वामपन्थी बुद्धिजीवि पी खरेलले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लव नेपालकाे अहिलेकाे कम्युनिस्ट अान्दाेलनकाे वास्तविक क्रान्तिकारी नेता रहेकाे अाैल्याएका छन् । खरेलले सामाजिक संजाल फेसबुकबाट उनले लामाे स्टाटस लेख लेख्दै प्रचण्डले दश वर्षे जनयुद्धमा उठाएकाे मुद्धा भुलेर एमालेमा पुगेर विलय भएपछि विप्लव क्रान्तिकारी शक्तिकाे रूपमा उदाएकाे बताएका छन् । उने खरेलकाे विप्लवबारेकाे संक्षिप्त अनुभूति –

नेपाल कम्युनिष्ट पार्टीका दुइटा गुट छन्, त्यसमा कसैको दुईमत छैन । एउटा प्रचण्ड गुट र अर्काे ओली गुट ।

प्रचण्ड गुटले जे–जे वाचा गरेर माओवादी सशस्त्र आन्दोलन गर्या थियो, त्यो जम्मै त्यागिसक्यो । अहिले उसमा र ०४७ सालको संविधानअन्तर्गत चलेको एमालेमा केही फरक छैन । उसमा र नेपाली कांग्रेसमा पनि खास भिन्नता देखिंदैन । यिनीहरु जम्मै अवसरवादी साबित भइसके ।

त्यसबेला क्रान्ति सुरु गर्दाखेरि उठाएको मुद्दा त अहिले फेल खायो । त्यतिखेर त्यो मुद्दालाई समर्थन दिने नेपालीहरुको समर्थन भावले ‘स्पेस’ दिन्छ र त्यो ‘स्पेस’ नेत्रविक्रम चन्दमा जान्छ । त्यो त बाँकी नै छ । माओवादीहरुका सुरु–सुरु दिनका गतिविधिभन्दा विप्लवका गतिविधिहरु तीव्ररुपमा भैरा’छन् । नेत्रविक्रम चन्दले सामना चाहीं धेरै गर्नुपर्छ किनभने पहिले भारतको खुला समर्थन थियो ।

अहिले उनीहरुले भारतको समर्थन त्यस्तो पा’को छैन । नपाउँदा नपाउँदै पूर्वाधार यस्तो बनाएको देखिन्छ कि उनीहरुलाई वारेन्ट पुर्जी दिएको दियै छ, उनीहरुकै पूर्व सहकर्मी गृहमन्त्री छन् अहिले र उनी काठमाडौं उपत्यकामा हिंड्याहिंड्यै छन् । दिनदिनै मान्छे भेटिरा’छन् । उनको बासस्थान भेटाउन नसक्नुको मतलब उनीहरुको ‘नेटवर्क’मा व्यापकता आइसक्यो । मैले सुनेअनुसार यहाँका बुद्धिजीवीहरुले उनीहरुलाई सेल्टर दिइरा’छन् ।

बुद्धिजीवीहरुको भनाइ के छ रे भने हिंसा चाहीं हामी मान्दैनौं अरु बाँकी कुरामा हाम्रो समर्थन छ । त्यतिखेर माओवादीहरुले पाएको समर्थनभन्दा अहिले विप्लवलाई बढी किन हुन गयो भने अहिले जुन जोगी आए पनि कानै चिरेको भन्या जस्तो कांग्रेस, एमालेको पनि स्थिति देखियो । पहिला त माओवादी मात्रै फटाहा भन्ठान्थे । अहिले त एमाले पनि फटाहा निस्क्यो नेपाली कांग्रेस पनि फटाहा निस्क्यो भन्ने भयो ।

पहिला कांग्रेसलाई, राप्रपालाई एमालेलाई वा प्रचण्डलाई समर्थन गर्नेहरु अहिले त नेत्रविक्रममा गए । पहिला त माओवादीसँग माओवादीहरु मात्र थिए, अहिले यो फरक छ । अहिले त जनमानसबाटै आउने लक्षण देखियो । विगत ८–१० महिनामा जुन रुपले उनीहरुको गतिविधि बढ्या छ, त्यसले उनीहरुले सशक्त भूमिका खेल्ने देखिन्छ । र यसको पुष्टि सरकारबाटै छ ।

किन ? सरकार बन्ने बित्तिकै मन्त्रीहरु र विशेषतः ओली आफैले ‘अस्थिरता ल्याउने तत्वहरु’ भनेर गाली गरिरहेका छन् । त्यो अस्थिरता ल्याउने तत्व भन्या चाहीं राप्रपा, चित्रबहादुर केसी, बिजुक्छे, नेपाली कांग्रेसलाई पक्कै होइन । उनले इंगित गरेको नेत्रविक्रम चन्दलाई नै होला ।

यसले पनि नेत्रविक्रम चन्दको ‘फोर्स’ सशक्त रुपले अगाडि बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार