नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य मणी थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणले पहाड र मधेसबीच विभाजन ल्याई दिएको बताएका छन् । उनले मोदीको भ्रमण नेपालको आवश्यकतामा नभएको समेत बताए ।

भ्रमण नेपालको हितमा भएको भन्दै मन्त्रिपरिषद् निष्कर्ष निकालेको भोलिपल्टै नेता थापाले भारतीय प्रधानमन्त्री मोदीले नेपालीको मनोविज्ञान विभाजित गरेर फिर्ता भएको बताए । उनले मोदीको भ्रमण अनुपयुक्त समयमा भएको समेत दाबी गरे ।

“मोदीको भ्रमण यो समयमा उपयुक्त थिएन । नेपालीको अावश्यकताले होइन भारतको आवश्यकताले भ्रमण भएको हो । मोदी नेपाली मनोविज्ञानमा विभाजन गरेर फर्के ।”  नेता थापाले भने ।

मोदीको भ्रमणसँगै नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकतामा चिसोपन बढेको भन्ने विश्लेषण भइरहेको बेला नेता थापाले त्यसलाई पुष्टि गरे । उनले मोदीको भ्रमणको क्रममा देखिएका दृश्यले एमालेसँग त्यसपनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिसोपन बढेको बताए ।

“भारतीय प्रधानमन्त्रीको भ्रमणको क्रममा देखिएका दृश्यले हामीलाई गम्भीर बनाएको छ । योसँगै दुबै पार्टीबीच चिसोपन बढेको साँचो हो” थापाले कुराकानीको क्रममा भने ।

“भारतको अावश्यकता भएको बेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भयो, यो भ्रमणले पहाड-मधेस र पार्टी–पार्टीबीच ठूलो विभाजन ल्याइदियो । यो गम्भीर विषय हो” थापाको तर्क छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार