ब्रिटेनको कन्जर्भेटिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री टरिजा मेले उनको नेतृत्वमा तत्काल चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।

सोमवारको उतारचढावपूर्ण २४ घण्टामा उनले आफ्नो मन्त्रिपरिषद्का दुई वरिष्ठ मन्त्रीहरू गुमाएकी छन्। ब्रिटेनले युरोपेली संघ इयु छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने उनको योजनालाई लिएर ती मन्त्रीहरूले राजीनामा दिएका हुन्।

ब्रेक्जिटका मुख्य वार्ताकार डेभिड डेभिसले राजीनामा दिएपछि विदेशमन्त्री बरिस जोनसनले पनि दिएका हुन्। जनसनले प्रधानमन्त्री मेको योजनाले देशलाई उपनिवेशको हैसियतमा पुर्‍याउने बताएका छन्।

प्रधानमन्त्री मेले सरकार वा विपक्षी दलमा औपचारिक स्थान नभएका सांसदहरूसँग भेटेकी थिइन्। युरोपेली संघबाट ब्रिटेन बाहिरिनुपर्नेमा वकालत गर्नेहरूले आफूहरू अहिले मेविरुद्ध नजाने बताएका छन्।

जनसनले राजीनामा दिएपछि उनको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्ट आएका छन्।

हन्टको ठाउँमा चाहिँ संस्कृति मन्त्री म्याट ह्यानकक आएका छन्। ब्रिटेनले सन् २०१९ को मार्च युरोपेली संघ छोड्दैछ। तर दुवै पक्षले त्यसपछि व्यापारबारे के गर्ने भन्नेमा चाहिँ सहमति जनाउन बाँकी नै छ।

ब्रिटेनको यस्तो उतारचढावपूर्ण दिनलाई युरोपमा अविश्वासको रुपमा हेरिएको छ। युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिटले निम्त्याएको समस्या समाधान अझै टाढा रहेको बताएका छन्।

२०१६ मा ब्रिटेनमा थेरेसा मे सरकारले जनमत संग्रहमार्फत् युरोपेली संघबाट बाहिरिने निर्णय गरेको थियो । यही निर्णयअनुसार २८ सदस्यीय युरोपेली संघबाट ब्रिटेन २९ मार्च २०१९ मा अलग हुँदैछ ।

तर अझै पनि ब्रेक्जिटपछि ब्रिटेन र युरोपेली युनियनबीचको व्यापार कसरी हुन्छ भन्ने विषयमा सहमति जुटिसकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार