विप्लव नेतृत्वकाे नेकपाका प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीबारे गृहमन्त्री रामबहादुर थापा बादलले मुख खाेलेका छन् ।

गृहमन्त्री थापाले खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ परेको बताएका छन् । चितवनमा अायोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले यस्ताे बताएका हुन् ।

बादलले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताएका छन् ।

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”  बादलले भनेका छन् “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए ।

सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको बादलले बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने, “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।”

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने बताए । गृहमन्त्री थापाले सरकारले देशमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न सकेको दाबी गरे ।

अपराध कम भएको र दोषी तत्काल पक्राउ गर्न सरकार सफल भएको भन्दै उनले विपद व्यवस्थापनमा सरकार लागिपरेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार