गत साता इएसपिएन क्रिकइन्फोले ट्वीटरमा लेख्यो- १५ वर्षको छँदा तपाईं के गरिरहनुभएको थियो? रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन्।

शुक्रबार नेपालको नेदरल्याण्डससँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच थियो। सोही म्याचमा डेब्यू गर्दा रोहित १५ वर्ष ११ महिनाका थिए। कम उमेरमा ओडिआई डेब्यू गर्ने उनी विश्वकै चौथो कान्छा खेलाडी हुन्। भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकरभन्दा पनि कम उमेरमा रोहितले ओडिआई डेब्यू गरेका छन्। सन् १९८९मा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्दा सचिन १६ वर्ष ८ महिनाका थिए।

जुंगाको रेखी राम्ररी नबस्दै रोहितले नेपाली राष्ट्रिय टोलीमा आफ्नो स्थान कसरी बनाए?

‘मैले पनि यति छिटै यो सब हुन्छ भन्ने सोचेको थिएन,’ बिहीबार त्रिवि क्रिकेट मैदानमा भेटिएका रोहितले सेतोपाटीसँग भने, ‘सबै परिस्थिति मिल्दैमिल्दै आयो र यहाँ पुगियो।’

नवलपरासीको बर्दघाट-१४ मा जन्मेका रोहित परिवारका कान्छा छोरा हुन्। उनका बुवा कुमार पौडेल इन्डियन लाहुरे थिए। सचिन तेन्दुलकरका फ्यान पनि। उनी छोरालाई डाक्टर, इन्जिनियर वा अरू केही होइन क्रिकेटर नै बनाउने चाहन्थे।

‘घरपरिवारमा क्रिकेटको वातावरण थियो। दाइ र अंकलहरू पनि क्रिकेट र फुटबल खेल्नुहुन्थ्यो,’ रोहितले भने, ‘ड्याडी छुट्टीमा आउँदा मलाई हुने ब्याट र बल ल्याइदिनुहुन्थ्यो।’

रोहितका फुपूका छोरा बासुदेव थापाले २००१ मा यू-१९ टोलीबाट खेलिसकेका थिए। उनी पनि रोहितसँगै बस्थे।

उनी पढ्ने स्कुलमा पनि कहिलेकाहीँ क्रिकेट टुर्नामेन्ट हुन्थे। रोहित पढाइमा अब्बल थिएनन् तर क्रिकेटमा भने चौका र छक्का हानिदिन्थे।

‘६/७ क्लास पढ्दा अर्को स्कुलमा भएको म्याचमा मैले राम्रो खेलेको थिएँ, फर्केपछि यसले म्याच जितायो भनेर स्कुलभरि हल्लाखल्ला भाथ्यो,’ रोहितले सम्झिए।

सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि-ट्वान्टी विश्वकप खेल्यो। त्यो प्रतियोगितामा नेपालले खेलेका सबै खेल उनले टेलिभिजनमा हेरे। त्यतिञ्जेलसम्म रहर पूरा गर्न क्रिकेट खेल्ने रोहितले त्यसपछि सोचे-अब म साँच्चै क्रिकेट खेल्छु।

किन?

‘पारस, ज्ञानेन्द्र, शक्ति, बसन्त, शरद दाइहरू देखेपछि टिभीमा पनि आउन पाइने। नाम पनि हुने रैछ भन्ने लाग्यो,’ उनले भने।

आफ्नो मनको कुरा उनले आमा पाल्जिसलाई सुनाए- म क्रिकेट सिक्न काठमाडौं जान्छु।

धेरै बाबुआमा एसएलसी सकेपछि मात्र कलेज पढ्न छोराछोरीलाई काठमाडौं पठाउँछन्। रोहितलाई पनि डर थियो, नाइँ, हुन्न भनिदिन्छन् कि।

आमाले रोहितको कुरा बुवालाई सुनाइन्। बुवाले हुन्न भनेनन् बरू काठमाडौंमा बस्ने भतिजीलाई क्रिकेट एकेडेमी खोज्न लगाए।

केही दिनपछि उनी दाइसँग सीमावर्ती भारतीय बजार ठुटीबारी गए। आफूलाई चाहिने बल, ब्याट,पञ्जासहित अरू किट किने। ती सामान किन्न २५ हजार खर्च भयो।

घर फर्केपछि उनले ठूलो ब्यागमा ती सबै सामान प्याक गरे। र एकदिन काठमाडौं आउने नाइट बस चढे। भाइलाई काठमाडौं पुर्‍याउन छेउको सिटमा बसिन् दिदी।

अर्को बिहान दिदीभाइ काठमाडौं पुगे।
बालुवाटारमा दिदीको डेरा थियो। उनी त्यहीँ बसे। साता दिनपछि १५ सय रूपैयाँ तिरेर बालुवाटार क्रिकेट एकेडेमी भर्ना भए। क्रिकेट सिकेको महिनावारि हजार रूपैयाँ लाग्थ्यो।

पहिला टेनिस बल खेल्ने रोहितले एकेडेमीमा ड्युज बल पनि खेल्न थाले। ठूलो ब्याट समाएको पनि उनले यहीँ आएर हो। एकेडेमीमा उनले डेढ वर्ष क्रिकेट सिके। बालुवाटार एकेडेमी टुर्नामेन्टमा भाग लिन्थ्यो। उनी पनि खेल्न जान्थे। त्यसरी जाँदा नै हो उनले टिभीमा देखेका राष्ट्रिय खेलाडीलाई प्रत्यक्ष देखेको।

उनीसँगै क्रिकेट सिक्ने एकजना साथीले भने- यहाँभन्दा दिल्लीमा राम्रो क्रिकेट सिकाउँछ। हामी पनि उतै गएर सिकौं।

उनले फेरि ममीलाई भने-म अब दिल्ली गएर क्रिकेट सिक्छु।

परिवारले नाइँनास्ती भनेनन्। दाइले दिल्लीमा बस्ने एकजना गाउँले दाइसँग भनिदिए- रोहित आउँदैछ।

साथीको परिवारमा कुरा मिलेन। रोहित एक्लै दिल्ली हान्निए। गुरुचरण सिंह एकेडेमी चार महिनाजति ट्रेनिङ गरे। अनि घर फर्किए।

त्यतिबेला नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बनमा थियो। कुनै क्रिकेट गतिविधि गर्न पाएको थिएन।

सन् २०१६ को डिसेम्बरमा श्रीलंकामा एसिसी यू-१९ एसिया कप हुँदै थियो। त्यो प्रतियोगिता खेल्ने नेपाली खेलाडीको टुंगो थिएन। टिम बनाउन देशभरि ट्यालेन्ट हन्ट गरियो। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, यू- १९ का प्रशिक्षक विनोद दास, प्राविधिक विशेषज्ञ रमन सिवाकोटी धनगढी, नेपालगञ्ज र भैरहवा गए।

भैरहवामा हुने ट्यालेन्ट हन्टबारे रोहितका दाइले थाहा पाएछन्। उनलै भने- त्यहाँ तँ जा।

२०१५ को नोभेम्बरमा रोहितले ट्यालेन्ट हन्टमा भाग लिए।

‘मलाई ब्याटिङ गर्न भने। १०/१५ मिनेट ब्याटिङ गरें। राम्रै भएको थियो। दुई दिनपछि भैरहवाबाट छानिएका ८ जनामा मेरो नाम पनि आयो,’ रोहितले भने।

रोहितमा त्यस्तो के थियो र उनी छानिए?

प्रशिक्षक टमाटा भन्छन्- त्यहाँ आएका अरूभन्दा उसले अर्कै किसिमले प्रस्तुत भयो। मन जित्यो। यो केटाले भविष्यमा केही गर्छजस्तो लाग्यो। पहिलो दिनभन्दा दोस्रो दिन उसले झन राम्रो गर्‍यो।

त्यसपछि उनी यू-१९ को क्याम्पको लागि काठमाडौं आए। ट्यालेन्ट हन्टबाट आएका र पहिला खेलाडीसहित ५२ जनाको क्याम्प सुरू भयो। अर्को चरणमा २२ जना पुगे। रोहित त्यसमा परे। २२ जनाबाट श्रीलंका जाने १५ जनाको नाम छानियो। त्यसमा पनि रोहित अटाए।

‘क्रिकेट खेल्न काठमाडौं आएको थिएँ तर यति छिटो यू-१९ मा पर्छु भन्ने लागेको थिएन। त्यतिबेला मलाईमात्र होइन ड्याडीममी सबैलाई अचम्म र खुसी लाग्यो,’ रोहितले भने।

प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेल श्रीलंकासँग खेल्यो तर रोहित प्लेइङ ११ मा परेनन्।

दोस्रो खेल भारतसँग थियो। त्यही खेलबाट रोहित डेब्यू भए। आठौं नम्बरमा क्रिजमा आएका उनले तीन वटै फर्म्याटमा बलियो भारतविरूद्ध ६८ रन हाने। २४ औं ओभरमा आएका उनले अन्तिम बलसम्म नेपालको पारी सम्हाले।

अन्तिम ओभरमा त उनले भारतका तेज बलर कमलेश नगरकोटीलाई २४ रन हानिदिए। त्यो ओभर उनी कहिल्यै पनि बिर्सदैनन्।

‘पहिलो बलमा स्कुप प्रयास गरे तर लागेन। डट बल भयो। दोस्रो बलमा मिडनमा छक्का हानें। तेस्रो बलमा पुल गरेर चौका हानें। चौथो बलमा कभर्समा चौका हानें। पाचौं बल मिड विकेटमा छक्का भयो। लास्ट बल स्ल्यास गर्दा एज लागेर चौका गयो,’ रोहितले भने,‘त्यतिबेलासम्म मैले खेलेको सबैभन्दा फास्ट बलर उही थियो।’

त्यो खेल भारतले ६ विकेटले जित्यो। सर्वाधिक रन बनाएका रोहितले नेपाली क्रिकेट प्रेमीको मन जिते।

‘त्यही खेलबाट उसले नेपाली टिमका लागि म जरूरी छु है भनेर देखाइदियो,’ प्रशिक्षक टमाटा भन्छन्,‘त्यसका लागि चाहिने क्षमता र भोक पनि उससँग थियो।’

श्रीलंका टुरबाट फर्केर उनी बर्दघाट पुगे। उनको स्वागतमा चौकसम्म गाउँभरिका मान्छेका आएका थिए।

‘माला ल्याएका थिए। गाडीमा राखेर मलाई घर पुर्‍याए। गाउँभरिका सबै खुसी थिए,’ रोहितले भने,‘त्यो दिन सबभन्दा बढी खुसी ड्याडी हुनुहुन्थ्यो।’

त्यसपछि उनी सिनियर टोलीको क्याम्पमा परे।

त्यहाँ उनको प्रदर्शन राम्रो भएन। उनी टोलीमा अटाएनन्। उनलाई गुमाउनु केही थिएन, ठीकै छ भनेर चित्त बुझाए। त्यो क्याम्पमा उनले राष्ट्रिय टोलीका सबै खेलाडी चिन्न पाए।

धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो संस्करणमा उनलाई काठमाडौं गोल्डेन्सले किन्यो। त्यसमा उनले सम्झनलायक प्रर्दशन गर्न सकेनन्।

त्यसपछि उनी दोस्रो पटक सिनियर टोलीको क्याम्पमा परे। त्यहाँ पनि उनले आफूलाई अब्बल साबित गर्न सकेनन्।

यसपालि भने टिममा नपर्दा उनलाई साह्रै नरमाइलो लाग्यो।

‘म घर गएँ। घर पुगेको अर्को दिनबाट बुटवलमा एकेडेमी जान थालें,’ रोहितले भने, ‘हरेक दिन बिहान माइक्रो चढेर जान्थे। दिनभरि प्राक्टिस गर्थें। साँझ घर फर्कन्थें।’

उनको घरदेखि बुटवल ४८ किलोमिटर छ। त्यहाँ उनले महिना दिन क्रिकेट अभ्यास गरे।

त्यसपछि काठमाडौंमा एभरेष्ट प्रिमियर लिग (इपिएल) भयो। भैरहवा गोल्डेन्सबाट खेलेका रोहित प्रतियोगितामा चम्किए।

तल्लो क्रममा आएर उनले म्याच जिताउन महत्वपूर्ण पारीहरू खेलेर टिमलाई फाइनल पुर्‍याउन ठूलो योगदान दिए।

तेस्रो पटक उनी सिनिएर क्याम्पमा परे। क्याम्पमा भएको बेला छानिएका खेलाडीबीच भएको पहिलो खेलमा ५० रन हाने। त्यसपछि घाइते भए पनि उनी वर्ल्ड क्रिकेट लिग डिभिजन २ खेल्न नामिबिया जाने टिममा अटाए।

जहाजमा उनीसँगै थिए, बंगलादेश विश्वकप खेल्दा उनले टिभीमा देखेका अनुहारहरू।

‘जहाजको छेउको सिटमा ज्ञानेन्द्र दाइ हुनुहुन्थ्यो। सुरूमा त बोल्न अड लाग्थ्यो। पछिपछि कन्फर्टेबल हुँदै गएँ,’ राष्ट्रिय टोलीबाट पहिलो विदेश टुरबारे रोहित भन्छन्।

क्रिकेटर बन्ने सपना बोकेर राजधानी छिरेको झन्डै ४ वर्षपछि गत फागुनमा रोहित नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरे, नामिबियाविरुद्ध। पहिलो खेलमा उनले शरद भेषावकरसँग ४० रनको साझेदारी गरे। आफैंले १७ रन जोडे।

त्यो प्रतियोगितामा सबैभन्दा सनसनीपूर्ण खेल क्यानडासँग भयो। १९५ रनको लक्ष्य पाएको नेपालले ४१ ओभरमा १४४ रन बनाएर ८ विकेट गुमाइसकेको थियो। नवौं नम्बरमा आएका करन केसीले बिस्फोटक ब्याटिङ गरे। ३१ रनमा ४२ रन जोडेका उनले खेल नेपालको पक्षमा पारिदिए। नेपाल १ विकेटले विजयी भयो।

करणले त्यो खेलको भिडियो मोबाइलमा सेभ गरेर राखेका छन्। अहिले पनि बेलाबेला उनी त्यो भिडियो देखाएर ब्याट्सम्यानसँग जिस्किन्छन्- यी यसरी गर्नुपर्छ ब्याटिङ!

करणले दिलाएको त्यही जितपछि नेपालले विश्वकप छनौटमा स्थान सुरक्षित बनायो।

सो प्रतियोगितामा कप्तान पारसले ६ खेलमा २४१ रन बनाएका थिए भने रोहित त्यति नै खेलमा १४० रन बनाएर सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बने।

राम्रो खेलेको भनेर रोहितले स्याबासी पाए।

जिम्बावेमा भएको प्रतियोगिताबाट नेपाल विश्वकपमा छानिएन तर अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पायो। त्यो ऐतिहासिक क्षणको उनी साक्षीमात्र होइन हिस्सेदार पनि भए।

नेपालले गत साता आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला नेदरल्याण्डसँग खेल्यो।

पहिलो खेलमा फिल्डिङका क्रममा शरद भेषावकर घाइते भए। दोस्रो खेल भेषावकरको साटो रोहितलाई मौका दिइयो। १५ वर्षमा ओडिआई डेब्यू गरेर रोहितले विश्वकै चौथो कान्छो खेलाडीको इतिहास बनाए।

बिहीबार उनी मलेसियामा हुने एसिया कपको छनोटका लागि प्रारम्भिक टोलीमा परेका छन्।

रोहितको यो क्रिकेट यात्रालाई प्रशिक्षक टमाटा छलाङ भन्छन्।

‘उसमा क्षमता र भोक दुबै छ। राष्ट्रिय टिम यति प्याक छ कि प्रदर्शनबिना कोही पनि टिममा अटाउँदैन,’ टमाटाले भने,‘ तर ऊ लगातार टिममा परिरहेको छ। ट्यालेन्ट हन्टबाट आएका अरू पनि खेलाडी छन् तर उसले छलाङ हान्यो।

ब्याटिङ अलराउन्डर रोहितको मन पर्ने सट स्क्वायर कट र कभर ड्राइभ हो। उनलाई मेडियम पेस बल खेल्न सजिलो लाग्छ। ‘स्पिनरको बलमा स्ट्राइक रोटेट गर्न अलिक गाह्रो लाग्छ,’ उनले भने।

प्रशिक्षक टमाटाका अनुसार उनी जुन फर्म्याट हो त्यहीअनुसार आफूलाई ढालेर खेल्न सक्छन्।

‘एक दिवसीय खेल्दा १०/१५ बलसम्म आक्रामक खेल्दैन। त्यसपछिमात्र खुलेर सट हान्न सुरू गर्छ अनि टिकेर खेल्छ। टिमलाई जे चाहिएको छ त्यहीअनुसार फिट हुन सक्छ,’ टमाटाले भने।

सबैभन्दा कान्छा भएकाले होला टिमका सबैले उनलाई माया गर्छन्। सबैभन्दा बढी माया कप्तान पारसले गरेजस्तो लाग्छ उनलाई।

‘दाइहरूले कहिलेकाहीँमात्र यस्ता फन्टुस कुरा सुन्नु हुँदैन भाइ भन्नुहुन्छ नत्र त माया गर्नुहुन्छ,’ रोहितले भने।

उनलाई मन पर्ने ब्याट्सम्यान भारतका रोहित शर्मा हुन्। नाम मिलेर होइन ब्याटिङ गर्ने स्टाइल राम्रो लागेर हो रे। रोहितपछि उनलाई स्टिभ स्मिथ, एबि डि भिलियर्स र विराट कोहली मन पर्छन्।

अनि अनुष्का शर्मा?

‘नाइँ, मलाई त श्रद्धा कपुर मन पर्छ,’ उनले लजाउँदै जवाफ दिए।

विदेश जाँदा होटलमा भने उनी शक्ति गौचनसँग बसे।

ठूलाबाट केही सिक्ने अवसर पाऊन् भनेर एक जना सिनियर र एक जना जुनियर खेलाडीलाई एउटा कोठामा राख्ने गरिएको छ। सबैभन्दा कान्छा खेलाडी भएकाले उनलाई सबैभन्दा अनुभवी शक्ति गौचनसँग राखिएको प्रशिक्षक टमाटाले बताए।

रोहित नजन्मिँदै क्रिकेट खेलेका शक्तिले अहिले सन्यास घोषणा गरेका छन्।

कोठामा हुँदा शक्ति आफ्ना अनुभव रोहितलाई सुनाउँथे।

करियरको सुरूमा शक्ति ब्याट्सम्यान थिए। उनले सन् २००५ मा इटालीविरूद्ध शतक हानेका थिए। अन्तर्राष्ट्रिय म्याचमा शतक हान्ने उनी दोस्रो नेपाली ब्याट्सम्यान हुन्। उनी अहिले बलिङ गर्छन् तर रोहितलाई भने ब्याटिङ टिप्स नै सिकाउँछन रे।

‘क्रिकेट बाहिर पनि राम्रो गर्नुपर्छ। अब म हुँदिनँ। राम्ररी खेल्नु भन्नुहुन्छ,’रोहितले भने,‘कहिलेकाहीँ निकै इमोसनल कुरा पनि गर्नुहुन्छ। म हाँस्छु। म हाँसेको देखेर दाइ पनि हाँस्नुहुन्छ।’

अहिले नेपाली टोलीको तल्लो मध्यक्रमको ब्याटिङ धानिरहेका रोहितलाई टप अर्डरमा ब्याटिङ गर्न रहर छ।

अहिलेको स्थानमा ब्याटिङ गर्दा उनले प्राय: लामो पारी खेल्न पाउँदैनन्। जहिल्यै दबाबमा खेल्नुपर्छ। पहिलाका ब्याट्सम्यान टिके भने अन्तिममा आएर उनले थोरै बलमा धेरै रन बनाउनु पर्छ। उनीहरू सस्तैमा आउट भए भने बलरहरूसँग साझेदारी गरेर पारी उकास्नुपर्छ।

नेपालको ओपनिङमा अहिले उपकप्तान ज्ञानेन्द्र मल्ल जान्छन्। अर्को ब्याट्सम्यान फेरिइरहेका छन्।
प्रशिक्षक टमाटाले राम्रो प्रदर्शन गर्दै गए टप अर्डरमा आउन सक्ने भए पनि अहिले नै रोहित तयार भइनसकेको बताए।

‘उसले मध्यम गतिमा अनुशासित बलिङ पनि गर्छ। उसलाई अलराउन्डर बनाउन ल्याएका हौं। जिम्मेवारी लिन्छ। अनुशासित र मेहनती छ। नेतृत्व क्षमता पनि छ। राम्रो प्रदर्शन गरे माथि आउन सक्छ,’ टमाटाले भने।

रोहितमा टमाटाले देखेको सबैभन्दा महत्वपूर्ण कुरा क्रिकेटको भोक हो। त्यही भोक कायम राखे उनले नेपाली क्रिकेटमा अझै ठूलो छलाङ हान्ने र नेपाली क्रिकेटलाई अझै माथि लैजाने आशा आफूले गरेको उनले बताए।

‘ट्यालेन्ट हन्टपछि देखाएको भोकले उसले छलाङ हानेको छ,’ टमाटाले भने,‘भोक भइराख्यो भने उसले अर्को ठूलो छलाङ हान्न सक्छ। यसमा कुनै शंका छैन।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार