गएको अप्रिल १९ मा क्युवाका तात्कालीन प्रथम उपराष्ट्रपति मिगुएल डायज–कानल क्युवाका नयाँ राष्ट्रपति पदमा चुनिनुभयो । राष्ट्रपति पदमा डायज–कानल निर्वँचित हुनु क्युवामा नयाँ युगको शुरुवात हुनेछ । साथै क्युवा र चीनबीचको सम्बन्धमा पनि नवीन शुरुवात हुनेछ । हालै मात्र बेइजिङ रिभ्युका संवाददाता रेबेका तोलेदोले चीनका लागि क्युवाली राजदुत मिगुएल एन्जल रामारेज रामोससँग पछिल्लो नेतृत्व परिवर्तन र चीनसँगको द्विपक्षीय सम्बन्धको बद्लिंदो भविष्यबारे कुराकानी गर्नुभएको थियो ।

बेइजिङ रिभ्युः चीन र क्युवाबीचको भातृत्वपूर्ण सम्बन्ध स्थापना भएको झण्डै ६० वर्ष भइसकेको छ । दुई समाजवादी देशहरुबीचको मित्रतालाई तपाई कसरी चर्चा गर्नुहुन्छ ?

रामारेजः दुई देशबीचको सम्बन्ध सन् १९६० मा शुरु भयो । त्यत्तिबेला विश्वमा शीतयुद्धको अवस्था थियो । वास्तवमा दुई देशबीचको सम्बन्ध स्थापना राजनीतिक इच्छाशक्तिबाट निर्देशित कदम थियो । सन् १९४९ मा स्थापना भएको जनवादी गणतन्त्र चीनलाई मान्यता दिने इच्छाबाट त्यत्तिबेला दुई देशबीच सम्बन्ध जोडिएको थियो । त्यसयता दुवै देशबीच राजनीतिक र अर्थतन्त्रका सबै क्षेत्रहरुमा सम्बन्ध बिस्तार भएको छ । त्यस्ता सबै सम्बन्ध दुवै देशमा कम्युनिष्ट पार्टीहरुको निर्देशित आ–आफ्नो विशेषताको समाजवादी बन्दोबस्त भएको सत्यमा आधारित छ ।
यो सम्बन्धको बलियो ऐतिहासिक आधार पनि छ । आजभन्दा एक सय सत्तरी वर्ष पहिले १ लाख ५० हजार चिनियाँ मजदुरहरु क्युवा पुगेका थिए । हवानामा क्युवाली स्वाधीनता सङ्घर्षमा लडेका चिनियाँहरुको स्मृतिमा बनाइएको स्मारक छ । त्यो स्मारकले चिनियाँ–क्युवालीहरु कसैले पनि सङ्घर्षमा धोखा नदिएको प्रष्ट बनाउँछ ।

क्युवाली संस्कृति र पहिचान धेरैतिरका प्रभाव मिलेर बनेको परिकार जस्तै हो । क्युवाली संस्कृतिमा चिनियाँ अप्रवासीहरुले पनि आफ्नै मौलिक सांस्कृतिक पक्ष मिसाएका छन् । उदाहरणको लागि सान्टियागो डि क्युवामा एउटा पर्व छ, जुन पर्व चिनियाँ दमाहा बजाएर मात्र शुरु हुने गरेको छ । साथै हाम्रो क्युवाली खानामा चिनियाँ परिकार पनि मिसेका छन् ।

चीन भनेको केही त्यस्तो कुरा हो जो हामीभित्रै छ । हाम्रो सम्बन्ध भनेको बाहिरी मात्र होइन । हामी चीनलाई क्युवाकै एउटा हिस्साको रुपमा हेर्ने गर्दछौं । दुई देशबीचको सम्बन्धका धेरै आयाम छन् जसलाई हामीले निरन्तरता दिइरहनुका साथै सिंच्ने र अझ व्यवस्थित रुपमा विकास गर्ने गरिरहेका छौं । भविष्यमा त्यसको धेरै थरी महत्व हुनेछ ।

बेइजिङ रिभ्युः चीनले प्रस्ताव गरेको क्षेत्र र बाटो कार्यक्रममा क्युवाले पनि चासो देखाएको छ । यो विश्वव्यापी परियोजनामा क्युवाले कस्तो भूमिका निभाउन सक्छ ?

रामारेसः क्युवा बितेका तीन सय वर्षअघि देखि नै वास्तवमा सामुद्रिक रेशम मार्गको हिस्सा बन्दै आएको छ । साह«ौं शताब्दीमा चिनियाँ पानीजहाज फुचियानबाट सामान बोकेर फिलिपिन्स हुँदै मेक्सिकोतिर गएको थियो । खच्चरबाट मेक्सिको शहर पार गरेर चिनियाँ व्यापारीहरु युकातानबाट क्युवा जहाजमा पुगेका थिए । उनीहरु अन्तमा स्पेनमा पुगेका थिए । ल्याटिन अमेरिकामा त्यो पहिलो सामुद्रिक रेशम मार्ग थियो ।

आज क्युवाले बाटो र क्षेत्र कार्यक्रमप्रति निकै चासो राखेको छ । यो वर्ष सन् २०१८ को जनवरीमा चीन–सिलाक(ल्याटिन अमेरिकी तथा क्यारिबियाली देशहरुको संगठन) मञ्चको बैठक चिलीमा भयो । बैठकमा सो क्षेत्रमा बाटो र क्षेत्र कार्यक्रमलाई कार्यान्वयनमा अघि बढाउने विषयमा सहमति भएको थियो । चीनले क्युवालाई द्विपक्षीय सम्बन्ध बिस्तारको कोणबाट मात्र हेर्नु हुन्न बरु अरु बजारमा चिनियाँ पहुँचको माध्यमको रुपमा पनि हेर्नुपर्दछ । बाटो र क्षेत्रलाई हामी नयाँ किसिमको विश्वव्यापिकरणको रुपमा हेर्ने गर्दछौं । तर त्यो विश्वव्यापिकरण संरा अमेरिकाको नवउदारवादी विश्वव्यापिकरण होइन । त्यो आपसी हितमा आधारित विश्वव्यापिकरण हो । त्यसको आधार भनेको सम्बन्ध र सञ्चार नै हुन् । त्यसअन्तर्गत विद्युत्तीय, सूचना सञ्चार, रेल र सामुद्रिक सम्बन्ध पनि पर्दछन् । धेरै क्यारिबियाली देशहरुमा सम्बन्ध र सञ्चारको समस्या छन् । क्युवा यो क्षेत्रमा यसको लागि सहजकर्ताको भूमिका खेल्न चाहन्छ ।

ल्याटिन अमेरिकामा अनुसन्धान र आफ्नो विशेषताको परिभाषा गर्ने कामलाई जोडका साथ अघि बढाइएको छ । त्यसअन्तर्गत बोलिभिया हुँदै एटलान्टिक महासागरसम्म र पानामादेखि मेक्सिकोसम्म रेलमार्ग विकास पनि पर्दछ । चीनले इन्टरनेटमा पनि विकास गरिरहेको छ । ह्वावेले आजभोलि ५जीको अनुसन्धान गरिरहेको छ । हाम्रो क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि त्यसले ठूलो योगदान पु¥याउन सक्दछ ।

बेइजिङ रिभ्युः ल्याटिन अमेरिकामा चीनको व्यापार पछिल्ला दशकहरुमा बढेको छ । हालसाल चीनको लगानी पनि सो क्षेत्रमा वृद्धि भएको छ । ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रमा सहकार्यका अरु सम्भावना कति देख्नुभएको छ ?

रामारेस ः सन् २०१६ मा हाम्रो द्विपक्षीय व्यापार २ अर्ब ५० करोड अमेरिकी डलर नाघ्यो । चीन क्युवाको एक नम्बरको व्यापार साझेदार हो । आज क्युवाली अर्थतन्त्रको सबैजसो क्षेत्रमा चिनियाँ उपस्थिति छ । मेसिनरी, यातायात, उर्जा र कृषि आदि क्षेत्रमा बलियो चिनियाँ उपस्थिति छ ।

क्युवामा चिनियाँ लगानी बढेको छ । तर त्यो लगानी हामी चाहे जति पनि भएको छैन न त हामीसँग भएको क्षमता बराबर नै पुगिसकेको छ । हालै मात्र हामीले एउटा कम्पनीसँग आवास निर्माण र पर्यटनसँग सम्बन्धित कुल ५० करोड अमेरिकी डलरबराबरको सम्झौता गरेका छौं । साथै हामीले बट्टाको तयारी खानाको लागि मारियल कम्पनीसँग सम्झौताको नजिक पुगेका छौं ।

ल्याटिन अमेरिकाको सन्दर्भमा चीन र ल्याटिन अमेरिकाबीचको व्यापार सन् २०१७ मा २ खर्ब ६० अर्ब अमेरिकी डलर नाघेको छ । ल्याटिन अमेरिकाका अधिकांश देशहरुका लागि चीन आज पहिलो वा दोस्रो व्यापार साझेदार बनेको छ । चिनियाँ लगानी बढिरहेको छ । चीनले आयात गर्ने खनिज र कृषि क्षेत्रमा तथा चीनले निर्यात गर्ने प्रविधि र मेसिनरी क्षेत्रमा चिनियाँ लगानी बढिरहेको छ ।

बेइजिङ रिभ्युः गएको अप्रिल १९ क्युवामा चुनाव भयो । क्युवाको चुनावमा जनसहभागिताबारे केही भन्नुहुन्छ कि ? राष्ट्रिय सभाको लागि उम्मेदवारको छनौट कसरी हुने गरेको छ ?

रामारेस ः क्युवाको चुनावी प्रणाली निकै प्रजातान्त्रिक छ । चुनावमा व्यापक जनसहभागिता हुने गरेको छ । चुनावी प्रणाली पिरामिड शैलीको छ । प्रजातान्त्रिक प्रक्रिया निर्वाचन क्षेत्रको तल्लो आधारबाट शुरु हुने गर्दछ । कोही पनि उम्मेदवारलाई कुनै राजनीतिक दलको आधारमा पहिचान गरिंदैन । क्युवाको चुनावी प्रणाली संरा अमेरिकी चुनावी प्रणालीभन्दा फरक छ । संरा अमेरिकामा त अर्बपति र खर्बपतिहरुले राष्ट्रपति छान्ने गर्दछ । क्युवाली चुनावमा एक पैसा पनि खर्च हुने गर्दैन ।

क्युवाली कम्युनिष्ट पार्टी(पीसीसी)ले चुनावमा उम्मेदवारी दिने गर्दैन । कम्युनिष्ट पार्टीको भूमिका भनेको चुनावी प्रक्रिया सही तरिकाबाट होस् भन्ने मात्र हुने गर्दछ । कम्युनिष्ट पार्टीमा आबद्ध नभएको धेरै मानिसहरुले उम्मेदवारी दिने गर्दछन् । कम्युनिष्ट पार्टीमा आबद्ध नभएका धार्मिक नेताहरु पनि तल्लो आधारबाट चुनाव जितेर आएका छन् ।

प्रदेश र राष्ट्रिय चुनावको सन्दर्भमा कुरा गर्नुपर्दा, आधा सांसदहरु तल्लो आधारबाट प्रत्यक्ष र गोप्य मतदानबाट निर्वाचित भएर आउने गर्दछन् भने बाँकी आधा सांसदहरु जनसंगठनहरुबाट निर्वाचित गर्ने बन्दोबस्त छ । जनसत्ताको राष्ट्रिय सभाले ३१ जनाको राज्यपरिषद् निर्वाचित गर्ने गर्दछ । राज्यपरिषद्ले राष्ट्रिय सभाका अधिवेशनहरुबीचको अवधिमा आवश्यक निर्णय गर्ने जिम्मेवारी पाएको हुन्छ । राज्यपरिषद्को बैठक ६–६ महिनामा हुने गर्दछ । कार्यपालिका र व्यवस्थापिकाको सर्वोच्च अङ्ग भएकाले राष्ट्रिय सभाले कानुनहरु बनाउँछ । तर राष्ट्रिय सभाका अधिवेशन नभएको बेला राज्यपरिषद्ले अध्यादेशहरु जारी गर्दछ । तर त्यसरी जारी गरिएको अध्यादेश पछि राष्ट्रिय सभाको बैठकबाट अनुमोदन गर्नुपर्दछ । राष्ट्रपति पदको उम्मेदवार प्रथमतः राष्ट्रिय सभा सदस्य हुनुपर्दछ, त्यसपछि राज्यपरिषद्को लागि सांसदहरुले निर्वाचित गरेको हुनुपर्दछ ।

क्युवामा प्रजातन्त्रको कुरा हुँदा त्यहाँ एउटै मात्र राजनीतिक पार्टी भएको तथ्यलाई औंल्याउने गरिएको छ । तर हामीले यहाँ के बुझ्न जरुरी छ भने क्युवाली कम्युनिष्ट पार्टी कुनै चुनावी पार्टी होइन । क्युवाली कम्युनिष्ट पार्टी क्युवाली संविधानले समाजको निर्देशक र निर्माताको रुपमा व्याख्या गरिएको पार्टी हो । क्युवामा यो परम्पराको शुरुवात उन्नाइसौं शताब्दीबाट भएको थियो । त्यसताका जोसे मार्टीले जनताको एकता सुनिश्चित गर्न क्युवाली क्रान्तिकारी पार्टी निर्माण गरेका थिए ।

बेइजिङ रिभ्यु ः क्युवामा नवनिर्वाचित राष्ट्रपति मिगुएल डायन–कानल र भविष्यको लागि क्युवाली सोचमाथि केही प्रकाश पारिदिनुुहुन्छ कि ?

रामारोसः हालै सम्पन्न प्रक्रियाले ऐतिहासिक निरन्तरतासँग जोडिएर पुस्तान्तरणको शिलशिला पुरा गरेको छ । नयाँ राष्ट्रपति मिगुएल डायज–कानलले क्युवाली क्रान्तिका संस्थापक नेताहरुले अघि सारेका क्रान्तिका आधारभूत सिद्धान्त तोड्नुहुने छैन ।

सन् १८६८ को क्रान्तिका नेताहरुको बारे कुरा गर्ने क्रममा फिडेलले एक पटक भन्नुभएको थियो,‘त्यत्तिबेला हामी रहेको भए उनीहरुजस्तो बन्नुपथ्र्यो र उनीहरु आजको समयमा भएको भए हामी जस्तो हुनुपथ्र्यो ।’ यसको अर्थ कार्ल माक्र्सले भन्नुभएजस्तै मानिसहरु आफ्ना आमाबुवासँग भन्दा आफ्नो समयसँग मिलेका हुन्छन् । डायज–कानल आफ्नो समयका मानिस हुनुहुन्छ । यदि फिडेल वा राउल पनि आजको समय त्यो स्थानमा हुनुभएको भए आज डायजले जे गर्नुहुन्छ त्यही काम गर्नुहुन्थ्यो ।

मैले यो कुरा किन भन्दैछु भने कहिलेकाँही राउललाई मानिसहरुले सुधारवादी भन्दिछन् । यदि फिडेल सन् २००६ सम्म सक्रिय हुनुभएको भए अहिलेको सुधारको काम यही रुपमा त्यत्ति बेला भइसक्ने थियो । राउलले आर्थिक ढाँचालाई समयसुहाउँदो बनाएर ऐतिहासिक परिस्थितिलाई सम्बोधन गर्नुभयो र एक्काइसौं शताब्दीको आवश्यकता र जनताको मागको सुनुवाई गर्नुभयो ।

डायज–कानलको जन्म सन् १९६० मा भएको थियो । अर्थात् उहाँको जन्म सन् १९५९ को क्युवाली क्रान्तिपछि मात्र भएको थियो । उहाँ संरा अमेरिकी नाकाबन्दी झेलेका सन्तान हुनुहुन्छ । क्युवाको कुल जनसङ्ख्याको एक तिहाई मानिस नाकाबन्दीको समयमा जन्मेका छन् । नाकाबन्दीको लक्ष्य भनेको क्युवालाई अरु देशहरुसँग व्यापार गर्न नदिनु थियो । हाम्रो वित्तमा दुष्प्रभाव पार्नुथियो । नाकाबन्दीले क्युवाली नाकाबन्दीको प्रभाव २० खर्ब अमेरिकी डलर बराबरको पारिसकेको छ ।

आगामी दिनमा हामी समय सुहाउँदो परिवर्तन गर्दैजानेछौं र नयाँ आर्थिक र सामाजिक ढाँचाको विकास गर्दै अघि बढ्नेछौं । हामी कति तीब्र गतिमा त्यस्तो विकास गर्छौं भन्ने कुरा हामी त्यसको लागि कति सक्रिय हुनेछौं भन्नेमा भर पर्नेछ । साथै नाकाबन्दीको अवरोधमा पनि निर्भर रहनेछ ।

हामी प्रजातान्त्रिक, समृद्ध र दिगो समाजवाद निर्माणलाई चालु राख्नेछौं । उत्पादनका मुख्य मुख्य साधनहरु राज्यको नियन्त्रणमै रहनेछन् । साथै सम्पत्ति र सम्पत्ति व्यवस्थापनका नयाँ नयाँ रुपको पनि विकास गर्दै जानेछौं । राज्यको नियन्त्रणमा राखेर प्रभावकारी तरिकाले काम गर्न नसकेका होटल वा रेष्टुराँहरुलाई व्यक्ति वा सहकारीलाई भाडामा दिइनेछ । यसले एकातिर ती होटल र रेस्टुराँ पनि प्रभावकारी तरिकाले काम गर्नेछन् भने अर्कोतिर राज्यको आय पनि बढ्नेछ । तिनीहरुको मालिक भने राज्य नै रहनेछ ।

खाजा घर वा कपाल काट्ने पसल जस्ता स–साना सम्पत्ति व्यक्तिलाई दिन सकिनेछ । कृषि क्षेत्रका विगत धेरै वर्षदेखि झण्डै ७५ प्रतिशत हिस्सा निजी क्षेत्रको स्वामित्वमा स्थापित छ । किसानहरु मिलेर स्थापना गरेका कृषि सहकारीहरुले त्यो क्षेत्रको जिम्मा लिएको छ । त्यसलाई निरन्तरता दिनेछौं ।

जनताको जीवन उकास्न हामी प्रतिबद्ध रहनेछौं, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र समृद्धि सुनिश्चित गरिरहनेछौं । शिक्षा र स्वास्थ्यलाई अझ प्रभावकारी बनाउनेछौं तर त्यसलाई अहिले जस्तै निःशुल्क नै रहन दिनेछौं । चीन र क्युवाको द्विपक्षीय सम्बन्धको ऐतिहासिक घडीमा छौं भन्ने हामीलाई लाग्छ । पछिल्ला वर्षहरुमा दुवै पक्षबीच उच्चस्तरको भ्रमण भइरहेका छन् । त्यस्ता भ्रमणले उच्च स्तरमा राजनीतिक संवादहरु भइरहेको देखाएको छ ।

राष्ट्रपति सीले डायज–कानलले पठाउनुभएको शुभकामना सन्देश क्युवामा प्राप्त पहिलो शुभकामना सन्देश हो । त्यो सन्देश नै सबभन्दा पहिले सार्वजनिक गरियो । त्यसमा आगामी युगमा पनि मैत्रीपूर्ण भावना तथा मित्रताको राजनीतिक प्रतिबद्धता पनि व्यक्त गरिएको छ । सीले भन्नुभएजस्तै क्युवा र चीन साथी, बन्धु र कमरेड रहिरहनेछन् ।

बेइजिङ रिभ्यु १० मे सन् २०१८ नीरजले गरेकाे अनुवाद।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार