यसअघि गोप्य राष्ट्रका रुपमा रहेको उत्तर कोरियाले विगत् केही समयदेखि संयुक्त राष्ट्र संघलाई आफ्ना देश भित्रका विविध क्षेत्रबारे जानकारीको पहुँच दिइरहेको छ ।

यसै क्रममा उत्तर कोरियाको चारदिने भ्रमणमा गएका विश्व खाद्यान्न कार्यक्रमका प्रमुखले पनि उत्तरका शाषकहरुमा अहिले सकारात्मक भाव बढि देखिएको बताएका छन् । यसैलाई लिएर खुसी व्यक्त गर्दै डेभिड बिस्लीले सरकारी अधिकारीको निगरानीमा भएपनि यसअघिको भन्दा धेरै स्वतन्त्र यात्रा गरेको उल्लेख गरेका हुन् ।

उनका अनुसार जारी आर्थिक प्रतिबन्धपछि उत्तर कोरिया अहिले पर्याप्त पोषणको आवश्यकतालाई पूरा गर्न धेरै कठिन प्रयास गरिरहेको छ र १९९० को तुलनामा भोकमरीको दरपनि निकै कम भइसकेको छ । बीबीसीसँग उनले भने, ‘ त्यो देश अहिले गम्भीर खाद्य संकटको चपेटामा छ तरपनि त्यहाँ कोही मानिस भोकभोकै बस्नुपरेको छैन ।’

पछिल्ला केही महिनामा विश्वसँगको कूटनीतिक रणनीतिमा ठूलो परिवर्तन ल्याएपछि उत्तर कोरिया अहिले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको पहिलो ऐतिहासिक बैठकको तयारी गरिरहेको छ ।

दुईदिन राजधानी प्योङयोङ र २ दिन बाहिरको यात्रा गरेका डेभिडले संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्र्तगत दक्षिण ह्वाङगी प्रदेशस्थित बालबालिकाहरुको गृहको भ्रमण गरेका हुन् । यसका साथै उनले उत्तरी प्योङग्यानमा रहेको बिस्कुट उद्योगको समेत अवलोकन गरेका छन् । उनले भने, ‘आश्चर्य लाग्दो कुरा के हो भने त्यहाँको ग्रामिण क्षेत्रहरुमा मौसम अगावै महिला लगायत पुरुषहरुले रोपाईँ र खेती गर्न सुरु गरिसकेका छन् ।

उनीहरुको खेती गर्ने तरिका पनि धेरै अलग देखियो । उनीहरु अत्यन्तै अनुशाषित र व्यवस्थित ढङ्गमा काम गरिरहेको देखिए । सबैभन्दा आश्चर्यजनक, उनीहरुले बाटोसम्मै आइपुग्नेगरी कतैपनि खालि ठाउँ नराखि रोपाईँ गरिरहेका थिए । पहाडी क्षेत्र भएकाले उनीहरुले यस्तो तरिका अपनाएको हुन सक्छ । ’

यसअघि १९९४ र १९९८ का बीच खडेरीको शिकार भएपछि सयौँको सङ्ख्यामा उत्तर कोरियाली नागरिकहरुको मृत्यु भएको थियो । गत वर्षको खडेरीपछि पनि संयुक्त राष्ट्र संघले १० मध्ये सात उत्तर कोरियालीे राहतमा पठाइएको खाद्य सामग्रीमा निर्भर रहेको र हरेक चारजना कूपोषणको शिकार हुने गरेको खुलासा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्र संघले उत्तर कोरियालीहरुको मद्दतका लागि भनेरै गत महिना १ अर्बको राहत रकम अनुरोध गरेको थियो ।

अहिले भने अमेरिकाले पनि उत्तर कोरियालाई पूर्ण रुपमा परमाणु मुक्त क्षेत्रमा परिवर्तित भए आर्थिक उन्नतिका लागि साथ दिने बताइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार