कार्ल माक्र्स र एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेख्नु हुँदा समग्र युरोप साम्यवादको भयले आतड्ढित थियो ।

साम्यवादलाई परास्त गर्नका निम्ति पोप, जार, फ्रेन्च उग्रवादी, जर्मन पुलिसलगायत युरोपका सत्ताधारीहरू एक भएका थिए । त्यसै बेला युरोपका सबै सत्ताधारी शक्तिहरूले साम्यवादलाई एक शक्तिको रुपमा स्वीकार गरिसकेको अवस्था थियो ।

त्यसैले कम्युनिष्टहरूले सम्पूर्ण संसारका सामुन्ने आफ्ना विचारहरू, उद्देश्यहरू र आकाङक्षाहरू खुलस्त पार्नु र साम्यवादलाई भय भनेर मानिसहरूलाई डर देखाउन बनाइएका दन्त्यकथाहरूको प्रतिवाद गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित गरे ।

चार खण्डमा लेखिएको कम्युनिष्ट घोषणापत्र ‘अहिलेसम्मको अस्तित्वमा रहेको लिखित इतिहास वर्गसङ्र्घषको इतिहास हो’ भन्ने वाक्यांशबाट सुरु भई ‘संसारका सबै मजदुरहरू एक होऔं’, भन्ने आह्वानका साथ अन्त्य गरिएको छ ।

कम्युनिष्ट घोषणापत्रको दोस्रो खण्ड ‘सर्वहारा र कम्युनिष्ट’मा विशेषतः सर्वहारा वर्गका लागि कम्युनिष्टहरू कस्ता हुन्छन्, कम्युनिष्टहरू तात्कालीन ध्येय र साम्यवादी व्यवस्थाको चरित्रका विषयमा त्यसबेला युरोपका सत्तासीन शासकहरूले साम्यवाद र कम्युनिष्टहरूका सम्बन्धमा गरिएका आरोप र भ्रामक प्रचारको खण्डन र मजदुर क्रान्तिका चरणहरू र विकसित देशहरूमा लागू गर्न सकिने कार्यक्रमहरूबारे चर्चा गरिएको छ । कम्युनिष्टहरू विभिन्न देशमा जातीय

भेदभावरहित सर्वहारा वर्गको हितका लागि सङ्घर्ष गर्ने र अगाडि बढ्ने, पुँजीपति (बुर्जुवा) वर्ग र सर्वहारा वर्ग बीचको सङ्घर्षमा सदैव अग्रभागमा रहेर आन्दोलनको प्रतिनिधित्व गर्ने दस्ता हो ।

सम्पूर्ण सर्वहारालाई वर्गको रुपमा सङ्गठित गर्ने र पुँजीवादी बन्दोबस्त र प्रभुत्वलाई समाप्त गरी सर्वहारा वर्गलाई शासक वर्गको रुपमा स्थापित गर्नु कम्युनिष्टहरूको तात्कालिक उद्देश्य हो । तसर्थ कम्युनिष्टहरू प्रत्येक देशका मजदुर पार्टीहरूका सबैभन्दा दृढ निश्चयी, दृढसङ्कल्पी र जनतालाई आन्दोलनमा अगाडि बढ्न प्रेरणा दिने स्रोत हुन् । कम्युनिष्टहरू सर्वहारा वर्गभन्दा तुलनात्मक रुपमा आन्दोलनको अवस्था, गतिविधि र अन्तिम परिणामका बारेमा बढी बुझ्ने र समझदार हुन्छन् ।

साम्यवादी व्यवस्था व्यापक अर्थमा सम्पत्तिको उन्मूलन नभई सम्पत्तिमा निजी स्वामित्वको अन्त्य गर्न चाहन्छ । निजी स्वामित्व नै शोषण प्रणालीको वर्गीय अन्तरविरोध हो र यो सीमित मानिसले बहुसङ्ख्यकलाई शोषण गर्ने पद्धति भएको हुँदा कम्युनिष्टहरू निजी सम्पतिको उन्मूलन चाहन्छन् । कम्युनिष्टहरूलाई पुँजीपति वर्गले मानिसले आफैले मिहिनेत गरी कमाएको, आफ्नै श्रमले पैदा गरेको सम्पत्तिको अधिकार खोसेर लिने भनी मानिसको व्यक्तिगत स्वतन्त्रता, आत्मनिर्भरता र क्रियाशीलतालाई नष्ट गरिने आरोप लगाइन्छ ।

कम्युनिष्टहरूले पुँजीलाई व्यक्तिगत नभई सामूहिक उपज मान्दछन् । पुँजी एक सामूहिक उपज हो । समाजका धेरै सदस्यहरूको सामूहिक प्रयासले पुँजीको निर्माण र सबै सदस्यहरूको संयुक्त प्रयासले गतिशील बनाइरहेको हुन्छ । ज्यालादारी श्रमले पुँजी उत्पन्न गर्छ तर सर्वहारा वर्गको लागि कुनै सम्पत्ति उत्पादन गर्र्दैन बरु त्यस्तो सम्पत्ति पैदा गर्दछ जसले ज्यालादारी श्रमको शोषण गर्दछ ।

ज्यालादारी श्रमको औसत मूल्य न्यूनतम ज्याला हो । यो मजदुरलाई बाँच्नका लागि आवश्यक हुन्छ । यस कारण मजदुरले आफनो श्रम वा मिहिनेतबाट जे जति प्राप्त गर्दछ, त्यो उसको जीवनयापनको लागि मुस्किलले मात्र पुग्दछ ।

कम्युनिष्टहरू शोषणको त्यस्तो दयनीय रुपलाई नष्ट गर्न चाहन्छन् जसमा सर्वहारा वर्ग पुँजी बढाउने साधनको रुपमा मात्र रहन्छ । सर्वहारा वर्गलाई जीवित रहन र शासक वर्गको स्वार्थपूर्तिको लागि मात्र मजदुरको आवश्यकता पर्दछ ।

व्यक्तिगत स्वामित्व नष्ट हुने कुराबाट भयभित मानिसहरूलाई समाजमा दश जनामध्ये नौ जनाको निजी सम्पति हुनुको एकमात्र कारण तिनै ९० प्रतिशतको सम्पतिको शोषण गरेर भएको हो भन्ने कुरा स्पष्ट पारिएको छ ।

पुँजीपति वर्गले यदि श्रमलाई पुँजी वा मुद्राका रुपमा परिवर्तन गर्न बन्द गरे व्यक्तिको निजी अस्तित्व खत्तम हुन्छ, व्यक्तिगत सम्पत्ति पुँजीमा परिवर्तन हुन बन्द भए सम्पूर्ण क्रियाकलाप बन्द हुनेछ र संसारमा आलस्यको राज्य चल्नेछ भन्ने आरोप लगाउने गरिएको छ ।

यदि यो साँचो हो भने पुँजीवादी समाज आलस्यले पहिले नै नष्ट भइसक्नुपर्ने थियो । किनभने समाजमा जसले रगत पसिना र मिहिनेत गर्दछ, त्यसले केही पाउँदैन तर जसको हातमा सम्पत्ति रहन्छ उसले काम गर्दैन ।

कम्युनिष्टहरू महिलाहरूलाई सामाजिक सम्पत्ति बनाउन चाहन्छन् भन्ने आरोपका विषयमा पुँजीपतिले आफ्ना पत्नीलाई समेत उत्पादनका साधनमात्र ठान्छ ।

उनीहरूले साम्यवादी समाजमा उत्पादनका साधनलाई सामूहिक उपयोग गर्ने बन्दोबस्त गर्छन् भन्ने सुनिरहेकाले कम्युनिष्ट समाजमा महिला पनि सामूहिक सम्पति हुन्छन् भने बुझाइ स्थापित गरिरहेका हुन् । मुलतः कम्युनिष्टहरू महिलामाथि भइरहेको अन्याय, अत्याचार र महिलालाई उत्पादनका सामान्य साधन मान्ने चिन्तनबाट मुक्त गर्ने विषयमा कम्युनिष्टहरू त्रियाशील रहँदै आएको कुरा पुँजीपति वर्ग सोच्न पनि सक्दैन ।

पुँजीपति वर्ग गोप्य रुपमा राख्दै आएको साझा श्रीमती राख्ने प्रथालाई खुला र कानुनसंगत बनाउन चाहन्छ । तर साम्यवादी समाज साझा श्रीमती राख्ने प्रथा गोप्य र खुला सबै प्रकारको वेश्यावृतिको अन्त्य चाहन्छ ।

साम्यवादी क्रान्ति स्वामित्वका परम्परागत सम्बन्धहरू निर्मुल गर्नु हो । सर्वहारा वर्गलाई शासक वर्गको रुपमा परिणत गर्नु नै मजदुर क्रान्तिको पहिलो चरण हो ।

पुँजीपति वर्गको हातबाट विस्तारै सम्पूर्ण पुँजी खोस्ने, उत्पादनका सम्पूर्ण साधन राज्यको अधीनमा वा सर्वहारा वर्गको हातमा केन्द्रित गर्नु आवश्यकता भएको औंल्याएको र सर्वहाराको हातमा शासन सत्ता स्थापित गर्न पुँजीपति वर्गको स्वामित्वको अधिकारमा र उत्पादनको पद्धतिमा निर्मम हस्तक्षेप विना सम्भव छैन ।

क्रान्तिपश्चात् सबैमा देशमा एकैनासका उपाय लागू गर्न नसके पनि साधारणतया विकसित देशहरूमा निम्न लिखित कार्यक्रमहरू लागू गर्न सकिनेछ भन्ने उल्लेख गरिएको छ ।

ती निम्नानुसार छन् :

१. जमिनदारी प्रथाको उन्मूलन गर्ने र सार्वजनिक कार्यका लागि भूमि कर लगाउने  ।

२.प्रगतिशील कर प्रणाली लागू गर्ने ।

३. उत्तराधिकारी प्रथाको उन्मुलन गर्ने, क्रान्तिको समय देश छोडी भाग्ने र विद्रोहीहरूको सम्पति जफत गर्ने ।

४. राष्ट्रिय बैड्ढ खोलेर लेनदेनका कारोबारलाई राज्यको हातमा कायम गर्ने ।

५. सूचना सञ्चार तथा यातायातका सबै साधनहरूमा राज्यको अधिकार स्थापित गर्ने ।

६. उद्योगधन्दा र कलकारखाना सञ्चालन गरी उत्पादकत्व वृद्धि गर्ने ।

७. सबैको लागि समान रुपमा श्रमको अनिवार्यता र कृषिका लागि तालिम र शिक्षा दीक्षा दिनका लागि औद्योगिक सैन्यको स्थापना गर्ने ।

८. कृषि र उद्योगधन्दाको सम्बन्ध स्थापित गर्ने ।

९. सहर र गाउँबीचको भेदलाई अन्त्य गर्ने दिशामा प्रयास गर्ने ।

१०. सबै सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षाको बन्दोबस्त गर्ने र कलकारखानामा भइरहेको बालश्रमको उन्मूलन गर्नेछ भन्ने कुरा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार