दश वर्षे जनयुद्धकाे नेतृत्व गरेर अाएका पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्व गरेको जनयुद्धलाई पाप कर्मको सङ्ज्ञा दिएका छन् ।

चितवन भरतपुरस्थित पार्टी कार्यालयमा बुधवार बिहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा एकीकृत पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

दाहालले जनयुद्धका बखत देश र जनताका नाममा केही काम गर्न नसकिएको र उल्टै पाप गरिएको कुरातर्फ घुमाउरो सङ्केत गर्दै हाल संसदीय एकमना सरकार भएका बेला देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् ।

हाल आफू पार्टी एकतापछि नेकपा नाम गरेको महासागरमा रहेको र त्यहाँ नुहाएपछि आफ्ना सबै पाप पखालिने कुरामा उनी ढुक्क देखिन्छन् । त्यो महासागरमा विगतका आफ्ना भएजतिका सबै गल्ती र पाप पखालिएपछि उनको मोक्ष प्राप्तिको बाटो खुल्नेमा उनी विश्वस्त छन् ।

कार्यकर्ता भेटघाटका क्रममा उनले ‘पार्टी एकताको महासागर भनेको मोक्ष प्राप्त गर्ने महत्वपूर्ण अवसर हो, एकताको यो महासागरले हिजोका सबै पाप पखालिने छ’ भनी बारम्बार दोहर्याइरहे ।

पार्टी एकीकरणको महासागरमा आफ्नो गल्ती र पाप पखालिने बेलामा कार्यकर्ताका हिजोका धूलोमैलो पनि पखालिने भएकाले यो अवसरको नचुकेर उपयोग गर्न दाहालले उपस्थित सबै कार्यकर्तालाई सुझाएका पनि छन् ।

यसरी महासागरमा नुहाएपछि गुटबन्दी र अन्तरघात पनि कम हुँदै जाने आशासमेत् प्रकट गर्न उनले छुटाएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार