अस्ट्रिया पाइला टेकेको पनि लगभग १५ वर्षभन्दा बढी भयो, तर केही दशक अगाडि यही मुलुकमा भएको नरसंहारको एक जीवित इतिहास भएको ठाउँमा पुग्न सकिरहेको थिइनँ ।

हुन त यस्ता अमानवीय आपराधिक क्रियाकलाप गरिएका क्याम्प अहिलेको जर्मनी र पोल्यान्डमा पनि छन्, तैपनि प्रमुखचाहिँ अस्ट्रियामा नै छ । संयोग पनि यस्तो भयो कि एक दिन मेरो पेसागत अभ्यासकै क्रममा एक ९० वर्ष कटेका पूर्वप्रोफेसरसँग अस्पतालमा भेट भयो । कुराकानीको सिलसिला चल्दै जाँदा दोस्रो विश्वयुद्ध र त्यसबेलाको क्रूर नाजी शासकबारे चासो राख्दै उनलाई आफ्नै आँखाले देखेका कुरा बताउन आग्रह गरेँ ।

मेरो आग्रहपछि उनले भने, ‘एकपटक तिमी त्यो जीवित इतिहास भएको ठाउँमा गएर आफैँ हेर !’ तर, उनले मलाई निराश भने पारेनन् । ‘मेरो बाल्यकालको त्यो कठिन समय सम्झँदा हिजै मात्र जस्तो लाग्छ,’ नाजी शासकको क्रूरताबारे उनले भने, ‘आज सम्झिँदा यो जे भयो होइन जस्तो पनि लाग्छ, तर हिजो नै भएको हो कि झैँ पनि लाग्छ ।’ यसो भनिरहँदा उनका आँखाबाट आँसु झरिरहेको थियो । शब्द कर्णप्रिय थिएनन्, त्यसमाथि वृद्ध प्रोफेसरले आँसु खसाएपछि बेकार प्रश्न गरेँछु भन्ने पनि लाग्यो । शायद त्यो पीडादायक खाटोलाई मेरा जिज्ञासाले पोलेर होला, त्यसपछि मैले अरू प्रश्न सोध्ने आँट गरिनँ !

मैले सदैव चासो राख्ने विषय राजनीति र इतिहास, त्यसैमाथि झन् दोस्रो विश्वयुद्धका साक्षात्कार व्यक्तिलाई भेट्दा जिज्ञासु हुनु स्वाभाविकै थियो । त्यस दिन त्यतिमै बिट मारी समय निकालेर अब म त्यो जिउँदो इतिहास भएको ठाउँमा पुग्ने अठोट गर्दै कोठाबाट बाहिर निस्केँ !

समय निकाल्दै अस्ट्रियाको राजधानी भियनाबाट झन्डै १७० किलोमिटर पूर्व यहाँको वर्तमान स्टेट अपरअस्ट्रियाको माउतहाउजेनमा आएँ ! यहाँ जे देखँे अरू जिज्ञासु नेपालीले पनि थाहा पाऊन् भन्ने उद्देश्यले केही लेखौँ जस्तो पनि लाग्यो । हिजोको हरेक सेकेन्ड चीत्कार, कोलाहोल भएको ठाउँ अहिले एक पर्यटकीय हब बनेको देख्दा यो त्यही ठाउँ नै हो र जो मैले पढेको र सुनेको थिएँ भन्ने पनि भयो । यो विषयमा मैले यहाँका बासिन्दासँग कैयौँपटक सोधेको पनि थिएँ । मेरो प्रश्नमा सबैले गम्भीर हुँदै जवाफ दिएको पाएको छु सधैँ । यहाँका बासिन्दा चाहन्छन्– हिजो जे भयो–भयो, क्रूर भयो, हामी कहिले बिर्सिने छैनौँ र भोलि यो दिन कहिले पनि नआओस्, कुनै सन्ततीले हाम्रो बुबा–हजुरबुबाले भोगेको पीडा भोग्नु नपरोस् ।

यो कन्सर्टेसन क्याम्पलाई अहिले माउतहाउजेन मेमोरियल नाम दिइएको छ । यहाँ भएका धेरै कुरा भत्काइए पनि प्रमुख महत्वपूर्ण मानिने वस्तुलाई आगामी विश्वले देखोस् भन्ने अभिप्रायले अत्यन्त सुरक्षित तवरले संरक्षित गरिएको छ । जुन ठाउँ अहिले शान्त देखिन्छ त्यहाँ कुनै समय १ लाख २० हजार निर्दोष व्यक्ति मात्र (यहुदी) ज्युस धर्म मानेको आधारमा, केही विपक्षी आत्मसमर्पण गरेका सैनिकलाई र केही नाजी शासकलाई सहयोग नगरेको अभियोगमा मारिए, हिटलर र उनको शासक टिम यति क्रूर थियो कि बाटोमा हिँडेको अवस्थामा उनलाई सम्बोधन गर्दा हात सीधा पार्दै बोल्नुपर्ने शब्द ‘होली हिटलर’ नभनेको अभियोगमा समेत हजारौँले ज्यान गुमाए !

इतिहासमा पढ्न पाइन्छ कि हिटलर आफैंमा एक राष्ट्रवादी व्यक्ति हुन्, थिए होलान् । यसै राष्ट्रवादको नारामा उनले सारा युरोपलाई एक बनाउँछु भनेर अभियान सञ्चालन पनि गरे र संसारलाई आच्छुआच्छु पनि बनाए । यता युगोस्लाभियादेखि उता नेदरल्यान्डसम्म आफ्नो प्रभाव विस्तार गर्न सफल भएकै थिए । अस्ट्रियाको एक सानो गाउँको साधारण परिवारमा जन्मिएका आडोल्फ हिटलर सेनामा भर्ती हुँदै संसारलाई एक देश, एक धर्म र एक भाषा बनाउँछु भन्दै आफ्नो विरोध गर्ने जोकोहीलाई मारेरै अघि बढे । नाजी शासकले संसारमा एक धर्म र एक देश परिकल्पना गरेका थिए भन्ने कुरा आज पनि त्यहाँ रहेको जीवित इतिहासले बोलिरहेको देखिन्छ ! नाजी शासक यतिसम्म क्रूर थिए कि पुस–माघको माइनस २०–३० डिग्रीको तापक्रममा थुनुवालाई जबर्जस्ती रातभर बिनाकपडा बाहिर राख्ने गर्दथे । बिहानी भएपछि हेर्दा तीमध्ये आधाभन्दा बढी रगत जमेरै मरेका हुन्थे । ती मृत व्यक्तिलाई पुर्न तिनैका साथीलाई खाडल खन्न लगाउने गर्दथे । र, एउटै खाल्डोमा सयौँलाई गाड्ने गर्दथे । त्यस्तै खान नदिने, हजारौँ व्यक्ति महिनौँ खाना नपाएको कारण हड्डी मात्र बाँकी भई आफैं मर्ने, कतिलाई त एक सानो कोठामा जबर्जस्ती कोच्ने अनि विषालु ग्यास खोलिदिएर मार्नेजस्ता क्रूर यातना दिन्थे !

उनले दिने क्रूर यातनाको कुरा गर्दा अहिले पनि जो–कोहीले आँसु थाम्न सक्दैनन् । धेरै मान्छे मारिएपछि गाड्ने ठाउँको अभावमा भीरबाट फालिदिने, चुपचाप लाग्नेहरू खानै नपाएर मर्ने रहेछन् भने जसले विरोध गर्छ त्यसलाई खुट्टामा फलामको डोरीले बाँधेर सिलिङमा झुन्ड्याउने र नमरेसम्म चरम यातना दिने ! फरक धर्मका व्यक्तिलाई दिनमा १८ घन्टा काम लगाउने र ६ घन्टा भुइँमा सुत्न दिने गर्दथे । कसैकसैलाई बेडमा सुत्न दिए पनि एक रातमा २ जना पालैपालो सुत्नुपर्ने, कसैलाई चाहिँ बाँचुन्जेल काम गर्न लगाउने, काम भनेको पहाडमा ढुंगा फोर्ने, ढुंगा क्याम्पसम्म ल्याउन लगाउने तर खाना र पानी भने नदिने । कति कैद गरिएका व्यक्ति ती ढुंगा बोक्न नसकेर रगत छादेर उकालो सिँढीमै मर्थे ! उनीहरूको उद्देश्य भनेको जसरी पनि मान्छे मर्नुपऱ्यो । त्यही क्रूर यातनाको डर देखाएर शासन विस्तार गर्ने !

संसारका कैयन शासकमध्ये हिटलर त्यस्ता शासक हुन् जसले राष्ट्रियताको नाम दिएर आफ्नै नागरिकको नरसंहार गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार