सन् १९६८ पनि दक्षिण कोरियाले तत्कालीन उत्तर कोरियाली सर्वोच्च नेता तथा वर्तमान नेता किम जोङ उनका हजुरबा किम इल सुङको हत्याका लागि एक टोली गठन गरेको थियो। तर सो टोलीको योजना रक्तपातपूर्ण विद्रोह र समूहको सम्पूर्ण सदस्यको हत्यामा पुगेर तुहिएको थियो।

वर्षौँसम्म लुकाएर राखिएको यो घटनाको यथार्थ सन् २००६ मा एक आयोगले सार्वजनिक गरेको थियो।

जनवरी १९६८ मा उत्तर कोरियाली कमाण्डो टोलीले दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लु हाउसमा गरेको असफल आक्रमणको प्रयासपछि दक्षिण कोरियाले किम इल सुङको हत्या गरेर त्यसको बदला लिने योजना बनायो।

यसका लागि सुरुवातमा दक्षिण कोरियाको गुप्तचर एजेन्सीले मृत्युदण्डको सजाय सुनाइएका अपराधीहरुलाई भर्ती गर्ने योजना बनाएको थियो। तर अन्ततः यसमा सामान्य मानिसहरुलाई भर्ती गरिएको २००६ को रक्षा मन्त्रालयको रिपोर्टमा उल्लेख छ। उनीहरुलाई ‘किम इल सुङको बासस्थानमा आक्रमण गर्ने’ जिम्मेवारी सुम्पिइएको थियो।

‘युनिट ६८४’ नाम दिइएको सो समूहमा ३१ सदस्य थिए। तिनलाई तालिम दिएका एक प्रशिक्षक याङ दोङ सुले सो टोलीमा जुत्ता पालिस गर्नेदेखि लिएर सिनेमा हलमा काम गर्ने मानिस सहभागी थिए। ‘उनीहरुलाई खासगरी शारीरिक बनोटका आधारमा भर्ती गरिएको थियो,’ याङ भन्छन्।

याङ त्यसबेला हवाइ सेनामा हवल्दारका रुपमा कार्यरत थिए। २१ वर्षे याङलाई युनिट ६८४ लाई तालिम दिन खटाइएको थियो।

सो टोलीलाई दक्षिण कोरियाको पश्चिमी किनारमा रहेको सिल्मिदो टापुमा राखेर तालिम दिइएको थियो। याङले तिनलाई हातैले आमनेसामने लडिने लडाइँको सीप सिकाउनुपर्ने थियो।

एउटा पुरानो फोटोमा उनी एक मानव खप्पर र हाडको अगाडि उभिइरहेका देखिन्छन्। उनका अनुसार ती हाड मान्छेकै थियो।

‘भर्ती भएकाहरुलाई जीवित रहन आवश्यक सीप मैले सिकाएँ,’ उनी भन्छन्, ‘र सबैभन्दा महत्वपूर्ण सिकाइ थियो, ‘बाँच्नका लागि तिमीले मार्नैपर्छ।’

सिल्मिडो टापुमा रहेका प्रशिक्षक र प्रशिक्षार्थी दुवैले बाहिरी संसारसँग सम्पर्क गर्न प्रतिबन्ध थियो। तालिम क्रुर र निरन्तर थियो।

‘समुद्र पार गर्ने तालिमका क्रममा एक जनाको थकानका कारण मृत्यु भयो,’ याङ सम्झिन्छन्।

वास्तवमा सन् १९६८ देखि १९७१ सम्ममा सो युनिटका ३१ सदस्यमध्ये ७ को मृत्यु भइसकेको थियो। रक्षा मन्त्रालयको रिपोर्टअनुसार दुई जनालाई जिम्मेवारी पूरा नगरेको आरोपमा मृत्युदण्ड दिइएको थियो भने एक जनालाई प्रशिक्षकलाई धम्क्याएको आरोपमा मृत्युदण्ड दिइएको थियो।

तीन जना चाहिँ त्यहाँबाट भागेर एक महिलालाई बलात्कार गरेपछि मारिएका थिए। सो युनिटले सिल्मिडो टापुमा ३ वर्ष गुजार्‍यो। तर उनीहरुलाई किम इल सुङको हत्याका लागि खटाइएन। भर्ती हुँदाताका उनीहरुलाई दिइएको वचन पूरा गरिएन बरु उनीहरुमाथि दमन र अत्याचार गरियो। रक्षा मन्त्रालयको रिपोर्टअनुसार सिल्मिडो टापुमा पुगेको तीन महिनापछि नै प्रशिक्षार्थीहरुलाई तिनका कमाण्डरले तलब दिन छोडेका थिए र एकदमै खराब खान्की दिन थालेका थिए।

२३ अगस्ट १९७१ का दिन किम इल सुङको हत्या गर्न तयार गरिएको यो दस्ता आफ्नै कमाण्डरहरुतर्फ फर्कियो। याङका अनुसार त्यो दिन उनी आवश्यक आपूर्तिको व्यवस्था मिलाउन मुख्यभूमि जाने तयारी गर्दै थिए, उनले गोली पड्केको आवाज सुने। ‘सुरुमा त मैले टापु कब्जा गर्न उत्तर कोरियाली फौजले आक्रमण गरेछ भन्ठानेँ,’ उनी भन्छन्।

तर लगत्तै युनिटका एक सदस्यले याङमाथि नै गोली चलाए। गोली उनको पछाडिको घाँटीबाट प्रवेश गरेर देब्रेतिरबाट निस्कियो। अहिले ६८ वर्ष पुगेका याङको घाँटीमा गोलीको खत अझै प्रस्ट देखिन्छ।

‘म होसमा आउँदा मेरो घाँटीबाट रगत बगिरहेको थियो र युनिटका सदस्यहरुले प्रशिक्षकहरुलाई मारिरहेका थिए,’ याङ भन्छन्। याङले आफू घिस्रेर ढुंगाको कापमा लुकेको अनि तिनले आफूलाई नभेटुन् भनेर ईश्वरसँग प्रार्थना गरेको बताउँछन्।

युनिटका सदस्यले उनलाई भेटेनन्। तर तिनले अन्य १८ प्रशिक्षकको हत्या गरे। त्यतिमै ती रोकिएनन्। उनीहरु मुख्यभूमि पुगे र एउटा बस अपहरण गरेर राजधानी सोलतिर लागे। बाटोमा उनीहरुको सैनिक र प्रहरीसँग भीडन्त भयो। दर्जनौँ सैनिक र आम नागरिक मारिए।
अन्ततः बसमा भएको विस्फोटमा युनिटका २० सदस्य मारिएपछि यो भीडन्त अन्त्य भयो। चारजना विस्फोटबाट बच्न सफल भए। तिनलाई गुपचुपको सुनुवाइपछि १० मार्च १९७२ मा मृत्युदण्ड दिइयो।

मृत्युदण्डपछि तिनको शव आफन्तलाई समेत दिइएन।

यही गल्ती नदोहोर्‍याउन अहिले भने दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्य गठन गरेको टोलीमा तालिमप्राप्त सैनिकलाई मात्र भर्ती गरिएको छ। त्यसलाई सुविधासम्पन्न बनाउन आगामी केही वर्षमा ५ करोड डलरको बजेट खर्च गरिने जनाइएको छ।

यो भयानक असफलतालाई लुकाउन युनिट ६८४ को नेतृत्व सम्हालेका वायुसेनाका कमाण्डरहरुले सम्बन्धित सम्पूर्ण कागजात जलाए।

दक्षिण कोरियामा सन् २००३ मा यही घटनामा आधारित ‘सिल्मिडो’ नामक फिल्म प्रदर्शनमा आयो। जसमा सोही टापुमा उस्तै ब्यारेक निर्माण गरिएको थियो।

याङ भने बच्न सफल भए। त्यस यता उनले ३० वर्ष विभिन्न स्कुलमा पढाए। उनले युनिट ६८४ का बारेमा संस्मरण पनि प्रकाशित गरेका छन्।

यो रक्तपातका लागि उनी कसैलाई पनि दोष दिन चाहँदैनन्। ‘तिनलाई विद्रोही भनिनु हुँदैन । उनीहरु त पीडित थिए,’ उनी भन्छन्, ‘ती युवा थिए, जसलाई बलिमा चढाइएको थियो।’

‘मजस्ता प्रशिक्षक पनि पीडित नै थियौँ,’ उनी भन्छन्।

सिएनएनबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार