ह्वाइट हाउसले उत्तरकोरियाको आणविक कार्यक्रमको समाधानका लागि लिबियालाई उदाहरणका रूपमा हेरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आइतबार लिबियाली मोडेलको उल्लेख गरे । अमेरिकी टिभी च्यानल सीबीएसको ‘फेस द नेसन’ र ‘फक्स न्युज सन्डे’मा उनले यो कुरा उल्लेख गरेका थिए ।

“हाम्रो दिमागमा सन् २००३, २००४ मा चालिएको लिबियाली नमुना रहेको छ ।” फक्समा उनले भने “दुईबीचमा निश्चित रूपमा केही फरक छन् । लिबियाको क्रार्यक्रम निक्कै सानो स्तरको थियो तर हामीले आधारभूतमा त्यो सम्झौताबाट सिक्न सक्छौं ।”

विज्ञहरूले भने उत्तरकोरियासँगको वार्तामा उसको आणविक हतियार निशस्त्रीकरणका लागि लिबिया नमुनाको उल्लेख गर्नु अनुत्पादक हुने बताए ।

लिबियाली नेता मोअम्मद गद्दाफीले नाकाबन्दीमा सहुलियत दिएबापत सन् २००३ मा आणविक लक्ष्य त्यागेका थिए । सम्झौता हुने बेलासम्म लिबियाले निर्माण गरेका आणविक उपकरणहरू अमेरिकाको टेनिसीमा लगिएको थियो । बोल्टन लिबिया सम्झौता हुने बेलामा तत्कालीन जर्ज बुस सरकारको तर्फबाट वार्तामा संलग्न थिए ।

तर त्यसको केही वर्षभित्र गद्दाफी अमेरिका समर्थित विद्रोहीबाट मारिए ।

“मैले चिनियाँहरूबाट प्रत्यक्ष सुनेको छु प्योङयाङ लिबियाली मोडलमा सकारात्मक छैनन् ।” ओबामा प्रशासनमा सहायक सेक्रेटरी अफ स्टेट रहेको एन्टोनी जे ब्लिन्कनले भने, “एकातर्फ लिबियाली मोडलेको कुरा गर्ने अनि अर्कोतर्फ इरानसँगको आणविक सम्झौता रद्द गर्ने, ट्रम्प प्रशासनका यी कदमहरूले किम जोङ उनलाई गलत सन्देश दिनेछ, जसले वार्तामा अपेक्षित नजिता हासिल नहुन सक्छ ।”

उत्तर कोरियाबारेमा अध्ययन गरेका विज्ञहरूले प्योङयाङले विभिन्न अवसरमा दीर्घ कालमा आणविक कार्यक्रमले मात्र अमेरिकालाई आफ्नो शासन अन्त्य गर्नबाट रोक्ने उल्लेख गर्ने गरेको बताएका छन् ।
कुनकुन राष्ट्रले आफ्नो आणविक हतियार त्यागेका छन् ?

इतिहासमा जम्मा चार राष्ट्रहरूले स्वेच्छिक रूपमा आफ्नो आणविक हतियार त्यागेका छन् ।

दक्षिण अफ्रिकाले आफ्नो गोप्य आणविक कार्यक्रम सन् १९८९ मा छाडेको थियो । त्यो बेला उसले आफूले बनाइसकेको आधा दर्जन आणविक बमहरू नष्ट गरेको थियो ।

त्यस अतिरिक्त सोभियत सङ्घको हिस्सा रहेका युक्रेन, बेलारुस र कजाखस्तानले सोभियत सङ्घको पतनपछि आफ्नो भूमिमा रहेका सोभियतकालीन आणविक हतियारहरू रसियालाई हस्तान्तरण गरेका थिए ।

सन् १९९४ मा भएको त्यो आणविक निशस्त्रीकरणसम्बन्धी सम्झौतामा अमेरिका, बेलायत र रसियाले ती राष्ट्रहरूको सार्वभौमसत्ता र सिमानाको सम्मान गर्ने उल्लेख थियो ।

तर सन् २०१४ मा रसियाले युक्रेनको हिस्सा रहेको क्रिमिया कब्जा गरेपछि र पूर्वी युक्रेनमा लडिरहेका पृथकतावादीहरूलाई समर्थन गरेपछि उसले आफ्नो विगतको निर्णयमा पछुताएको जस्तो देखिन्छ ।

अन्य राष्ट्रमा ब्राजिल र ताइवानले पनि आणविक हतियार बनाउन खोजेका थिए । तर उनीहरूलाई प्रारम्भिक अवस्थामामै बम निर्माण परित्याग गराउन अन्तर्राष्ट्रिय समुदाय सफल भयो ।

इरानले सन् २०१५ मा अमेरिका नेतृत्वका ६ शक्ति राष्ट्रहरूसँग आणविक सम्झौता गर्दा आणविक हतियार निर्माण गर्ने लक्ष्य लिएको भए पनि ऊसँग आणविक हतियार रहेको देखिएको थिएन ।

लिबियाको सन्दर्भ 

लिबियासँग पनि इरानको जस्तै आणविक हतियार त थिएन तर उसको आणविक हतियार निर्माण गर्ने लक्ष्यअन्तर्गत निक्कै अघि बढिसकेको थियो । तर उसले सन् २००३ मा आफ्नो बाटो बदल्यो । कोलोनेल गद्दाफीले अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने सर्तमा आणविक कार्यक्रम त्याग्न बुस प्रशासन र बेलायतसँग गोप्य वार्ता थाले ।

यो निर्णय मुख्यतः लिबिया वर्षौंसम्म संसारबाट एक्लिएको अवस्था अन्त्य गर्ने प्रयासमा आएको थियो । तर सम्झौता अमेरिकी आक्रमणपछि इराकका नेता सद्दाम हुसेन इराकको एक गुफामा पक्राउ परेको केही पछि हस्ताक्षर भएको थियो । अमेरिकाले इराकमा पनि आम नरसंहारकारी हतियार भएको आरोपमा आक्रमण गरेको थियो । कोलोनेल गद्दाफी आफ्नो त्यो अन्त्य हुन नदिनका लागि पनि सम्झौता गर्न राजी भएको हुनसक्छन् ।

लिबियासँगको सम्झौतालाई निष्र्कष पु¥याउन बोल्टनसँगै काम गरेका रोबर्ट जोसेफले भने “हेर्नुस लिबिया उत्तर कोरिया होइन । लिबियाको कार्यक्रम हामीले सोचेको भन्दा निक्कै परिष्कृत थियो तर यो आजको उत्तरकोरियाको कार्यक्रमको तुलनामा निक्कै कम थियो । निःसन्देह लिबियाले हाल उत्तरकोरियाले हामीसामु खडा गरेको जस्तो सैन्य खतरा निम्त्याएको थिएन । दुई अवस्था निक्कै फरक छन् ।”
तर उनलाई लिबियासँगको सम्झौताको केही पाठ भने उत्तरकोरियामा लागु हुनसक्ने लाग्छ । जोसेफका अनुसार उत्तरकोरियामा लागू हुने लिबियाको पाठ भनेको किमबाट आणविक कार्यक्रम त्याग्ने साचो प्रतिबद्धताको खाँचो हो । उनको विचारमा अर्को पाठ भनेको उपलब्ध सम्पूर्ण साधनहरू : गुप्तचरी, आर्थिक प्रभाव, कूटनीति र शक्ति प्रयोग गर्ने धम्कीको उपयोग हो । यसका अतिरिक्त उनका अनुसार अनुगमनकर्तालाई ‘जहाँसुकै, जुनसुकै’ बेला आणविक केन्द्रमा अनुगमन गर्ने अधिकार दिनुपर्ने पनि सिक्न सकिन्छ ।

तर अन्य विज्ञहरू दुईबीच तुलना हुनै नसक्ने बताउँछन् । ओबामा प्रशासनमा हतियार नियन्त्रण र अप्रसारसम्बन्धमा विशेष सल्लाहकार रोबर्ट जे आइनहर्नले भने “लिबियासँग खासमा आणविक हतियार कार्यक्रम पनि थिएन । उसलाई आफूले बनाएको सेन्ट्रिफ्युगलले के गर्ने भन्ने पनि थाहा थिएन । अमेरिकाको सामान्य प्लेनले उसको पूरा ‘आणविक कार्यक्रम’ अमेरिका बोकेर ल्याएको थियो ।”

तर त्यसको तुलनामा उत्तर कोरियासँग आणविक हतियार रहेको आइनहर्नले भने । “र उसँग कति हतियार छ भन्ने पनि हामीलाई थाहा छैन । साथै ती उत्तरकोरियमा कहाँ छन् पनि थाहा छैन । ती सबैको प्रमाणीकरण गर्न र नष्ट गर्नका लागि वर्षौं लाग्छ ।”

कोलोनेल गद्दाफीको निर्मम अन्त्य सन् २००३ को सम्झौतासँग प्रत्यक्ष जोडिएको थिएन । उनी सन् २०११ मा सुरु भएको अरब क्रान्ति उनको राष्ट्रमा फैलिएपछि त्यसविरुद्ध भीषण दमनमा उत्रेका थिए । त्यसले निहत्थ्याहरू मारिएको र त्यसलाई रोक्न भन्दै अमेरिका र युरोपेली मित्र शक्तिले लिबियमा आक्रमण गरेका थिए ।

जोसेफले ओबामाले त्यो बेला आक्रमण गर्नुअघि त्यसको प्रभावबारे सोच्नुपर्ने थियो बताए । उनले भने– “उनीहरूले त्यो बेला अर्को एक दिनको पनि योजना नबनाई आक्रमण गरे अझ त्यसले अप्रसारमा के सन्देश जान्छ भन्ने पनि सोचेनन् ।”

तर उत्तरकोरियाले भने यी सम्झौता र गद्दाफीबीचमा सम्बन्ध देखेको छ । सन् २०११ मा उत्तरकोरियाको सरकारी समाचार एजेन्सीले त्यहाँको विदेश मन्त्रालयको टिप्पणी समेटेको थियो, जसमा उनले आणविक सम्झौतालाई आक्रमण गर्न सजिलो पार्ने राणनीतिअन्तर्गत भएको बताए ।

विदेश मन्त्रालयले भनेको थियो “लिबियाली सङ्कटले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर पाठ सिकाएको छ ।”

विभिन्न एजेन्सीहरूबाट राताेपाटीले तयार पारेकाे रिपाेर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार