
तीन खेल हारिसकेकाले जिम्बाबेको अगाडि बढ्ने झिनो सम्भावना मात्र बाँकी छ । यसकारण नेपाल र जिम्बाबेबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहनेछ ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको सुरुवाती दुई खेलमा हार बेहोरेपछि नेपाली महिला क्रिकेट टोलीलाई अब अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै राख्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ ।
पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएपछि दोस्रो खेलमा नेदरल्यान्ड्ससँग जितको निकै नजिक पुगेर चुकेको नेपाली टिमले अब तेस्रो खेलमा शनिबार जिम्बाबेसँग खेल्दैछ ।
नेदरल्यान्ड्सविरुद्धको खेल अन्तिम बलमा पुगेर गुमाउँदा क्रिजमा रहेका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता रानामगर भावुक बनेका थिए ।
त्यहीँबाट पनि पुष्टि हुन्छ त्यो खेल कति महत्वपूर्ण हुन्छ भनेर, किनभने नेपालले खेल मात्र २ रनले गुमाएको थिएन, महत्वपूर्ण २ अंक पनि गुमाएको थियो ।
अब जिम्बाबेविरुद्ध भने कुनै गल्ती नगरी नेपालले २ अंक जोड्ने लक्ष्य राख्नेछ । वरियतामा नेपालभन्दा माथि रहेपनि जिम्बाबेले यस प्रतियोगितामा लगातार तीन खेल हारेर बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालसँग खेल्दैछ ।
नेपाल रहेको समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ भने थाइल्यान्डको सम्भावना पनि बलियो देखिइसकेको छ ।
शनिबार विहान हुने थाइल्यान्ड र स्कटल्यान्डबीचको खेलपछि समिकरण अझ छर्लङ्ग हुनेछ । थाइल्यान्डले स्कटल्यान्डलाई हराएको अवस्थामा थाइल्यान्ड पनि अगाडि बढ्नेछ । यस्तो अवस्थामा नेपालले जिम्बाबेलाई हराएर स्कटल्यान्डलाई जुनसुकै अन्तरले हराए पुग्नेछ ।
यदि स्कटल्यान्डले थाइल्यान्डलाई हराएको अवस्थामा नेपालसँग खेल्नुअघि नै जिम्बाबे बाहिरिनेछ । त्यसपछि नेपालले जिम्बाबे र स्कटल्यान्ड दुवैलाई हराउनुपर्नेछ भने नेटरनरेटमा स्कटल्यान्डलाई उछिन्नुपर्नेछ ।
तीन खेल हारिसकेकाले जिम्बाबेको अगाडि बढ्ने झिनो सम्भावना मात्र बाँकी छ । यसकारण नेपाल र जिम्बाबेबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहनेछ ।
मिडल अर्डरमै समस्या
पहिलो खेलमा देखिएको मिडल अर्डरको ब्याटिङको समस्या दोस्रो खेलमा पनि हल हुन नसक्दा नेपाल महत्वपूर्ण २ अंक जोड्नबाट वञ्चित भएको थियो । खेलपछि रुबिना क्षेत्रीले पनि मिडल अर्डरमा साझेदारी बन्न सकेको भए जित हात पार्ने बताएकी थिइन् ।
‘अन्तिममा सीता र मैले बनाएको जस्तो साझेदारी मिडल अर्डरमा बन्न सकेको भए सायद जित निकाल्न सकिने थियो होला’ खेलपछि रुबिनाले भनेकी थिइन् ।
नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १७ ओभरमा ९७-७ को अवस्थामा पुगिसकेको थियो । १८ बलमा ४४ रन चाहिएको अवस्थाबाट सीता रानामगर र रुबिना क्षेत्री मिलेर राम्रो साझेदारी बनाउँदै अन्तिम ओभरमा १३ रन चाहिने अवस्थामा पुर्याएका थिए । तर अन्तिम ओभरमा नेपाल २ रनले पराजित भयो ।
त्यसअघि ब्याटिङमा राम्रो सुरुवात गरेपनि नेपाल मिडल ओभरमा धर्मराएको थियो । मिडल अर्डर ब्याटरबाट योगदान नै हुन सकेन । कप्तान इन्दु बर्मा १० बलमा ६ अनि उपकप्तान पूजा महतो २१ बलमा ८ रन बनाएर आउट भएका थिए । काजल श्रेष्ठ ४, कविता जोशी १२ अनि कविता कुँवर १ रनमा आउट भएपछि नेपाल संकटमा पुगेको थियो ।
यसअघि पहिलो खेलमा पनि नेपाल मिडल अर्डरमै चुक्दा राम्रो योगफल बनाउनबाट चुकेको कप्तान इन्दुले नै स्वीकारेकी थिइन् । तर त्यो समस्या दोस्रो खेलमा पनि सुल्झिन नसक्दा नेपाल प्रतियोगितामा अझै जितविहीन नै रहन बाध्य भएको छ ।
हेड टु हेड
जिम्बाबे आईसीसी महिला टी-२०आई वरियतामा १५औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ ।
जिम्बाबेले पनि नेपालजस्तै हालसम्म महिला टी-२० विश्वकप खेलेको छैन । जिम्बाबेले अफ्रिका छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको हो ।
नेपालले हालसम्म जिम्बाबेसँग खेलेको छैन । यो प्रतियोगिताअघि अभ्यास खेल तय गरिएको भएपनि जिम्बाबे टोली नेपालमा नआइपुगेकाले खेल हुन सकेको थिएन ।
त्यसकारण नेपालका लागि जिम्बाबे पूर्णरूपमा नयाँ प्रतिद्वन्द्वी हुनेछ ।
टिम कम्बिनेसन र सम्भावित ११
नेपालले पहिलो र दोस्रो खेलमा एउटै टोलीका साथ खेलेको थियो । तेस्रो खेलमा नेपालले केही परिवर्तन गर्न सक्छ । विकेटकिपर ब्याटर काजल श्रेष्ठको स्थानमा अर्की विकेटकिपर रोमा थापा टिममा आउन सक्छिन् ।
यस्तै एक्स्ट्रा स्पीनका साथ जान चाहेमा कविता कुँवरको स्थानमा मनिषा उपाध्यायले मौका पाउन सक्छिन् । अन्यथा कुनै परिवर्तन गर्ने अवस्था देखिँदैन ।
अनुभवी अलाउन्डर सीता रानामगर नवौं नम्बरमा ब्याटिङमा आएपनि नेदरल्यान्ड्ससँगको खेलमा शानदार ब्याटिङ गरेकी थिइन् । उनको ब्याटिङ पोजिसनमा पनि हेरफेर हुन सक्छ । सीता ५ वा ६ नम्बरमा ब्याटिङ गराउने परीक्षण पनि प्रशिक्षकले गर्न सक्छन् ।
जिम्बाबेले भने अघिल्लो खेलकै टोली यस खेलका लागि पनि उतार्ने सम्भावना छ । जिम्बाबेले पहिलो खेलपछि टिममा केही परिवर्तन गरेको थियो ।
नेपाल : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर/मनिषा उपाध्याय, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ/रोमा थापा, कविता जोशी
जिम्बाबे : चिपो मुगेरी तिरिपानो, मोडेस्टर मुपाचिवा, बिलभ्ड बिजा, केलिस धलोभु, लोरीन शुमा, चिद्जा धुरुरु, न्याशा ग्वान्जुरा, लोरिन फिरी, क्रिस्ताबेल चटोन्जा, अदेल जिमुनु, अद्रे माजविशाया
प्रभाव पार्न सक्ने खेलाडी
नेपालका लागि ब्याटिङमा सम्झना खड्काले प्रभाव पार्न सक्छिन् । तर उनले संयमित भएर खेल्नुपर्ने हुन्छ । रुबिना क्षेत्रीले पनि दुवै खेलमा राम्रो ब्याटिङ गरेकाले उनीबाट भोलि पनि त्यही लयको अपेक्षा रहनेछ ।
रुबिनाबाट नेपालले अलराउन्ड प्रदर्शन चाहनेछ भने रिया शर्माको स्पीन बलिङ र सुमन विष्टको पावरप्ले ओभर महत्वपूर्ण रहनेछ ।
जिम्बाबेका लागि विकेटकिपर ब्याटर मोडेस्टर मुपाचिवाले प्रभाव पार्न सक्छिन् । यस्तै कप्तान चिपो मुगेरी तिरिपानोले पनि राम्रो सुरुवात दिलाउन सक्छिन् । यी दुई जिम्बाबेका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।
बलिङमा क्रिस्ताबेल चटोन्जा र लोरीन शुमाको प्रदर्शन महत्वपूर्ण रहनेछ ।







