बीपी र पुष्पलाल दुवैको नेपालसम्बन्धी बुझाइमा केही समानता छन्। सामन्ती तानाशाही व्यवस्थाले नेपालको हित गर्दैन र यस्तो व्यवस्थाको विरोधमा हुने आन्दोलनलाई जातीय रङ किमार्थ दिनु हुँदैन भन्ने दुवैको स्पष्ट मत थियो।

पुष्पलाल नेपालमा हुर्केबढेकाले यहाँको समाज, संस्कृति र समग्र परिवेशलाई उनले बढी बुझ्न पाएका थिए। प्रजा परिषद्को विद्रोह आँखैले देखेकाले र प्रजा परिषद्मा संलग्नसमेत भएर काम गरेकाले नेपाली राजनीतिको मौलिक चरित्रलाई उनले बढी बुझेका थिए। बीपीको नेपालसम्बन्धी बुझाइमा नेपाली दृष्टिकोण कम झल्किएको पाइन्छ।

नेहरूको बहुमुखी व्यक्तित्वबाट बीपी प्रभावित थिए परन्तु उपन्यास, डायरी र आत्मवृत्तान्तका विभिन्न ठेली लेखिरहँदा उनले नेपाली समाजबारे एउटै किताब पनि लेखेनन्। जबकी नेहरूले भारत स्वतन्त्र हुनुअगावै ‘डिस्कभरी अफ इन्डिया’ लेखेर भारतसम्बन्धी आफ्नो सघन बुझाइ सार्वजनिक गरेका थिए। बीपीले नेपालसम्बन्धी किताब असाध्यै कम पढेका थिए। नेपालका अत्यन्तै थोरै ठाउँ घुमेका थिए। अधिकांश समय उनले भारतमा बसी भारत तथा समग्र विश्वको सभ्यता र दर्शनको अध्ययन गरेर, भारतीय नेताहरूसँग संगत गरी त्यहाँको राजनीतिक गतिविधिमा सरिक भएर बिताएका थिए। त्यसैले नेपाली समाजको सुक्ष्म चाल बुझ्ने इन्द्रियको उनमा अभाव थियो। उनी नेपाललाई भारतको बृहत्तर सांस्कृतिक, राजनीतिक र फौजी ‘प्यारामिटर’ अन्तर्गतको अंश ठान्ने गर्थे। नेपालबारे पर्याप्त ज्ञान नभएको व्यक्तिको हातमा २००७ सालपछिको आन्दोलनको लगाम पुग्नु दुर्भाग्यपूर्ण थियो। नेपाल बुझ्ने सवालमा बीपीभन्दा उनका सौतेनी दाजु मातृकाप्रसाद कोइराला अग्रणी थिए भन्ने कुरा ‘कोसीको कथा’ शीर्षकको किताबमा संग्रीहृत उनका लेखरचना हेर्दा स्पष्ट हुन्छ।

बीपीका एकाध लेखाइमा नेपालसम्बन्धी बुझाइ झल्किएका छन् परन्तु उनको बुझाइ ‘सत्री’हरूको लेखानबाट बढी प्रभावित थियो। नेपालसम्बन्धी लेख्ने विदेशीलाई इतिहासकार नयराज पन्त ‘सत्री’ भन्ने गर्थे। कौटिल्यले सत्री शब्दलाई विद्वानको भेषमा हिँडेको राजकाजी व्यक्ति भनि अथ्र्याएका छन्। बीपीको बुझाइमा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताले बेलायतको कृपाबाट पल्लवित हुने मौका पाएको थियो। एउटा सन्दर्भमा उनले बेलायतीहरूले नेपाललाई भारतीय राज्यहरूको तुलनामा सबैभन्दा ठूलो र सम्मानित स्थान दिएको (अर्थात् स्वाधीन रहन दिएको) बताएका छन् (प्रदीप गिरी (सं), विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख, २०६६, पृ. १७३)।

अर्को एउटा सन्दर्भमा उनले भारतबाट नेपाल भिन्न हुनुमा राजनीतिज्ञको स्वार्थ जिम्मेवार छ भनि नेपालको स्वतन्त्रताप्रति रोश व्यक्त गरेका छन् (उही, पृ. ३४२)। यदि बीपीले सोचेझैं बेलायतको कृपामा नेपालको स्वतन्त्रता टिकेको थियो भने त्यस्तो ‘कृपा’ नेपाललाई मात्र किन प्राप्त भयो ? तिब्बत, सिक्किम र काश्मिर आज किन स्वतन्त्र छैनन् ? यस भेगको अर्को मुलुक भुटानको राजनीतिक अस्तित्व किन नाम मात्रको छ ? यस भेगको स्वतन्त्र मुलुकका रूपमा रहन नेपाल मात्र किन सफल भयो ? यी र यस्ता प्रश्नले बीपीको नेपाको सार्वभौमसत्तालसम्बन्धी बुझाईलाई फितलो साबित गरिदिएका छन्। अर्कोतर्फ पुष्पलाल चाहिँ विदेशी लेखकहरूले नेपाल र भारत एउटै संस्कृतिका अंग हुन् भनी भ्रम छरेकामा रुष्ट थिए। नेपाललाई भारतीय अथवा चिनियाँ सभ्यताको चश्माबाट हेरर राम्रोसँग बुझ्न सकिँदैन भन्ने उनको मान्यता थियो (पुष्पलाल, हिस्टोरिकल नोट्स, सन् २०१०, पृ १, ११)।

पुष्पलालले बटुलेका नेपालसम्बन्धी अंग्रेजी भाषामा लेखिएका-अनुवाद गरिएका लेखहरूको सँगालो ‘हिस्टोरिकल नोट्स’ नामक किताबमा समावेश छन्। सोही किताबमा छापिएको उनको लेख ‘निड फर द हिस्टोरिकल सर्भे अफ द नेपलिज सोसाइटी’ पढ्दा नेपालसम्बन्धी उनको अध्ययन र बुझाइ अत्यन्तै प्रौढ थियो भन्ने देखिन्छ। लेखमा उनले पशुपतिपुराण, स्वयम्भूपुराण, नेपाल महात्म्य, विभिन्न वंशावलीहरू, लिच्छविकालदेखिका अभिलेख, नेपालबारे लेख्ने चिनियाँ रात्री युआन च्वाङदेखि कर्कप्याट्रिक हुँदै भगवनलाल इन्द्रजीसम्मका नेपालसम्बन्धी लेखाइ र बुझाइको विवेचना गरेर नेपाली समाजसम्बन्धी आफ्नो विश्लेषण पस्केका छन्। संशोधन मण्डलमा आबद्ध इतिहासकार डा. महेशराज पन्तका अनुसार, पुष्पलालले नेपाली इतिहासको परिशीलन राम्रोसँग गरेका थिए, त्यसैले उनका लेखाइमा तथ्यगत त्रुटि सितिमित पाइँदैनन् (डा. महेशराज पन्त, साम्यवादी नजरमा नेपालको इतिहास, कान्तिपुर कोसेली, २०७४ फागुन १२, पृ. क)। इतिहास लेखनमा देशभित्रबाहिर कहलिएका डिल्लीरमण रेग्मीका लेखाइमा बग्रेल्ती त्रुटि देखाउने संशोधन मण्डलले पुष्पलाललाई ‘क्लिन चिट’ दिएबाट पनि पुष्पलालको नेपाल अध्ययनको प्रौढता झल्किन्छ।

समाजको विश्लेषण गर्दा र राजनीतिक कार्यक्रम तय गर्दा साम्प्रदायिकताको गन्ध लेसमात्र पनि आउनु हुँदैन भन्ने पुष्पलालको स्पष्ट विचार थियो। एकपटक नेपालको इतिहासबारे चर्चा गर्ने क्रममा डिल्लीरमण रेग्मीले उनलाई भनेका थिए, ‘पृथ्वीनारायण शाहले नेवार जातिमाथि अत्याचार गरेको छ, आफ्नो विजयपछि कीर्तिपुरेहरूको नाक, कान काटे तर मैले नेवार जातिको पक्षमा लेखेको छु।’ आफू नेवारबाट नेपालीमा परिणत भई माक्र्सवादतिर लागेको व्यक्ति भएकाले रेग्मीको सो कुराले उनीप्रति घृणा जागेको पुष्पलालले लेखेका छन्। ‘जुन कुरा रेग्मीले मसँग कोठामा गरेका थिए, त्यही कुरा आज विश्वेश्वर लिखित रूपमा भन्न थालेका छन्’ भनेर उनको बीपीको समेत आलोचना गरेका छन्। वर्गीय राजनीति गर्न नसक्नेले साम्प्रदायिक नारा उराल्छ भन्ने उनको मत थियो (पुष्पलाल, हिस्टोरिकल नोट्स, सन् २०१०, पृ. २०–२१)।

आफूलाई पुष्पलालसमेतको चेला बताउने माओवादीहरूले हिजोका दिनमा वर्गीय राजनीतिको मर्मलाई कम आँकेर साम्प्रदायिकताको डंका पिट्नु गुरुद्रोह मात्र थिएन अपितु नेपाली समाजको आधारभूत चरित्र बुझ्न नसक्ने असक्षमता पनि थियो। कवि श्यामलले भन्ने गरेझैं माओवादी आन्दोलनले जनतालाई ‘अवेयर’ होइन, ‘प्रभोक’ गर्‍यो। त्यसैले आफैंले बुनेको जालमा फस्ने माकुराको दुर्दान्त नियती भोग्न ऊ अभिसप्त भयो। वाम आन्दोलन सघनताका साथ सञ्चालन गर्न माओवादीहरूले पुष्पलालले संगठनात्मक क्षेत्र विभाजन गर्दा नेपालका तीन प्रमुख नदी कोशी, गण्डकी र कर्णालीलाई आधार बनाएको यथार्थबाट शिक्षा लिनु पथ्र्यो (उही, पृ. ५७)।

इतिहास लेखनको परम्परागत शैलीबाट पनि साम्प्रदायिकतालाई प्रोत्साहन मिलिरहेको छ भन्ने पुष्पलालको बुझाइ थियो। राजवंशलाई आधार मानी लिच्छविकाल, मल्लकाल र शाहकाल गरी इतिहासको कालखण्ड विभाजन गर्दा यसले साम्प्रदायिक भावना भड्काउँछ र राष्ट्रिय एकतामा बाधा सिर्जना गर्छ भन्ने उनको मत थियो। त्यसैले उत्पादनको ढाँचामा आउने युगान्तकारी परिवर्तनलाई इतिहासको कालखण्ड छुट्याउने आधार बनाउनुपर्छ भन्ने उनको राय थियो (पुष्पलाल, हिस्टोरिकल नोट्स, सन् २०१०, पृ. १, ११)।

निष्कर्षमा भन्नुपर्दा समग्र बौद्धिकतामा पुष्पलाल बीपीका एक छेउ पनि थिएनन् परन्तु नेपाल बुझ्ने सवालमा उनी बीपीभन्दा निक्कै अघि थिए।

अन्नपूर्णमा प्रकाशित सामाग्रीकाे सम्पादित सानाे अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार