नदीनाला र पानी सबै विदेशीलाई दिने । त्यहाँबाट विद्युत उत्पादन गरेको विदेशीले कब्जा गर्दिने अनि हामीलाई सधँै विद्युत अभाव भइरहने हुन्छ । यस्तो अवस्थामा नेपालको समृद्धिको सम्भावना छैन । हाम्रा जति पनि प्राकृतिक स्रोत साधन छन्, ती समृद्धिका आधार हुन् । अब तिनै स्रोतसाधन अर्काले कब्जा गरिदिएपछि कसैले भनेकै भरमा कसरी समृद्धि आउँछ ?

अर्को कुरा नेपालको समृद्धिका लागि आर्थिक विकास चाहियो । सरकारले अहिले ल्याएको बजेटमा आर्थिक विकास हुने ठोस योजना छैन । त्यहाँ के हुनुपथ्र्यो भने विकास गर्न पुँजीगत खर्च वृद्धि हुनुपथ्र्यो । अनि विकास दर बढ्ने थियो । अहिले पुँजीगत खर्च विगतको भन्दा माथि उठेको छैन । त्यसैले विकास सम्भव छैन । राष्ट्रिय पुँजी अभाव छ । किनभने हामीसँग व्यापार घाटा यति डरलाग्दो छ कि निर्यात ७ प्रतिशत आयात ९३ प्रतिशत भइसकेको छ । अनि हामी कहिले समृद्ध हुन सक्छौँ ? यो असम्भव हो । त्यसैले यो सरकारले जुन प्रकारको नीति अवलम्बन गरेको छ, त्यसले नेपालमा कुनै समृद्धि ल्याउन सम्भव छैन ।

समृद्धिका लागि उद्योगधन्दाको विकास हुनु प¥यो । सरकारले रोजगारीको कुरा गरिराखेको छ, त्यसको लागि त उद्योग धन्दाको विकास हुनु प¥यो । त्यसैले यहाँ यसको सभ्भव छैन । किनभने ओली, शेरबहादुर, गिरिजाप्रसाद नेतृत्वको जति पनि सरकार बने यिनीहरूले देशमा उद्योगधन्दा खोलेनन् । बरु राजाको पालामा खोलेका उद्योग धन्दाहरू कौडीको मूल्यमा बिक्री गरे । हेटाँैडा कपडा उद्योग, चिनी कारखाना, कृषिऔजार कारखाना, चाइनाले खोलिदिएको भृकुटी कागज कारखाना, चीनले नै बनाइदिएको छालाजुत्ता कारखाना, रुसले खोलिदिएको जनकपुर चुरोट कारखाना आदि सबै कारखाना कौडीको मूल्यमा बिक्री गरिदिए । यसले देशमा भएको औद्योगिकीकरणलाई खत्तम पारे । ओली सरकारले पनि त्यही गर्दैछ ।

यो सरकारले दलाल पुँजीपतिको प्रतिनिधित्व गरेको छ । औद्योगिक विकास भयो भने दलाल पुँजीपतिले पैसा कमाउन पाउँदैनन् । विदेशबाट सामान ल्याएर त्यहीँबाट कमिसन खाने हुन् । त्यहीँबाट पैसा कमाउने हुन् । जब देश नै सम्पन्न भयो भने त्यो पुँजी पनि आउँदैन । त्यसपछि उनीहरूलाई कमिसन खाने ठाउँनै बन्द हुन्छ । त्यसकारण यो सरकारले कदापि उद्योगधन्दाको विकास गर्दैनन् । देशमा समृद्धि ल्याउनै सक्दैनन् । अहिलेकै बजेट हेर्दा यो कुरा प्रष्ट हुन्छ । यो बजेटले नेपालमा न त औद्योगिकीकरण गर्न सक्छ  न जलस्रोतलाई सञ्चालन गर्न सक्छ । न त बेरोजगारीलाई रोजगार दिन सक्छ । कोरा नाराले मात्रै समृद्धि आउँदैन । त्यसकारण कुनै पनि तरिकारले समृद्धिको सम्भावना देख्दिनँ ।

अहिले, जनजीविका झन््झन् जटिल बन्दै गएको छ । हरेक हप्तामा भाउ बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा सबैतिरको मूल्य बढ्छ । सरकारकै भर्सनअनुसार भारतले मूल्य बढाइदियो, त्यसकारण यता मूल्य बढायौँ । यो बढेको मूल्य भारतले लिन्छ । जति मूल्य बढ्यो त्यति घाटा नेपाललाई हो । भारतलाई बिक्री गर्ने सामानमा मूल्य वृद्धि गरे नेपाललाई फाइदा हुन्थ्यो । भारतबाट किन्ने सामानमा मूल्य जति बढ्यो त्यति नेपालीलाई घाटा हो ।

नेपालमा जस्तो सङ्गठित भ्रष्टाचार संसारमा कतै नहोला । ओलीजीले भाषणमा भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुहुन्छ तर अहिलेसम्म एक जनालाई कारबाही गर्न सक्नुभएको छैन । देश यस्तो अवस्थाबाट गुज्रिरहेको हुनाले जनजीविकाको समस्या झनझन नाजुक बन्दै गएका छन् । त्यसैले अहिलेको अवस्था हेर्दा यो सरकारले नेपालमा समृद्धि होइन गरिबी मात्रै बढाउँछ ।

यो सरकारले त खाली समृद्धिका कुरा गरेर  जनतालाई आकर्षित गर्दै झुक्याउने काम गर्दैछ । अब पछि गएर विकास भएन भने, जस्तोकी चुनावका बेला वृद्धभत्ता महिनाको ५ हजार बनाउने भन्दै प्रचार गरे । त्यो दिन त सम्भव भएन तर अहिले आएर ओलीले राजनीतिक कारणले गर्दा दिन सकिएन भन्दिए । उनले एउटा कारण बताइदिए । हो भोलि गएर समृद्धि किन भएनभन्दा एउटा यिनीहरूले त्यस्तै केही कारण बताइदिन्छन् ।

त्यतिन्जेल जनतालाई ठग्न पाउने भए । समृद्धि गर्न सकिएन भनेपछि जनताले विश्वास गर्दैनन् । फेरि यिनीहरू के गर्छन् भने जनता ठग्न अर्कै नारा बनाउँछन् ।

राताेपाटी अनलाइनसँगकाे कुराकानीकाे सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार