छ । उनीहरू पुलिसलाई झुक्याएर भाग्न सफल हुन्छन् । भाग्दै गर्दा उनीहरू एउटा रेस्टुरेन्टमा पुग्छन् र त्यहाँ बसेर रक्सी खाँदै वैचारिक छलफल गर्छन् । उनीहरू त्यहाँबाट माक्र्सको कोठामा पुग्छन् । त्यहाँ फ्रेडरिकको जेनीसँग पहिलो भेट हुन्छ ।

एक दिन माक्र्सले एक जना मजदुरलाई मालिकले छुरा रोपेर मारेको सपना देख्दछन् । उनी आत्तिएर ब्युँझन्छन् । माक्र्सले एउटा मजदुर भेलालाई सम्बोधन गर्छन् । माक्र्स र जेनी कोठामा सुतिरहेको बेलामा पुलिसले घेर्छ । उनीहरूको पासपोर्ट लिएर जान्छ र साथै, २४ घन्टाभित्र देश छाड्न आदेश दिन्छ । अब के गर्ने होला भनी दुई जनाले विचार गर्छन् । यता फ्रेडरिक कपडा कारखानामा काम गरिराखेका हुन्छन् । त्यही क्रममा उनका बाबु आइपुग्छन् । त्यहाँ दुई बाबुछोराको भनाभन हुन्छ । त्यहाँबाट निस्किएर एंगेल्स मजदुरहरूको वस्तीमा पुग्छन्, जहाँ मेरी हुन्छिन् । बाटोमा एउटा सानो केटाले सिगार खाने पाइप बेचिराखेको हुन्छ । त्यो केटा ८ वर्ष जतिको हुन्छ । ऊ पनि मेरीसँग बस्ने हुन्छ । मेरी र फ्रेडरिकका बीचमा पे्रम हुन्छ ।

माक्र्सको आर्थिक अवस्था असाध्यै कमजोर हुन्छ । त्यसैले उनले जागिरका लागि निवेदन दिएका हुन्छन् तर राजनीतिमा लागेको भन्दै उनले जागिर पाउँदैनन् । त्यस्तै अभावकै अवस्थाका माक्र्स र जेनीको अर्की छोरी जन्मिन्छिन् । तिनीको नाम माक्र्सले लाउरा राख्छन् । माक्र्स लेख्नमा व्यस्त भइराखेका बेलामा घरभेटी आएर भाडा माग्छन् । भाडा दिने भए देऊ नत्र निस्क भन्दछन् । उनीहरूसँग पैसा हुँदैन । पछि फ्रेडरिकले पैसा पठाइदिन्छन् । फ्रेडरिकले पठाइदिएको पैसाले माक्र्स, जेनी र लिन्चेन मिलेर मीठो खाना खाँदै कुरा गर्दछन् । कम्युनिस्ट लिगको सम्मेलनको आयोजना गरिएको हुन्छ । त्यसमा फ्रेडरिकलाई प्रतिनिधिका रूपमा बोलाइएको हुन्छ । जेनीले माक्र्सलाई पनि जान भन्छिन् । माक्र्स जान नमानिरहेका बखत जेनीले मूर्ख तिम्रो लागि यो ठूलो अवसर हो भन्छिन् र जानका लागि जिद्दी नै गर्दछिन् । त्यसपछि माक्र्स जान राजी हुन्छन् । यसैबीचमा माक्र्स, फ्रेडरिक र उनकी प्रेमिका जसलाई उनले श्रीमती भनी परिचय गराएका हुन्छन्, को भेट हुन्छ । त्यहाँ प्रुँधोले उनको भर्खरै प्रकाशित र चर्चित पुस्तक दरिद्रको दर्शन दिन्छन् । माक्र्स र एंगेल्स मिलेर त्यो पुस्तकको खण्डन तयार पार्छन्, पुस्तककै रूपमा—दर्शनको दरिद्रता । त्यसले निकै हलचल मच्चाउँछ ।

पानी परिरहेको हुन्छ । माक्र्स र फ्रेडरिक लिगको सम्मेलनमा पुग्छन् । त्यहाँ पुगेपछि फ्रेडरिकलाई प्रतिनिधिका रूपमा अस्वीकार गरिन्छ । प्रतिनिधि स्वीकार नगरेपछि आफ्नो प्रतिनिधित्वका लागि फ्रेडरिकले भोटिङको माग गर्दछन् । भोटिङ हुँदा उनले बहुमत ल्याउँछन् र बोल्न दिइन्छ । फ्रेडरिकले आफ्ना विचारहरू राख्छन् । उनको मुख्य विषय बुर्जुवा र सर्वहारावर्गका बारेमा हुन्छ । उनका भनाइलाई धेरैले सहमति जनाउँछन् । केहीले विरोध गर्दछन् । बुर्जुवाहरूसँग कसरी लडेर मुक्त हुने कस्तो व्यवस्थामा सर्वहाराको मुक्ति हुन्छ भन्ने पनि कुरा राख्दछन् । बोल्दै गर्दा फ्रेडरिकले जर्ज सेन्डको ‘संघर्ष गर या मर’ भन्ने चर्चित भनाइ राख्दछन् । उनले पूर्ण स्वतन्त्रता केवल साम्यवादमा हुन्छ र त्यसको परिकल्पना माक्र्सले गरेका छन् भन्छन् । त्यहाँ नारा लाग्छ । ‘सबै मान्छे दाजुभाइ’ लेखिएको ब्यानर हटाइन्छ र संसारका मजदुरहरू एक होऔँ भन्ने ब्यानर टाँसिन्छ ।

माक्र्स, जेनी, फ्रेडरिक र मेरी ओस्टन्डे जानुवरमा पुग्छन् । समुद्रको किनारमा एकातिर जेनी र मेरीहरू पारिवारिक कुरा गर्दछन् । अर्कोतिर माक्र्स र फ्रेडरिक भविष्यका बारेमा कुरा गर्छन् । फ्रेडरिकले माक्र्सलाई कम्युनिस्ट लिगको कार्यक्रम तयार पार्न भन्दछन् तर माक्र्स आफू थाकेको, परिवारमा आर्थिक समस्या भएको आदि आदि कुरा राख्दछन् । फ्रेडरिकले युरोपमा भएको मजदुरमाथिको शोषण, उनीहरूमा आएको जागरणका बारेमा लामो व्याख्या गरेर कार्यक्रम लेख्न मनाउँछन् । अन्तमा माक्र्स र फ्रेडरिकले जेनीको पनि सहयोग र सल्लाहमा कम्युनिस्ट घोषणापत्र तयार हुन्छ र चलचित्र सकिन्छ ।

माक्र्सको शतवार्षिकीको अवसरमा निर्माण गरिएको उक्त चलचित्रमा सन् १८४३ देखि १८४८ सम्मको ५ वर्षको अवधिलाई समेटिएको छ । हैटीका चलचित्र निर्माता राउल पेकले निर्माण गरेको जर्मनी, फ्रेन्च र अंग्रेजी भाषा प्रयोग गरिएको, राउल पेकको निर्देशन र पास्कल बोनिजर र राउल पेकको लेखन रहेको उक्त चलचित्रमा माक्र्सका रूपमा अगस्त डेइल, जेनीको चरित्रमा विकी क्रिप्स, मेरी बम्सको चरित्रमा हनाह स्टिल, फ्रेडरिक एंगेल्सको भूमिकामा स्टेफिन कोनार्कस र जोसेफ प्रुँधोको चरित्रमा ओलभर गौरमेटले अभिनय गरेका छन् । त्यसै गरी मोसेस बर्नसको भूमिकामा रोल्फ क्यानिस, कार्ल ग्रुनको भूमिकामा नियस ब्रुनो स्क्मिडट र विल्हेल्म वेइटिलङको भूमिकामा अलेक्जेन्डर स्कीयर रहेका छन् । त्यसैगरी कोल्जा ब्रान्डको सिनेमाटो ग्राफी, फ्रेडेरिक ब्रुसको सम्पादन र अलेक्सेइ अइजीको कम्पोजिसनमा तयार भएको । १ सय १८ मिनेटको उक्त चलचित्रको ग्लेम केनीले समीक्षा गरेका छन् । त्यसैले यो चलचित्र हेरेर माक्र्स र एंगेल्सका बारेमा धेरै कुरा जान्न सकिँदैन । केवल ५ वर्षको मात्र अवधिको कथावस्तु भएकाले अपूरो अपूरो लाग्छ ।

तर पनि, यस चलचित्रमा ५ वर्षको दौरानमा केवल ३० वर्षको उमेरमा माक्र्स र उनका अनन्य मित्र एवं कमरेड एंगेल्सले संयुक्त रूपमा समाज विज्ञानमा गरेको आविष्कारको परिवेश, उनीहरूले गरेको वर्गसंघर्ष, अन्तर्संघर्ष र वैज्ञानिक प्रयोगलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ । भर्खरका युवाहरूले दर्शनको क्षेत्रमा स्थापित जर्मनीलगायतका घगडान दार्शनिक, बेलायतका अर्थशास्त्रीहरूका गलत सिद्धान्त र दृष्टिकोणका विरुद्ध व्यवस्थित र वैज्ञानिक रूपमा तथ्यपरक रूपले गरेको खण्डन मण्डन र नयाँ आविष्कारलाई यहाँ देखाइएको छ । कम्युनिस्ट लिगको सम्मेलनमा प्रतिनिधि चुनिएपछि फ्रेडरिकले दिएको भाषणले यसलाई पुष्टि गर्दछ ।
… र लामो समयसम्मको वर्गहरूको अस्तित्व, अन्तमा समाज विज्ञानको एक शब्द जहिले पनि, जर्ज सेन्डले भने जस्तै, संघर्ष गर या मर ।
रक्तपात पूर्ण लडाइँ …
वा अस्तित्वहीन हुने
जो संघर्ष स्वीकार्दैन उभिएर कुरा गरे हुन्छ ।
औद्योगिक क्रान्तिले आज आधुनिक दास जन्माएको छ ।
यो दास हो सर्वहारावर्ग
यसैले सम्पूर्ण मानवलाई मुक्त गर्दछ ।
र यो मुक्तिको नाम हुन्छ
साम्यवाद
त्यसैले म ती उद्देश्यहरू जसले हामीलाई भ्रम छरेका र कमजोर थिए, तोड्नका लागि प्रस्ताव राख्दछु ।
यहाँ हाम्रो उद्देश्य रहेको छ
संसारका कामदारहरू एक होऔँ
म यो लिगलाई अबदेखि कम्युनिस्ट लिग भन्न अनुरोध गर्दछु ।
एंगेल्सको यो भाषणलाई चलचित्रमा सशक्त रूपमा प्रस्तुत गरिएको छ । यसले विश्व कम्युनिस्ट आन्दोलनको सूत्रपातलाई अभिव्यक्त गर्दछ ।

माक्र्स र एंगेल्सको मित्रतालाई यस चलचित्रमा कमरेडेली देखाइएको छ । उनीहरूका बीचमा अन्य कुनै सम्बन्धभन्दा पनि सर्वहारावर्गको पूर्ण मुक्तिका लागि खोज, अनुसन्धान र प्रयोगका लागि संघर्ष र आविष्कारमा गरिएको सहकार्य, संघर्ष र रूपान्तरण देखाइएको छ । कम्युनिस्ट घोषणापत्र तयार गर्नुभन्दा पहिला समुद्रको किनारमा उनीहरूका बीचको बहस उत्कृष्ट रहेको छ । त्यसैगरी, माक्र्स र जेनीको सम्बन्ध र प्रेम केवल शारीरिक आकर्षण, यौन चाहना पूरा गर्ने मात्र नभएर सिंगो वर्गीय मुक्तिसँग बेजोड रूपमा जोडेको छ । त्यसैगरी, कहिल्यै वैवाहिक सम्बन्ध कायम नगरेका तर सहवास गरेका मेरी एक जना मजदुर महिला र एंगेल्सको सम्बन्धलाई पनि तत्कालीन युरोपियाली संस्कृतिका आधारमा देखाएको छ ।

चलचित्रको अर्को पक्ष भनेको यो माक्र्सवादी सौन्दर्य चेतनाबाट निर्माण गरिएको होइन तर पनि वर्गीय मुक्ति, वर्गविभेद, त्यसका कारणहरूलाई सिलसिलेवार प्रस्तुत गरिएको छ । मान्छेसँग कति ऊर्जा हुन्छ र त्यसमा पनि युवाको ऊर्जालाई कसरी मानवमुक्ति मुख्य रूपमा वर्गीय मुक्तिका कतिसम्म प्रयोग गर्न सकिन्छ भन्ने कुरालाई देखाइएको छ । व्यक्तिगत जीवनमा आएका जटिल समस्याहरू, जस्तो कि छाक कसरी टार्ने, परिवारको भरण–पोषण कसरी गर्नेजस्ता दैनिक जटिलताका बाबजुद एउटा परिवार साम्यवादको सपना पूरा गर्न के के गर्न सक्छ भन्ने कुरालाई यसमा देखाइएको छ । त्यसैले अहिलेका युवाहरूले यो चलचित्र अति आवश्यक छ ।

तर पनि। यो चलचित्रले माक्र्स र एंगेल्सहरूलाई न्याय गर्न सकेको छैन । यस चलचित्रमा प्रस्तुत गरिएको विषयवस्तुमा त्यही ५ वर्षको मुख्य घटनालाई पनि सबै राखिएको छैन । जस्तै सन् १८४४ माक्र्सले पहिलो पटक माक्र्सवादका आधारमा किताब प्रकाशित भएको थियो । कार्ल माक्र्सको जीवनमा त्यो असाध्यै महत्वपूर्ण परिघटना थियो । यति हुँदाहुँदै पनि यो चलचित्र राम्रो बनेको छ ।

यसले युवाहरूलाई प्रोत्साहित र उत्साहित त बनाउँछ नै, साथै माक्र्सवादको आविष्कार कसरी भएको थियो भन्ने जान्न र बुझ्नलाई निकै सहयोग गर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार