नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले अहिलेकाे दलाल सत्तालार्इ भत्काउन  क्रान्तिकारी युवा विद्यार्थीहरूलार्इ अपिल गरेका छन् ।

नेकपा निकट अखिल (क्रान्तिकारी)द्वारा आयोजित ५४औं विद्यार्थी दिवसको अवसरमा राजधानीमा आयोजित खुला विद्यार्थी सभालार्इ संवाेधन गर्दे नेता बुढाले यस्ताे बताएका हुन् ।

‘यो व्यवस्थाले निशुल्क दिनुपर्ने शिक्षालाई नागरिकलाई महंगोमा बिक्री गरिराखेको छ । शैक्षिक दलालहरुसँग मौलिक अधिकार शिक्षालाई सर्वसाधारणको हातबाट खोसेर एनजीओ र आईएनजीओलाई बुझाएको छ’ नेता सन्तोष भने ‘अहिलेको दलाल राज्यसत्ता नभत्काएसम्म जनताले निशुल्क शिक्षा प्राप्त गर्न सक्दैनन् । त्यसनिम्ति वैज्ञानिक समाजवादी राज्यसत्ता नै चाहिन्छ ।’

उनले उच्च तह, प्राविधिकलगायत सबैखाले शिक्षा निशुल्क गर्ने व्यवस्था वैज्ञानिक समाजवादमा हुने बताउँदै त्यसनिम्ति नेकपाले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न संघर्ष चलाइरहेको स्पष्ट पारे ।

चुनावबाट पनि शैक्षिक दलालहरुनै सरकारका मन्त्री बनेकाले यो सरकारबाट वैज्ञानिक र व्यवहारिक शिक्षाको अपेक्षा नागरिकले गर्नु बेकार हुने उनको भनाई छ ।

सभाका अध्यक्षता गरिरहेका अध्यक्ष चिरञ्जीवि ढकालले नागरिकको निशुल्क शिक्षाका लागि जस्तोसुकै तहका आन्दोलन गर्न अखिल क्रान्तिकारी हमेसा तयार रहेको बताए ।

केपी–प्रचण्डले नेतृत्व गरिरहेकाे दलाल संसदीय व्यवस्थाबाट नागरिकको शैक्षिक अधिकार प्राप्ति र यसका समस्याबाट मुक्त असम्भव रहेको भन्दै अखिल क्रान्तिकारीले वैज्ञानिक रुपमा शैक्षिक संघर्ष चलाइरहेको बताए ।

सभा राजधानीको लैनचौस्थित डीडीसी अगाडिको खेलमैदानमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार