सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले अाफ्नै  पार्टीले दलाल पुँजीवादीहरूकाे नेतृत्व गरेकाे बताएका छन् ।

पूर्व एमालेका उपमहासचिव समेत रहेका भुसालले पूर्व एमाले र माअाेवादी केन्द्र मिलेर बनेकाे पार्टी दलाल पुँजीवादीहरूकाे नेतृत्व गरेकाेमा बिडम्वना मान्नु पर्ने रहेकाेमा चिन्ता व्यक्त गरेका छन् ।

एक दैनिक पत्रिका नागरिकका लागि अन्तर्वार्ता दिदै भुसालले कम्युनिस्ट भन्नेहरूले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु कम्युनिस्ट सिद्धान्तकै विपरित भएकाे भन्दै उनीहरू कम्युनिस्ट हुनै नसक्ने बताए । भुसालसँगकाे कुराकानीकाे सानाे र सम्पादित अंश –

के दलाल पुँजीवादी र कम्युनिस्टको रेखा मेटिँदो छैन त यहाँ ?

दलाल पुँजीवादको नेतृत्व नै यहाँका हाम्रा पार्टीहरूले गरेको देखिन्छ । यही नै सबभन्दा ठूलो विरोधाभास हो । पार्टीका हरेक सदस्यको क्रियाकलाप समाजवादमुखी छ कि छैन ? कमाएर खान्छ कि खान्न, कर तिर्छ कि तिर्दैन ? तिरेको कर सरकारले निमुखाका पक्षमा खर्च गरेको छ कि छैन भनेर चासो दिन्छ कि दिन्न ? यतातिर सोच्नुपर्छ ।

अवस्था त बिब्ल्याँटो पो छ त …

म त भन्छु, शिक्षा र स्वास्थ्यमा निजी लगानी गर्नेहरू कम्युनिस्ट पार्टीको सदस्य नै बन्न नसक्ने प्रावधान हुनुपर्छ । सुरुमा केन्द्रीय कमिटी सदस्य अनि यसलाई प्रदेश कमिटीको सदस्यमा पनि लागू गर्न जरुरी छ । हाम्रो शिक्षा स्वास्थ्य कस्तो हुनुपर्छ भन्नेबारे पार्टीको तल्लो तल्लो कमिटीमा बहस–छलफल हुनुपर्ने हो । तर, स्थायी कमिटीमा समेत यसबारे छलफल हुन सकेको छैन । गोविन्द केसीजस्ताका धेरै कुरा यही विन्दुबाट समाधान हुन सक्थ्यो।

कम्युनिस्ट पार्टीमै बहस कुन चरीको नाउँ हो जस्तो भइसक्यो है?

बहस भइरहेको छ । म आफैँ माक्र्सवादको प्रचारप्रसारमा हिँडिरहेको छु । तर, सरोकारवालामा वहसप्रति विषेध भावना छ । यो म यो वा त्यो पार्टी मात्र भनिरहेको छैन । माथि पुगेपछि वैचारिक बहसलाई खतरापूर्ण देख्ने आमप्रवृत्ति नै हो।

कम्युनिस्ट पार्टीको एकल वर्चस्व हुँदा पनि हामी यति गतिहीन हुनु नपर्ने हो । पार्टी पंक्तिमा अहिले वैचारिक बहस भएन भन्ने कुरा तल तलसम्म हुँदै छ । आउने महाधिवेशनमा हामी विचारमा केन्द्रित हुँदैछौँ । पद र पैसाका पछि कुद्नु समाजवाद हैन । सबै कमरेड निजी दाम र नाम कमाउन कुद्ने हो भने समाजवाद कसले ल्याइदिन्छ ? पार्टीलाई सत्यानाश हुनबाट जोगाउन जरुरी छ।

यहाँहरूको नेतृत्व जन्मँदै, आफैँमा शोषक, जमिनदार होइन । वर्षाैं जेल बसेको, देश–दुनियाँ बुझेकै हो । तर, सत्तामा पुगेपछि वर्गीय पक्षधरता किन उल्टिन्छ ? किन कोही कम्युनिस्ट क्रमशः बरबाद हुन्छ?

यसलाई अलि बढी वैश्विक परिवेशमा हेर्नुपर्छ । मजदूरहरूले आन्दोलन गरे, आफैँ मालिक बन्न । किसान आफैँ जमिनदार बन्न पाइन्छ भनेर आन्दोलन गरे । उनीहरू समाजवाद ल्याउन लागेका थिएनन् । नयाँ युग ल्याउनका लागि लागेका थिएन । त्यसैले पीडित पछि पीडक बन्छ, ऊ समता र समाजवाद भन्दा ऐस आराममा निर्लिप्त भएको विश्व इतिहास छ । यहाँ पनि यसकै निरन्तरता देखिँदो छ । तर, म निराश भने छैन।

म कम्युनिस्ट हुँ, मेरो आचरण र व्यवहार अरुभन्दा अलिकति शुद्ध, अलिकति प्रगतिशील हुनुपर्छ भन्ने डर भनौँ न, अनुशासनमा स्खलन भइरहेको देख्नुहुन्छ?

हाम्रो पार्टीमा तीन थरी मान्छे छन् । पहिलो खालका मान्छेमा उही आदर्श, उही प्रतिबद्धता, उही इमानदारी, उही निष्ठा छ । यी दृश्यमा छैनन् । दबाइएका छन् । अर्काे खालकामा उनीहरूले कम्युनिस्ट बन्धन टुटाइसकेका छन् र अन्तै पुगिसकेका छन् । तिनको आदर्श, नैतिकता, मूल्य देखाउने दाँत मात्र हो । तिनको लवाइखवाइ, उठबस, घर जग्गाको संकलन, तिनको सम्बन्ध, पार्टीभित्रै र सरकारभित्रै पनि तिनको अचानकको उडान, कसरी उत्थान भयो भनेर हेर्नुभयो भने तिनको रहस्यमयी, तिलस्मी छ । पार्टी र सरकारमा तिनीहरूको भूमिका निरन्तर बढिरहेको छ । तेस्रो थरी छन्— हिजोका आदर्श छँदै छ, मूल्य सम्झेको पनि छ तर अर्काेतिर पार्टीमा बढेका नवधनाढ्यको चकचकी पनि देखिरहेको छ । ती अन्यमनस्क अवस्थामा छन् । ती तेस्रो खाले अन्यमनस्क पंक्ति नवधनाढ्यको पक्षमा लागे भने हामी सकियौँ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार