वसन्तऋतुको रमझम अनि ढकमक्क फुलेका लालीगुराँसका फूलहरूसँगै लुकामारी खेल्दै अविचल विजयहुरीको काखबाट इतिहासका महान् निर्माता जनसमुदायको सामीप्यमा लुट्पुटिँदै महान् अक्टोबर क्रान्तिको ढोका नेपाली धर्तीबाट पुनः एकपटक खोलेर संसारभरका श्रमजीवी समुदायलाई विश्वमा क्रान्तिको सफलता निश्चित रहेको सन्देश प्रवाहित गर्ने उच्च अभिलाशा हामीमा थियो ।

पार्टीको रणनीतिक प्रत्याक्रमणको योजनालाई सफलताको दिशातिर डो¥याउने उद्देश्यका साथ हाम्रो मङ्गलसेन फस्र्ट ब्रिगेड पनि युद्धमैदानमा जानुभन्दा अघिका सबै प्रक्रिया पूरा गरी ‘अन्तिम मार्च’ को अत्यन्तै चापिलो समयमा थियो ।जोशिला राता मान्छेहरूको हूलबाट ‘सम्झना’ भनेको शब्दले मलाई झस्काउँछ । ती मान्छेहरूको भीडबाट मिर्गको चालमा म त्यतातिर नयन दौडाउँछु ।

बाटोको छेउमा मधुर मुस्कानसहित व्यग्र प्रतीक्षामा उभिएको मेरो प्रिय मान्छे कमरेड जलनलाई देख्छु । उहाँको अघिल्तिर खुसीको मुस्कान छोडेर बिदा हुनै लाग्दा ‘सम्झना, मोर्चामा राम्रोसँग लड्नू है’ यही शब्द कमरेड जलनको मुखबाट प्रस्फुटित भयो । मैले उहाँलाई ‘ल’ मात्र भन्न भ्याएँ र मार्चमा अगाडि बढेँ । उक्त दिनको त्यो शब्द नै आज मेरा लागि स्मृतिको अन्तिम शब्द बन्न पुगेको छ । मेरो प्रिय त्यही अमर मान्छेको स्मृतिमा शब्दमार्फत दुस्मनप्रति घृणा व्यक्त गर्दै केही शब्द लेख्न लागिरहेकी छु ।

मान्छे जन्मनु र मर्नु यो प्रकृतिको स्वाभाविक नियम नै हो । यो कुरा बुझ्दाबुझ्दै पनि यसलाई पचाउने कुरा निकै चुनौतीपूर्ण रहेछ । क्रान्तिको आवश्यकतालाई पूर्ति गर्न बम र बारुदको बीचमा लुकामारी गर्दै चलिरहेको मेसिनगन रोकिँदा हुने धक्काको स्मरण हुँदोरहेछ आफ्नै जीवनसाथी गुमाउँदा अनि त्यसलाई जीवनमा स्मरण गर्दा ।

सूर्य पारि क्षितिजबाट चिहाउँदै ओझेलमा पर्न थालेको थियो । झ्याउँकीरीको चिच्याहटसँगै धर्तीमा झिसमिसे हुँदै अन्धकारले पाइला टेक्दै थियो । हामी बीचबाटोदेखि नै भिडन्त गर्दै क्याम्पमै गएर आक्रमण गर्ने आँटका साथ अगाडि बढिरहेका थियौँ । आर्कमा पुगिसकेपछि ८१ एमएमले गतिलो काम नगर्दा केही समयपछि जीपीएमजीको सपोर्ट (डिफेन्स) फायरसँगै हाम्रा एसल्टहरू विद्युतीय गतिमा स्वचालित हतियारबाट फायर खोल्दै ब्यारेकका तारबारसम्म पुगे ।

यो लडाइँको विशेषता अलिकति फरक थियो, दुस्मनका बबी ट्र्याप्स, माइनका तारहरू काट्ने, बङ्करका टे«न्चहरू निर्माण गर्ने अनि लडाइँ मोर्चाबद्ध तरिकाले नजित्दासम्म लडिरहने यस्तै प्रशिक्षण भएको थियो । सोहीअनुसार लडाइँ भीषण रूपमा अगाडि बढ्यो । रातको १२–१ बजेको थियो होला, हाम्रो आर्कको बायाँबाट दुस्मनलाई ललकार्दै खबरदारी कासन आइरहेको थियो– ‘हतियार बुझाऊ र ज्यान जोगाऊ । तिमीहरूको क्याम्प जनमुक्ति सेनाको घेराबन्दीमा छ । लड्ने प्रयास नगर…।’

त्यो कासनले मेरो कमान्डमा रहेको एसल्टलाई पनि अगाडि बढ्न बल दिइरहेको थियो । त्यो कासनको आवाज त्यही फिल्डमा जीवनउत्सर्ग गर्नुहुने कमरेड जलनको थियो । भौतिक रूपमा उहाँ अहिले हामीदेखि सदाका लागि बिदा भइसक्नुभयो तर ती शब्दहरू आज टिमलाई नेतृत्व गर्ने विचार बनेका छन् ।

बम र बारुदको आवाजसँगै आकाश गर्जिरहेको थियो । चिसो सिरेटो र सिमसिम पानी परेको थियो तर मौसमी प्रतिकूलताको कुनै परबाह नगरी लडाइँ निरन्तर चलिरहेको थियो । साथीहरू घाइते र सहिद हुने प्रक्रिया जारी थियो । तर मालेमावादको हतियारले युक्त योद्धाहरू अत्यन्त उत्साहका साथ युद्धमा डटेका थिए । । समय आफ्नै गतिमा थियो । बिहानको ३ बजिसकेको थियो । हाम्रो एसल्ट रहेको ठाउँमा एक्कासि टु इन्च मोर्टारको सेल खस्यो । केही साथीहरू त्यहीँ ढल्न पुग्नुभयो । हामी धेरै घाइते भयौँ । घाइते हामीलाई त्यहाँबाट साथीहरूले स्वास्थ्योपचार केन्द्रसम्म पु¥याउनुभएको रहेछ ।

केही समयपछि होसमा आउँदा घाइते साथीहरूको करुणादायी चिच्याहट मेरो कानमा गुन्जिन पुग्यो । मेरा नसानसामा रगत उम्लिरहेको थियो । फेरि युद्धमोर्चामै पुगेर लड्ने मनोकाङ्क्षा जाग्यो मभित्र । तर हातखुट्टा शिथिल भइसकेका थिए । स्वास्थ्यकर्मी कमरेडहरू हामीलाई छिट्टै हिँड्न भनिरहनुभएको थियो । गरुँगो मन लिएर एकजना साथीको सहारामा बिस्तारै आरभीतिर हिँड्न सुरु गरेँ म । तर लडाइँ हार वा जित के भएको थियो, थाहा थिएन । म त्यही जान्न चाहिरहेकी थिएँ । मैले लड्न नसके पनि मेरो जीवनसाथीलगायत सबै योद्धाहरूले बदला लिनुहुन्छ भन्ने कल्पना गर्दै म फर्कंदै थिएँ ।

टुक्रिएको मुटु थाम्दै म आरभी प्वाइन्टमा पुगेँ । आतुर थिएँ म युद्धस्थलको हालखबर बुझ्न र कमरेड जलनको अवस्था थाहा पाउन । घाइते शिविरमा थियौँ हामी । मलाई भने निकै छट्पटी भइरहेको थियो । युद्धको हालखबर सुन्न नपाइरहेको बेला एकजना स्वास्थ्यकर्मी आइपुग्नुभयो । मेरो मनमा उकुसमुकुसिएका प्रश्नहरूलाई उहाँको अगाडि पस्किएँ । उहाँको अनुहार मलिन थियो र त्यसले सङ्कोचभाव प्रकट गरिरहेको थियो । उहाँको मौनतामा केही छ भन्ने मैले शङ्का गरेँ । तर फेरि आँट गरेँ कमरेड जलनको घायल वा सहादतको खबर सुन्ने । आखिर जे अनिष्ट कल्पना गरेकी थिएँ, त्यही भएको रहेछ । …मलाई थाहा थिएन म घायल हुनुभन्दा पहिले नै मेरो जीवनसाथी बदला लिने निर्देशन दिएर सदाका लागि बिदा भइसक्नुभएको रहेछ । क्षितिजपारिबाट उदाउने घाम बनिसक्नुभएको रहेछ ।

यता आफ्नो घाइते अवस्था, उता जीवनसाथीको प्रत्यक्ष सहयोगदेखि सदाका लागि भौतिक रूपमा टाढा भएको खबर ! जीवनमा कहिल्यै नभएको अनुभूति र पीडा भयो । दौडिएर रणभूमिमा गएर पड्कौँजस्तो लाग्यो । सपना हो वा विपना, स्वीकार्नै सकिनँ । आँखाका आँसु थामिन मानेनन्, बगिरहन थाले । आफ्नै जीवनतुल्य प्रिय मान्छेको मृत्युको खबरलाई स्वीकारौँ कसरी ? तर युद्धको भीषण अवस्थाले उहाँको बलिदानीपूर्ण सहादतलाई पुष्टि गरिसकेको थियो । नचाहेरै पनि बिस्तारै भावनाको तरङ्गबाट यथार्थको धरातलमा आफूलाई उभ्याउने कोसिस गरेँ ।

लामो समय माक्र्सवादी प्रेमको अवधि बिताउँदै २०६१ भदौ २३ गते रोल्पाको बाङ्गेतालमा आदरणीय कमरेडहरूको अगाडि आवश्यकतामा बलिदान दिनसमेत पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेर हामीले विवाह गरेका थियौँ । विवाहको ८ महिना नपुग्दै इतिहासले त्यो कुरा पुष्टि ग¥यो ।

युद्ध आफैँमा निर्मम र कठोर हुँदो रहेछ । यी सबै भावना र विचारको द्वन्द्वबाट नयाँ चीज पैदा भएको छ । विगतको सहकार्यलाई वर्तमानमा स्मरण गर्दै भविष्यमा दुस्मनसँग बदला लिने प्रतिबद्धतासहित आफूलाई समाल्ने कोसिस गरिरहेकी छु । कमरेड जलन, मेरो जीवनसाथी मात्र नभएर एउटा कुशल कमान्डरलाई पार्टीले गुमाएको छ । त्यसैले थप कर्तव्यबोधका साथ आफ्नो जिम्मेवारी पूरा गर्नु हामी सबैको दायित्व बन्न गएको छ ।

भावनाको छालमा जति तैरिए पनि अब भने सहिदले देखाएको बाटोमा अघि बढ्ने अठोट गर्ने कुरा नै सहिदप्रतिको उच्च सम्मान हुनेछ । कमरेड जलनलगायत सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन !

राताेखबर साप्ताहिकबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार