अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता समाप्त भएको छ ।

पहिलाे चरणाकाे भेटवार्ता सकिएपछि किमले ट्रम्पलार्इ अंग्रेजीमा भने,’नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’।सिंगापुरको स्यान्टोसा द्वीपमा अवस्थित क्यापेला होटलमा भएको यो भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो ।

अहिले दुवै नेता आफ्ना देशका वरिष्ठ सलाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् ।

अत्यन्त कटुतापूर्ण सम्बन्ध रहेका यी दुई मुलुकका राष्ट्राध्यक्षहरूको पहिलोपटक भएको यो वार्तालाई द्वीपक्षीयमात्र नभइ विश्वलाई नै प्रभाव पार्ने ऐतिहासिक घटनाका रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभरेज गरेका छन्।

एकान्त वार्ता सकेर बाहिर निस्कँदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्ले वार्ता ‘अतिउत्तम’ भएको प्रतिक्रिया दिएको अलजजिराले उल्लेख गरेको छ। ट्रम्ले राष्ट्रपति किमसँग ‘उत्कृष्ट सम्बन्ध बनेको’ उल्लेख गर्दै ट्रम्पले बैठकलाई ‘भेरी भेरी गुड’ भनेको अलजजिराले जनाएको छ।

निजी वार्ता सकिएलगत्तै ट्रम्प र किम द्वीपक्षीय वार्ताहरूमा सहभागी भएका छन्। राष्ट्रपति किमले ‘शान्तिको बिहानी सुरु भएको’ प्रतिक्रिया दिँदै ‘विगतलाई बिर्सिएको’ बताएको समाचारमा उल्लेख छ।

राष्ट्रपति ट्रम्पले भनेका छन्- ‘हामी सफल हुनेछौँ।’

भेटलगत्तै करिब १२ मिनेटजति हात मिलाएका राष्ट्रपति ट्रम्प र किमले पत्रकारका प्रश्नको संक्षिप्त जवाफ दिएका थिए। सुरुमा बोलेका ट्रम्पले भनेका थिए- ‘यो मेरो अहोभाग्य हो। हामीबीचको सम्बन्ध गज्जबको रहनेछ, यसमा मलाई कुनै शंका छैन।’

ट्रम्पले जवाफ दिएलगत्तै किमले आफ्नो धारणा राखेका थिए। उनले भने- ‘यहाँसम्म आइपुग्न हामीलाई सहज भएन। पुराना पूर्वाग्रहहरू र अभ्यासहरू हाम्रो यो यात्रामा अवरोधक बने। तर हामीले ती सबैलाई पन्छायौँ र आज हामी यहाँ छौँ।’

राष्ट्रपति किमको भनाईमा सही थाप्दै ट्रम्पले भनेका थिए- ‘द्‍याट्स् ट्रु।’

अमेरिकाको तर्फबाट यस बैठकमा राष्ट्रपति ट्रम्पसँगै विदेश मम्त्री माइक पोम्पियो, व्हाइट हाउसका चीफ अफ स्टाफ जोन कैली र सुरक्षा सलाहकार जोन बोल्टन रहेका छन् ।

अर्कातर्फ उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग उनका सबैभन्दा निकट सहयोगी किम योङ्ग चोल रहेका छन् । यसका साथै विदेश मन्त्री री योन्ग हो र पूर्व विदेश मन्त्री री सु योङ्ग पनि रहेका छन्।

दुवैले आपसमा हात मिलाएर ऐतिहासिक भेटवार्ता सुरू गरेका थिए । होटलको लाइब्रेरी दुर्इजनाबीच वार्ताका लागि जानुअघि दुवै नेताले एक छोटो पत्रकार सम्मेलन गरे ।

यस क्रममा डोनल्ड ट्रम्पले भने, ‘म धेरै राम्रो महसुस गरिरहेको छु । हामीबीच शानदार वार्ता हुनेवाला छ र मलार्इ लाग्छ यो वार्ता जबरजस्त रूपमा सफल हुनेछ । यो मेरा लागि धेरै सम्मानजनक हो र यो वार्ताले हामीबीच धेरै उत्कृष्ट सम्बन्ध स्थापित गर्छ भन्नेमा कुनै दुर्इ मत र शंका छैन ।’

आशंका एक ठाउँमा छ तर विश्वभर यो वार्ताले उत्साह जगाएको छ। विश्वका धेरै मानिसले एक अर्कालार्इ १८ महिनासम्म आक्रमणको धम्की दिइरहेका दुर्इ देश मिलेर शान्ति स्थापना अघि बढेको हेर्न चाहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार